रक्सीको कूलतमा फसेका यी नोबेल पुरस्कार बिजेता

 यो रहस्यमय झोलको महिमा बुझ्न सायद भूपीका कविता, नारायणगोपालका गीत र प्रसिद्ध गजलकारहरुका गजलहरु पनि पर्याप्त नहोलान् । बत्तीले पुतलीलाई आकर्षण गर्दै पोल्दै गरेझैं भट्टी अर्थात् ‘मयखाना’ले अनगिन्ती महापुरुषलाई आफैंभित्र पचाएको छ । नोबेल पुरस्कार पाउने प्रथम छ जना अमेरिकी साहित्यकारमध्ये ५ जना रक्सीको कुलतमा थिए । त्यसैले मानिस किन मदिरा दुर्व्यशनी बन्छ भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन ।

 

 

मदिराले आर्थिक, सामाजिक, व्यावसायिक, नैतिक जस्ता बृहत् क्षेत्रमा त हानि गर्छ नै, यसले व्यक्तिविशेषमा पार्ने प्रत्यक्ष प्रतिकूल असर अझ बढी भयावह हुन्छ । समग्रमा भन्नुपर्दा रक्सीले व्यक्तिको शरीर र मन दुवैलाई नष्ट पार्दै लैजान्छ । रक्सी शरीरमा प्रवेश गरेपछि पिउने बानी नपरेका व्यक्तिलाई पनि नशा लाग्छ । त्यसले सर्वप्रथम सोचाइ, मन र भावना उल्टोपाल्टो पार्छ । मात्रा बढी भयो भने आफ्नो बोली र व्यवहारमा नियन्त्रण हुँदैन । रुने, हाँस्ने, गाली गर्ने, अप्रासंगिक कुरा गर्ने, बोली लर्बराउने, हिँड्दा लरखरिने, आँखा लठ्ठिने, बान्ता गर्ने, जहींतहीं लडिदिने र रक्सीको नशाले छोडेपछि टाउको दुख्ने, जीउ दुख्ने, भोक नलाग्ने, थकाइ लाग्नेजस्ता असर प्रत्यक्ष असर मान्न सकिन्छ । यस्ता असर शरीरबाट केही समयपश्चात् आफैं हट्छन् । तर, लगातार धेरै वर्षको सेवन गरी व्यक्ति दुर्व्यशनी बनेपछि उसमा स्थायी असर पर्छ ।

यस्ता असरलाई शारीरिक र मानसिक गरी दुई समूहमा बाँड्न सकिन्छ । शारीरिक असरमध्ये रक्सीले पेटको भित्री पत्र कमजोर पार्दै लैजान्छ र पाचनका लागि चाहिने तरल पदार्थ पैदा हुन छाड्छ । कालान्तरमा आमाशयमा परिवर्तन भइसकेपछि एक प्रकारको दीर्घरोग ‘ग्यासट्राइटिस’ लाग्छ । यो रोगले भोक हराउँछ र खाए पनि पच्दैन । खाद्य वस्तुको कमी र नपच्ने हुनाले शरीरलाई चाहिने आवश्यक तत्वको कमी हुन्छ । शरीरभित्र पैदा हुने भिटामिनको कमी हुन्छ । आन्द्राको सोस्ने शक्ति कम भएपछि खानामा पाइने भिटामिन पनि सोस्दैन । परिणामस्वरूप विभिन्न भिटामिनको अभावमा लाग्ने रोगहरु देखा पर्छन् । त्यसपछि भिटामिन बी–१ को अभावमा हुने नशाहरुको कमजोरी  हुन्छ । रक्सीले सबभन्दा बढी क्षति पु¥याउने अङ्ग कलेजो हो । राम्रो स्वास्थ्यका लागि कलेजोको बहुआयामिक भूमिका छ । यसले खाना पचाउने, शक्ति सञ्चय गर्ने, फोहोर तर्काउने, विषादि नष्ट पार्ने, रगत छान्ने जस्ता अनगन्ती काम गर्छ ।

