गर्भबाटै बिदा भएकी छोरीको मर्मस्पर्शी कथा
म यहाँ असहाय दुखाइले छटपटाइ रहेकी छु । मलाई नमार्नुस्,मलाई पनि बाहिरी सुन्दर संसार हेर्न दिनुस् । मेरो के गल्ति छ र ? किन मलाई यस्तो दर्दनाक मृत्यु दिँदै हुनुहुन्छ ? तपाईलाई मेरो माया लाग्दैन ? मेरो अन्तिम सास मात्रै बाँकी छ। अब मलाई बचाउनुस्। म मर्न चाहन्न । आमा …आमा ….!!!
आमा, म आज सात इन्च लामो भए । मेरो शरिरका सबै अंगहरु विकशित भएका छन् । म सबै अंग चलाउन सक्छु । मैले मलाईको आवाज पनि चिन्न थालेको छु ।मलाईको आवाज धेरै मिठो लाग्छ, मलाई । तपाइको प्रत्येक आवाजसंगै म मेरा कोमल हातखुट्टा हल्लाउने प्रयास गर्छु ।मलाईको मुटुको धड्कन नै मेरो एकान्तवासको साथी हो। र, म हुनुको अर्थ हो ।
आमा, आज मैले मुँस्कुराउन सिकें । तर, अझै पनि म सानै छु, बाहिरको संसारमा म आफुलाई सर्मपण गर्न सक्दिन, मलाइ यहि नै न्यानो र सुरक्षित छ, तर पनि बाहिरको संसार कस्तो छ र कहिले हेर्ने भनेर म दिन गनेर बसेको छु । म तपाईको सन्तान हु, सायद यो कुरा सुनेर तपाइ पनि खुसि हुनुभयो होला, म सदा तपाईलाई खुशी देख्न चाहन्छु। तपाई रुँदा मलाइ साह्रै दुःख लाग्छ । म नि तपाईसंगै रुन्छु, तर तपाईले मेरो आँसु देख्नुहुन्न ।
अब त मेरो कपालहरु पलाउन थालेका छन् । एकदम नरम र छोटो छ, मेरो कपाल । म प्रायः समय कसरत गरेर बिताउछु, अहिले त म हातखुट्टाको औलाहरु नि चलाउन सक्छु । अनि टाउको पनि यताउता हल्लाउन सक्छु । आज तपाई बाबासंग डाक्टरकोमा जानुभयो । उसले तपाईसंग झुट बोल्यो कि म बच्चा हैन भनेर, म कुनै रोग हो रे । यो सुनेर म कति धेरै रोए । तर, मेरो चिच्याहट कसैले सुनेनन् ।
आमा, म कुनै रोग हैन तपाइकै आफ्नै छोरी हुँ । तर, एउटा कुरा मैले बुझिन, त्यो डाक्टरले मलाई किन रोग भनेको भनेर । आज फेरी तपाई त्यो डाक्टरकोमा जानुभयो । मलाइ त्यो डाक्टर मनै पर्दैन, ऊ एकदम निर्दयी छ । उसले मेरो न्यानो बासस्थानमा चोट पुर्याउदैछ । सियो जस्तै चुच्चो र धारिलो चिजले मलाइ धेरै पिडा दिईरहेको छ। आमा, विन्ती छ उसलाई रोक्नु भन्नुस न ।
म यहाँ असहाय दुखाइले छटपटाईरहेकी छु । मलाई नमार्नुस, मलाई पनि बाहिरी सुन्दर संसार हेर्न दिनुस् । मेरो के गल्ति छ र ? किन मलाइ यस्तो दर्दनाक मृत्यु दिदै हुनुहुन्छ ? तपाईलाई मेरो माया लाग्दैन ? मेरो अन्तिम सास मात्रै बाँकी छ अब, मलाई बचाउनुस, म मर्न चाहन्न । आमा …आमा ….!!!
म जति रोए पनि कराएपनि मेरो कुरा सुनिदिने कोहि भएन । तपाइले त बुझ्नुपर्थ्योनि मेरो बिलौना । म रोएको त तपाइले सुन्नुपर्थ्यो नि । तर, तपाईले नि मेरो कुरा बुझ्नुभएन । म रोए चिच्याए, तर मेरो त्यो आवाज नेपथ्यमै बिलिन भयो, म आउन सकिन यो धर्तिमा ।
म अहिले सुरक्षित छु, भगवानको घरमा । भगवानको काखमा छु, उहाले मलाई धेरै माया गर्नुहुन्छ । तर, मलाई भगवानको यो काखभन्दा तपाईको कोखमा निकै आनन्द थियो । यहाँ मैले मायाभन्दा बढी दया पाइरहेको छु । अकालमा मरेको एउटा बच्चिको रुपमा ।
हरेक सन्तानको चाहना हुन्छ, आमाको काखमा रमाउने र बाबाको हात समाएर संसार हेर्ने । त्यो सौभाग्य मैले पाइन । ऐले मैले सबै कुरा बुझें, किन तपाइले पनि मलाई नअपनाउनुभएको, अनि किन मलाई यो दुनियामा आउन नदिनुभएको ?
