MENU
यसरी भयो चितवनमा अर्नाको वंश विस्तार
 : 213 views
  Aug 24, 2018

चितवन, ८ भदौ : कोशीटप्पुबाट स्थानान्तरण गरी ल्याइएका अर्नाको वंश विस्तारमा चितवन राष्ट्रिय निकुञ्जलाई अर्को सफलता मिलेको छ ।

 

निकुञ्जको पूर्वी क्षेत्रअन्तर्गत पुरानो पद्मपुरको खुला खोरमा राखेर संरक्षण गरिएका अर्नाले अर्को बच्चा जन्माएपछि प्रजाति विस्तारमा सफलता मिलेको हो । अर्नाले पाडो जन्माएको बिहीबार फेला परेको निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेले जानकारी दिए । यसअघि गत साउन ३१ गते पनि एउटा अर्नाले पाडी जन्माएको थियो ।

‘हात्तीसहितको प्राविधिक टोलीले दुई दिन लगाएर अनुगमन गर्दा बिहीबार दोस्रो अर्ना ब्याएको पाइयो,’ गैरेले भने । अझै एउटा अर्ना गर्भिणी रहेकाले एक महिनाभित्र बच्चा जन्माउने उनको अनुमान छ । खुला खोरमा १० अर्ना रहेकामा एउटा पाडो थपिएपछि ११ पुगेको छ ।

 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले पाडो जन्मिएकाले प्रजाति संरक्षणमा ठूलो सफलता मिलेको बताए । खुला खोरमा अझै अर्ना थप्ने योजना रहेको उनले जानकारी दिए । रोगब्याधी र बाघको आक्रमणलगायत कारणले यसअघि छ अर्ना मरेका थिए ।

 

सरकारको विसं ०७१ को निर्णयअनुसार विसं ०७३ माघ १२ देखि २८ गतेसम्म १६ दिनको अन्तरालमा यहाँ १५ अर्ना ल्याइएको थियो । तत्कालीन समयमा पाँच भाले र १५ पोथी गरी २० अर्ना ल्याउने निर्णय भए पनि १५ वटा मात्रै ल्याइएको थियो ।

कोशी टप्पुबाट दुई भाले र १० पोथी गरी १२ तथा सदर चिडियाखाना ललितपुरबाट एक भाले र दुई पोथीसहित तीन अर्ना स्थानान्तरण गरी ल्याइएको थियो । खोर बढाएर यहाँ २० देखि ३० अर्ना पु¥याउने योजना निकुञ्जको छ । झुण्डमा हिँड्न थालेपछि भने बाघले पनि आक्रमण गर्न नसक्ने भएकाले त्यसपछि मात्रै खुलाखोरबाट जङ्गलमा छाड्ने योजना निकुञ्ज विभागको छ ।

 

उक्त वनमा सन् १९६० देखिनै अर्ना रहेकामा पछि लोप भएको बताइन्छ । निकुञ्ज बनेपछि भने यहाँ अर्ना थिएन । अहिले सौराहास्थित पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टरको क्षेत्रफलमा खुला खोर बनाएर अर्ना राखिएको छ । रासस

Comments

NIC Asia