MENU
रोमाञ्चक यात्रा : च्छोरोल्पा र दूधकुण्डको !
 : [views]
-शम्भु गौतम   Mar 13, 2019

दोलखा-पर्यटन पूर्वाधारको विकाससँगै दोलखाको उत्तरपूर्वी क्षेत्रमा अवस्थित बहुचर्चित च्छोरोल्पा हिमताल क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेको छ ।

रोल्वालिङ क्षेत्रमा पर्ने नेपालको सबैभन्दा ठुलो यो तालसम्म पुग्न स्विस सरकार विकास नियोगले पैदल यात्रा मार्गको निर्माण गरेपछि यहाँ जाने पर्यटकहरुलाई अझै सहज भएको छ । नेपाल टेलिकमले बेदिङमा मोबाइल फोनको लागि रिपिटर टावर राखेपछि यो क्षेत्र पुग्ने पर्यटकहरु सञ्चार सेवामा जोडिन पनि सजिलो भएको छ ।

 

हिमतालको वरिपरि हिमालैहिमालको दृश्यले ३ दिन लगाएर तालमा पुगेका पर्यटकहरुको थकाइ नै मेटाइदिन्छ । छिनछिनमा परिवर्तन हुने त्यहाँको मौसमले पर्यटकहरुलाई झनै रोमाञ्चक अनुभव गराउँछ ।

 

कसरी पुग्न सकिन्छ ?
च्छोरोल्पा हिमताल पुग्न मात्रै पदयात्रुलाई दोलखा सदरमुकाम चरिकोटबाट ३ दिनको बाटो तय गर्नुपर्छ । काठमाडौँबाट आउने पर्यटकहरुले थप एक दिन खर्चनुपर्छ । काठमाडौँबाट आफ्नै सवारी वा दोलखा पुग्ने भाडाका सवारीबाट चरिकोटसम्मको यात्रा गर्न सकिन्छ । काठमाडौँबाट सिधै विगु गाउँपालिकाको लामाबगरस्थित छ्योत्छ्योतसम्म पुग्न पनि सकिन्छ ।

 

 

विगु गाउँपालिकाको लामावगरस्थित छ्योत्छ्योतबाट च्छोरोल्पा हिमताल जानका लागि पैदल यात्रा सुरु हुन्छ । दोलखा सदरमुकाम चरिकोटबाट करिब ३ घण्टाको मोटरयात्रापछि छ्योत्छ्योत पुग्न सकिन्छ ।
तामाकोशी नदी किनारको खोँचमा रहेको छ्योतछ्योत झरना अर्थात हात्तीजुङको छाँगोको रमणीयताले रोमाञ्चक यात्राको पूर्वाभास दिन्छ ।

 

छ्योतछ्योतबाट तामाकोशी नदी पार गरी करिब साँढे २ घण्टाको उकालो चढ्दै गौरीशंकर गाउँपालिकाको सिमीगाउँ पुग्न सकिन्छ । करिब २ हजार मिटरको उचाइमा रहेको सिमीगाउँ च्छोरोल्पा जाने पर्यटकहरुको पहिलो वास हो । शेर्पाहरुको मुख्य बस्ती रहेको यहाँ बास बस्नका लागि सामान्य सुविधाका होटलहरु पनि छन् । यहाँ पुग्ने पर्यटकहरुले शेर्पा जनजीवन तथा संस्कृतिको अवलोकन समेत गर्न पाउँछन् ।

 

 

सिमीगाउँबाट ३ घण्टाको पैदल यात्रापछि २४ सय ७० मिटरमा रहेको सुर्मुचे भन्ने ठाउँ पुगिन्छ । सुर्मुचे पैदल यात्रीहरुको विश्रामस्थल र खाजा तथा खाना खाने स्थल पनि हो । बास बस्नका लागि सामान्य व्यवस्था समेत भएकोले कतिपय यात्रुहरु यहीँ पनि बास बस्ने पनि गर्दछन् । यहाँबाट गौरीशंकर हिमालको फरक खालको स्वरुप देख्न सकिन्छ ।

 