रक्सीले कलेजोका तन्तुलाई प्रत्यक्ष रूपमा नष्ट पार्छ । मदिरा दुर्व्यशनीको कलेजो फुलेको हुन्छ र यसको भित्री बनावट खल्बलिएको हुन्छ । कलेजोले काम गर्न छाडेपछि विभिन्न समस्यासहित पेटमा पानी जम्मा हुन्छ । नाइटो वरिपरि छालाका नसा फुल्छन् र खोक्दा रगत बान्ता हुन्छ । रक्सीले शरीरमा गर्ने असर कलेजोमा मात्र सीमित हुँदैन । मस्तिष्कका प्रत्येक भाग रक्सीबाट प्रभावित हुन्छन् । मस्तिष्क प्रभावित हुने र त्यसको कारणले मनमा नौलानौला अनुभूति हुने हुनाले नै यसप्रति दुर्व्यशन बस्ने खतरा भएको हो । कलेजोमा प्रभाव पारेजस्तै मस्तिष्कमा असर गर्न थालेपछि त्यो पनि छियाछिया हुन्छ । कुनै भाग सुक्छ, कुनै भाग फुल्छ र गिदीको बनावट स्थायी रूपले बदलिन्छ । यसलाई अल्कोहोलिक इन्सेफालोपाथी भनिन्छ ।

गिदी यस्तो अवस्थामा पुगेपछि मस्तिष्कका प्रायः सबै क्रिया बिग्रिन्छन् । यो अवस्थामा स्मरण शक्ति पूरै गुम्ने, सोच्न नसक्ने र पागलपनजस्तै कुरा गर्ने हुन्छ । मदिराबाट पैदा हुने यस्तो गम्भीर रोगलाई कोर्साकोप्स साइकोसिस भनिन्छ । यसरी गिदी प्रभावित भएका दुव्र्यसनीमा छारेरोगको लक्षण पनि देखापर्छ । यिनीहरु बेलाबेला बेहोस भएर पल्टिन्छन् । कलेजो र मस्तिष्क मात्र हैन, मुटु, फोक्सो, छाला, मिर्गौला जस्ता शरीरका अरू महत्वपूर्ण अङ्ग पनि रक्सीका कारण उसैगरी नष्ट हुँदै जान्छन् । मदिरा दुर्व्यशनीको मुटु अरूको भन्दा दुई गुणा फुल्छ र काम गर्न सक्दैन । समग्रमा रक्सीले क्रमशः मानिसको मुटु, कलेजो खाँदै हाड, छाला र    नङ–मासुसमेत बाँकी राख्दैन । अर्कोतिर रक्सीको शारीरिक असरभन्दा पनि मानसिक प्रभाव झन् डरलाग्दो हुन्छ । शारीरिक विनाश केही पछि विस्तारै बढ्दै जान्छ भने मानसिक क्षति दुर्व्यशनीको पहिलो चरणबाटै सुरु हुन्छ । पिउने मान्छे बिहान उठेदेखि नै जहाँ जे गर्दा र जोसँग हुँदा पनि मनले रक्सी पिउने क्षण नै आतुरताका साथ पर्खिरहन्छ । अर्थात् व्यक्तिको सम्पूर्ण क्रियाकलाप  पिउने उद्देश्यप्रति लक्षित हुन्छ । प्रस्टै छ, यस्तो अवस्थामा त्यो व्यक्तिको जीवनमा रक्सी र रक्सी प्राप्त गर्ने उपायले प्राथमिकता पाउँछ । जीवनका अरू पक्षहरु पेशा, कमाइ, परिवार, इज्जत, स्वास्थ्य, मनोरञ्जन, सेवा सबै गौण हुन्छन् । सम्पूर्ण मूल्य र मान्यताको ठाउँ रक्सीको स्वाद र त्यसको नशाले लिन्छ ।

