संमृद्धिका सारथीहरु ! –अश्विनकुमार पुडासैनी

यस बेला नेपालको नीति निर्माण गर्ने र त्यसको कार्यन्वय गर्ने सबै क्षेत्रमा मध्यपुस्ताको बाहुल्यता छ । चाहे त्यो व्युरोक्रासी, व्यावसायी, प्राज्ञिक एवं पेशागत क्षेत्रमा नै किन नहुन । यो चुनौतीलाई समयमा नै पहिचान गरि चुनौतिलाई नै अवसरमा बदल्नुको विकल्प छैन वर्तमान मन्त्रिपरिषदका मध्यपुस्ताका प्रतिनिधिका लागि ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिई सकेपछि मन्त्रीमण्डल विस्तारमा समावेश भएका व्यक्तिको मुखाकृतिले नेपालीको संमृद्धि सपनालाई समेटिने हो कि भन्ने भान भएको छ । आशा पलाएको छ ।
प्रधानमन्त्रीले आफ्नो मन्त्रीमण्डल विस्तारको क्रममा आफ्नो पार्टीकोतर्फबाट प्रतिनिधित्व गर्ने मन्त्रीको छनौटलाई कतिपय राजनीतिक विश्लेषकले ‘राजनीतिक जोखिम’को रुपमा हेरेको पनि पाइयो । तर, पङ्तिकारको विचारमा यो नेपाली जनताको संमृद्धि सपना पुरा गर्नको लागि मध्यपुस्ताको भावना प्रतिनिधित्व र संमृद्धि सपना साकार पार्ने सच्चा सारथीको छनौटको रुपमा हेरिनु पर्दछ भन्ने छ ।
मध्यपुस्ताको प्रतिनिधित्व
प्रधानमन्त्री केपी ओलीले पछिल्लोपटकको मन्त्रीमण्डल विस्तारमा आफ्नो पार्टीकोतर्फबाट समावेश गरेका प्रतिनिधि मध्यपुस्ताका प्रतिनीधि पात्र हुन् । जसले आफ्नो उर्जाशील समयमा नै आफुले केहि गरेर देखाउने सपना बोकेका छन् । आफ्नो राजनीतिक जीवनमा त्यस्ता विषयको उठान गरेका छन् । जसले वास्तविक रुपमा मध्यपुस्ता अर्थात पैँतालिसदेखी पचपन्न बर्ष उमेर समुह र त्यो उमेर समुहका व्यक्तिको सपना र भावनाको प्रतिनिधित्व गर्न सक्छन् ।
अहिलेको नेपालको मध्यपुस्ता त्यस्तो संवेदनशिल र उर्जाशील पुस्ता हो जसको भूमिका र सहभागिता नेपालको राजनीतिक, आर्थिक एवं सामाजिक परिवर्तनमा कुनै न कुनै रुपमा क्रियाशिल एवं नेतृत्वदायी भुमिकामा रहेको थियो । यहि पुस्ताले संमृद्ध नेपालको सपना साकार पार्न सक्ने छ । आफु मात्रै होईन अरुलाई पनि यो अभियानमा डोहो¥याउन सक्ने छ ।
संमृद्धि सपनाको प्रतिनिधित्व
प्रत्येक नागरिकले आफुले देखेको संमृद्धि सपना आफ्नो जीवनकालमा नै अनुभुति गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । बर्तमान मन्त्रीमण्डलमा समावेश भएका अनुहारले नै नेपालको संमृद्धि सपनाको प्रतिनिधित्व गर्छन् । मन्त्रीमण्डलमा समावेश अनुहार मध्ये कतिपयले आफ्नो राजनीतिक जीवनको परिभाषालाई नै “नेपाल र नेपालीको संमृद्धि सपना साकार पार्न अविच्छिन्न रुपमा क्रियाशिलता, सहभागिता र ‘इङ्गेज्ड’ हुने”भनि समय÷समयमा अभिव्यक्त गरेका छन् । लेखेका छन् । बोलेका छन् र लागि पनि परेका छन् ।
