MENU
विद्युत्, बायोग्यास र जैविक मल एकै ठाउँमा,एउटै प्लान्टबाट
 : [views]
  Jun 07, 2018

 

स्याङजा पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमीटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्ट । यस प्लान्टबाट ४०० किलोवाट विद्युत उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । तस्बिर : रासस

 

वालिङ, स्याङ्जा, २४ जेठ : स्याङ्जाको पुतलीबजार नगरपालिका–४, नागडाँडामा खिलुङ कालिका एग्रोफर्मको शाखा उद्योगबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन भएको छ ।

 

कम्पनीले विद्युत् र बायोग्यास केही समय अगाडि उत्पादन गरेको हो भने गत सातादेखि जैविक मल उत्पादन शुरु गरेको हो । स्याङ्जाको भिरकोट नगरपालिका–७ ठाडाखेतमा रहेको खिलुङ कालिका एग्रो फर्मको शाखा उद्योगमार्फत जैविक मल उत्पादन गरिएको हो ।

 

“हामीले राष्ट्रिय कृषि नीतिको मापदण्डका आधारभित्र रहेर दैनिक १५ टन जैविक मल जर्मन र चिनियाँ प्रविधिबाट उत्पादन शुरु गरेका छौँ” कम्पनीका प्रमुख कार्यकारी अधिकृत शोभाकान्त ढकालले भन्नुभयो, “उत्पादित मल १, २, ५, २० र २५ किलोका प्याकमा पाउडर र दाना ‘कृषक अर्गानिक मल’ बजारमा पठाउँछौँ ।”

 

कुखुराको सुलीबाट वायोग्यास प्लान्ट
स्याङजा पुतलीबजार नगरपालिका–४ भालुपहाड नागडाँडामा खिलुङ–कालिका एग्रो फर्मले सञ्चालन गरेको तीन हजार ५१० घनमीटर क्षमताको अत्याधुनिक बायोग्यास पावर प्लान्ट । यस प्लान्टबाट ४०० किलोवाट विद्युत उत्पादनसँगै दैनिक १५ टन जैविक मल उत्पादन हुने गरेको छ । तस्बिर रासस

 

दैनिक दुई लाख अण्डा उत्पादन गर्ने खिलुङ कालिका एग्रोफर्मबाट निस्कने १२ टन सुलीलाई मुख्य कच्चा पदार्थका रुपमा प्रयोग गरी त्यसमा चार टन गाईभैँसीको मल र झण्डै दुई टन हरियो घाँसपातको मिश्रणबाट कम्पनीले तीन थरी उत्पादन गर्दै आएको छ ।

 

“यस उद्योगबाट दैनिक ३५० किलोवाट विद्युत्, १२० किलो बायोग्यास र १५ टन जैविक मल उत्पादन हुँदै आएको छ” ढकालले भन्नुभयो, “एउटै प्लान्टबाट विद्युत्, बायोग्यास र जैविक मल उत्पादन गर्ने कम्पनी नेपालकै पहिलो र अत्याधुनिक हो भन्ने हाम्रो दाबी छ ।”

 

बजारमा पाइने सिलिण्डरका ग्यासभन्दा यो ग्यास २० प्रतिशत बढी टिकाउ हुने कम्पनीले दाबीसमेत गरेको छ । नागडाँडामा ३५ रोपनी क्षेत्रफलमा रहेको शाखा उद्योग झण्डै रु २५ करोडको लागतमा सञ्चालनमा आएको हो ।

 

सातजनाले सञ्चालन गरेको खिलुङ कालिका एग्रोफर्मले भिरकोट–७, ठाडाखेतमा ४० रोपनी क्षेत्रफलमा अत्याधुनिक फर्म स्थापना गरी दैनिक झण्डै दुई लाख अण्डा उत्पादन गर्दै आएको छ ।(रासस)

Comments

NIC Asia