रक्सीको दुर्व्यशनी काँतर, असभ्य र नकचरो बन्छ । रक्सीको दुर्व्यशन भइसकेपछि त्यस्ता व्यक्तिको न बोलीको विश्वास हुन्छ, न कामको जिम्मेवारी नै । व्यक्ति क्रमशः सामाजिक, वैचारिक र नैतिक रूपले गिर्दै जान्छ । दुर्व्यशनी अत्यधिक बढ्न थालेपछि मानसिक रोग सुरु हुन्छ । साँझ पर्न थालेपछि तर्सने, धम्कीका स्वर सुन्ने, भित्तामा नांगा चित्र देख्ने, सर्प, कुकुर, बिराला, नांगा स्त्री देख्ने, बिछ्यौना र शरीरभरि कीरा फट्याङ्ग्रा, रौंका गुजुल्टा सल्बलाउने, एक अङ्गुल अग्ला मानिसको भीड देख्ने हुन्छ । कसैले हतियार लिएर आफूमाथि आएको देखेर भाग्ने, लुक्ने र झ्यालबाट फाल हाल्ने घटना हुन्छन् । आफूलाई मार्न आएको ठानेर परिवारकै सदस्यमाथि घातक प्रहार गर्ने जस्ता अप्रिय घटना पनि हुन सक्छन् । शारीरिक रूपमा क्षीण भइसकेको हुनाले न्यूमोनिया, ज्वरो, झाडा–पखाला सुरु भई अवस्था झन् नाजुक हुन्छ ।

मदिरा दुर्व्यशनी बन्न रक्सीको स्वाद चाखेको दिनदेखि क्रमशः विभिन्न चरण पार गर्दै जानुपर्छ । एकैचोटी कोही पनि जँड्याहा   बन्दैन । रक्सीको मात्रा, गुणस्तर, पिउने तरिका, आफ्नो उमेर, शारीरिक स्वास्थ्य, स्वभाव जस्ता विविध कारक तत्वहरुले दुर्व्यशनी बन्ने समय र दुर्व्यशनको गहिराइ निर्धारण गर्छन् । प्रत्येक दुर्व्यशनीले शून्य चरणबाट आफ्नो पतनको यात्रा शुरू गर्छ । शून्य चरण भनेको यस्तो अवस्था हो, जब व्यक्तिमा रक्सीप्रति कुनै आकर्षण हुँदैन र रक्सीको स्वादको पनि ज्ञान हुँदैन । त्यो बेला रक्सी पिएको व्यक्ति वरिपरी हुँदा अप्रिय लाग्ने र अरूले रमाएर पिएको देख्दा घृणा लाग्ने हुन्छ । रक्सी बिक्री हुने पसल, सेवन गर्ने रमाइला र झकिझकाउ महँगा भट्टीले उसलाई कुनै आकर्षण गराउँदैनन् । चाहे बाल्यकालमै किन नहोस् आजको जमाना रक्सी नै नचाखेका त्यस्ता व्यक्ति फेला पार्न कठिन होला । तर हरेक दुर्व्यशन पनि यही अवस्थाबाट अघि बढेको हुन्छ । रक्सी र यसको सेवनबाट हुने घातक असर’bout बढीभन्दा बढी जानकारी गराई सचेत पार्ने अवस्था पनि सायद यही हो ।

