नेपाली कांग्रेस: जनजागरण कि देउवाको निर्वाचन अभियान ?

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिबेला ‘सरकारविरुद्ध खबरदारी’ गर्न देश दौडाहामा छ । उसले पार्टीको संगठन सुदृढीकरणका लागि पनि यो दौडाहा आवश्यक रहेको जिकीर गरिरहेको देखिन्छ । कांग्रेसले वैशाखको २६ गते बुधबारबाट थालेको ‘राष्ट्रिय जागरण अभियान’ नामको दौडाहा’bout उसकै वृत्तमा पनि निकै प्रश्न गरिएको सुनिन्छ ।

चलिरहेको संसदकै पर्याप्त उपयोग गर्न असमर्थ कांग्रेस कसलाई जगाउन भनेर जागरण नामको दौडाहामा निस्किएको हो भनेर आलोचकहरुले प्रश्न गरिरहेको सुनिन्छ । तर कांग्रेसको भनाई छ,‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ को वार्षिक दौडाहाले उसको पक्षमा जनलहर ल्याउने छ । कांग्रेसको यो भनाई सुन्दा यस्तो लाग्छ,निकट भविष्यमा आमनिर्वाचन आयोजना हुन गैरहेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाईसकेको छ । सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसकेका छन् ।

 

इतिहासमै कमजोर कांग्रेस

 

शेरबहादुर देउवा यस्ता भाग्यमानी राजनीतिक व्यक्ति हुन् जो पार्टी फुटाएर अलग्गिए पछि पनि फर्किएर त्यही माउ पार्टीको सभापति चुनिएका छन् । यो उनको खुबी र चामत्कारिक व्यक्तित्वको परिणाम हो कि विकल्पको अभावमा आईलागेको वाध्यात्मक परिणाम हो,त्यो त कांग्रेसजन नै जानुन् । देउवाको सभापतिमा चयनपछि कांग्रेसले पाएको परिणाम र गुमाएको छविको मसिनु मिमांशा गरिहेर्दा यसको सरल जवाफ आउन सक्छ ।

 

यति नै बेला कांग्रेस निकै लामो यात्रा बाँकी रहँदै बाटैमा गलेको यात्री जस्तो अवस्थामा देखिन्छ । राजधानी केन्द्रीत अवसर त कता हो कता चलिरहेको संसदको समेत समुचित उपयोग गर्न कांग्रेस नेतृत्व असमर्थ देखिन्छ । जनताले कुनै पनि दलको हैसियत तौलिन संसदमा उसको उपस्थिति नै पर्याप्त हुन्छ । कांग्रेस अहिले यही अवस्थामा छ ।

 

के पायो के गुमायो

 

राजनीतिक विश्लेषकहरुको भनाईमा स्थापनाको करिब ७० वर्षसम्म नेपाली कांग्रेस अहिलेको जस्तो अत्यन्त कमजोर कहिल्यै भएको थिएन । गएको आमनिर्वाचनमा कांग्रेसले पाएको समर्थन हेर्दा यही निष्कर्ष निस्कन्छ भन्छन् उनीहरु । यहाँभन्दा अघिका सबै आमनिर्वाचनमा यसले कि त दुइतिहाई वा बहुमत पाएकै थियो । यसले २०५१ को मध्यावधि निर्वाचनमा र २०६४ को संविधान सभा निर्वाचनमा दोस्रो शक्तिका रुपमा रहेपनि बैकल्पिक सरकार निर्माण गर्ने हैसियत राखेको थियो । तर यतिबेला कांग्रेससँग केवल ६५ सांसद छन् । एकतापछिको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादीसँग कमसेकम १७५ सांसद छन् । प्रष्टै छ, अबको झण्डै चारवर्ष नेपाली कांग्रेस लगायतका विपक्षी दलहरुले सरकार गठन गर्ने कुनै संभावना छैन । बाबुराम भट्टराईसँग मिलेपछि उपेन्द्र यादवको नयाँ हैसियत बनेको छ,अब सरकारमा उनको के भूमिका रहन्छ,त्यो निश्चित हुन केही समय लाग्ला ।

 

यथार्थ यस्तो भएपनि नेपाली कांग्रेसका नेताहरु, विशेषगरी सभापति शेरबहादुर देउवा र उनका कोटरीका नेता कार्यकर्तामा यो वास्तविकताको वोध अझै नभएको भान हुन्छ । संसदमा र सार्वजनिक सभाहरुमा उनीहरुका अभिव्यक्ति,काम र शक्तिमा रहन गरिएका प्रयत्नहरुले उनीहरु पार्टीको अकल्पनीय क्षयीकरणका ’boutमा कतिपनि चिन्तित नरहेको बुझ्न कठिनाई पर्दैन ।

 

देउवाको नेतृत्वमा ऐतिहासिक पराजय

 

