मोदी भ्रमणको उपलब्धी ? –अश्विनकुमार पुडासैनी  

 

मोदी तेश्रोपटक नेपाल आउँदा विगतमा भारतले लगाएको नाकाबन्दीले अझै पनि नेपालीको मन दुखिरहेको अवस्था सामाजिक सञ्जालमा टाँसिएका असरल्ल अभिव्यक्तिले देखिएको छ । सामाजिक सञ्जालमा आएका अभिव्यक्ति, विवेकशिल साझा पार्टीले आफ्नो कार्यालयमा टाँसेको विरोध व्यानर ‘नाकाबन्दी बिर्सेका छैनौ’ले पनि झल्काउँछ । विगतमा एक समुहले सधैं पढाउँने गरेको ‘विस्तारवाद’ नाकाबन्दीपछि अर्को शैलिमा अभिव्यक्त भई रहेको छ ।

 

 

भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी शनिवार सांझ स्वदेश फर्केका छन् । यो प्रधानमन्त्री मोदीबाट एक कार्यकालमा गरिएको तेश्रो नेपाल भ्रमण हो । सरकारले छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको भव्य स्वागत र सम्मान ग¥यो ।

 

कोर्ष करेक्सनको प्रयास

 

दुई दिने भ्रमणमा मोदीले पनि विगतमा नेपालमाथि गरेको नाकाबन्दीको उच्चारणसमेत नगरिकन आफुले कोर्ष करेक्सनको प्रयास गरेको बडि ल्याङ्गवेजमार्फत नेपाल भारत सम्बन्ध नयाँ युगमा नयाँ शिराबाट भन्ने सञ्चार प्रवाह गरे । नेपाल र भारतको सम्बन्ध त्रेतायुगदेखिको रहेको प्रसंङ्ग जोड्दै उनले अहिले नेपालका प्रधानमन्त्री ओलीको “समृद्ध नेपाल, सुखी नेपाली” महाअभियान भारतमा “सबका साथ, सबका विकास” अभियान एक अर्काका परिपुरक रहेको बताउन भने बाँकि राखेनन् ।

 

 

मोदीले नेपाल–भारत संबन्ध, राजनीति, सामाजिक, साँस्कृतिक एव देवनीति र कुटनीतिले जोडिएको बताए । उनले भने, व्यक्ति र सरकार आउँछन् जान्छन् । तर हाम्रो सम्बन्ध अमर छ !

 

 

नेपाली स्वाभिमानको सम्मान

 

 

शुक्रबार जनकपुरमा रामजानकीको पूजा गरी बाह्रविघा मैदानमा नागरिक अभिनन्दन लिँदै मोदीले नेपाल र नेपाली स्वाभिमानप्रति सम्मान गर्दै भने–नेपालीको धर्मनिष्ठा सागर गहिरो र स्वाभीमान सगरमाथाभन्दा अग्लो रहेको छ । हामी छिमेकीलाई तपाईँहरुको आशिर्वाद लागि रहेको छ !

यो नै मोदीले विगतको नाकाबन्दीप्रतिको याचना र उनले आफ्नो सरकारको नेपाल नीतिप्रतिको कोर्ष करेक्सनको प्रयास हो । केहि नेपाली बुद्धिजिवीहरु, किशोर–किशोरी, युवायुवतीको मानसिकता सामाजिक सञ्जालबाट झल्किरहेको थियो–मोदीले माफी माग्नुपर्छ ! भारतले क्षमा याचना गर्नुपर्छ !!

 

 

भनाइ नै छ, कुटनीतिमा हातै जोडेर माफी मागिन्न र क्षमा याचना पनि गरिन्न । तर घुमाएर गल्ती सुधार गर्ने वचन दिइन्छ । मोदीले जुन संविधानप्रतिको असन्तुष्टिमा नाकाबन्दी गरेका थिए, त्यसै संविधानबमोजिम भएको निर्वाचनको भने प्रशंशा गरे ।

 

 

नेपालमा गतबर्ष सम्पन्न तीनै तहको निर्वाचनको परिणामपछि नेपाल नयाँ युगमा प्रवेश गरेको भनेर स्वागत गरे । यसो गर्नु भनेको नयाँ अबस्थालाई सम्मान गर्नु नै हो । हम बहादुरीको साथ पिछे हट रहेंहै भनेकै हो । उनले गरेको कोर्ष करेक्सनको प्रयास नै हो । नाकाबन्दीप्रतिको क्षमा याचना र पश्चाताप नै हो ! कुटनीतिमा असहमत भएकोलाई पनि सहमति भन्ने विश्वभरको चलन नै हो–हामी असहमत हुनलाई सहमत भयौं !