मलाई माफ गरिदिनुस,आमा म छोरा भएर जन्मिन सकिन, तर मलाइ तपाइसंग केहि गुनासो छैन सिर्फ भगवानलाइ यहि प्राथना छ कि अर्को जुनिमा पनि म तपाईकै कोखमा छोरा भएर हुर्किन पाऊं, तपाई मलाई सम्झिएर कहिल्यै नरुनु ल । तपाई को आखाँमा आँसु देख्दा मेरो भक्कानो फुटेर आउछ ।
अहिले तपाईको कोखमा र काखमा कुनै सन्तान छैन । यो कुराले मेरो मन कति रुन्छ । तर, पनि म केहि गर्न सक्दिन । म यति चाहन्छु अर्को जुनीमा म तपाइको छोरा भएर जन्मिन पाऊँ । त्यो बेला मेरो आवाज तपाईले सुनिदिनुस है, आमा । म तपाईको कोखमा फेरी बास पाउने आशा गर्दछु । म तपाईको हरेक सम्झनामा आउछु । बिपनामा त सकिन सपनामा भएपनि तपाईको समिप हुने प्रयास गर्छु । कतै आमा मैले गल्ति त गरिन । म त तपाईको चाहना नै हैन नि है । यदि म तपाईको चाहना र खुसि थिए भने मेरो हत्या कसरि गर्न सक्नुहुन्थ्यो र । तर, यसमा तपाईको पनि दोष छैन, म सन्तान भन्ने कुरा नै तपाईलाई कहाँ थाहा थियो र यो कुरा त बाबालाई मात्र थाहा थियो । डाक्टरले म छोरी भएको कुरा बाबालाई भनेको थियो आमा, बाबालाई यो कुरा चित्त बुझेन, उहालाई छोरी हैन छोरा नै चाहिएको थियो ।
मलाई त्यो झुट बोल्ने डाक्टर र छोराको आशमा मलाई हत्या गर्ने बाबा दुवै अपराधी लाग्छ । तपाईले त म रोग नै हो भनेर बुझ्नुभएको थियो । यदि म तपाईकि छोरी भनेर थाहा पाउनुभको भए त विश्वास थियो, म अहिले तपाईको काखमा हुने थिए, मैले अकालमा मर्नुपर्ने थिएन । मेरो त्यो कोमल शरीर र आत्मा छुटाई फोहोरको कन्टेनरमा फाल्ने ति डाक्टरदेखि आज नि मलाई सारै रिस उठेर आउछ ।
तर, भगवानले मलाई सान्त्वना दिनुहुन्छ पाप गरेपछि सजाय अवश्य भोग्नुपर्छ । त्यो दिन आउछ त्यो डाक्टरको । मैले त हर दिन तपाईलाई देखेको हुन्छु, तर तपाईले मलाई देख्नुहुन्न । दोष त बाबाको पनि छैन है यसमा यो समाज नै यस्तै छ, मेरो बाबाको भन्दा पनि छोराको चाहना, यो समाजको हो । यस्ता केहि प्रतिनिधि पात्र मात्र हुन्, जसले छोराको लागि छोरीको बलि चढाउछन् ।
यो कथा मात्र कथामा सिमित छैन । यसमा एक परिवार र सन्तानको वियोगको कहानी छ । जन्मिनुभन्दा पहिलेनै आफ्नो आमाबाट टाढा हुनुपर्ने एक बाध्यताको कहानी छ । कहानी मात्र हैन नेपाली समाजको यथार्थ छ । के शहर के गाउ जहाँ पनि आजसम्म छोराको स्थानको हाराहारीमा छोरीहरु अटाउन सकेका छैनन् ।छोराछोरी समान दुवै बराबरी भन्ने त मुख बोलि मात्र हो ।जन्मिएर दुख पाउने त छन् नै, तर जन्मिनुभन्दा अगाडी नै यो संसारबाट टाढा हुने झन् धेरै छन् ।
लिङ्ग पहिचान गरेर गर्भपतन गर्नु त एउटा पाटो मात्र हो । यस्ता धेरै अबोध शिशुहरू दिनमा कति जना मारिन्छन पत्तो हुदैन । गर्भपतन नै एक अपराध हो । लिङ्ग पहिचान गरिने मारिने शिशुको एक बेदना छ भने संसार हेर्न आतुर गर्भमै मारिने शिशुको तथ्याङ्क पनि डरलाग्दो नै देखिन्छ ।
नेपालमा गर्भपतनको अवस्था