सुर्मुचेबाट करिब ३ घण्टाको पैदलयात्रापछि अर्को विश्रामस्थल क्याल्चे पुग्न सकिन्छ । २७ सय ६० मिटर उचाइको रमणीय स्थलमा रहेको क्याल्चेमा खाना तथा खाजा खाने साथै बास बस्ने व्यवस्था पनि छ । सुर्मुचेबाट क्याल्चे जाँदा केही उकालो बाटो भए पनि बाटोमा भेटिने सुन्दर झरना, फाँट र चराचुरुङगीको चिरबिरले यात्राको थकानलाई मेटाइदिन्छ । क्याल्चेको रमणीयताका कारण र बास बस्नका लागि सामान्य सुविधा भएकोले कतिपय पर्यटकहरु यहीँ बास बसी बेदिङको यात्रा तय गर्दछन् ।
क्याल्चेबाट करिब ४० मिनेटको दूरीमा डोङाङ भन्ने ठाउँ पर्दछ । २८ सय मिटरको उचाइमा रहेको डोङाङ रोल्वालिङ खोलाको किनारमा पर्दछ । बाटोभरि फुलेका फूलहरु, जैविक विविधतायुक्त जंगल र झरनाको सुन्दर दृश्यले यसबिचको यात्रालाई रोमाञ्चक मात्रै बनाउँदैन, यात्रुहरुले बाटो कटेको पत्तै पाउँदैनन् ।

 

डोङाङ रोल्वालिङ क्षेत्र भ्रमणका लागि जाने यात्रुहरुको बास बस्ने मुख्य ठाउँ हो । सिमीगाउँ बास बसेका यात्रुहरुको अर्को बसाइ प्रायः डोङाङ हुने गर्दछ । यहाँ बास बस्नका लागि ४ वटा होटल र केही क्याम्पसाइटको पनि व्यवस्था छ ।

 

 

डोङाङपछिको अर्को बस्ती हो, बेदिङ । बेदिङ पुग्न डोङाङबाट करिब ६ घण्टा पैदल हिँड्नुपर्छ । अधिकांश बाटो रोल्वालिङ खोलाको किनारैकिनार र जंगलबाट हिँड्नुपर्ने भएकोले यात्रा रमाइलो लाग्छ । बिचबिचमा अग्लाअग्ला झरना र खोलाले बनाएका ससाना छाँगाको सौन्दर्यले बाटो कटेको खासै याद हुँदैन । अझ मौसम अनुसार बाटो वरपर फुल्ने फूलको स्वागतले यात्रुहरुको मनै प्रफुल्ल बनाउँछ ।
बेदिङ रोल्वालिङ क्षेत्रको मुख्य बस्ती हो । करिब ३७ सय मिटरको उचाइमा रहेको बेदिङलाई सगरमाथा आरोहीहरुको गाउँ भनेर पनि चिनिन्छ । शेर्पाहरुको बसोबास रहेको यो गाउँका ७२ भन्दा बढी युवाहरुले विभिन्न विश्व कीर्तिमान सहित सगरमाथा आरोहण गरिसकेका छन् । उनीहरुले २ सय भन्दा धेरै पटक सगरमाथा आरोहण गरेका छन् भने अन्य चर्चित हिमालहरुको पनि सफल आरोहण गरिसकेका छन् ।

 

बेदिङ शेर्पा संस्कतिले धनी छ । यहाँ आएका पाहुनाहरुलाई उनीहरु साङाछोलिङ गुम्बामा स्वागत गर्दछन् । ८४ घरधुरी भएको बेदिङमा पर्यटकहरुका लागि बास बस्नका लागि सुविधाजनक होटलहरु पनि रहेका छन् ।

 

रोल्वालिङ क्षेत्रको सबैभन्दा माथिल्लो बस्ती ना हो । बेदिङबाट ना गाउँ करिब ४ घण्टामा पुग्न सकिन्छ । ना गाउँ बेदिङबासीहरुकै अर्को मौसमी बस्ती हो । चौँरीपालन व्यवसाय गर्ने उनीहरु गृष्मको मौसममा चौँरीसँगै ना मा बसाइँ सर्ने गर्छन् । करिब साँढे ४१ सय मिटरको उचाइमा रहेको ना मा पर्यटकहरुका लागि सामान्य सुविधाका होटलहरु पनि छन् । कतिपय पर्यटकहरु यहीँ बास बसी च्छोरोल्पाको यात्रा गर्दछन् । यहाँ बास बस्दा च्छोरोल्पा र दूधकुण्डको यात्राका लागि समय पर्याप्त हुने गर्दछ ।

 

बेदिङबाट ना जाँदा समयले साथ दिए बाटो वरपर डाँफे, चिलिमे लगायतका पन्छी तथा घोरल, झारल, थार, नाउर, रेड पाण्डा, हिम भालु, हिम चितुवा लगायतका जीवजन्तुहरुको अवलोकन गर्न पाइन्छ ।
ना बाट हेर्दा च्छोरोल्पा हिमताल नजिकै जस्तो लागे पनि झण्डै ४ घण्टाको यात्रामा मात्रै त्यहाँ पुग्न सकिन्छ । रोल्वालिङ उपत्यकाको फाँटैफाँट यात्रा गर्दा रोमाञ्चक लाग्दछ तर हिमताल पुग्ने बेलाको नाकै ठोकिने उकालोले अलिकति कष्टको अनुभव पनि गराउँछ ।