 

 

नयाँ आयाम: चिसोपन–न्यानोपना

 

 

भारतमा मोदी प्रधानमन्त्री चुनिएपछि नेपाल–भारत सम्बन्ध तीन चरणबाट गुज्रिएको छ । मोदीले २०७१ साउनमा पहिलो पटक नेपाल भ्रमण गर्दा संविधानसभामा उनले गरेको सम्बोधनबाट कुटनीतिविदले भारतको नेपाल दृष्टिकोणमा ठूलो परिवर्तन आएको उदाहरण हो भन्ने गर्छन् । यसैलाई नेपाल–भारत सम्बन्धमा थालिनी भएको नयाँ आयाम भनिन्छ ।

 

 

मोदीको त्यो बेन्चमार्कको प्रभावलाई अर्को बर्ष २०७२मा नेपालमाथि लादेको नाकाबन्दीले समाप्त नै पारिदियो । सम्बन्धमा चिसोपना आयो । नाकाबन्दीले नयाँ पुस्ताका किशोर–किशोरी, वालबालिकाहरुमा भारतप्रतिको दृष्टिकोणलाई सही परिप्रेक्षमा हेर्नुपर्ने शिक्षा प्रदान ग¥यो । यो दृष्टिकोण किन पनि युगान्तकारी छ भने भारतलाई नेपाली जनमतले वास्तविक रुपमा देख्न, भोग्न र अनुभव गर्न पाए ।

 

 

अहिले नेपालमा संविधानसभाले बनाएको–जनताको लागि, जनताले र जनतालाई बनाएको ऐतिहासिक संविधानअनुसार तीनै तहको निर्वाचन सम्पन्न भयो । केपी ओली पहिलो संबिधानअनुसार, पहिलो निर्वाचनबाट पहिलो प्रधानन्त्री भए । उनी निर्वाचित भएपछि भारतसँगको सम्बन्ध सुधारमा नयाँ प्रयास गरेका छन् । भारतले पनि नयाँ प्रयत्न गरेको छ । मोदी भ्रमणले संबन्धमा थालनी गरेको न्यानोपनको शुरुवात हो ।

 

 

नाकाबन्दीमा दुखेको मन

 

भारतका प्रधानमन्त्री मोदी तेश्रोपटक नेपाल आउँदा विगतमा भारतले लगाएको नाकाबन्दीले अझै पनि नेपालीको मन दुखिरहेको अबस्था छ । सामाजिक सञ्जालहरुमा टाँसिएका असरल्ल अभिव्यक्तिबाटै देखिएको छ । सामाजिक सञ्जालमा प्रष्फुटन भएका अभिव्यक्तिहरु, विवेकशील साझा दलले आफ्नो कार्यालयमा टाँसेको विरोध व्यानर “नाकाबन्दी बिर्सेका छैनौं”ले पनि यही अभिव्यक्तिलाई झल्काउँछ । विगतमा एक समुहले सधैं पढाउने गरेको “विस्तारबाद” नाकाबन्दीपछि अर्को शैलिमा अभिव्यक्त भई रहेको छ ।

 

 

