MENU
वायुसेवा निगमको पार्टपुर्जामा ‘हाईप्रोफाईल’को चासो
 : [views]
  Mar 13, 2019

नेपाल वायुसेवा निगमको जहाजमा प्रयोग हुने पार्टपुर्जा खरिद प्रक्रियामा पत्यारै गर्न नसकिने उच्च पदस्थ राजनीतिक संलग्नता र प्रभाव परेको थाहा भएको छ । निगमको नियमित काममा ठूलै रकमको कारोबार हुने भएकाले हवाई व्यापारी र कमीशन एजेन्टको हित हुनेगरी संसदीय समितिलाई समेत प्रभावित तुल्याउने काम भएको बुझिएको छ । यसमा उच्च राजनीतिक व्यक्तित्व,कुटनीतिक पदाधिकारी समेत प्रत्यक्ष अप्रत्यक्ष संलग्न रहेको हवाई उड्डयन प्राधिकरण सूत्रले बताएको छ ।

निगमले आफ्ना जहाजमा प्रयोग हुने अत्यावश्यक पार्टपुर्जा खरिद गर्न प्रतिष्पर्धाबाट आपूर्तीकर्ता नियुक्त गर्छ । यसै क्रममा वाइडबडी जहाजहरुको ईन्जिन र पार्टपुर्जा खरिद गर्न निगमले विधिसम्मत प्रतिष्पर्धा र प्रक्रियाबाट छनोट गरेको कम्पनी थियो, बेलायती कम्पनी एजे वाल्टर । तर संसदको सार्वजनिक लेखा समितिले यसबारेमा कुनै अध्ययनसम्म पन नगरी मौखिक जानकारीका भरमा एजे वाल्टरसँग कारोबार नगर्नु भनेर निगमलाई निर्देशन दिएको थाहा भएको छ । गत सोमबार समितिले यस्तो निर्देशन मात्र दिएन, सबैभन्दा थोरै रकम कबुल गर्ने कम्पनी लुफ्थान्सालाई टेन्डर प्रक्रियाबाट अलग गरी उसको भन्दा बढी रकममा काम गर्ने एजे वाल्टरलाई छनोट गरिएको निष्कर्ष निकाल्दै कारोबार नै रोक्न निर्देशन दिएको छ । समितिले यी दुइ कम्पनी कसरी निगमसँग कारोबार गर्न आए र कुन प्रक्रियाबाट छनोट भए भन्ने बारेमा कुनै अध्ययन गरेको देखिँदैन । यसमा राजनीतिक स्वार्थ जोडिएको बुझ्न कठिन छैन ।

 

निगमले के गर्यो

निगमले ८ वर्षका लागि एजे वाल्टरलाई उल्लेखित काम गर्न भनेर छनोट गरेको थियो । यसबाट सरकारलाई १५३ करोड अर्थात् १ अर्ब ५३ करोड रुपैयाँ घाटा भएको भन्ने संसदीय समितिका सदस्यहरुको दावी रहेको छ । यसैक्रममा समितिले टेन्डर प्रक्रियामा सहभागी कम्पनीहरुको प्रस्तावलाई पुनःमूल्यांकन गरी कम्पनी छनोट गर्न समेत निगमलाई निर्देशन दिएको छ । यसबारेमा समितिले गत फागुन १० गते निगमका कार्यकारी अध्यक्ष मदन खरेल र २७ गते निगम संचालक समितिका सबै सदस्यलाई बोलाएर जानकारी लिएको थियो । वाइडबडी जहाजको इन्जिनको पार्टपुर्जा खरिद गर्न गत साउन २ मा टेन्डर गरिएको निगमले जनाएको छ । टेन्डरमा ४ वटा कम्पनी सहभागी भएका थिए । तर दुइवटाले धरौटी रकम नबुझाएको र लुफ्थान्साले प्रस्तावमा तोकिए अनुसारको पार्टपुर्जा दिन नसक्ने जानकारी दिएको निगमको भनाई छ।

 

त्यसपछि प्रक्रियामा बाँकी रहेको एकमात्र कम्पनी एजे वाल्टरलाई छनोट गरिएको निगमले जनाएको छ । टेन्डर प्रक्रियामा सहभागी सबै कम्पनीको रकम सार्बजनिक भैसकेपछि लुफ्थान्साले निगममा पुनःईमेल पठाई तोकेअनुसारको सामान दिनसक्ने जानकारी दिएको थियो । त्यो ईमेल सार्वजनिक खरिद ऐन विपरित भएकाले निगमले त्यसलाई मान्यता दिन उपयुक्त नभएको ठहर गरेकाले लुफ्थान्साले ठेक्का पाउन नसकेको निगमले जनाएको छ।

 

कार्यकारी अध्यक्ष खरेलले फागुन १० मा लेखा समितिमा उपस्थित भै यही विवरण जानकारी गराएको बताएका छन् । तर यही सोमबारको समिति बैठकमा उपस्थित भएका निगमका संचालक समितिका सदस्यहरु संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिब बुध्दिसागर लामिछाने, मुक्तिराम पाण्डे, निमानुरु शेर्पा र अच्युतराज पहाडीले कार्यकारी अध्यक्ष खरेलले गरेका निर्णय आफूहरुलाई जानकारी नै नभएको बताएका थिए । ती सदस्यले २०७४ माघ १० मा बसेको संचालक समितिको बैठकले जहाज मर्मत सम्भारका लागि टेन्डर आह्वान गर्न स्वीकृति दिएको तर त्यसयता यस बिषयमा कार्यकारी अध्यक्षले कुनै जानकारी नगराएको सुनाउँदै समितिमा छलफल समेत नभएको भन्दै सांसदहरुलाई जानकारी दिएका थिए ।

