भरतपुरको भोट- सम्पादकीय विशेष
जसको जित अथवा जो कसैको हार भएको भए पनि भरतपुरको भोट नेपाली लोकतन्त्रका लागि नजिर नबनोस् । आगामी निर्वाचनहरु लोकतन्त्रको मर्यादा खण्डित हुने खालका हुन नपुगुन् । अर्थात् भरतपुरको जस्तो भोट फेरि कहिल्यै नहोस् ।
भरतपुर महानगरपालिकाको निर्वाचन परिणाम अपेक्षाभन्दा पृथक तर आशंका गरेभन्दा भिन्न आएन । धेरैको अपेक्षा र १ देखि १८ नम्बर वडासम्म अग्रता लिइरहेका एमालेका देवी ज्ञवाली नै मेयरमा निर्वाचित हुन्छन् भन्ने रहेको थियो । तर माओवादी केन्द्रका प्रतिनिधिले १९ नम्बर वडाको मत गन्दागन्दै ९० वटा मतपत्र च्यातेपछि उत्पन्न तनावका बीच मतगणना रोकिएको र केही अघिको अदालती फैसलाअनुसार २० गते (शुक्रबार) त्यस वडामा पुनः मतदान भएको थियो ।
पुनः मतदान भएको १९ नम्बर वडाको मतपरिणाम १ देखि १८ सम्मको भन्दा पृथक आयो । त्यसैका फलस्वरुप, ज्ञवालीलाई पछ्याउँदै गरेकी कांग्रेस समर्थित माओवादी केन्द्रकी रेणु दाहाल अघि लागिन्, ज्ञवाली पछि परे । यतिखेर, धेरैलाई यसैमा खुल्दुली छ ।
पहिलो चरणमै बैशाख ३१ मै भरतपुरमा पनि निर्वाचन सम्पन्न भएको र माथि भनिएझैं मत गन्दागन्दैको अवस्थामा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि २ महिनाभन्दा बढी अवधि मतगणना स्थगित भएको थियो । यो अवधिमा त्यस्तो के भयो जसका कारण जित्दै गरेका ज्ञवाली हारे र हार्दै गरेकी दाहालले जितिन् ?
यसको उत्तर सहजै दिन्छन् धेरैजसो, दाहाललाई जिताउन नै यी सारा तारतम्य मिलाइएका हुन् । ’cause, भरतपुरको मतगणना प्रक्रियामा जेठ १४ मा मतपत्र च्यातिनुभन्दा पहिल्यै, वास्तवमा शुरुदेखि नै, विवादै विवादमा चलिरहेको थियो । भरतपुरको मेयर को हुने भन्नेमा एमाले र कांग्रेस–माओवादी केन्द्र गठबन्धनको प्रतिष्ठा जोडिएको थियो । रेणु दाहाल माओवादी केन्द्रका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी हुन् र पुष्पकमललाई प्रधानमन्त्रीमा तथा मेयरको उम्मेदवारीमा रेणु, दुबैलाई कांग्रेस सभापति शेरबहादुर देउवाको समर्थन थियो ।
हुनलाई भरतपुर कांग्रेसको किल्ला मानिन्थ्यो तर देउवाले आफ्ना उम्मेदवार फिर्ता लिएर यो किल्ला दाहाललाई दान दिएका थिए । यसैका फलस्वरुप र माओवादीसँग गठबन्धन गरेका कारण कांग्रेसभित्रै प्रशस्तै असन्तुष्टि थियो । बैशाख ३१ को निर्वाचनमा त्यो असन्तुष्टिको लाभ भने एमालेलाई मिलेको थियो ।
धेरै कांग्रेसीले दाहाललाई मत दिन चाहेनन्, दिएनन् । यथार्थमा स्थानीय कांग्रेसजनको सहानुभूति दाहालका तुलनामा ज्ञावलीतर्फ ढल्किएको थियो । जबकि यी दुई महिनाको अन्तरालमा नारायणीमा धेरै पानी बग्यो । उनीहरुको असन्तुष्टि धेरै हद्सम्म मत्थर भयो । यसैबीच देउवा प्रधानमन्त्री बने ।
