MENU
बुद्धिष्ट सर्किट्स यात्रा आषाढ पूर्णीमादेखि
 : [views]
  Jan 21, 2019

 

काठमाडौँ, माघ ७ : सिद्धार्थ गौतमले तिलौराकोट दरबारको पुर्बी द्वारबाट आफ्नो घोडा कन्थक चढेर मानवजातिको दुख निवारण तथा सत्यको खोजीको लागि निस्केको, वा महाभिनिश्कर्मणको २५३४ बर्षपछी पहिलो बुद्धिष्ट सर्किट्स यात्रा आषाढ शुल्क पुर्णिमाका दिन (जुलाई १६, २०१९) तिलौराकोट दरबार भग्नावशेषको पुर्बी द्वारबाट शुरु हुंदैछ ।

 

 

सिद्धार्थ गौतमको महाभिनिश्कर्मणको झल्को दिने यस यात्रा बुद्धिष्ट सर्किट्स डट कमका अध्यक्ष बिक्रम पाँडेकाजीले लुम्बिनीमा हालै आयोजीत प्रथम बुद्धिष्ट अन्तराष्ट्रिय ट्राभल मार्टमा घोषणा गर्नुभएको हो। यात्राका सहभागीहरु लुम्बिनी-कपिलवस्तु क्षेत्रका बौद्ध सम्पदाहरुको भ्रमण पछी सुनौली नाकाबाट भारत प्रवेश गर्नेछन् र उत्तर प्रदेशको कुशिनारा, बिहार राज्यको वैशाली, नालन्दा, राजगीर र बोधगया हुँदै उत्तरप्रदेश राज्यको कुशीनगर भ्रमण गरेर पुन लुम्बिनी फर्कनेछन्।

“भगवान बुद्धको जीबनसंग जोडिएका स्थलहरु विश्वका झन्डै ५०० करोड बौद्ध धर्मालम्बीहरुको लागि महत्वपूर्ण तिर्थस्थल हुन्। यो भ्रमण प्याकेजले उनिहरुको यात्रा सहज बनाउनेछ,” पाँडेकाजीले बताउनुभयो। “भगवान बुद्धको जीबनमा पूर्णिमाको ठुलो महत्व भएको हुँदा, हामि आषाढ देखि प्रत्येक पुर्णिमाको दिन बुद्धिष्ट सर्किट्स यात्रा चलाउँछौं।”

आठ रात, नौ दिनको यस यात्रा आरामदायी वातानुकुलित बसमा संचालन हुनेछ भने बास बाहिरि कुशिनारा, राजगिर, बोधगया, सारनाथ/वाराणासी, कुशीनगर, तथा लुम्बिनीमा चारतारा स्तरको होटलमा हुनेछ।

यस यात्राले लुम्बिनी-कपिलवस्तु क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउने, स्थानीयहरुलाई आय-आर्जनको मौका सृजना गर्ने र संचालनको तयारीमा रहेको लुम्बिनी अन्तराष्ट्रिय बिमानस्थलको प्रबर्द्धन गर्ने पनि पाँडेकाजीले बताउनुभयो।

 

Comments

NIC Asia