नाकाबन्दी संझदै शुक्रबार राती आठबजे फेसबुक र ट्वीटरमार्फत ब्ल्याक आउट गर्न आह्वानसमेत गरिएको थियो । झुण्डहरु फरक तर अभिव्यक्ति उस्तै उस्तै हुन् । यसै विषयमा पंतिकारले राजधानीका सामाजिक सञ्जालमा समेत क्रियाशील केहि गृहिणीहरुसँग प्रतिक्रिया माग्दा भने “निकटको छिमेकी हो । हिजो नाकाबन्दी गर्दा विरोध गरियो । अहिले हाम्रा प्रधानमन्त्री छिमेक जाँदा र छिमेकी नेपाल आउँदा स्वागत गर्न कसर बाँकि राख्नु हुँदैन । तर हिजो जस्तो सडकमै निस्किएर वाहवाह गर्न भने सकिएन, नसकिएको कुरा कसरी सकें भनौं ? नाकाबन्दिको आर्तनाद बल्झिएर कता कता मन चसक्क भैहाल्दो रहेछ । आशा गरौं, विस्तारै यो हट्दै जाओस् । आखिर छिमेकी त छिमेकी नै हो । फेर्न पनि सकिन्न, सर्न पनि सकिन्न !

 

 

देवनीतिको सम्बन्ध, लुम्बिनीको भाकल

 

मोदीले भने लुम्बिनी नेपालमै छ । लुम्बिनीमा नै भगवान गौतम बुद्धको जन्म भएको थियो । नेपालको भूमिले छोरीको सम्मान गर्न जानेको छ । छोरीको सम्मान आज पनि सबैभन्दा बढी आबश्यक छ । राजनीति, कुटनीतिसँगै दुबै मुलुक देवनीतिले पनि बाँधिएका छन् । जनकपुरमा मोदीको अभिव्यक्ती जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन पश्चात काठमाण्डौ महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा मोदीले दोहो¥याउँदै भाकल गरे–विश्वलाई शान्तिको मार्गमा पाईला चाल्न सिकाउने अग्रदूत बुद्धको जन्म भएको देश नेपाल हो । अबको मेरो तीर्थयात्रा लुम्बिनीको हुनेछ ! नेपालले अघिसारेको लुम्बिनी सर्किटलाई पनि अघि बढाउने प्रतिवद्धता मोदीले जनाएका छन् ।

 

प्रधान तीर्थ यात्री, आईकोनिक पर्यटक

 

भारतका प्रधानमन्त्री पहिलोपटक प्रधान तीर्थयात्रीको रुपमा जनकपुर आएको बताए, मोदीले । पर्यटकको रुपमा जनकपुर, पशुपतिनाथ र मुक्तिनाथ दर्शन पश्चात मोदीले नेपालमा पर्यटनको संभावनाको प्रशंसा गदै भने– विश्वमा नेपाल जस्तो देश जसले एकै साथ शान्ति, प्रकृति, सन्तुलन र आध्यात्मिक जीवन पाउँछ । यही धरोहर भएको पवित्र देश हो नेपाल !

 

 

धार्मिक एवं साँस्कृतिक पर्यटन प्रवद्र्धनमा प्रभावकारी औजारको रुपमा यसको प्रयोग गर्न सकियो भने यो नेपालको पर्यटन प्रवद्र्धनमा कोशेढुङ्गा सावित हुने विश्वास व्यक्तगर्दै एक पर्यटन व्यवसायीले भने “मोदी आउँदा गरिएको सरसफाई र सौन्दर्यता कायम राख्दै प्रवद्र्धन गर्न सक्ने हो भने यो एक ऐतिहासिक उपलब्धी हुनेछ ।

 

 

उनले भने, मोदी आईकोनिक पर्यटक हुन् । अर्र्बौं खर्चगर्ने पर्यटन वोर्ड जस्ता संस्थाले गर्न नसकेको काम मोदीको एक पटकको भ्रमणले पूरा गरिदिएको छ ।

 

नेपाली सञ्चार माध्यममा मोदी

 

 

भ्रमण भर नेपाली सञ्चार माध्यममा छाए मोदी । मोदी भ्रमणका सबै कार्यक्रम, आयाम र क्षणहरुलाई कभरेज गरे । उच्च प्राथमिकताका साथ प्रस्तुत गरे । मोदीको आगमनको तयारीदेखि मोदीको विदाईसम्म नेपाली छापा, रेडियो, टेलिभिजन, विधुतीय अनलाईन र क्यामराहरुले फोकस–जुम गरिरहे । नेपाली पाठक, श्रोता र दर्शकहरुलाई तानी रहे ।