बीसौं शताब्दीका सुप्रसिद्ध व्यवस्थापनविद् पिटर ड्रकरले भने झै जसले सफलताको सपना देख्छ उसले नै आफ्नो जीवनमा नै सफलता हासिल गर्न सक्दछ । सफलताको जननी भनेकै सफलताको सपना हो भनेका छन् । अहिलेको मन्त्रिमण्डलमा समावेश चेहराले आफ्नो समयमा नै संमृद्धि सपनालाई पुरा गर्ने सपना देखेका, देखाएका छन् । संमृद्धि सपना देख्ने र देखाउनेको समुहले नै प्रधानमन्त्री ओलीले भन्ने गरेको संमृद्धि सपना आफैं आफ्नो जीवनकालमा अनुभुति गर्न सक्नेछन् । उनले आफुसँगै संमृद्धि सपना देखेकालाई संमृद्धि को सारथीका रुपमा चुनेका हुन् ।
भावी पुस्ताको ‘रोलमोडेल’
आगामी पुस्ता सुचना प्रविधिबाट ज्यादै प्रभावित पुस्ता हुने छ । यो पुस्ताले अघिल्लो पुस्ताले झै समयलाई पर्खने र असहज एवं अनुपयुक्त विषयसमेतलाई स्वीकार गर्दैन । नेपालमा हजुरबाको पुस्ताले गरेको संघर्ष र बलिदानीबाट बाको पुस्ताले लाभ लिइ रहेको छ । बाको पुस्ताको भुमिकाले नाति पुस्तालाई डो¥याउने हो । तर, अहिलेको मध्यपुस्ता त्यहि नाति पुस्ता हो जसले भोलीको पुस्ताको लागी रोल मोडेलको भुमिका निर्वाह गर्नुपर्दछ । अहिलेको मध्यपुस्ताका प्रतिनिधिले विगत लामो समयदेखि आफुलाई कार्यकारीको भुमिका निर्वाह गर्न व्यग्र प्रतिक्षा गरिहेको थियो । लामो समयसम्मको उनीहरुको व्यग्रतालाई प्रधानमन्त्री ओलीले सम्मान गरेका छन् । यो नेतृत्वबाट प्राप्त अबसरलाई मध्यपुस्ताका प्रतिनिधिले आफुलाई ‘रोल मोडेल’को रुपमा खरो उतार्न सक्नुपर्छ ।
अग्नि परिक्षामा मध्यपुस्ता
अघिल्लो अंकसमेतमा चर्चा गरिएको नेपालको मध्यपुस्ताले नेपालको चरम गरिबी, अशिक्षा, आर्थिक, सामाजिक र राजनीतिक पिडा, कष्ट, हण्डर, ठक्कर र यातनासमेत व्यहोरेको छ । आफुले व्यहोरेको पिडा, कष्ट, अभाव र सपना बीचको अन्तरद्धन्दलाई राम्रोसँग अनुभुत गर्न सक्छ यो पुस्ताले । किनकी यो पुस्ताले नै आफ्नो समयलाई सहि सदुपयोग गर्न सक्दछ । जोस् र होसका साथ जिम्मेवारी पुरा गर्न सक्दछ । आफुसँग उपलब्ध सिमित श्रोत साधनको पहिचान, उपयोग र त्यसको उचित व्यवस्थापन गर्न सक्ने आकांक्षा, कौशलता र उर्जा यो पुस्तामा रहेको छ । यो पुस्ताको लागि उचित जिम्मेवारीको अवसर र सम्भावना सँगसँगै प्रतिस्पर्धा गरिरहेको हुन्छ । जब अवसर पाउँछ उसले अवसरको सहि सदुपयोग गर्न सकेन भने यो पुस्ताले पटकपटक अवसर प्राप्त गर्ने सम्भावना ज्यादै न्युन हुन्छ ।
