‘थ्याङ्क यू यंगमेन्’- राजेन्द्र ज्ञवाली

क्षितिज पारी अपरिचित सम्बन्ध

पहिलो पटक हेर्दा मलाई उसले आफू अघिकी महिला (जो पक्कै पनि उसकी श्रीमती थिइन्)लाई भेटाउन दगुरे जस्तो लाग्यो । यसरी सकि नसकी दुगुर्दा उ उफ्रि उफ्रि अघि वढे जस्तो देखिन्थ्यो । लगभग ७५ वर्षको देखिने मझौला कदको दुब्लो पातलो वृद्ध वाकरको सहारामा आफ्नी श्रीमतीभन्दा केही पछाडी दुगुर्ने शैलीमा हिडेको देख्दा मलाई निकै रमाइलो लागेको थियो । तर जति दुगुरे पनि अघि अघि आफ्नै सुरमा हिडि रहेकी वृद्धालाई उसले भेटाउन भने सकेको थिएन । पछि थाहा भयो दुबै मर्निङ वाकका लागि त्यहा आएका थिए ।
ओहायो राज्यको लाइमा स्थित त्यो सपिङ मल विहान, वेलुका अनी दिउसो किनमेल गर्न मात्र नभइ घुमघामकालागि पनि आदर्श स्थल थियो । अझ जाडो महिनामा वाहिर हिमपात भइ रहेको अवस्थामा मल भित्रको न्यानो वातावरणमा हिड्नुको आफ्नै आनन्द हुन्थ्यो र म पनि मर्निङ वाकका लागि त्यहाँ जान थालेको थिए । ति वृद्ध जोडीलाई मैले त्यही क्रममा देखेको थिए । त्यहाँ आउने त्यस्ता धेरै जोडी मध्ये मेरा आँखा उनीहरूमा अडिन पुगेका थिए । त्यसपछि त हरेक विहान केही वेरको खोजाइपछि मेरा अघि पछि गर्दै हिडेका त्यो जोडीलाई भेटाइ हाल्थ्यो । मलाई रमाइलो लागेको कुरा के थियो भने हरेक पटक मैले हेर्दा उनीहरूवीचको दुई समान लगभग ७ फुटको पाएको थिए । हिडाइ पनि उस्तै निकै श्रृङगारपटार सहितकी श्रीमती अघि अघि आफ्नै सुरमा अनी श्रीमान चाही आफ्नी वुढीलाई भेटाउन वाकरको साहारामा उफ्रि उफ्रि दुगुरे जस्तो !
…..
तर त्यस विहान मैले त्यो जोडीलाई देखिन । मलमा मर्निङ वाक गर्न जाने क्रममा त्यहाँ आउने धेरै जसोसँग मेरो अनौपचारिक चिना जानी भएको थियो । मेरो कोहीसँग वोलाचाली त भएको थिएन । तर हामी सबैविच एक किसिमको मौन परिचय भइ सकेको थियो । तर त्यो वृद्ध जोडीसँग भने मेरो विशेष परिचय भएको अनुभव मलाई भयो । उनीहरूसँग पनि मेरो वोलचार भएको थिएन । सम्भवतः उनीहरूले मलाई ख्याल पनि गरेका थिएनन् । म त्यस विहान सामान्यभन्दा अली वढी नै समय मल भित्र वसे उनीहरूलाई पर्खदै । उनीहरूलाई आउन अवेर भयो की, ढीलो उठे होलान अनी आउदा आउदै अवेर भयो । तर मेरो निकै वेरको प्रतिक्षापछ पनि उनीहरू आएनन् । मलाई कस्तो कस्तो लाग्यो, एउटा नियमित प्रकृयामा अवरोध उत्पन्न भए जस्तै । भोली पल्ट भेट्ने आशामा म डेरा तिर फर्के ।
….
