सेताम्मे रारा

केहि दिन यता पटक फटक परेको हिमपातले मुगु जिल्ला स्थित नेपालकै ठुलो र प्राकृतिक सुन्दरताले भरीपुर्ण रारा अझै सुन्दर भएको छ । हिमपातकै कारण बाटो बन्द भए पछि रारामा हिउ खेल्न आउने आन्तरिक तथा वाह्य पर्यटकलाई धेरथोर बाधा परे पनि राराको सौन्दर्यमा भने अझ निखार आएको जस्तो भान हुन्छा।

हिमपातका कारण नाग्म-गमगढी सडक पूर्ण अवरुद्ध र ताल्चा विमानस्थल पनि प्रभावित भएका कारण पर्यटकहरु  यतिखेर रारा आउन सकेका छैनन् । मुगुको पर्यटन व्यवसाय भर्खरै बामे सर्दै गरेको अवस्थामा थुप्रै पर्यटक आएको समयमा समेत धान्न नसकेको अवस्था छ । यति खेर रारामा हिउ हेर्न र खेल्न पर्यटकहरुलाई  अत्यधिक रहर भए पनि रारा पुग्न वैकल्पिक माध्याम नभएका कारण चाहना दवाएरै बस्नु पर्ने भएको छ ।

सुगमठाँउहरुमा थोरै हिउ पर्ने स्थानमा पनि थुप्रै पर्यटक त्यहाँ पुगेर रमाउने गर्छन् भने रारामा ३ फिट  सम्म हिउ परेपछि बाटो अवरोधका कारण पर्यटक आउन सकेका छैनन् ।

हरेक सिजन पर्यटकलार्इ रारा आउन सहज बनाउन नाग्म गमगढी सडक खण्ड कालोपत्रे र ताल्च विमानस्थल विस्तार गर्नका लागि केन्द्र‚ प्रदेश र स्थानिय सरकार लाग्न आवश्यक भएको छाँयानाथ रारा नगरपालिका प्रमुख हरिजंग शाही बताउनु हुन्छ ।

जलवायु परिवर्तनका कारण विगत बर्षहरुको तुलनामा केहि बर्ष यता बर्षा र हिमपात कम हुदै गएकाले रारा लगाएत थुप्रै ठाँउहरुमा यस पटक भएको हिमपात दुर्लव मान्न सकिने स्थानिय बुद्दिजिवीहरुको कथन छ ।

शब्द / तस्विर : कविराज कार्की, मुगु