 

 

भ्रमण शुक्रबार र शनिबार पर्नु र आईतबार रातो मछिन्द्रनाथको भोटोजात्राले उपत्यकामा सार्वजानिक विदा पर्नु पनि संयोग नै हो ।

 

जनस्तरको कुटनीति

 

ड्रेसकोड अर्थात पहिरन कुटनीति ! पँहेलो रङ्गको कुर्ता पाईजामा लगाएर सजिएका ओलीले रामजानकी मन्दिर परिसरमा मोदीलाई स्वागत गर्दै पगरी पनि लगाए ।

 

 

मोदीले तत्काल भने, आदरणीय मेरा भाइसाव नेपालका प्रधानमन्त्री केपी शर्मा ओली मेरो स्वागतमा जनकपुर आईपुग्नु भएकोमा म धेरै खुसी छु । भारतको पहिलो प्रधानमन्त्रीको रुपमा आज जनकपुर आईपुगेको छु । आदरणीय प्रधानमन्त्री नेपाल सरकार र राज्य सरकारको आदर प्रकट गर्दछु । जनकपुर अयोध्या सिधा बस सञ्चालन जनता–जनता बीचको संबन्ध विस्तार गर्न यो नयाँ माध्यम पनि हो ।

 

 

मोदीको यो भ्रमणले दुई देशका प्रधानमन्त्रीवीचको चीसो सम्बन्धलाई सुधार गरी न्यानो बनाउन मद्धत गरेको छ । साँझ दुई देशका प्रधानमन्त्रीहरुको संयुक्त पत्रकार सम्मेलनमा मोदीले प्रधानमन्त्री ओलीसँग अड्ढमाल गरे । हग गरे । यो मोदीले एक जनस्तरीय कुटनीतिको प्रभावको लागि सांकेतिक प्रदर्शनी गरेका हुन् ।

 

अखण्ड नेपालको पक्षमा

 

जनकपुर उपमहानगरपालिकाका मेयरले चाबी हस्तान्तरण गर्दैगर्दा कार्यक्रम सञ्चालकले भने अब जनकपुर नगर पूर्णरुपले मोदीजीको भएको छ । कार्यक्रममा संम्बोधन गर्दै मोदीले जनकपुरलगायत दुई नम्बर प्रदेशको विकासको लागि एक अर्ब भारतीय रुपैया बराबरको सहयोगको घोषणा गरे । मोदीले त्यो सहयोग संघीय सरकारको कार्यक्रममा हुने बताउँदै नेपालको संविधानअनुरुपको संघीय सरकारको कार्यक्रममार्फत दिने घोषणाले क्षेत्रीय स्तरमा भएको रोदनलाई राम्रै कुटनीतिक जवाफ दिएका छन् । आफ्नो देशमा जातियता, क्षेत्रीयता जस्ता संक्रिर्णताको पिरलो व्यहोरेका मोदीले आफ्नो भाषणमा जोड दिएर भने “ अखण्ड, समृद्ध र शसक्त नेपालको आकांक्षामा भारतको पूर्ण समर्थन छ ।”

 

तीन–तीन–तीन संयोग

 

मोदी भ्रमणभन्दा तीनहप्ता पहिले भारतका तीन राजदुतहरु नेपालको मध्य पश्चिमको भ्रमणमा आएका थिए । उनीहरुको यो भ्रमणलाई एक कुटनीतिक विश्लेषकले “कुटिल”संज्ञा दिँए । बाह्र विगाहा मैदानमा “स्वतन्त्र मधेशको व्यानर, एक भारतीय एमपीको जनकपुर गाभ्ने अभिव्यक्ती र दुई नम्बर प्रदेशको मुख्यमन्त्रीको विभेदकारी संविधान र उपेक्षित मधेशको मोदीसँगको रोदन कुटनीतिक मर्यादा विपरितको बताउँदै भने, यस्ता संवेदनशील कुराहरुलाई शुक्ष्म रुपले अध्ययन गर्दै औपचारिक अभिव्यक्तिहरुलाई नाटकीय रुपमा विथोल्न सक्ने कुराको ख्याल गर्दै संम्बन्ध सुधारगर्नु पर्नेमा जोड दिए । उनले यी तीन कुराको जवाफ मोदीले आफ्ना अभिव्यक्तीहरुमा राम्रैसँग दिए । मोदीको जनकपुर, मुक्तिनाथ र पशुपतिनाथ दर्शन तीन संयोग मात्रै हो, उनले भने ।

 

शिल्यान्यास त भयो, परियोजना होल्ड मात्रै हो कि ?