तर, समाज र वातावरणको प्रभाव तथा आफ्नो आन्तरिक कारणले व्यक्ति चाँडै अर्को अवस्था या पहिलो चरणमा प्रवेश गर्दछ । यो अवस्थाको व्यक्तिलाई सोसल ड्रिंकर भन्ने पनि चलन छ । यस्तो अवस्थामा व्यक्तिले पिउने उपयुक्त वातावरण र जमघटमा सीमित मात्रामा सचेत भएर मात्र पिउँछ । हल्का रूपले मदिराका पेय पदार्थबाट आनन्द महसुस गरे पनि यिनीहरु रक्सी पिउने ठाउँ र रक्सीको खोजी गर्दै हिँड्दैनन् । यिनका जीवनमा मनोरञ्जनका लागि अरू थुप्रै साधन बाँकी हुन्छन् । आनन्द लिने उद्देश्यले एक्लै बसेर पिउन रुचाउँदैनन् र आफ्ना लागि मदिरा खरिद गर्न चाहँदैनन् । विकसित आधुनिक समाजको जनसंख्यामा पाइने २० प्रतिशत मदिरा सेवन गर्नेमध्ये १५ प्रतिशत यही श्रेणीमा पर्दछन् । यो अवस्थाका व्यक्ति आफ्नो पिउने सीमा र रक्सीको असर’bout सचेत हुनाले दुव्र्यसनी मानिँदैनन् । अपवादका रूपमा कुनै दिन थोरै बढी पिएमा धेरै दिनसम्म यिनीहरुमा शारीरिक खराबी रहन्छ र रक्सीप्रति वितृष्णा पैदा हुन्छ । फेरि अर्को मात्रा लिन धेरै दिन कुर्नुपर्छ ।

तर, यो पहिलो चरणको सेवनबाट दोस्रो चरणको मदिरा सेवनमा प्रवेश गर्ने खतरा ठूलो हुन्छ । दोस्रो चरण भनेको पिउँदा आनन्द लाग्ने र नियमित मदिरा सेवनको चरण हो । हुन त यस्तालाई अझै दुर्व्यशन भन्न मिल्दैन किनकि दुव्र्यसनीमा हुनुपर्ने प्रमुख लक्षण अझै देखापरेको हुँदैन । यो अवस्थामा सेवनकर्तालाई रक्सी नखाइनहुने बाध्यता हुँदैन । तर, प्रायः ऊ रक्सी खान पाउने ठाउँ र मौका छोप्छ । अरू कतिपय दैनिक गौण कामलाई भन्दा ककटेल पार्टी, जन्मदिनको भोज या कसैको निम्तामा पिउने ठाउँ जान मन गर्छ । कुलत लाग्न बाँकी नै भए पनि यो अवस्थाका व्यक्तिलाई आफ्नो सीमा र कतिसम्म खानुहुन्छ भन्ने सतर्कता हुँदैन । रक्सीको नशाले आनन्द दिने हुँदा आनन्दको अनुभूति अझ तीव्र पार्न र झन् बढी आनन्दित हुन ऊ रक्सीको मात्रा बढाउँदै लैजान्छ । तर, आनन्दको अनुभूति बढ्नुको सट्टा मदिराको मात्रा धेरै भइसकेकाले उल्टो अर्ध–बेहोसी हुन सक्छ । यिनीहरु नियमित प्रत्येक दिन पिउने नभए पनि मौका पर्दा राम्रैसँग पिउँछन् र कहिलेकाहीं साथी–भाइले घर पनि पु¥याइदिनुपर्छ । सवारी दुर्घटना हुने, घरमा झगडा, मारपिट हुने, स्वास्नीसँग सम्बन्ध विच्छेद हुने अवस्था यही हो । यो अवस्थामा खतराको महसुस भएन भने केही समयपश्चात् स्वतः व्यक्ति तेस्रो चरणमा अथवा दुर्व्यशनीमा प्रवेश गर्छ ।

दुर्व्यशनी भनेको रक्सी नभई नहुने, नशा लाग्न मदिराको मात्रा थप्दै जानुपर्ने, पिउन बन्द गर्दा अप्रिय, पीडादायक नयाँ रोग देखापर्नु हो । हुन त यो दुर्व्यशनी पनि सुरु–सुरुमा हल्का र पछि गम्भीर हुँदै जाने हुनाले विभिन्न अवस्थामा बाँड्न सकिन्छ । सुरुको अवस्थामा निद्रा नलाग्ने, टाउको दुख्ने, हात काँप्ने, पसीना आउने, चिड्चिडाहट मात्र हुन सक्छ  । दुर्व्यशनी गम्भीर भएको अवस्थामा हुने विथड्रल अवस्थामा पागल जस्तो हुने, नभएका कुरा देख्ने र सुन्ने, उत्तेजित र आक्रामक हुने, बरबराउने, छारेरोग जस्तै मूच्र्छा पर्ने हुन्छ । तर, यी विभिन्न अवस्थामा दुर्व्यशनी र कुलतको गहिराइ मात्र फरक हुन्छ, गुणात्मक रूपले एउटै चरण मानिन्छ ।