मध्यपुस्ताका प्रतिनिधिले प्राप्त गरेको यो अबसरलाई ‘मध्यपुस्ता नै अग्नी परिक्षामा’ को रुपमा हेरिएको छ । यो पुस्ताले नै संमृद्धि सपना पुरा गर्ने कार्यको अगुवाई गर्ने अवसर पाएको छ । आफुले प्राप्त गरेको अवसरलाई सकारात्मक रुपमा उपयोग गरि सबैमा हौसला जागृत गर्न नसक्दा यो पुस्ताप्रतिको आशा र भरोसा नै समाप्त हुन सक्छ । यो पुस्ताले आफ्नो अवसरलाई सहि सदुपयोग गर्दै नेपालको सामाजिक आर्थिक एवं संमृद्ध नेपालको आधारशिला बनाउन सकेन भने भविष्यमा मध्यपुस्ताले कहिल्यै अवसर पाउने छैन । तसर्थ यो पुस्ताले पाएको यो अबसरलाई यो पुस्ता कै अग्नि परिक्षाको रुपमा झक्झकाई रहनु पर्दछ ।
असफल हुन पाउँदैनन्
संसारको समाज विकासको ईतिहासले देखाएको छ मध्यपुस्ताको लागि प्राप्त हुने अबसर अत्यन्तै न्युन हुने गर्दछन् । समाजका विभिन्न अबयव मध्ये सामाजिक एवं साँस्कृतिक जागरण र प्रभाव ल्याउन सक्ने पुस्ता भनेकै मध्यपुस्ता हो । नेपालको राजनीतिक आन्दोलनको सफलता पश्चात केहि अपवादलाई छोडेर आन्दोलनको उपलब्धीको व्यवस्थापन र उपलब्धीकोे भावना अनुसारको कार्य गर्ने अबसर मध्यपुस्ताले प्राप्त गरेको छैन । अहिले प्रधानमन्त्री केपी ओलीले मध्यपुस्ताका प्रतिनिधिलाई मन्त्रीपरिषदमा समावेश गरेर त्यो अवसर दिएका छन् ।
यदि यो कुरा अहिलेका मध्यपुस्ताका प्रतिनिधिपात्र मन्त्रीहरुले महशुस गर्न सकेनन् । आफै बहकिए । अहमता वा दम्भ देखाए । प्राथमिकता र जिम्मेवारी बुझेनन् वा आफ्नो कर्तव्यबाट च्युत भए भने नेपाली समाज र सभ्यताले नै यसको धेरै ठूलौ मुल्य चुकाउनु पर्ने छ । अहिलेको मध्यपुस्ता असफल हुँदा राष्ट्र नै असफल हुने खतरा हुन्छ । त्यसैले प्रधानमन्त्री केपी ओलीलाई जसरी असफल हुने छुट छैन, त्यसैगरि अहिलेको मध्यपुस्तालाई पनि असफल हुन छुट छैन ।
सकारात्मक उर्जाको पहिचान गरौं
सकारात्मक सोधखोजका अभियन्ता एवं आधुनिक व्यवस्थापनको प्रशंसनीय सोधखोजका प्रणेता प्राध्यापक डेभिड कुपरराईडरले प्रवद्धन गरेको व्यवस्थापनको नविन धारणाको अहिले श्रोत साधन पहिचान, परिचालन र व्यवस्थापनका लागि व्यापक रुपमा अभ्यास भइ रहेको छ । उनीअनुसार हामीले सकारात्मक कुराको सोधखोख ग¥यौं । सकारात्मक सपना देख्न थाल्यौं र सकारात्मक पक्षको अभिबृद्धि गर्ने अभ्यास ग¥यौं भने छोटो समयमा नै हामीले असिमित उपलब्धी हासिल गर्न सक्दछौं ।