नेपालमा सन २००२ देखि गर्भपतन सेवा शुरु गर्ने निर्णय भएपनि सन् २००४ देखि मात्र कार्यान्वयनमा आएको हो । हालसम्म नेपालमा करिब ९ लाखले गर्भपतन गराइसकेको तथ्याङ्कमा उल्लेख छ । शुरुवाती कालमा अत्यन्त न्यून मात्रले सेवा लिएको र हाल यो संख्या बढेको अध्ययनहरुले देखाएको छ । कुल गर्भ मध्ये ५८ प्रतिशत गर्भ अनिच्छुक गर्भ रहने गरेको तथ्यांकमा छ । पछिल्लो समयको तथ्याङ्कअनुसार कुल गर्भ मध्ये ३१ प्रतिशत गर्भपतन हुन्छ भने अनिच्छुक गर्भ मध्ये ६२ प्रतिशतले गर्भपतन गर्ने गरेको देखिन्छ ।
सुरक्षित गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो। असुरक्षित गर्भपतन रोक्नु हाम्रो दाहित्व हो। लिङ्ग पहिचान गरेर, गर्भवती महिलाको सहमतिविना र १२ हप्ताभन्दा वढिको गर्भपतन गराउन कानुनले बन्देज लगाएको छ। अप्ठ्यारो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यबस्था रहेको छ। कानुनी रुपमा गर्भपतनलाई मान्यता दिएपछि भने भ्रुण हत्याको तथ्यांक ह्वात्तै बढेको देखिन्छ ।
गर्भपतनले स्वाथ्यमा पार्ने असर
सरकाकातर्फबाट दिइने सुरक्षित गर्भपतन सेवाको दायरा फराकिलो बन्दै गएको दाबी गरिरहँदा जथाभावी अर्थात असुरक्षित गर्भपतन गरी आफ्नो जीवन धरापमा पार्ने महिलाको संख्या बढ्दै गएको छ।जोखिम मुक्त महिला जीवनको कल्पना र उनीहरुको प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न सुरक्षित गर्भपतनलाई कानूनी मान्यता दिलाउन लागि परेका अधिकारकर्मीसमेत यस विषयमा गम्भीर हुन थालेका छन्।
गर्भपतनलाई कमाउ धन्दाको रुपमा विकास गर्नसमेत लागेको अड्कलबाजी उनीहरुमा हुन थालेको छ। खासगरी निजी क्षेत्रका कतिपय स्वास्थ्य संस्था र अस्पताल गुणस्तरीय सेवाभन्दा व्यवसायका लागि गर्भपतन गरिरहेका छन्। सुरक्षित गर्भपतनले महिलाको स्वास्थ्य संकटमा पार्छ । औषधि व्यवस्था विभागले जम्मा सात वटा औषधि गर्भपतनका लागि बिक्रीको अनुमति दिएको छ। तर, बजारमा ४५ भन्दा धेरै प्रकारका औषधि पाइन्छ ।
सरकारले बिक्रीको अनुमति दिएका औषधि साढे पाँच सयमा सेवाग्राहीले किन्न पाउँछन्, तर सरकारले बिक्रीका लागि अनुमति नदिएका कमसल औषधिलाई सेवाग्राहीले तीन हजारसम्म हालेर खाने गरेका छन्। त्यस्ता औषधि खाएर स्वास्थ्य जटिल बनाउँदै अस्पताल धाउने किशोरी तथा महिला पनि धेरै छन्।
कमसल औषधिले गर्भपतन पूर्ण मात्रामा नहुने, रक्तश्राव धेरै हुने जस्ता समस्या उनीहरुलाई देखिएको छ। कसैकसैको त पाठेघरनै फाल्नु पर्ने अवस्था आएको देखिन्छ । अनुमति विना औषधि बिक्री वितरण गर्ने औषधि पसलका सञ्चालकलाई कारवाही गर्ने जिम्मा औषधि व्यवस्था विभागको हो । विभागले आफ्नो जिम्मेवारी पुरा गर्न नसक्दा अवस्था झन जटिल बनेको छ। साथै स्वयम् महिला पनि आफ्नो स्वास्थ्य’bout सचेत हुन जरुरी छ।
अन्त्यमा,
गर्भपतनले एउटा हुर्किदै गरेको आत्मालाइ सदाको लागि मारिदिन्छ ती दुइ निर्दोष आँखाहरुले सुन्दर संसार कहिल्यै देख्न पाउनेछैनन् । अनि त्यो कोमल ओठले कहिल्यै पनि आमा भनेर सम्बोधन गर्न पाउने छैन । गर्भपात एउटा जघन्य अपराध हो । छोरा होस या छोरी, दुवै आफ्नै सन्तान हुन र दुवैलाइ यो धर्तिमा आउने अधिकार छ । कुरीति र कुसंस्कृतिको नाममा गर्भमै छोरीको हत्या नगरौं, आखिर ती निर्दोष सन्तानको के नै दोष छ र ? फुल्नै नपाइ कोपिलामै फुललाई नमारौ । गर्भपतन गर्नुभन्दा पहिला सोचौ, आफ्नै सन्तान आफ्नै आमासंग जीवनको भिख माग्दै चिच्याईरहेका त छैनन् ?