हेलेन

मैले परैबाट उसलाई चिने । तर त्यस दिन शायद उ एक्लै थिइ । ’cause मैले वाकरको सहारामा उफ्रि उफ्रि दुगुरे जस्तै पछिपछि हिड्ने उसको श्रीमानलाई देखिन । त्यतिबेला सपिङ मलमा खासै हुल नभएकोले परैसम्म देख्न सकिन्थ्यो । तर उसको निकै पछाडीसम्म कोही त्यसरी उफ्रदै आएको देखिएन ।
सपिङ मलमा विहान घुम्न आउने त्यो दम्पतीसँग मेरो अनौठो रुपमा परिचय भएको थियो । एक पटक लगभग एक सातासम्म उनीहरूलाई नदेख्दा चिन्ता लागेको थियो । उनीहरू प्रतिको मेरो त्यही चिन्ताले हामी विच परिचय गराएको थियो ।
त्यसपछि विहान घुम्न आउदा उसको श्रीमानले मलाई देख्नासाथ अंकमाल गर्न विर्सदैन थियो । लगभग दुई–तीन मिनटसम्मको भलाकुसारी पछि हामी आआफ्नो बाटो लाग्थ्यौँ । तर त्यसविच उसले केही ठट्टा गर्न भने भ्याइ हाल्थ्यो । हेर्दा अली गम्भिर जस्तो देखिए पनि मान्छे निकै ठट्यौलो किसिमको भएको मलाई परिचयपछिको पहिलै भेटमा थाहा भएको थियो ।
‘हेरन, मेरो लाइफ त वुढीलाई पछ्याउदै वित्ने भयो । विहेपछि पनि वानी नछुटे जस्तो ! त्यस दिन आफ्नो श्रीमती तर्फ हेरेर मुसुक्क हास्दै उसले भनेको थियो–तर वढ्दो उमेरसँगै शरिर अली कमजोर भए पनि मन भित्र जोश चाही उस्तै छ है !
‘उसलाई फेरी वोल्न पाए हुने के ।’ अली अली लजाउदै हेलेनले भनेकी थिइ ।
हो, उसको नाम हेलेन थियो अनी वुढाको चाही नोर्मन ।
‘अहिले त प्रविधिले पो सजिलो पारि दिएको छ, फेसवुकमा एड ग¥यो, अनी वार्तालाप सुरु ! हामीले त निकै सडक नापका छौँ हो यीनलाई पाउनका लागि । उसले प्र्रेम पूर्वक आफ्नी श्रीमतीलाई हेर्दै भनेको थियो । यसो गर्दा राम्री श्रीमती पाएको गर्व उसको अनुहारमा देखिएको थियो ।
साच्चै पनि हेलेन निकै राम्री देखिन्थी । माझौला कद ठीक्क मिलेको शरिर अनी तिखो वनावट । पातला ओँठहरूलाई उसले गाढा रातो रङ्गको लिपिस्टिकले ढाकेकी थिइ । पाउडरले उसको गोरो अनुहारलाई अझ आकर्षक बनाएको थियो । सानो सुलुत्त परेको नाकमा लगाएको फुली मल भित्रको कृतृम प्रकाशमा टल्की रहेको थियो । निलो जिन्स माथि अगाडि ठूला ठूला टाँक भएको घिउ रङ्गको स्वेटर, टाउकोमा खरानी रङ्गको ऊनी स्कार्फ र हातमा गुलाफी रङ्गको ठूलो पर्स । उ सधै यही पोसाकमा देखिएकी थिइ ।
आज पनि त्यही पोसाकमा थिइ उ । र सम्भवतः उ घुम्न आएकी थिइन । त्यसो भए किन आएकी त एक्लै ! ! ? उसको हिडाइले मेरो जवाफ दिइ सकेको थियो । उसले पनि परैबाट मलाई देखि सकेकी थिइ । र मैतीर आउने गरी लम्कदै थिइ । हो, घुम्न आउनेहरूले मलका हरेक कुना कुना हिड्दै जान्छन् हिडाइ लामो बनाउनका लागि तर उ आज कुना तर्फ नहिडी सोझै मेरो स्टोर तर्फ नै आउदै थिइ ।
पछिल्लो पटक उनीहरूलाई नदेखेको लगभग १५ दिन भइ सकेको थियो । तर यस अघि पनि एक दुई पटक वेला वेलामा आठ दश दिन हराउने गर्थे । त्यसैले उनीहरूलाई केही दिन नदेख्दा अचेल मलाई अत्यास लाग्न छाडेको थियो ।
उ स्टोर नजिक आउन नपाउदै म वाहिर पुगी सकेको थिए ।
‘हेल्लो’ उसले मुसुक्क हास्दै भनी । तर त्यो मुस्कान अली फिका भए जस्तो लाग्यो मलाई ।
‘अनी के छ हाल खबर ! नोर्मन खै त ?’