आखिर नजिकका आफन्त, साथीभाइ र छिमेकीको दुर्दशा देखेपछि पनि मानिस किन मदिरातिर आकर्षित हुन्छ ? यो रहस्यमय झोलको महिमा बुझ्न सायद भूपीका कविता, नारायणगोपालका गीत र प्रसिद्ध गजलकारहरुका गजलहरु पनि पर्याप्त नहोलान् । बत्तीले पुतलीलाई आकर्षण गर्दै पोल्दै गरेझैं भट्टी अर्थात् ‘मयखाना’ले अनगिन्ती महापुरुषलाई आफैंभित्र पचाएको छ । नोबेल पुरस्कार पाउने प्रथम छ जना अमेरिकी साहित्यकारमध्ये ५ जना रक्सीको कुलतमा थिए । त्यसैले मानिस किन मदिरा दुर्व्यशनी बन्छ भन्ने प्रश्नको जवाफ दिन सजिलो छैन । व्यक्तिको आन्तरिक अन्तरद्वन्द्व, जटिल प्रश्न, व्यक्ति र समूहको विरोधाभास, मूल्य र मान्यताको ह्रास, जीवन–दर्शनको संकट जस्ता गहिरा र अप्ठेरा व्याख्या एकातिर होलान् । तर, यिनलाई पन्छाएर सरल शब्दमा भन्नुपर्दा रक्सीको दुर्व्यशनीका पछाडि तीन प्रमुख कारण छन् ।

पहिलो, नशा दिने वस्तु खुद मदिरा र त्यसको सम्भाव्यता । त्यसपछि यसको बेचबिखन र प्रचुर मात्राको प्रयोग । यस कारण रक्सीलाई मानिसले सहज र सामान्य वस्तुको रूपमा लिने बानी पर्छ । बुद्धि–विवेकले नराम्रो ठाने पनि निरन्तर यसको सेवन भइरहेको देखिरहँदा र प्रभावकारी विज्ञापन हेर्दा मानिसको अर्धचेतन मनमा सहजताको भावना पैदा हुन्छ । अर्को चाहिं मानिस आफ्नो जीवनमा तीता–मीठा अनुभवबाट गुज्रँदा उसको मनमा चिन्ता, पीर, रिस, डर, बेचैनीजस्ता भावना पैदा हुन्छन् र रक्सी सेवन गर्न तयार हुन्छ । यसरी संवेदनशील मनस्थितिको व्यक्ति मन भुलाउन मदिरा सेवन गर्दा खासै फरक पर्दैन भन्ने सोचले लतमा फस्दै जान्छ । यी तीन तत्वको संयोगमा रक्सी सेवन हुन्छ र सायद यी तीनै कारक तत्वले त्यो सेवनलाई निरन्तरता दिलाउँछ । यसरी मदिराको दुर्व्यशनी सुरु हुन्छ । मानिसको दिनचर्या बदलिँदै जान्छ । ऊ दुर्व्यशनी बन्छ र जीवनको नाश हुन्छ ।
मदिराको सेवनसँग धेरै सामाजिक, आर्थिक, मानसिक समस्या गाँसिएका छन् । ती सबैको यहाँ चर्चा गर्न सम्भव छैन तर केही महत्वपूर्ण कुरा भने स्मरण गर्नैपर्छ ।

मदिरा र मानसिक रोग :