 

त्यसबेला सुगतरत्न कंसाकार निगमका कार्यकारी अध्यक्ष थिए । निगम संचालक समितिका सदस्यहरुको मौखिक विवरण सुनेका आधारमा लेखा समितिले एजे वाल्टरसँग वाइडबडी जहाजको इन्जिन पार्टपुर्जा खरिद नगर्न निर्देशन दिएको हो । तर निगम संचालक समितिका सदस्यलाई समितिमा बसेर निगमका गतिविधि नै थाहा छैन भन्नु गैरजिम्मेवार कार्य हो भनी लेखा समितिका सदस्यले सातो टिपेको बुझिएको छ ।

 

पर्दाभित्रको राजनीति

पार्टपुर्जा खरिदको कुरा निगमको आन्तरिक नियमित बिषय भए पनि यसमा ठूलो धनराशी कारोबार हुन्छ । करोडौंको रकम कारोबार हुने यसमा हवाई क्षेत्रसँग सम्बध्द व्यापारी,कमिशन एजेन्ट र अप्रत्यक्ष रुपमा राजनीतिक क्षेत्र समेत जोडिने गरेका विगतका प्रकरणहरुले नै प्रष्ट पार्छन् । यो पार्टपुर्जा खरिद प्रकरणमा पनि पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनालको समेत नाम जोडिएको एक विश्वस्त सूत्रले सरल पत्रिकालाई बताएको छ । लेखा समितिका सभापति भरत शाह नेपाली कांग्रेसका सांसद हुन् । उनी सभापति देउवाको सिफारिशमा लेखा समितिको सभापति चुनिएका हुन् । समितिका कांग्रेस पक्षीय अन्य सदस्य पनि देउवाकै विश्वासपात्र मानिन्छन् ।

 

त्यसैगरी नेकपा पक्षका (पूर्व एमाले) सदस्यहरु नेकपा नेता तथा पूर्व प्रधानमन्त्री खनाल पक्षका मानिन्छन् । यहाँ रोचक कुरा त के छ भने देउवाका साला(आरजु देउवाका भाई) प्रदीप शम्शेर राणा हवाई व्यापारका चर्चित व्यवसायी हुन् । उनी लुफ्थान्साका स्थानीय एजेन्ट पनि हुन् । प्रदीपको पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग पनि प्रगाढ सम्बन्ध रहेको हवाई उड्डयन प्राधिकरण सूत्रले बताएको छ । यही अर्थपूर्ण सम्बन्धहरुको प्रत्यक्ष परोक्ष प्रभाव र दवावले गर्दा लेखा समितिले कुनै सामान्य अध्ययन अनुसन्धान समेत नगरी प्रतिष्पर्धाबाट आफैं अलग भैसकेको कम्पनी लुफ्थान्सालाई पार्टपुर्जा खरिद गर्ने अवसर उपलव्ध गराउन घुमाउरो शैलीमा अहिलेको प्रक्रिया रोक्न निर्देशन दिएको बुझिएको छ । लेखा समिति सम्बध्द सूत्रका अनुसार, निगमलाई यो प्रक्रिया फेरि सुरु गर्न वाध्य पारेर लुफ्थान्सालाई नै पार्टपुर्जा सप्लाई गर्ने निर्देशन दिन यो सबै प्रपञ्च रचिएको हो ।

जापानको कथा

यतिमात्र होईन,निगमले वाइडबडी जहाज जापान उडाउन लगभग अनुमति पाईसकेको कुरा रोकिनुमा पनि राजनीतिक चलखेल र स्वार्थ नै मुख्य कारण रहेको बुझिएको छ । निगमले जापानका लागि आफ्नो जेनलर सेल्स एजेन्ट (जिएसए) हाल नियुक्त गरेको छैन । व्यापारिक उपलव्धिका हिसाबले निकै महत्वपूर्ण मानिने जिएसए लिन निकै दौडधुप हुने गर्छ । निगमले टोकियोमै बसोबास गर्ने देवमान हिराचनलाई अहिलेसम्म आफ्नो प्रतिनिधिका रुपमा जिम्मेवारी दिएको थाहा भएको छ । तर प्रदीप राणाले जापानको जिएसए हत्याउन चाहेको र यसका लागि एनआरएनका अध्यक्ष भवन भट्टले समेत समर्थन र सहयोग गरिरहेको जानकार सूत्र बताउँछ ।

साथै जापानस्थित नेपाली राजदूत प्रतिभा राणाले समेत यसका लागि सकारात्मक वातावरण बनाउन टोकियो र काठमाडौंमा पनि आवश्यक भूमिका निर्वाह गरिरहेको थाहा भएको छ । राजदूत राणा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ हुन् भने पूर्व प्रधानमन्त्री देउवाकी साख्यै सासु हुन् । टोकियोस्थित देवमान हिराचन र भवन भट्टवीचको चिसो सम्बन्ध तथा राजनीतिक कनेक्सन समेतको प्रभावमा पारेर निगमको जिएसए हत्याउने खेल तत्कालका लागि असफल भएकाले निगमको पार्टपुर्जा खरिद गर्ने निर्णयमाथि लेखा समितिले अवरोध लगाएको जानकार सूत्रको दावी छ ।
-सरल पत्रिका बाट

Comments

NIC Asia