किन दव्यो देउवाको आवाज ?

 

नेपाली कांग्रेस यतिबेला जनजागरण अभियानमा छ । संसद अधिवेशन पनि जारी छ । कांग्रेस संसदमा प्रमुख प्रतिपक्षी दल हो । संसद चलिरहेको समय प्रमुख प्रतिपक्षी दलका लागि विशेष महत्व राख्ने समय मानिन्छ । उ संसदको विशेष पात्र हो । ’cause देश र जनतासँग सरोकार राख्ने तमाम बिषयमा सरकारको नजिकबाट निगरानी गर्ने र आवश्यकता अनुसार निर्णय लिन संसद अधिवेशन प्रमुख प्रतिपक्षी दलका लागि उपयुक्त र निकै महत्वपूर्ण स्थल मानिन्छ । यस्तो बेला कांग्रेस जनजागरण अभियानमा व्यस्त छ ।

 

एउटा राजनीतिक दलका लागि यस्तो अभियान पनि आवश्यक हुन्छ कार्यकर्ता सक्रिय राख्न र तिखार्न पनि । यो आफैंमा असान्दर्भिक कार्यक्रम पनि होइन । तर विगत एक वर्षमा सरकार जवाफदेही हुनुपर्ने कैयौं मुद्दा छन् जसको न सम्बोधन भएको छ न त कुनै कानूनी सक्रियता नै । सरकारको यस्तो हेलचेक्र्याईंको निगरानी गर्ने कसले,दवाव दिने कसले ? के प्रमुख प्रतिपक्षी दलको जिम्मेवारी होइन र यो ?

 

दलदलमा देउवा

 

नेपाली कांग्रेस यतिसारो शिथिल इतिहासमै कहिल्यै पनि भएको थिएन होला । सभापति शेरबहादुर देउवा स्वयंको आवाज मलिन हुँदै गएको देखिन्छ । जबजब सरकारको डटेर विरोध वा आलोचना गर्नुपर्ने अवसर आउँछ,देउवाको गलाबाट जोशिलो आवाज बाहिर आउन नसकेको उनकै शुभचिन्तकहरु बताउँछन् । उनको गला किन दवेको छ । विगतमा सरकारको नेतृत्वमा रहँदा भएका कतिपय निर्णयमा कानूनी प्रश्न उठ्ने आधार फेला परेकोले वर्तमान सरकारले त्यसकै आधारमा देउवालाई असजिलो पारिरहेको भन्ने पनि चर्चा छ ।

 

वायु सेवा निगमको जहाज खरिद,बालुवाटारको चर्चित जग्गा प्रसंग र द्वन्दकालिन समयका कतिपय बिषयमा सभापति देउवा सरकारको अप्रत्यक्ष धम्कीको शिकार भैरहेका छन् भन्ने पनि चर्चा चलिरहेको सुनिन्छ । यदि यी प्रसंगहरु आधारहिन होइनन् भने देउवाले सही कुरा देश र जनतासँग खुलस्त पार्नुपर्छ र खुलस्त पार्न हिच्किचाउनु हुँदैन । होइन भने कांग्रेसको शिथिलता झन् बढ्दै जाने निश्चित छ । अहिले उनकै नेतृत्वमा हो प्रतिपक्षको सार्थक उपस्थिति देखिने ।

 

कांग्रेसका कतिपय शुभचिन्तकको बिचारमा कांग्रेस झण्डैझण्डै माझिविनाको डुंगा जस्तै देखिन्छ । यस्तोमा न त्यो किनारामा पुग्छ न त डुबी नै हाल्छ । कांग्रेस नामको डुंगाका माझी सभापति देउवा यतिबेला सबैभन्दा बढी थिलथिलो देखिएका उनीहरुको बुझाई छ । यसकारण कि उनलाई परकाले त राजनीतिक आरोप लगाउँदै गोद्नुसम्म गोदीरहेकै थिए, अब त आफन्त समेत उनीमाथि चुनौतिको मुक्का बजाउन अघि सरेका देखिन्छन् । जसले गर्दा संक्रमणबाट पार लागीनसकेको राजनीतिको सागरमा देउवाले खियाउँदै गरेको कांग्रेस नामको डुंगाले गति पाउन नसकिरहेको बताईन्छ । माझीले नै डुंगा डुवाउने हो कि भनेर त्यसमा सवार कांग्रेसजन पिरोलिएका देउवाकै निकटस्थ मानिएका युवा नेताहरु बताउँछन् ।

