पोल्याण्ड र बुल्गेरियाले रुसबाट ग्यासको आपूर्ति नगर्ने

काठमाडौं– युक्रेन युद्धको बीचमा रुसले पश्चिमी देशहरु विरुद्ध ठूलो कदम चाल्ने भएको छ। पोल्याण्ड र बुल्गेरियाले रुसबाट ग्यासको आपूर्ति एक–दुई दिनमा बन्द गर्ने बताएको हो।

रुसको राज्य ग्यास आपूर्ति कम्पनीले यी देशहरूलाई रूबलमा भुक्तानी गर्नुपर्ने बताएको थियो। साथै रूबलमा भुक्तानी नगरे ग्यास आपूर्ति बन्द गर्ने चेतावनी दिएको थियो। तर, दुवै देशले रुबलमा भुक्तानी गर्न अस्वीकार गरेका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार युरोपेली युनियन र नेटोका यी दुई सदस्य राष्ट्रहरूले बुधबारदेखि ग्यास आपूर्ति बन्द गर्ने सम्भावना उच्च छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना गैर–सहयोगी राष्ट्रहरूले डलरको सट्टा रुबलमा भुक्तान गर्नुपर्ने घोषणा गरेका थिए।

रुसको आक्रमणपछि पोल्याण्डले आफ्नो छिमेकी राष्ट्र युक्रेनलाई समर्थन गर्दै आएको छ। अमेरिका र अन्य पश्चिमी मुलुकबाट युक्रेनमा पठाइने हतियारको ट्रान्जिट पनि पोल्याण्ड नै हो।

पोल्याण्ड सरकारले यस हप्ता युक्रेनी सेनालाई ट्याङ्कहरू पठाउँदैछ। यसबाहेक, मंगलबार पोल्याण्डले गाजप्रोमसहित ६ रूसी कम्पनी र व्यवसायीमाथि प्रतिबन्धको घोषणा गरेको छ।

युरोपले विद्युत उत्पादन र इन्धन उद्योगका लागि रुसबाट ठूलो मात्रामा ग्यास आयात गर्छ। ग्यासको आयात युक्रेन युद्धपछि पनि जारी छ।