‘तिमीलाई भेट्न आएकी नी ।’ मेरो प्रश्न खस्न नपाउदै उसले भनी–उसलाई त सञ्चो भएन, एक साता देखि नर्सिङ होममा छ । त्यही भनौँ भनेर ।
‘किन के भो र केही गम्भिर कुरा त होइन नी ? मेरो प्रश्नको जवाफमा मबाट आँखा हटाउदै भनि–खै गम्भिरै जस्तो छ ।
मलाई भित्रै बाट नराम्रो लागेर आयो । प्रतिकृया स्वरुप के भनौ थाहा नपाउदा केही वेर चुप लागे । अनी विस्तारै भने–नआत्तेउ, ईश्वरले सबै ठीक गर्छन् ।
‘खै अब ईश्वरकै त भर भयो नी । के गर्ने जीवन भनेकै यस्तै हो । आउने जाने एक्लै अनी विचको समयमा चिनजान नातागोता ।’ त्यसपछि म तर्फ हेर्दै भनी–तर अहिलेसम्म त उसलाई ठीकै छ । न्युजपेपरहरू पढेर दिन कटाउछ । बेला बेलामा म पनि जान्छु । तिमिलाई ‘हाइ’ भन्न भनेको थियो, त्यसैले ।
‘अब भेटन जाँदा मैले सम्झेको छु भनी दिनु । अनी चाडो निको भएर मर्निङ वाकमा आउन भन्नु । मैले यहाँ पर्खी रहेको छु ।’
‘खै निको हुन कठिन छ भन्छन् डाक्टरले । तै पनि तिम्रो कुरा पु¥याइ दिउला ।’ मेरो जवाफमा उसले भनी–म एक्लै घुम्न आउन थालेकी छु । अली चाडो आउने हुनाले तिमिसँग भेट नभएको मात्र हो । के गर्ने भन्न लाई त हामी दुई जना मात्र थियौँ । तर उ एक्लै पाँच जना केटाकेटी वरावर थियो । दिन त उसले घरभरी छरेका सामान मिलाउदैमा जान्थ्यो पहिला । अचेल त दिन काट्नै मुश्किल ।
यो भनी रहँदा उसका आँखा शून्यतामा गाडिएका जस्ता थिए ।
‘उसका केटाकेटी जस्ता अनौठा चर्तीकला अनी वेला वेलामा गर्ने त्यस्तै खालका उरण्ठ्याउला कुराहरू सबै मिस भइ रहेको छ ।’ उसले म तर्फ नहेरी किनै भनी–हेरन, पहिला हामी मर्निङ वाकमा आउदा मैले कहिल्यै पनि उसलाई पछाडी फर्केर हेरिन । अचेल एक्लै हिड्दा भने वेला वेलामा आफसे आफ पछाडी फर्केर हेर्न थालेकी छु । खै के भएको हो ?
मलाई नरमाइलो लागेर आएको थियो । त्यो दम्पती वेग्ला वेग्लै हुने त मैले कल्पना समेत गरेको थिइन । तर आज भने उ एक्लै थिइ । कुराकानीका क्रममा वेला वेलामा रुञ्चे हाँसोका साथ ।
‘थाहा छ, हाम्रो विहे भएको पचास वर्षभन्दा वढी भइसक्यो, तर उ मसँग रिसाउन त परै जाओस कहिल्यै ठूलो स्वरले पनि वोलेन । वरु मै वेला वेलामा कराउथे उसँग । तर मेरो रिस पनि कहाँ लामो समयसम्म रहन दिन्थ्यो र फकाउन त खप्पिस नि उ !’ उसले फेरी अर्को रुञ्चे हासो सहित कुरा पुरा गर्दै भनी–म रिसाएको बेला केटाकेटीको जस्तो अवोध अनुहार वनाएर हेथ्र्यो मलाई । उसको निश्चल मायालु अनुहार हेरेपछि मलाई पनि व्यर्थैमा रिसाएछु जस्तो हुन्थ्यो र म हाँस्न पुग्थे ।
‘भगवानमाथि भरोसा राख सबै ठीक हुन्छ ।’
‘खै’ मेरो कुराको जवाफमा उसले भनी–साच्चै भन्ने हो भने डाक्टरले त जवाफ दिइ सकेका छन् । अब चमत्कार भए मात्रै ।
‘तर दुखः मानेर मात्र के गर्ने ? जीवन भनेकै यस्तै हो । दुख मानेर रुदै हिडेर पनि केही फाइदा त छैन नी । र रोएर केही हुनेवाला पनि होइन ।’ उसले यसोभन्दाभन्दै उसका दुबै आँखाका डीलमा दुई ढीक्का आँशु पिङ खेल्न तम्तयार थिए । म भने मनमनै ईश्वरसँग चमत्कारको प्रार्थना गर्दै थिए ।