 

४५ सय ८० मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा ठुलो हिमताल पुगेपछि पर्यटकहरुले भिन्दै आनन्दको अनुभूति गर्दछन् । तर कहिलेकाहीँ हिमताल र हुस्सुको लुकामारी हुँदा यात्रुहरु मन रोमाञ्चित र खिन्न पनि हुने गर्दछ ।

 

दुधकुण्ड

 

हिमतालको अवस्था कस्तो छ ?
नेपालको सबैभन्दा ठुलो यो हिमताल दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका १ पर्दछ । यो हिमताल हिमनदीको बहाबबाट विगत ५० वर्षदेखि निर्माण सुरु भएको मानिन्छ । विकिपिडिया विश्वकोषका अनुसार यो हिमतालको औसत गहिराइ ५५ मिटर छ भने अधिकतम गहिराइ २७० मिटर छ । यो हिमतालको लम्बाइ ३ दशमलव ४५ किलोमिटर छ भने औसत चौँडाइ आधा किलोमिटर छ । क्षेत्रफल १ दशमलव ५४ वर्गकिलोमिटर भएको यो तालमा हाल ८ करोड ५९ लाख घनमिटर पानी भएको अनुमान छ । झण्डै हिमरेखाको हाराहारीमा रहेको यो ताल कात्तिक महिनादेखि फागुन महिनासम्म जम्ने गर्दछ । यो बेला मानिसहरु तथा जीवजन्तुहरु तालमाथि हिँड्न समेत सक्दछन् ।

 

विष्फोटनको उच्च जोखिममा रहेको यो हिमतालको जोखिम न्यूनीकरण गर्न २०५७ सालमा यसको ३ मिटर सतह घटाइएको छ । त्यतिबेला सो तालमा १० करोड घनमिटर पानी रहेको अनुमान थियो । केही गरी हिमताल विष्फोटन भएमा त्यसबाट हुने जोखिम न्यूनीकरण गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले तत्कालीन सूचना प्रणाली जडान गरेको छ । सूचनाका लागि एसएमएस प्रणालीमा सहज होस् भनेर सो क्षेत्रमा नेपाल टेलिकमले जीएसएम मोबाइल सेवा पनि सञ्चालन गरेको छ । यसबाट सो क्षेत्रमा जाने पर्यटकहरुले समेत लाभ लिन थालेका छन् ।

 

दूधकुण्ड पनि उत्तिकै रोमाञ्चक
रोल्वालिङ क्षेत्रको मुख्य गन्तव्य च्छोरोल्पा हिमताल भए पनि कतिपय पर्यटकहरु दूधकुण्डसम्मको साहसिक यात्रा गर्दछन् । च्छोरोल्पा हिमतालबाट झण्डै ३ घण्टाको यात्रामा पुगिने दूधकुण्ड निकै रमणीय छ । उकालो बाटो र उच्च उचाइका कारण यात्रा कठिन तर साहसिक छ । धार्मिक हिसाबले समेत महत्वपूर्ण रहेको यो कुण्ड समुद्र सतहबाट ५२ सय ३० मिटरको उचाइमा पर्दछ । यस कुण्डको दर्शन गरे इच्छासिद्धि हुने विश्वास गरिन्छ । तर कुण्डमा नुहाउन नहुने जनविश्वास रहेको छ । कुण्ड वरिपरि देखिने हिमश्रृङ्खलाले यात्रुहरुलाई निकैबेर अडिन बाध्य बनाउँछ ।

 

रोल्वालिङ क्षेत्र गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्दछ । त्यसैले गौरीशंकर संरक्षण क्षेत्र विकास आयोजनाले ठाउँठाउँमा राखेको सूचना र सङ्केतले यात्रुहरुलाई गन्तव्यमा जान सघाउँछ । रोल्वालिङ क्षेत्रको पर्यटन विकासको लागि आयोजनाले पर्यटन विकास गुरु योजनासमेत निर्माण गरेको छ ।-शम्भु गौतम

 

 

 

बेदिंग गाउँ

 

सिमिगाउँ

 

 

धुद्कुण्ड

 

च्छोरोल्पा

 

च्छोरोल्पा

 

दुधकुण्ड

 

Comments

NIC Asia