व्यवस्थापनको यो नविन अवधारणाको ’boutमा अहिलेको मन्त्रीमण्डलमा सहभागी मध्यपुस्ताका प्रतिनिधिसमेतलाई थाहा छ । उनीहरुले व्यवस्थापनको अवधारणा बुझेका छन् र अभ्यास गर्न सक्ने अवस्थामा छन् । सबै तिर असफलता नै असफलता देख्ने । अरुको राम्रो कामको प्रशंसा गर्न नसक्ने । नकारात्मकताको पोको झै रहेको, परपिडामा रमाउने अहिलेको नकारात्मक प्रवृत्ति हाबी भएको समाजमा अवधारणागत परिवर्तनका साथ नेतृत्वगरि क्रियाशिल भए भने मात्र मध्यपुस्ता सफल हुन सक्ने छ । अहिलेको मध्यपुस्तालाई यो विषयसमेतमा अध्यावधिक गराई रहनु पर्दछ ।
मिडियामा सकारात्मक प्रभाव
मध्यपुस्ताका प्रतिनिधि मन्त्रीहरु सामाजिक सञ्जालमा यहि धेरै अभ्यस्थ छन् कि गएको प्रतिनिधिसभा निर्वाचनमा यीनीहरुले प्रयोग गरेको सामाजिक सञ्जाल र मिडियाको ज्यादै सकारात्मक प्रभाव रहेको थियो । मध्यपुस्ताका प्रतिनिधिसँग आफैं मिडियामार्फत प्रस्तुत हुने र आफ्नो कुरा बाहिर लान सक्ने कला र कौशलता छ । अबको कार्यकारीको भुमिकामा रहँदासमेत मध्यपुस्ताका प्रतिनिधिले मिडियालाई आफ्ना गल्ति कमजोरीप्रति ध्यानाकर्षण गराउने, खबरदारी गर्ने र सोही अनुरुप आपm्ना कार्यको अनुगमन गरि अगाडि बढ्ने चुनौती थपिएको छ । अब विगतमा जस्तो अभिव्यक्ति र मिडियामा प्रयोगमार्फत स्थान बनाउने नभई कार्यान्वयन गर्ने समय हो । आफैले नेतृत्व गरि कार्यान्वयन गर्ने जिम्मेवारीमा त्यो संवेदनशिलताको महसुश गर्न नसक्दा सामाजिक सञ्जाल र मिडियामार्फत मध्यपुस्ता नै नारायणहरि हुन सक्दछ ।
चुनौती मध्यपुस्ता मात्रै
मध्यपुस्ताका प्रतिनिधिपात्रलाई सफलता हासिलगर्न र असफल हुन दुबै चुनौतीको भनेको उनीले आफ्नो पुस्तालाई हेर्ने, विश्वास गर्ने र व्यवहार गर्ने तरिकामा भर पर्दछ । मध्यपुस्ताका प्रतिनिधिलाई अघिल्लो पुस्ताले प्रतिस्पर्धि नै ठान्दैन । प्रतिस्पर्धि होइनन् पनि । पछिल्लो पुस्ताले आशा गर्छ, भर पर्दैन । तर मध्यपुस्ता नै यस्तो छ, जसले मध्यपुस्ताका प्रतिनिधिको सफलतामा प्रतिस्पर्धात्मक रुपमा हेरिरहेको छ । यो पुस्ताका प्रतिनिधिपात्र असफल हुँदा आफुले अवसर पाउँछु कि भनि हेरिरहेकालाई समन्वय, सहकार्य र सहभागी गराउन सकेमा मात्र मध्यपुस्ताका प्रतिनिधि सफल हुने हुन् ।
मध्यपुस्ताका प्रतिनिधिले आफ्नो पुस्ताकालाई प्रतिस्पर्धिको रुपमा नहेरि सहयात्रीको रुपमा व्यवस्थान गर्न सक्ने कला र कौशलताबाट मात्रै यो पुस्ताका प्रतिनिधि पात्रहरु सफल हुन सक्छ । किनकी यस बेला नेपालको नीति निर्माण गर्ने र त्यसको कार्यन्वय गर्ने सबै क्षेत्रमा मध्यपुस्ताको बाहुल्यता छ । चाहे त्यो व्युरोक्रासी, व्यावसायी, प्राज्ञिक एवं पेशागत क्षेत्रमा नै किन नहुन । यो चुनौतीलाई समयमा नै पहिचान गरि चुनौतिलाई नै अवसरमा बदल्नुको विकल्प छैन वर्तमान मन्त्रिपरिषदका मध्यपुस्ताका प्रतिनिधिका लागि ।