तर यो भने चौथो दिन भइ सकेको थियो त्यो जोडीलाई मलमा नदेखेको । पछिल्लो दुई दिन देखि सपिङ मल जानुको मेरो उद्देस्य मर्निङ वाकका लागि मात्र नभई त्यो वृद्ध जोडीलाई भेट्ने आशा पनि थियो ।
त्यस विहान भने मलाई निकै नरमाइलो लागेर आयो । मेरो मन अब पूरै आशंकाले भरिएको थियो । त्यहाँ सम्भवत ः यसो भए होला र उसो भए होला भन्ने संयोगको कुनै स्थान थिएन । मनभरी अनेक थरीका आशंका उम्लि रहेका थिए । अमेरिका जस्ता विकसित देशमा वृद्धवृद्धाको एकल जीवनका वारेमा धेरै सुनी सकेको कुरा मैले यहाँ आएपछि देखेको पनि थिए । जीवन्को उत्तरार्धमा झन परिवारको साथ चाहिने वेला यहाँ एकाकीपनले घेरेको हुन्छ । परिवारबाट कोशौँ पर एक्लै वस्नेहरू मृत्युको मुखमा पुग्दा कहिलेकाही त छिमेकीले समेत थाहा पाउदैनन् ।
केही दिन अघि मात्र एक जना भारतीय महिलाले आफ्नो एक वृद्ध छिमेकीको मृत्यु हुदा दुई दिनपछि प्रहरी आएपछि मात्र आफूले थाहा पाएको कुरा सुनाएकी थिइन् । कसरी त्यो वृद्धले सधै विहान टेलिविनको आवाज निकै ठूलो पार्ने गरेको र त्यो आवाज आफूकहाँ पनि आउने गरेको अनी कसरी त्यस विहान टेली विजनको त्यो आवाज नसुनिएको र अर्को दिन त्यहाँ प्रहरी आएको त्यसपछि मात्र ति वृद्धको मृत्युको वारेमा थाहा पाएको कुरा उनले बताएकी थिइन् ।
मैले मनमनै इश्वरसँग त्यो जोडीको दिर्घायुको कामना गर्दै त्यस दिन घर फर्केको थिए । विहान होस अथवा वेलुका अझ दिउसो कामका वेला पनि मेरो मनमा त्यो जोडीका ’boutमा कुरा खेल्न थालेका थिए । मनको लागभग सबै जसो भाग आशंकाले ढाकेको भए पनि एउटा झिनो आशालाई मैले वलजफ्ती त्यही मनको कतै कुनामा राख्न सफल भएको थिए ।
अब भने उनीहरू देखिन छाडेको साता दिनभन्दा वढी भइ सकेको थियो । मलाई मलका कर्मचारीहरूसँग सोधौ जस्तो पनि नलागेको होइन । सानो ठाउ भएको हुनाले यहाँ एक अर्कालाई प्राय सबैले चिनेका थिए । मन भित्रको आंशकाले सोध्न पनि दिएको थिएन । मन भयभित थियो, कुनै नराम्रो खबर सुन्नका लागि मेरो मन तयार थिएन । त्यसैले सोध्ने आँट पनि गरिन ।
त्यस दिन म मलमा आफूले काम गर्ने स्टोरमा थिए । आइतवार दिउसो लगभग साढे १२ वजे तिर मैले मानिसहरूको हुलमा लगभग २५ मिटर पर जति रहेको मलको मूलद्वारबाट एउटा जोडी भित्रीएको झुर्लुक्क देखे । मलाई कता कता देखेको जस्तो लाग्यो । तर आइतवारको दिन खरिद दारी गर्न आएका मानिसहरूबीच त्यो युगल कतै हराए । मेरो मुटुको ढुकढुकी वढी सकेको थियो । आफ्नो काम छाडेर म स्टोरबाट वाहिर आइ सकेको थिए । हे भगवान् …..। झुर्लुक्क हेर्दा त त्यस्तै देखिन्थे, तर कता गए त फेरी ?
एक्कासी त्यस्तै महिलामाथि मेरो आँखा पुग्यो । हो उनी नै हुन् । त्यही जिउडाल त्यही एक सुरको हिडाइ । तर….तर खै त उनको लोग्ने…..? मेरा आँखाले ति महिलाभन्दा पछाडी उफ्रि उफ्रि आउने मान्छे खोज्न थाल्यो । तर उ त कतै देखिएन ! महिला त्यही एकनासको चालमा दायाँ वायाँ नहेरी अगाडि वढी रहेकी थिइन् । मेरो छाती ढक्क फुलेर आइ सकेको थियो । तर पछाडी वुढालाई नदेख्दा भने मन पूर्ण रुपमा आशंकामुक्त हुन सकेको थिएन ।
……
हत्तेरिका आजै फेरी वुढालाई त्यो सात फुटको दुरी लगभग १५ फुट पु¥याउन परेको । हो त । मैले पक्का गर्न फेरी हेरे… । हो. उही त हो नी खरिदारीका लागि मानिसका हुलमा उ आफ्नै चालमा वाकर वोकेर उफ्रि उफ्रि अघि वढ्दै थियो ।
मैले आफूलाई रोक्न सकिन । दुगुर्दै ति वृद्धा अघि गए र एक्कासी सोधे–अनी यतिका दिन मर्निङ वाकमा किन नआएको ?
ति वृद्धा एक्कासी एक जना अपरिचित यसरी आफू अघि देखेर छक्क परेकी थिइन् । अझ मेरो प्रश्न गराइले उनलाई रणभूल्लमा पारेको थियो । त्यतिवेलासम्म मैले पनि आफ्नो गल्ती थाहा पाइ सकेको थिए । मैले त्यसपछि उनलाई सबै कुरा विस्तारमा भने । उनका श्रीमान पनि आइ पुगी सकेका थिए । मैले उनीहरूलाई एक्कासी यतिका दिन नदेख्दा आफूलाई चिन्ता लागेको बताए । मेरो कुरा सुनेपछि ति वढा एककासी अगाडि आएर मलाई अंकमाल गरे । हामी तिनै जनाकोे आँखा रसाएका थिए ।
अनी ति वृद्धाले आफूहरू काम विशेषले आउन नपाएको बताइन् । आज पनि कुनै चर्चले विहानको खानाको मेसो गरेकोले हतारमा भएको भनिन् । वुढाले मेरो हात अझ छाडेका थिएनन् । उनले आफ्नी श्रीमतिलाई हेर्दै भने – हेर वुढी यो ठाउमा हाम्रो ख्याल गर्ने पनि कोही रहेछ ।
‘थ्याङ्क यू यंगमेन् ।’
(राजेन्द्र ज्ञवाली अमेरीकामा बसोबास गरिरहेका पत्रकार हुन् ।)