रक्सी धेरै पिएर दुर्व्यशनी बनेपछि यसैबाट मानसिक रोग– साइकोसिस हुन सक्छ । तर, मानसिक रोगबाट पीडित भएपछि पनि व्यक्ति मदिराको शरणमा पुग्छ । यसको कारण स्पष्टै छ । मानसिक रोग भनेको मनको पीडा, चिन्ता, पीर, डर, शङ्का या अत्यधिक हर्ष आदिले भरिएको मन हो । यस्तो अवस्थामा पिएर मन भुलाउने इच्छा लाग्छ । विशेषगरी डिप्रेसन र न्यूरोसिसका बिरामी यो कुलतमा फस्ने डर बढी हुन्छ । यसरी मानसिक रोगमाथि मदिराको कुलत थपिएपछि मानसिक रोग जटिल बन्छ, मदिरा दुर्व्यशनी अटूट हुन्छ । साइकोसिस (विक्षिप्त पागलपन) मा रक्सी पिएपछि बिरामी झन् आक्रामक, उत्तेजित र असहिष्णु बन्छ । न्यूरोसिसमा रक्सीको नशाले डर, बेचैनी केहीबेर हल्का भए पनि रोग झन् गहिरिँदै जान्छ । छारेरोग लागेका व्यक्तिले रक्सी पिउन थालेपछि रोग कहिल्यै निको हुँदैन, उसको स्वभावमा विकृति देखिन थाल्छन् । डिप्रेसन र मदिराको पनि विशेष सम्बन्ध छ ।

रक्सीको नशाले डिप्रेसनका कष्टदायक विचार र भावना केही हल्का महसुस हुने भएकाले डिप्रेसनको असह्य पीडाबाट मुक्ति पाउन यस्ता रोगीले निरन्तर रक्सी सेवन गर्छन् । केही समयपश्चात् उनीहरु मदिरा दुर्व्यशनी बन्छन् । ठूला–ठूला कवि, लेखक, कलाकार र वैज्ञानिक अक्सर डिप्रेसनबाट पीडित हुने हुँदा त्यही पीडा शान्त पार्न खोज्दाखोज्दै मदिरा दुव्र्यसनी बन्छन् र रक्सीको सेवनले भित्रको डिप्रेसनमाथि पूरै पर्दा हालिदिन्छ ।

मानसिक रोग र मदिराको सम्बन्ध यतिमा अन्त्य हुँदैन । मदिरा सेवन गर्ने मानसिक रोगीलाई उपचार गर्न धेरै गाह्रो हुन्छ र निको पार्न लगभग असम्भव हुन्छ । त्यसबाहेक मानसिक रोगका औषधिले मदिरासँग सोझैं ‘रियाक्सन’ गर्छन् ।

मदिरा र अपराध : यस’bout यहाँ धेरै भनिरहनु जरुरत छैन । अन्यत्र धेरै लेखिएको छ, छापिएको छ र समाजमा प्रत्येकले यो सम्बन्धका नमुना देखेका छन् । खाली यो जटिल सामाजिक समस्या स्मरण गराउन मात्र यहाँ उल्लेख गरिएको हो ।

मदिरा र सवारी साधन : सायद यो समस्या’bout हामी सबै विदितै छौं र कतिपय त पीडित पनि भइसकेका छौं । नेपालमा मदिरा सेवन गरेर सवारी चलाउनुलाई हल्का रूपमा लिए जस्तो देखिन्छ । आफू चढेका बसका चालकले बिसौनीमा आफ्नौ आँखा अगाडि रक्सी पिउँदा हामी चूप लाग्छौं । राजमार्गका भट्टीहरुमा अहोरात्र रक्सी सेवन भइरहेको हुन्छ । तीमध्ये को यात्रु, को चालक कसैलाई वास्ता छैन । साँझ ९ बजेतिर दरबारमार्ग या टुँडिखेलतिर निस्कँदा फुटपाथमा हिँड्न पनि होसियार हुनुपर्छ  । पछाडिबाट आएको गाडीले दायाँ पेटीबाट बायाँ पेटी, बायाँ पेटीबाट दायाँ गरिरहेको हुन्छ । पूरै सडकले पनि उसलाई पुगेको हुँदैन । तर, हालै सुरु भएको ‘मापसे’ अभियानको दीर्घकालीन परिणाम चाहिं हेर्न बाँकी नै छ ।

