MENU
के कुरा भयो अमेरिकी राजदुत र प्रचण्डबीच ?
 : [views]
  Feb 12, 2019

दक्षिण अमेरिकी देश भेनेजुएलाका विषयमा नेपाल र अमेरिकाबीच चर्किएको कूटनीतिक असमझदारी अन्त्य भएको र त्यो विषय अब थप नचर्किने पुष्पकमल दाहाल प्रचण्ड निकट नेताले दाबी गरेका छन्।

नेकपाका एक अध्यक्ष प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीबीच शनिवार प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको थियो।

 

प्रचण्डको परिवारका एक सदस्य समेत रहेका नेता नारायण दाहालले एक घन्टा जति भएको उक्त भेट राजनीतिक वा कूटनीतिक विषयमा मात्र सीमित नभएको बताए।उनले प्रचण्डको पारिवारिक पीडालाई कम गर्न समेत भेटले सघाएको आकलन गरेका छन्।

पीडामा मलमपट्टी

उनका अनुसार प्रचण्ड पत्नी सीता दाहाललाई स्मरण शक्ति क्षीण हुँदै जाने, रिङ्गटा लाग्ने र हिँड्दा हिँड्दै लड्ने जस्ता समस्या देखिएको छ।

 

उनले भने, “भाउजू बिरामी हुनुहुन्छ र उहाँलाई अमेरिकामा राम्रो उपचार हुन्छ भनेर त्यहाँ लैजाने कुरा पहिलेदेखि नै भइरहेको थियो। तर कहिले जाने र कुन अस्पतालमा लैजाने भन्ने विषयको टुङ्गो लागिसकेको छैन।”

 

नेता दाहालका अनुसार भेटका क्रममा राजदूत बेरी प्रचण्डको अमेरिका भ्रमण योजनाप्रति पनि सकारात्मक थिए।

 

कतिपयले अमेरिकाको असन्तुष्टिका कारण प्रचण्डको भ्रमण अन्योलमा परेको ठानिएका बेला दाहालले उक्त कुरा बताएका हुन्।

 

भेनेजुएलाको आन्तरिक मामिलामा “बाह्य हस्तक्षेप” हुन नहुने भन्दै केही साताअघि नेकपाका अध्यक्ष प्रचण्डले एक वक्तव्य जारी गरेपछि अमेरिका र नेपालबीचको सम्बन्धमा चिसोपन आउन थालेको खबर आएको थियो। प्रचण्डले जनवरी २५ मा एक वक्तव्य निकाल्दै भेनेजुएलामा “सत्ता हत्याउन”को लागि हुन सक्ने “साम्राज्यवादी हस्तक्षेप अस्वीकार्य हुने” टिप्पणी गरेका थिए।

 

त्यो वक्तव्य सार्वजनिक भएपछि काठमाण्डूस्थित अमेरिकी राजदूतावासले नेपालको परराष्ट्र मन्त्रालयसँग भेनेजुएलाबारे धारणा मागेको थियो। लगत्तै परराष्ट्रले पनि भेनेजुएलामा “बाह्य हस्तक्षेप हुन नहुने” नेपालको अडान दोहोर्‍यायो।

 

प्रचण्ड पत्नी सीता दाहाललाई केही साताअघि उपचारपछि घर फर्किएकी थिइन्
त्यसपछि पनि नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुएला वक्तव्य प्रकरणबारे सार्वजनिक कार्यक्रमहरूमा बोल्ने क्रम रोकेनन्।

 

‘उहाँ सन्तुष्ट हुनुभयो’
तर नेता नारायण दाहालका अनुसार पछिल्लो प्रचण्ड-बेरी भेटपछि अमेरिका र सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डबीचको ‘असमझदारी’ अब हल भएको छ।

 

नेकपाका केन्द्रीय सदस्य एवम् पार्टीका प्रदेश ३ का अध्यक्ष समेत रहेका नेता नारायण दाहालले बीबीसी नेपाली सेवासँग भने, “अध्यक्ष कमरेडको भनाइ अनुसार कुराकानी निकै सौहार्दपूर्ण र असाध्यै राम्रो भयो। भेनेजुएलाका विषयमा दुवै पक्षबीच रहेका सबै भ्रमहरूलाई चिर्ने काम भयो। उहाँ (राजदूत बेरी) एक ढङ्गले सन्तुष्ट हुनु भयो भन्ने कुरा अध्यक्षले गर्नुभयो।”

 

उनका अनुसार खुमलटार निवासमा भएको भेटपछि दुवै पक्ष आगामी दिनमा “सम्बन्धलाई थप मजबुत बनाउन” सहमत भएका छन्।बेरी र प्रचण्ड भेटबारे अमेरिकी राजदूतावासको प्रतिक्रिया आइसकेको छैन।

 

बेरीलाई भेटेलगत्तै प्रचण्ड बालुवाटारमा

भेनेजुएलाका विषयमा जारी वक्तव्य प्रकरणले नेकपाका दुई अध्यक्षबीचको सम्बन्ध चिसिन सक्ने र त्यसले पार्टी एकीकरण प्रक्रियालाई नै प्रभावित तुल्याउने चिन्ता समेत व्यक्त हुन थालिसकेका थिए।

 

तर बेरीलाई भेटेलगत्तै नेकपाका अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।त्यहाँ प्रचण्ड र ओलीबीच दुई घन्टा जति कुराकानी भएको नेता नारायण दाहालले बताए।

-बिबिसी बाट

Comments

NIC Asia