 

सभापति देउवाले नै गन्तव्यविहिन डुंगालाई पार लाउन सक्लान कि नसक्लान ? अहिले कांग्रेसजनमा व्यापक मन्थन भैरहेको प्रश्न हो यो । ’cause संघर्षशील छवि लिएर राष्ट्रिय राजनीतिमा उदाएका देउवाले बिगतमा निरंकुशतालाई बल पुग्ने गल्ती गरिसकेका छन् । तैपनि कुनैबेला उनीमाथि ‘अक्षम’ भनेर आक्षेप लगाउँदा तत्कालीन राजा ज्ञानेन्द्रमाथि खनिन पनि तयार भएको युवा पुस्ता नै यतिबेला देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाएर विकल्पको खोजी गरिरहेको बुझिन्छ ।

 

निर्वाचनकै कुरा गर्ने हो भने प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले भोगेको पराजयको अपयश अरुको भागमा पनि पर्ला नै तर सबैभन्दा बढी त देउवाकै जिम्मामा पर्छ । उनी सभापति र निर्वाचन गराउने सरकारको प्रधानमन्त्री समेत भैरहँदा पार्टीको पक्षमा आएको शर्मनाक परिणामले तत्कालको संसदीय अंकगणितमा एउटा अर्थ राख्ला । तर जहाँनियाँ शासन विरुध्द युग परिवर्तनको नेतृत्व गर्दै सबै परिवर्तनकारी आन्दोलनको अगुवाई गरेको पार्टीमा जुझारु नेता कार्यकता र नयाँ पुस्तालाई कसरी जोडीराख्न सकिन्छ भन्ने चिन्ताले युवा नेतालाई झक्झकाएको सजिलैगरी बुझ्न सकिन्छ । देउवाले यो तत्काल उठेको प्रतिक्रियालाई सकारात्मक रुपमा लिन सकेनन् भने उनको विकल्प खोज्ने आवाज अझ बुलन्द हुँदैजाने निश्चित छ । र सागरको माझमा ढलपल ढलपल भैरहेको डुंगालाई आक्रोशको छालले हुत्याईदिन पनि बेर छैन ।

 

इतिहास त आखिर कठोर नै हुन्छ । बिगतमा देउवाले सरकारमा बस्नका लागि गरेका तमाम हर्कतहरुलाई विस्मृतिमा राख्न चाहनेले पनि यसवीचमा उनकै संरक्षकत्वमा हुर्किँदै गएको परिवारवाद,फरियावाद,व्यापारी,डन,ठेकेदार र कमीशन एजेन्टको घेरावन्दी देखेर खाँट्टी कांग्रेसीहरुलाई उकुसमुकुस भैरहेको देखिन्छ । कांग्रेसको शक्ति केन्द्रमा जेजस्ता अवसरवादी अनुहारहरुको हालीमुहाली देखिन्छ,ती अनुहारका मानिसहरुको नेतृत्वमाथि भैरहेको दवदवा देख्ने नेता कार्यकर्तालाई यो कुरा अस्वाभाविक पनि लाग्दैन ।

 

कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले उतीबेला नै सचेत गराएका थिए– ‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा,चिल्ला गाडी चढ्नेहरुको पार्टी्भित्र हालीमुहाली हुनेछ,त्यसका विरुध्द आमकार्यकर्ताले फेरि एकचोटी संघर्ष गर्नुपर्ने हुन्छ ।’ तर कांग्रेस नेतृत्वले ठीक यसको विपरित निर्वाचनको मुखमा नवधनाड्य व्यापारीलाई पार्टी प्रवेश गराएर निर्वाचन रथ हाँक्नेसम्मको जिम्मेवारी सुम्पिए पछि दलभित्र शिथिलता आएको देखियो । सभापतिको गन्तव्यहीन नेतृत्व र नवनेताहरुको भद्दा सक्रियताकै कारण पनि हुनसक्छ जनताले कांग्रेस नेतृत्वलाई गतिलो पाठ सिक्ने अवसर दिएका हुन् ।