मदिरा र औषधि सेवन : कहिलेकाहीं रक्सीका शौखिनहरु अनौठो मजाक गर्छन् । ‘डाक्टर, थोरै–थोरै रक्सी त औषधि हैन र ?’ डाक्टरी झोल, टनिक अझ आयुर्वेदिक र होमियोप्याथिक औषधिमा रक्सी मिसाइन्छ भन्ने धारणा पनि जनमानसमा पाइन्छ । तर, सत्य के हो भने रोगको उपचार गर्ने कुनै औषधिमा पनि रक्सी मिसाइएको हुँदैन । कुनै–कुनै रसायनिक वस्तु पानीको सट्टा स्पिरिटमा मात्र घोलिन्छन् । तत्कालै तयार पारेर थोपा–थोपा गरी सेवन गर्ने औषधि अल्कोहलमा घोलिने रहेछन् भने त्यसरी तयार पारिन्थ्यो । थोपा गनेर सेवन गर्ने हुनाले त्यहाँ स्पिरिटको कुनै भूमिका हुँदैनथ्यो । आज डाक्टरी औषधि मात्र हैन, सबै खाले दवाई र बुटीहरु अत्याधुनिक चक्की र क्याप्सुलमा तयार पारिन्छन् । यिनलाई स्पिरिटमा घोल्नु जरुरत पर्दैन । कुनै–कुनै टनिक र भोक बढाउने औषधिमा केही रक्सीको मात्रा मिसाइने भए पनि उपचारमा त्यसको कुनै भूमिका हुँदैन ।

तर, अधिकांश रोगका औषधि सेवन गरेको बेला मदिरा पिउँदा रियाक्सन गर्छ र अप्रत्याशित परिणाम निस्कन सक्छ । त्यसैले कुनै रोगका लागि औषधि सेवन भइरहेको छ भने नगण्य रूपमा पनि मदिरा पिउन हुँदैन ।

मदिरा सेवनका विविध पक्षको चर्चा गर्दा मदिरा दुर्व्यशनीको उपचार’bout पनि केही भन्नुपर्ने हुन्छ । यो समस्याका विविध पक्ष र दुर्व्यशनीको विश्लेषण गर्दा यसको उपचार सहज छैन । तिनको उपचार बहुआयामिक हुनुपर्छ र निरन्तर तथा अटूट रूपले सञ्चालित हुनुपर्छ । दुर्व्यशनीले मदिराको लत छोडेपछि पनि उसको उपचार चलिरहन्छ । उपचार कस्तो, कसरी र कहाँ गर्ने भन्ने कुरा व्यक्तिको समस्यामा निर्भर गर्छ ।

मदिराको वास्तविक खतरा र यसभित्र लुकेको मोहिनी भ्रमलाई मनन गरेर होसियारीसाथ मात्र यसको कमभन्दा कम संगत गरौं । मदिरा सेवनको बाटोमा लाग्नु भनेको एकतर्फी बाटोमा गुडेजस्तै हो, यसमा दोहोरो सवारीको कुनै ठाउँ छैन ।  saralpatrika.com  बाट साभार

 

मानिसलाई किन प्यारो छ रक्सी ?

(मञ्जरी पव्लिकेसनले प्रकाशन गरेको मानसिक रोग विशेषज्ञ डा. विश्ववन्धु शर्माको पुस्तक ‘मानसिक स्वास्थ्यका विविध अनुभव’को एक अंश हो   यो । यसमा संकलित सामग्री निकै उपकारी र ज्ञानवध्र्दक ठानेर प्रकाशकसँगको सहमतिमा हामीले प्रकाशन गरेका हौं । पुस्तकका प्रत्येक अंश निकै उपयोगी छन्,जसलाई क्रमश प्रकाशन गरिने छ ।)