जुवाको खालमा राजा महेन्द्रको लाइटर !

टोलमा जुवा खेल्न लाग्दाको घटनाले दशलालको चोरी पक्रन सफल भएको थियो । उनले जुवा हारे । तत्कालीन युवराज महेन्द्रले प्रयोग गर्ने हरेक सामानमा अङ्ग्रेजीको ‘एम’ उल्लेख हुन्थ्यो । जुवाको खालमा लाइटर र चुरोट राख्ने सुनको बट्टा लगेका थिए । तिनमा पनि ‘एम’ उल्लेख थियो । उनले ती सामान राजाले आफूलाई खुशी भएर दिएको भनी झूठो बोलेका थिए। 

 

-प्रकृति अधिकारी 

ललितपुर : “सेना र पुलिसले टोल नै घेरे । दशलाल उम्किन पाउने अवस्था रहेन । उसलाई समाएर लगे,” ६८ वर्ष अघिको यो घटना पाटन हखाटोल निवासी शङ्खलाल महर्जनका आँखामा अझै सो दृश्य घुमिरहेको छ ।

नारायणहिटी दरबारका बगैँचे दशलाल महर्जनले गरेको चोरी, ऊ बेला यो घटना चर्चित थियो । नौ लाख रुपियाँ बराबरको हीरा जवाहरत र १७ हजार रुपियाँ नगद चोरी भएको समाचार प्रकाशित भएको थियो ।

त्यतिबेला यो रकम निकै ठूलो मानिन्थ्यो । पाटनवासीहरू दशलालले तत्कालीन युवराज महेन्द्रको लाइटर, तत्कालीन युवराज्ञी रत्नको टायरा आदि चोरेको हल्ला आफूहरुले सुनेको बताउँछन् । “श्रीपेच समेत चोरेको भन्ने हल्ला थियो” शङ्खलालले भन्नुभयो, “सुनको बट्टा र लाइटरबाटै ऊ पक्राउ परेको हो ।”

दरबारमा चोरी भयो भन्ने हल्ला सर्वत्र फैलियो । २००८ साल जेठको घटना । कुन दिन चोरी भएको थियो भनी तिनताक यो घटना थाहा पाएका पाटनवासीलाई सम्झना छैन । तत्कालीन युवराज महेन्द्र भारतको ‘कलकत्ता’ जानुभएका बखत चोरी गरिएको थियो । “सुन समेतका गहना चोरी गरेको कुरा उहाँ (महेन्द्र) नेपाल फिरेपछि थाहा भएछ” गोरखापत्रमा प्रकाशित छ ।

पाटन चालाछेंका ईश्वरलाल नापितले दशलाल पक्राउ परेको दिनको घटनालाई यसरी स्मरण गर्नुभयो, “सेनाले ट्रकमा राखेर दशलाललाई लिएर गयो । जेलमा पर्यो, जागिर पनि गयो ।” चोरी घटनामा जागिर गुमाएका दशलालको सट्टामा पाटन भोलढोकाका आशालाललाई बगैँचेको जागिर दिइयो ।
आशालालका छोरा बहादुर महर्जनले दशलालले साबुनमा साँचो छाप लगाएर नक्कली साँचो बनाएको आफ्ना बाबुले सुनाएको बताउनुभयो । “सास्ती दिन पुलिसले ट्रकमा आगोको माथि राखिएको जस्तामा दशलाललाई नाङ्गै खुट्टा उभ्याएर दरबार लगेको थियो भनेर बाहरूले भनेको सुनेको थिएँ” उहाँले भन्नुभयो ।

टोलमा जुवा खेल्न लाग्दाको घटनाले दशलालको चोरी पक्रन सफल भएको थियो । उनले जुवा हारे । तत्कालीन युवराज महेन्द्रले प्रयोग गर्ने हरेक सामानमा अङ्ग्रेजीको ‘एम’ उल्लेख हुन्थ्यो । जुवाको खालमा लाइटर र चुरोट राख्ने सुनको बट्टा लगेका थिए । तिनमा पनि ‘एम’ उल्लेख थियो । उनले ती सामान राजाले आफूलाई खुशी भएर दिएको भनी झूठो बोलेका थिए ।

तत्कालीन राजप्रासाद सेवामा सचिवबाट अवकास हुनुभएका शम्भुप्रसाद अधिकारीले भन्नुभयो, “त्यो बेला हामी जागिरे भइसकेका थिएनौँ तर चोरी भएको भन्ने सुनेका हौँ । जुवामा हारेपछि ‘ठट्टा मानेको हो ? मैले सारा पाटनलाई किनिदिनसक्छु’ भनेपछि उनको त्यो कथन’bout हल्ला भयो । त्यसैबाट ऊ पक्राउ परेको भन्ने दरबारमा सुनेको थिएँ ।”

प्रहरीले छापा मारेपछि दशलालको घरको भ¥याङ्मुनि चोरिएका सामग्री फेला परे । “काठको भ¥याङ्मुनि खरानी फाल्ने र त्यसमाथि पिसाब गर्ने चलन हुन्थ्यो त्यतिबेला । मल बनाउन त्यस्तो गरिन्थ्यो” हखाटोलका शङ्खलालले थप्नुभयो, “खरानीको रासभित्र चोरेका सामान लुकाएर राखिएका थिए ।”

गोरखापत्रले चोरीको सुराक पत्ता लगाउन थालेको हप्ता दिनभित्र चोरको घर खानतलास गर्दा दशलाल र उनका मामाको घरबाट चोरीका सामान फेला परेको समाचार छाप्यो । “उस (दशलाल) ले पोलेको १ पाटनकै मानिस फरार भएको र बाँकी २ जना गिरफ्तारमा आएका साविती चोरहरुको पुलीस विभागबाट कार्वाइ हुँदैछ । निजहरुले त्यसै ठाँउमा पहिला पटक चोरी गरेकोमा पनि सावित भइसकेको खबर छ” गोरखापत्रले समाचार छापेको थियो ।

निमेकहरामीको हद भन्ने शीर्षकमा गोरखापत्रले प्रकाशित गरेको थियो, “नारानहिटी दरबार श्री ५ युवराजधिराजतर्फको चोरीमा पक्राउ भई आएका दशलाल ज्यापू र हाकुचा ज्यापूलाई दुवै हातमा हतकडी लगाई डबल पालेका साथ केरकारका निंति रुङमा ठोकी राखेको थियो । गत १५ गतेका रातको अन्दाजी १ बजेटिर हतकडी र तुरुङबाट हात खुठ्ठा खुस्काइ भागेछन् भन्ने पालेहरुको रिपोट परी कारवाहीका निमित्त सो मुद्दा कोलवालीतिर गएको छ भन्ने स.पु.गो. बाट पाइएको समाचार छ ।”

केही वर्षअघि दशलालको मृत्यु भइसकेको छ । उनकी पत्नीको पनि हालै मृत्यु भएको छ । गोरखापत्र दैनिकले समाचारमा लेखेको छ, बहादुर महर्जनले भन्नुभयो, “केही महिनाअघि पाटनका वृद्धाहरुलाई नारायणहिटी दरबार सङ्ग्रहालय घुमाइएको थियो । यसमा दशलालकी पत्नी पनि थिइन् ।”

गोरखापत्रबाट साभार