क्याम्पस चलाउनै सकस

शान्तिदीप बहुमुखी क्याम्पस जैमिनी नगरपालिका–१ कुश्मीशेराका प्राध्यापकहरुले पारिश्रमिक नपाएको नौ महिना पुग्यो । प्राध्यापकहरुलाई पारिश्रमिक दिन पुग्ने आर्थिक स्रोत क्याम्पससँग नभएका कारण पारिश्रमिक रोकिएको हो । व्यवस्थापन र शिक्षा शास्त्र सङ्कायमा अध्ययन अध्यापन हुने यस क्याम्पसमा ९३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीबाट एक वर्षमा उठेको शुल्क प्राध्यापकहरुलाई तीन महिनाको पारिश्रमिक दिन पनि पुग्दैन ।

सो¥हजना प्राध्यापक रहेको यस क्याम्पसले स्थापना कालमा गरेको धनधान्याञ्चलबाट उठेको रकमले गत वर्षसम्मको खर्च चलाएको थियो । अब भने खर्च चलाउन निकै कठिन भैसकेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद शर्माले बताउनुभयो । रु १५ लाखको अक्षय कोष क्याम्पससँग छ तर, कोषबाट आउने ब्याजको रकम क्याम्पसको प्रशासनिक कामकार्वाहीमा मात्र हैन भौतिक पूर्वाधार, मर्मत र अन्य सामान्य काममा समेत लगाउनुपर्छ र यो रकम ज्यादै अपुग छ । एक चौमासिकमा प्रशासनिक खर्चसहित ७ लाख रुपैयाँको हिसाब आउँछ । विद्यार्थीहरुबाट वार्षिक रुपमा चार लाख रुपैयाँ पनि उठ्दैन् । कहिले मागेर त कहिले चन्दा उठाएर जेनतेन क्याम्पस चलेको व्यवस्थापकहरु बताउँछन् ।

 

कुनै पनि निकायबाट सहयोग नभएका कारण क्याम्पसहरु धराशायी अवस्थामा पुगेको अध्यक्ष शर्माले बताउनुभयो । “न्यून आय भएका परिवारका बिद्यार्थीले पढ्ने क्याम्पस हो, चर्को शुल्क उठाउने कुरा भएन,” शर्माले भन्नुभयोे – “आम्दानीका स्रोत भन्दा खर्चका शीर्षक धेरै भएकाले क्याम्पस चलाउन सकस भयो ।”

 

गाउँमा जसोतसो चल्दैआएका क्याम्पसका कारण विपन्न र न्यून आय भएका परिवारका विद्यार्थीलाई राहत पुगेको छ । यही कारण क्याम्पसको निर्वाध सञ्चालनतर्फ सरोकार राख्ने सबै निकायको ध्यान पुग्नुपर्ने जनमत छ ।

 

बागलुङकै बलेवामा रहेको कृष्णगण्डकी बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्कायमा पठनपाठन हुन्छ । त्यहाँ ६५ जना विद्यार्थीले अध्ययन गर्दैआएका छन् । यहाँ पढाउने ६ जना प्राध्यापकले मुश्किलले चार÷पाँच महीनामा पारिश्रमिक पाउने गरेका छन् । विद्यार्थीबाट उठ्ने शुल्कबाहेक क्याम्पससँग आयका अन्य स्रोत छैन ।

 

तत्कालीन गाउँ विकास समितिले शिक्षा क्षेत्रमा गर्ने एकमुष्ट बजेट क्याम्पसलाई दिएर दश वर्ष पहिले सञ्चालनमा ल्याइएको यो शिक्षण संस्थालाई पछिल्लो समय आर्थिक सङ्कटले गाँज्दै लगेको छ ।

 

प्राध्यापकहरुलाई पारिश्रमिक उपलब्ध गराउनकै लागि कहिले चन्दा त कहिले स्वेच्छिक दान माग्दै आएको यस क्याम्पसले अब भने स्थायी स्रोतको खोजीमा लागिपरेको क्याम्पस प्रमुख दीपेन्द्र खड्काले बताउनुभयो । यो क्याम्पसमा प्रत्येक महीना झण्डै दुई लाख रुपैयाँ खर्च उठ्छ तर, आम्दानीको स्रोत भनेको विद्यार्थीहरुबाट वार्षिक रुपमा उठ्ने ३ लाख ५० हजार रुपैयाँ शुल्क मात्रै हो । क्याम्पस स्थापना गर्ने बेला नै निकट भविष्यमा आउन सक्ने सम्भावित समस्याको आकलन गरेर एक करोड रुपैयाँको अक्षय कोष स्थापना गर्ने घोषाणा गरेको यो क्याम्पसले चालु वर्ष अक्षय कोष स्थापनाका लागि नारायणस्थान सेवा समाज बलेवासँग सहकार्य गर्दैछ ।