 

भारतीय प्रधानमन्त्री मोदी र हाम्रा प्रधानमन्त्री ओलीले संयुक्त रुपमा होटल द्वारिकाजमा स्वीच थिचेर भारतीय कम्पनीले बनाउने र स्थानीयले छ प्रतिशत शेयर पाउने, २५ बर्षपछि पूरै स्वामित्व नेपालको हुनेगरि शुरुभएको ९ सय मेघावाट क्षमताको जलविद्युत आयोजनाको दुबै प्रधानमन्त्रीहरुले संयुक्त रुपमा राती पौने दश बजे शिलान्यास गरे ।

 

 

यो शिलान्यास पनि विगतमा गरिएका शिलान्यासहरु जस्तै हुने हो कि भन्ने आशंका कायमै छ । विगतमा हुलाकी राजमार्ग, भुकम्प पुनर्निमार्णमा गरिएको प्रतिवद्धतादेखि पशुपतिक्षेत्रको विकासमा गरिएका प्रतिवद्धता समेत कार्यान्वयन नभएको प्रसंङ्ग दोहो¥याउँदै एक कुटनीतिज्ञले भने “यस पटक सेप्टेम्बरको समय सिमा तोकिएकोले कम्तिमा अक्टोबरसम्म टिप्पणी गरि नहाल्ने हो कि ?”

 

 

भारतीयहरुको सोच, नेपाली जलश्रोतका आयोजनाहरुमा चीन नपसोस् भन्ने पनि हुन सक्छ । नेपालका परियोजनाहरु बाहिर नजाओस् भनि होल्ड गर्ने भारतीय प्रवृत्ति अब नदोहोरियोस् । मोदीले भने झै नयाँ युगमा नयाँ सम्झौताहरु नयाँ किसिमले कार्यान्वयन होउन् ।

 

१३४ दिनको ज्यानमारा नाकाबन्दी, प्रायश्चित खै ?

 

मोदी हिन्दुधर्मका कट्टर अनुयायी, आध्यात्मिक र सात्विक जीवनशैली अपनाउने तर कठोर स्वभावका मानिन्छन् । उनको चाहना भनेको नेपालको संविधानमा धर्मनिरपेक्षता नहोस् र नेपाल हिन्दुराष्ट्र रहोस् भन्ने थियो । नेपालका कतिपय नेताहरुले मोदीलाई आश्वस्त पारेका पनि थिए । तर, संविधानमा उक्तकुरा नभएपछि मोदी नाकाबन्दी गर्ने कठोर निर्णय गर्न भृत्यतन्त्रले बाध्य पारिएका हुन् भन्ने एक थरी विश्लेषकहरु पनि छन् । ती नै विश्लेषकले अहिले प्रश्न गरे, मोदीले राम जानकी पुजा–मुक्तिनाथ–पशुपतिनाथ पुजा गर्दै प्रायश्चित गरे त ? मोदीले नेपाली जनताले आप्mनो संविधान आफैं जारी गर्दा असहमति जनाउँदै गरेको नाकाबन्दीको तेश्रो भ्रमणमा प्रायश्चित गरेका हुन् त । प्रश्न ज्युँका त्युँ छ !

 

आशा कम गरौं, चनाखो धेरै बनौ !

