१२ हजार वर्ष पुरानो बल्छी भेटिएपछि मानवशास्त्री हैरान

काठमाडौं । बल्छीमा गँडयौला उनेर या पिठोको डल्लो राखेर माछा मारेको त देखेकै छौं । कलाकार ‘बल्छी ध्रुवे’का हाँस्य अभिनय हेरेर मनोरंजन पनि लिएकै छौं ।    

कमैलाई थाहा होला, बल्छी थापेर माछा मार्ने यस्तो चलन कहिलेदेखि चल्यो होला ? 

हालै जर्मनका विशेषज्ञहरुले इजरायलमा १२ हजार पुरानो अनौठो बल्छी फेला पारेका छन्, जसबाट यति चाहिँ भन्न सकिन्छ, बल्छीको चलन हजारौं वर्ष पुरानो हो । 

यो तथ्यले मानव सभ्यता विकासका हालसम्मका तथ्यमाथि पनि पुनर्विचार गर्नुपर्ने देखिएको छ । हालसम्म बुझिए अनुसार पहिलो ज्ञात मानव सभ्यता ५ देखि ६ हजार वर्ष पुरानो हो । 

यस्तोमा १२ हजार वर्ष पुरानो माछा समात्ने बल्छी भेटिनुलाई दुर्लभ घटना मानिएको छ ।  उतिबेलै यति परिस्कृत शिकार औजार प्रयोगमा आइसकेको पाउँदा मानवशास्त्रीहरुको पनि मथिंगल खलबलिएको छ । 

पुरातत्वविदहरुले यो बल्छी इजरायलको हुला खोंचस्थित जोर्डन नदिमा फेला पारेका हुन् । 


gonen sharon

यो खोजका एक हस्ती प्रोफेसर गेनेन शरोनले बिबिसी साइन्स फोकस म्यागेजिनसँग भनेका छन्, ‘माछा फँसाउने यो बल्छी आकारमा आश्चर्यजनक तरिकाले आधुनिक बल्छीजस्तै छ । यो हस्तकलाको अदभूत नमुना हो ।’ 

बल्छीलाई कसरी बनाइएको छ भने माछा फँसेपछि उम्कन नपाओस् । शोधकर्ताले हाडबाट बनेका १९ वटा बल्छी गोलाकार पत्थर फेला पारेका छन् । शोधकर्ताको अनुमान छ, यस्ता पत्थरहरुको उपयोग बल्छीको डन्डीलाई वजनदार बनाउन उपयोग गरिन्थ्यो होला । 

करिब १२ हजार वर्षपहिले मानव सभ्यता घुमन्ते शिकारीको साटो विस्तारै समुदायमा रहेर शिकार गर्न थालेको हुनसक्ने आंकलन गरिएको छ । जुन बल्छी फेला परेका छन्, ति एउटै डिजाइनका छैनन् । यसबाट के थाहा हुन्छ भने प्रारम्भीक चरणमा मानिसहरु विभिन्न जनावरका लागि अलग–अलग ढँगका बल्छी उपयोग गर्थे । 

प्रोफेसर शरोनले भने, ‘प्रत्येक बल्छीको आकार, विशेषता र डिजाइन अलग छ । त्यसबेलाका मानिसलाई थाहा थियो, कुन माछाको शिकार गर्न कस्तो बल्छी चाहिन्छ भनेर ।’
hook

 साभार: drishyatv.com