टिपन टापन – स्तुति शर्मा

“घुम्ती नीर लेट भयो सानु मायालाई बाटैमा भेट भयो।“ यो गीत नसुनेको मान्छेलाई सायद नेपाली नै गनिदैन। तर यहि गीतको नयाँ भर्जन कति जनाले सुन्नुभएको छ त ? नसुनेको भए पनि क्यै छैन। मै सुनाइदिउँला:

“हे.. चुनाव निर लेट भयो विवेकशील-साझा को साउनमा भेट भयो ।”

 

गत हप्ता साझा पार्टी र विवेकशील नेपालीले सार्वजनिक कार्यक्रम आयोजना गरी आफु एक भएको घोषणा गरे। एक अर्थात, विवेकशील साझा पार्टी। यो समाचार सुनेपछि खुशी नै लाग्यो। “ल अब चाहिं केही होला जस्तो छ है” भन्ने खालको। तर संगसंगै विवेकशील साझा पार्टीका नेता–नेत्रीलाई पुर्पुरोमा हात राखेर झोक्राइरहेको कल्पना पनि गरेँ। यो शुभ काम चुनाव अगाडी नै गरेको भए ऐले कमसेकम किशोर थापा र रन्जु दर्शना जस्ता उम्मेदवारले देश र जनताको लागि केहि गरी देखाउने मौका पो पाउँथे कि ?

 

यो मिलन त सुरुवात मात्रै हो र सबैले मिलेर आगामी दिनहरुमा दिनरात नभनी काम गर्नुपर्छ । ढिलै भएपनि विवेकशील साझा पार्टीलाई मेलमिलापको शुभकामना।

यो साता अर्को हिट विषय बन्यो फेसबुकमा केटीहरुको प्रोफाइल पिक्चरमा खालि, कालो रंगको फोटो राखिनु। यो के रहेछ भनेर खोतल्दै जाँदा सबैले थाहा पाए कि यो महिला हिंसा विरुद्द फेसबुक मार्फत गरिएको एउटा क्याम्पेन रहेछ। यस कामको लागि सपोर्ट आइरहेको मात्र के थियो, फेस्बूकमा अर्को कुरा भाइरल भैसकेछ।

 

बुटवलबाट काठमाडौँ आएका युवाले आफु चढेको बसमा २०/२५ वर्षका किशोरीहरुले एउटा बुढो बाजेलाई महिला सिट बाट उठाएको देखेपछि, सो घटनाको एउटा फोटो खिची क्याप्सनमा आफुलाई यो कुरा चित्त नबुझेको भनि फेसबुकमा अपलोड गरेछन। सो फोटो फेसबुक मा राखेको केहि बेर मै भाइरल भयो र “कालो प्रोफाइल पिक्चर” संग प्रसङ्ग जोडी धेरै फेसबुक प्रयोगकर्ताले यी दुई घटनाका ’bout आफ्ना बिचार शेयर गरे।

 

म आफैँ महिला आरक्षण सिटले महिलाहरु कमजोर छन् भन्ने देखाउँछ भन्ने सोच राख्ने मान्छे हूँ। हो, यी किशोरीहरुले आफूभन्दा कम्जोर मान्छेलाई उठाएर आफु सिटमा बस्नु हूँदैन थियो। उनीहरुले त्यस्तो किन गरे, त्यो उनीहरु नै जानुन्। सायद बुटवलबाट आएका ति मान्छेलाई जेष्ठ नागरिक सिटको ’boutमा पनि थाहा थिएन, त्यसैले यो पोस्ट लेख्नु जायज छ। तर, प्रोफाइल पिक्चर क्याम्पेन र यो बसको कथा दुई भिन्न कुरा हुन्। साथै, एकजनाको कामले गरेर सम्पूर्ण महिला जातिलाई हाँसोको पत्र बनाउन जरुरी पनि म यहाँ देख्दिन।

 

केटीहरुले केहि “आउट अफ द बक्स” काम गरे कि, उनीहरुको खुट्टा तान्नुपर्ने केहि “अजासु” हरुलाई कसले चाहिं रोक्न सक्नु? अजासु अर्थात अति जान्ने सुन्ने! जुन महिना देखि सुरु भएको ‘हिमालय रोडिज’ कार्यक्रमको केसमा पनि यस्तै भयो | निकै समयदेखि मेहेनत गरेर कलाकारिता क्षेत्रमा नाम कमाएकी यस कार्यक्रमकी महिला जज दिया मास्केले अडिसन राउण्डमा अरुलाई “तँ” भनेर बोलिन् भनेर उनको लागि नानाभाति पोस्ट के के मात्र आएनन्। एकातिर सो कार्यक्रमको फर्म्याट नबुझी बाझ्ने भेडाहरुको जमात, अर्कातिर कुनै महिलाले शक्तिशाली भूमिका निभायो भने मुटु नै पोलेको जसरि उफ्रिने भ्यागुताहरु। फ्रिडम अफ स्पीच एउटा कुरा, फ्रिडम अफ स्पीच को नाममा अरुको बेइजत गरेर खुशी महसुस गर्नु अर्को कुरा। सामाजिक संजालका यस्ता भेडा र भ्यागुताज्युहरुलाई “ग्रो अप” भन्दै आफ्ना दुई शब्द यहीँ टुंग्याउँछु। हस त नमस्ते।