MENU
‘विप्लव’ समूहले नेतृत्व गरेको नेकपाका सम्पूर्ण गतिविधिमाथि सरकारले लगायो प्रतिबन्ध
 : [views]
  Mar 12, 2019

काठमाडौं, २८ फागुन : अर्धभूमिगत रुपमा रहेर संविधान विपरित हिंसात्मक गतिविधि गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेतृत्व गरेको नेकपाका सम्पूर्ण गतिविधिलाई मंगलबार बसेको मन्त्रिपरिषद बैठकले रोक लगाउने निर्णय गरेको छ ।

 

 प्रधानमन्त्री निवास बालुवाटारमा मगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त पार्टीले राजनीतिक चरित्र गुमाउँदै गएको निष्कर्ष निकाल्दै नियन्त्रण गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकपछि रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, “उहाँहरु (विप्लव नेतृत्वको पार्टी) ले राजनीतिक चरित्र गुमाउँदै गएकाले त्यसलाई नियन्त्रण गर्नु राज्यको कर्तव्य हो । सोहीअनुसार सरकारले त्यस्ता गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको हो ।”

सरकारले आह्वान गर्दा पनि सो समूह वार्तामा नआएको र विकासनिर्माणमा अवरोध पु¥याउनाका साथै विस्फोटन गराएकाले त्यसको गतिविधि नियन्त्रण गर्ने अवस्था आएको जनाइएको छ । उक्त समूहको गतिविधि आपराधिक भएको निष्कर्ष निकाल्दै उसको गतिविधि निषेध गर्ने निर्णय गरिएको बताइएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बेलुकाको बैठकले सो समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै गतिविधिमा प्रतिबन्ध लगाउने निर्णय गरेको स्रोतले जनाएको छ।

मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास सफल नभएको जानकारी गराएका थिए। उनले विप्लव समूहका पछिल्ला गतिविधि एनसेल बम काण्ड, बसुन्धरा बम काण्ड लगायतका विभिन्न क्षेत्रमा चन्द आतंक फैलाएकाले गतिविधिलाई नियन्त्रणमा लिन सुरक्षा कारवाही गर्न सहज हुने गरी गतिविधिमा रोक लगाउन प्रस्ताव गरेका थिए।

Comments

NIC Asia