 

कांग्रेसको यो हालतको सम्पूर्ण दोष देउवामाथि मात्र थोपर्दा अन्याय पनि हुनसक्ला । पार्टीमा बरिष्ठको पगरी गुथेर पनि आफ्नै निर्वाचन क्षेत्रमा पराजित रामचन्द्र पौडेल पनि यस जवाफदेहीबाट उम्किन पाउँदैैनन् । उनले पार्टीभित्र नेतृत्वको विकल्प दिन नसकेकैले पनि कांग्रेसले यो अवस्थाको सामना गरिरहेको हो भन्ने आवाज पनि उठिरहेको देखिन्छ । वास्तवमा यसलाई पनि अन्यथा भन्न सकिँदैन । कतिपयको त यस्तो पनि भनाई छ कि पौडेलले संकीर्णताको पर्खाल भत्काउन सकेनन् भने उनी सँधै त्यसैको बन्दी भएर बस्नेछन् ।

 

अब को अघि सर्ला त ? कांग्रेस संगठनभित्र अहिले एकअर्कालाई सोधिने गरेको प्रश्न हो यो । देउवाले सकेनन्,पौडेल पनि संकीर्णताको पर्खालबाट माथि उठ्न सकेनन् । अब को त कांग्रेसको डुंगा चलाउने माझी ? सायद यो प्रश्न महामन्त्री शशांक कोइराला,पूर्व महामन्त्री प्रकाशमान सिंह,नेताहरु रामशरण महत,शेखर कोइराला, अर्का पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र अहिले भूमिकाविहीन बनाईएका कांग्रेसका पाका नेता कूलबहादुर गुरुङ्गलाई सोधिएको हुनसक्छ ।

 

यी बाहेक युवा पुस्ताका एकसेएक नेताहरु छन्,जसले आसन्न चुनौतिको सामना गर्ने अवसर पाएका छन् ।

 

कहाँ हराए सात भाई

केही समय अघि कांग्रेसका सातभाई युवा नेता निकै जुर्मुराएका देखिन्थे । तर तिनले कुनै ठोस काम गरेको देखिएन । उनीहरुले निर्वाचनमा पाएको जनमतको विश्लेष गरी कांग्रेसलाई पुनर्जिवन दिने कुनै गतिलै काम गर्लान् भन्ने त्यतिबेला आमकांग्रेसजनले आशा गरेको देखिन्थ्यो । पार्टीलाई पुनर्जिवीत गर्ने हाँक सहित परिआए भूमिका निर्वाह गर्न पछि नहट्ने आँट देखाएर अघि सरेका सात भाई युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदिप पौडेल र बद्रि पाण्डेले संयुक्त वक्तव्य समेत जारी गरेर नेतृत्वलाई खबरदारी पनि गरेका थिए ।

 

ती मध्ये विश्वप्रकाश शर्माले प्रवक्ताको जिम्मेवारी पाएका छन् भने बाँकी रहेका ६ भाई पनि मौनतामा देखिन्छन् । यस्तो अवस्थामा प्रमुख विपक्षी दलले आम नागरिकको आवाज र भावना बुझ्न सक्नु पर्ने हो । प्रमुख प्रतिपक्षी दल पार्टीको आन्तरिक राजनीतिको सत्ता लेनदेनमै रुमल्लिने हो भने एकातिर सरकार स्वेच्छाचारी हुन्छ नै अर्कोतिर कांग्रेसको उपस्थितिमाथि पनि जनताले प्रश्न गर्नेछन् । यही नै अहिलेको बिचारणीय प्रश्न भएको छ ।
-सरल पत्रिका बाट