दुबै चरणका स्थानीय तहको निर्वाचनमा कांग्रेस एमालेभन्दा पछिपर्दै दोस्रो दलका रुपमा खुम्चियो । त्यस्तै पहिलो हुँदा एमालेको अहंकार पनि बढेकै हो । यथार्थमा यसकारण पनि बैशाखको ३१ निर्वाचनमा बहिष्कार गर्ने कांग्रेसका कतिपय मतदाताले पुनः मतदानमा दाहाललाई भोट दिए । यसको कारण, कांग्रेस एमालेबीच विद्यमान स्थानीय प्रतिद्वन्द्विता हो एकातिर भने अर्कातिर नेतृत्वको इच्छाका सामु समर्पण गर्ने कांगे्रसजनको स्वभाव पनि हो ।
दाहालले हार्दै गरेको चुनाव जितिन्, ज्ञवालीले हार स्वीकार पनि गरे । तर यहाँ मननीय छ, भरतपुर निर्वाचनले प्रक्रियालाई विधिसम्मत तरिकाले दुरुपयोग गर्न सकिन्छ र हार्दै गरेको चुनाव पनि जित्न सकिन्छ भन्ने गलत नजिर स्थापित गरिदिएको छ । लोकतन्त्रमा निर्वाचनले शासनमा जाने वैधता प्रदान गर्छ जबकि कहिलेकाहीं शासनमा जानैका लागि निर्वाचनलाई दुरुपयोग गरिएका थुप्रै उदाहरणमध्ये, दुर्भाग्यवश भरतपुरको निर्वाचन पनि पर्न गएको छ भन्दा पक्कै अन्यथा हुने छैन ।
मतपत्र च्यातेर पनि चुनाव जित्नु, अथवा जित्ने तारतम्य मिलाउनकै लागि मतपत्र च्यात्नु, च्यात्नेलाई दण्डित गर्नु सट्टा यसरी नै वैधता प्रदान गर्दै जाने हो भने निर्वाचन र लोकतन्त्रबीचको अन्तर्सम्बन्ध नराम्ररी खल्बलिन सक्छ ।
पहिला त कांग्रेसले आफ्ना नेताको सत्ता लालसा अभिपूर्तिका निमित्त माओवादीसँग चुनावी गठबन्धन गर्दै भरतपुरमा आफ्नो उम्मेद्वार फिर्ता लिएर मतदातालाई धोका दिएको थियो । त्यो धोका थियो ’cause सत्ताकै लागि निष्ठाविरुद्ध सम्झौता गर्न मिल्दैन तर यदि नेतृत्वले निष्ठाविरुद्ध सम्झौता गरी नै हाल्यो भने पनि कार्यकर्तापंक्ति नेतृत्वले लिएको गलत बाटोको अनुसरण गर्नु हुँदैन । दुर्भाग्यवश, ग¥यो । त्यसैका परिणामस्वरुप संसद्मा पहिलो ठूलो दलका रुपमा स्थापित कांग्रेस स्थानीय तहमा दोस्रो स्थानमा सीमित हुन पुगेको छ ।
अर्को डरलाग्दो पक्ष, माथि पनि भनिएझैं मतपत्र च्यात्ने दलले नै पुनः मतदानमार्फत् भरतपुर महानगरको नेतृत्व लिने अनुमति पायो । यसले निर्वाचन र निर्वाचनमार्फत हुने प्रतिनिधित्व जे जसरी पनि वैध हुन्छ, चुनाव जित्न जे गरे पनि हुन्छ भन्ने अनैतिक संदेश दिएको छ ।
यहाँनेर तर के पनि बिर्सन मिल्दैन भने दुबै चरणका निर्वाचनमा पहिलो भएको एमालेले आफू पहिलो हुनुको कारण मतदाताले उसलाई माया र उसप्रति विश्वास गरेका हुन् भन्ने बिर्सदै थियो । एमाले जितलाई आफ्नै पराक्रमका रुपमा चित्रण गर्न थालेको थियो । त्यसैले पहिलाको मतदानमा एमालेलाई मत दिएका कतिपयले पुनःमतदानमा उसलाई मत दिएनन्, कतिपय मतदाता ऊबाट बिच्किएका पाइए । अर्थात् भरतपुरको भोटमा एमालेको पराजय केवल कांग्रेस माओवादीबीचको गठजोड नभएर उसकै अहंकार पनि एक हद्सम्म थप कारक रहेको बुझ्न सकिन्छ ।
समग्र परिदृश्यका आलोकमा आज यति भनौं, जसको जित अथवा जो कसैको हार भएको भए पनि भरतपुरको भोट नेपाली लोकतन्त्रका लागि नजिर नबनोस् । आगामी निर्वाचनहरु लोकतन्त्रको मर्यादा खण्डित हुने खालका हुन नपुगुन् । अर्थात् भरतपुरको जस्तो भोट फेरि कहिल्यै नहोस् ।