 

क्याम्पसका लागि रु एक करोडको अक्षय कोष स्थापना गर्न प्रथम बलेवा महोत्सव आयोजना गर्न लागिएको खड्काले जानकारी दिनुभयो ।

 

बागलुङको सुदूर पश्चिममा रहेको ढोरपाटन नगरपालिकामा सञ्चालित निसीभुजी जनता क्याम्पसले एक महीना पहिले क्याम्पसलाई आधुनिक प्रविधिमैत्री बनाउने लक्ष्य राखेर धार्मिक तथा शैक्षिक महोत्सवको आयोजना नै ग¥यो । त्यहाँ पनि विद्यार्थीको चाप त छ तर, उठेको शुल्कले खर्च धानिँदैन । क्याम्पसको चौतर्फी विकासका लागि यस्तै महोत्सवको आयोजना गर्नुपर्ने बाध्यता क्याम्पसलाई छ ।

 

जिल्ला सदरमुकाममा रहेको धौलागिरि बहुमुखी क्याम्पस धौलागिरि अञ्चलकै एक मात्र आङ्गिक क्याम्पस हो । यो बाहेक यस जिल्लामा विभिन्न विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिएका १० वटा क्याम्पस छन् । कुनै पनि क्याम्पसमा विद्यार्थी नभएर पठनपाठन रोकिने अवस्था भने छैन ।

 

सदरमुकाममा धौलागिरिसहित दुई वटा निजी क्याम्पस सञ्चालनमा छन् । बलेवामा दुई, जैमिनीमा एक, बरेङ गाउँपालिकामा एक, काठेखोला गाउँपालिकामा दुई, गल्कोट नगरपालिकामा एक र ढोरपाटन नगरपालिकामा एक क्याम्पस सञ्चालनमा छन् । गाउँमा सञ्चालित क्याम्पसहरुमा आर्थिक स्रोतको अभाव छ । कसैले महोत्सव लगाएर त कसैले धनधान्याञ्चल गरेर स्रोत जुटाउन खोजिरहेका छन् तर, ती माध्यम सोचे जस्तो सहज भने छैन ।

 

शिक्षण संस्थाहरुलाई दिगो बनाई विद्यार्थीको भविष्य सुनिश्चित गर्न सबै पक्षको सक्रियता र उदारता आवश्यक हुन्छ । “सधैं मागेर चल्ने कुरा भएन, विद्यार्थीहरुबाट उठ्ने शुल्कले मात्रै क्याम्पसलाई चल्न कठिन भैसक्यो,” निजी तथा आवासीय विद्यालय एशोसिएशन बागलुङका अध्यक्ष रवि पौडेलले भन्नुभयो – “सरोकार राख्ने निकायको बेलैमा ध्यान जान जरुरी छ ।”

 

स्थानीय तह, प्रदेश सरकार र केन्द्रकै ध्यान नपुगेका कारण क्याम्पसहरु धराशायी बन्दै गएको नारायणस्थान सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बताउनुभयो । गाउँठाउँमा सञ्चालनमा रहेका क्याम्पसलाई बचाइराख्न सामाजिक क्षेत्रले समेत चासो राख्नु पर्ने उहाँको सुझाव छ । जिल्ला सदरमुकाममा रहेको आङ्गिक क्याम्पसमा पनि केही समस्या त छन् तर, त्यहाँ सरकारी स्रोत र पुग्दो विद्यार्थी सङ्ख्यासमेत भएकाले केही सजिलो छ । निजी क्याम्पसहरुले आम्दानी र खर्चको हिसाब गरेर नाफामा हुने गरी शुल्क निर्धारण गर्ने भएकाले उनीहरु घाटा होला भन्ने चिन्ता लिँदैनन् । गाउँमा भने चन्दा र दानकै भरमा क्याम्पस चलाउनुपर्छ । क्याम्पस व्यवस्थापकहरुसामु यही चुनौती छ ।

रासस