सबैलाई थाहा छ,गएको तीनै तहका निर्वाचनमा कांग्रेसको ऐतिहासिक पराजयमा सभापति देउवाको सबैभन्दा ठूलो देन छ । उनले स्थानीय निर्वाचनका दुई तह र प्रतिनिधि सभा,राष्ट्रिय सभा र प्रदेशसभाका निर्वाचन सकुशल सम्पन्न गरी राजा ज्ञानेन्द्रले दिएको ‘अक्षम’को पगरी त उतारे तर कांग्रेसलाई चैं नराम्ररी डुबाए । साथै,कूशासनको जग पनि बलियो पारिदिएको अपजश समेत पाए । हो माओवादी र एमालेवीचको निर्वाचन तालमेलले कांग्रेसलाई दवावमा राख्यो तर त्यसका लागि उनले उपयुक्त रणनीति तय गर्न नसकेको कुरा घाम झैं छर्लङ्ग छ । उनको ‘कम्युनिष्ट सर्बसत्तावाद’ को नारा पुरै भुत्ते सावित भयो ।

 

 

त्यो भन्दा पनि आफूसँग सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्र एमालेसँग मिल्न आँटेको उनले पत्तै पाएनन् । माओवादी अध्यक्ष प्रचण्डकी पुत्रीलाई भरतपुर महानगरको मेयर बनाउनका लागि पार्टीका कार्यकर्ता तथा नेताहरुलाई बलिको बोको बनाएका देउवाले प्रचण्डको साथ नपाउने बित्तिकै उपयुक्त रणनीति तय गरी निर्वाचनमा जानुपर्ने थियो । त्यो पटक्कै गरेनन् । यतिमात्र होइन प्रतिनिधि सभाको टिकट आफ्ना नजिकका मान्छे तथा ठेकेदारहरुलाई दिए, बेचे । प्रधानमन्त्रीकी पत्नी भएकै नाताले आरजु राणा कहिल्यै पनि पुष्करनाथ ओझा बन्न सक्दिन थिईन् । तर देउवाले ओझालाई टिकट नदिई आरजुलाई दिए । धनराज गुरुङ्गलाई उनले टिकट नदिई गोपालमान श्रेष्ठलाई दिए । त्यो भन्दा बढी उनले सुशीला कार्कीलाई महाअभियोग लगाए र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनावश्यक रुपमा संविधान संशोधन गर्ने वचन दिएर शहरी मतदाता भड्काईसकेका थिए । यी उनका सबै कर्म जानी नजानीकन कांग्रेस सिध्याउने हतियार बने । र अहिले आएर उनी जनजागरणको नाममा देश दौडाहामा निस्किएका छन् । यतिबेला कांग्रेसजन र गाउँघरमा मेहनत गरिरहेका कांगे्रस समर्थकले सभापति देउवासँग प्रश्न गर्न सक्छन्– ‘आफू समयमा सही निर्णय गर्न नसकेर पार्टीलाई इतिहासकै कमजोर सावित गर्ने अनि असमयमा के को जनजागरण ?’

 

किन लत्रिए देउवा

 

नागरिकको दैनिक जीवनसँग सरोकार भएका कैयौं बिषयले उचित आवाज नपाईरहेको अवस्था छ । स्वतन्त्र पत्रकारितामाथि विभिन्न किसिमका दाउपेचहरु भैरहेका देखिन्छन् । सार्वजनिक जग्गामा सत्तारुढ दलकै कतिपय पदाधिकारी र उनको संरक्षणमा रहेका दलालहरुको हालीमुहाली भएका तथ्यहरु सार्वजनिक भैरहेका छन् । चर्चित सुन काण्ड,नेपाल वायु सेवा निगमको जहाज खरिदमा भएको ठूलो आर्थिक अनियमितता लगायतका अरु अपचलनका बिषयहरु पनि छन् । जसका ’boutमा सरकार जालझेलको भाषामा ती बिषयहरुलाई ओझेलमा पार्ने या पन्छाउने काम गरिरहेको छ । यस्ता बिषयहरुमाथि संसदमा गम्भीर बहस हुनुपर्ने हो । यसका लागि प्रमुख प्रतिपक्षी दल नै सबैभन्दा बढी जिम्मेवार ढंगले यसमा अग्रसर हुनुपर्ने हो ।

 

तर यी बिषयमा कांग्रेस र उसको नेतृत्व बेखबर झैं देखिन्छ । यतिमात्र होईन स्वयं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको रोष्ट्रमबाट प्रमुख प्रतिपक्षी दललाई निम्छरो भनी लान्छना लगाउँदा समेत कांग्रेस चाल पाउँदैन । आखिर किन यतिसम्म लत्रिएको हो कांग्रेस, यतिबेला सर्वसाधारण नागरिकले यो प्रश्न गरिरहेका छन् । यसको जवाफ छ कोहीसँग भने एकमात्र व्यक्ति हुन् सभापति शेरबहादुर देउवा । तर उनी स्वयं सत्ताको रापतापसँग किन भयभित भैरहेका छन्,यो भने स्पष्ट हुन जरुरी छ । होईन भने जनजागरण अभियान उनै देउवालाई आउँदो महाधिवेशनमा फेरि सभापति बनाउने चुनाव प्रचार अभियानमा मात्र सीमित हुने छ ।
-सरल पत्रिका बाट