 

मोदी भ्रमणका उपलब्धीहरुको लेखाजोखा गर्दै शनिबार राजधानीमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा सञ्चार माध्यमहरुमा सधै छाउने विश्लेषक बुद्धिजिबीहरुका कुरा पनि सुन्न पाइयो । उनीहरुका फरक विश्लेषण थिए । कोही भन्थे “कम्युनिष्ट प्रधानमन्त्रीले धार्मीक कुर्था र पगरि किन गुथ्यो ? दिल्लीको ईसारामा नै हो !

 

 

अर्काथरी थिए “यो सबै नाटकै त हो !”

 

 

तेस्राथरि विद्वानले आक्रोस पोखे “हिजो शेरबहादुरले रोकेको दुतावासले पाँच करोेड खर्च गर्ने परियोजना ओलीले पास गरिदिए भन्ने वाहिर आएको छ । अब कसरी मान्ने यिनलाई राष्ट्रबादी ? हिजो पनि उतैको पक्षमा, अहिले पनि फेरी उतैका । हेरौं भोलि कसरी चल्छन् ? हिजो नाकाबन्दिमा ओलीको राष्ट्रबादि अडानले ओलीको फ्नान बनेका ती विश्लेषकले आक्रोस पोखे ।

 

खोट मात्रै देख्ने विश्लेषकहरु

 

 

सोहि कार्यक्रममा सधै सबैतिर खोट मात्रै देखाउने विश्लेषकहरुको अभिव्यक्ति र विश्लेषण सुनेपछि पंतीकारले एउटा गाउँले कथा सुनायो, जो यसप्रकार छ– कुनै गाउँका किसान साथी लिएर भैंसी किन्न गाउँ डुलेछन् । भैसी हेर्दै जाँदा कहिँ केही खोट, कहिँ केहि खोट देख्ने । खोट नभएको भैंसी नै नपाईने ।

 

 

भैंसी हेर्दाहेर्दा एउटा भैसीमा भने खोटै देखाउन मुस्किल परेछ । उनी सँगै गएका साथीले भनेछन्– धेरै दुध दिने । निक्खर काली । चिल्लो । सिङ्ग, कान, जीउडाल मिलेको । रौं, थुन, पुच्छर सबै सर्लक्कै छन् । यसमा त खोट लाउँदैनौ नि अब ? जबाफमा किसानले खोट देखाउदै भनेछन् – यो भैंसीको अलिकति सुत टेडो छ !

 

गाउले कथा सुनेपछि तेश्रो थरी विश्लेषक–बुद्धिजीवीले भने, “भारतको कुटनीति कर्मचारी र खुफियाले चलाउँछ । मोदीले जत्ति भने पनि केहि हुनेवाला छैन । त्यसैले हौसिनु पर्ने केहि कारण नै छैन । कम आशा गरौं । चनाखो बनौं । छिमेकी हो । सक्दो सम्मान गरौं । कथा रमाईलो रहेछ तर यो कथा तपाईको लेखमा नछुटाउनु होला नि ! उनले हौस्याए ।

 

चर्चा ओलीको चीन र सीको नेपाल भ्रमण’bout

 

कार्यक्रममा केहि बुद्धिजीविहरुको चासो र चर्चा अब हुने ओलीको आगामी चीन भ्रमणको थियो । नेपाल–चीनवीच भएका समझदारी, सम्झौताहरुको कार्यान्वयन र चीनका राष्ट्रपति सी जिनफिङ्गले गर्ने भनेको नेपाल भ्रमणले यस भ्रमणको सकारात्मक उपलब्धिमापन हुने बताए । केहि बुद्धिजीवीहरुले पंतिकारसँग प्रश्न गरे–ओली डक्ट्रिनको प्रयोगको सार्थकताका के हुन्छ ? चुनाबी राष्ट्रबाद मात्रै हो कि ? साच्चै ओलीले नेपालको विदेशनीतिलाई मार्गनिर्देश गरेका हुन् त ? यदि हो भने यसको प्रयोग निकट भविष्यमा नै देख्न सकिन्छ ? ओलीको आगामी कार्यक्रम र क्रियाशीलता के छन् ? के उनले जनतालाई आशा मात्रै देखाएका हुन् कि केहि गर्छन् पनि ? उनले प्रश्न गरिरहे । पंतीकारले सुनिमात्रै रह्यो ।