त्यसपछि …

अस्पृश्य हुँदै निरापद स्थितिमा डुलिरहेजस्तो महसूस हुन्छ । उसको एउटा आफ्नै धुन छ । तरङ्ग छ, जुन धुनमा तरङ्गमा घाम डाँडामाथिबाट खस्न लागेको उपस्थिति छैन । एक जुवा घाम छँदै घरभित्र हुल्नुपर्ने कुनै बाध्यता छैन उसलाई ।

-ध्रुव मधिकर्मी

त्यसपछिको कुरा मलाई थाहा भएन । थाहा नभएको कुरो म अन्य कतिपय लेखकहरुले झैं बडो थाहा पाएको भ्रम दिन चाहन्नँ । अतः म थाहा नभएको कुरासम्म भन्छु – शुरुदेखि । त्यसपछि म कथा ठ्याम्मै लेख्न छोड्नेछु – कत्र्तव्य पुरा भएको सम्झेर । जस्तो कुनै यथार्थ नाटकमा कुनै पात्रको भूमिका समाप्त भएपछि ऊ मंचमा आफ्नो उपस्थितिलाई अनुपयुक्त ठान्दछ ।

कुनै एउटा मोटरपार्क । नाम मैले यहाँ उल्लेख गर्नुपर्ने । तर नाउँ लेखिएको बोर्ड रंग खुइलिएर ठाउँ–ठाउँमा ढुंगाले हान्दा र बसले ठक्कर दिंदा टुटफुट र नचिनिने अवस्थामा पुगिसकेको छ ।

मोटरपार्कमा मोटर एउटा मात्रै । अर्को छैन । तर यात्राका लागि प्रतीक्षारत मान्छेहरु भने थुप्रै छन् । अभाव छ यहाँ एउटा ठूलै मोटरको, जसमा यी सब मान्छेहरु एकसाथ सहजै अटाउन सकून् । अथवा यात्राको लागि अर्को मोटर उपलब्ध होस् । तर त्यहाँ भएको एउटै मात्र मोटर टन्न भरिइसकेको छ । अर्को मोटर छैन । गुन्द्रुक कोचेसरि मान्छे खचाखच छन् । चढ्न नसकेर कतिपय मान्छेहरु घर फर्कन ढिलो हुनेभो भन्दै हडबडाइरहेका छन् । त्यसै पनि साँझ पर्दै गएकाले हतार मानिरहेका छन् । यो गएपछि फर्कन निकै बेर लगाउँछ । यो निश्चित छैन – फर्कने हो कि होइन । अतः मान्छेहरु मनमा ठूलो पीर लिएर अन्योलमा रुमलिरहेका छन् । कोही–कोही अझै पनि कतै होलो–खुकुलो निःशेष छ कि भनेर भित्र घुस्न धक्कमधक्का मचाइरहेका छन् ।

सडक र फुटपाथमा बसेर मान्छेहरु कुराकानी गरिरहेका छन् । टीका–टिप्पणीमा निमग्न्न देखिन्छन् । अनुहारहरु भिन्न भिन्न प्रकारका छन् । कसैको अनुहारमा आक्रोश छ त कसैकोमा दमित आवेश । कोही निरीह देखिन्छ त कोही क्रुद्ध । कोही रंग खुइलिएका जस्ता । ’em व्यवस्थाको आलोचना प्रत्यालोचना गरिरहेछन् थप मोटर’bout, सिटको राम्रो प्रबन्ध’bout, यसरी असहज रुपमा यात्रा गर्नुपर्ने’bout । यसमा त जो बलबान् भयो जसले निर्बललाई घचेटन सक्यो , ््त्यसले अरुमाथि चढेर, कसैलाई पन्छाएर मज्जाले ठाउँ भेट्टाउन सक्छ । तर .. खोइ राम्रो ब्यवस्था होला जस्तो हतपती कुनै त्यस्तो संकेत देखिंदैन ।

खलासी पुनः आवाज दिंदैछ – यात्रुहरुलाई । मोटर जानै लाग्यो छिटो चढ्नोस् भन्दै । यसमा अझै ठाउँ रहेको विश्वास ब्यक्त गर्दैछ । शायद उसलाई अझै चित्त बुझेको छैन । ऊ अझै यात्रुहरु कोच्न चाहन्छ । सके मालिकको आँखा छलेर आम्दानीबाट केही अंश हडप्न चाहन्छ । तर मान्छेहरु यस्तो कोचाकोच भीडमा पिल्सिएर निस्सासिएर केही होला भनेर डराइरहेका देखिन्छन् ।

बसपार्कमा रहेको मात्र त्यो एउटा मोटर आरम्भमा अर्कैले नै चलाएको थियो । त्यसले केही समय चलाउँदा जथाभावी हाँकिदिएछ । मोटरको क्षमताभन्दा बाहिर जोडसँग हुत्याउन खोज्ने, जहाँ पायो त्यहीँ अडान दिने, यसबाहेक बलजफ्ती गरेर कतै भित्तामा ठोकाउने …आदि । जेहोस् त्यसबाट धेरै पटक दुर्घटनाहरु हुन पुगेका थिए । यही कुरामा त्यसलाई हटाइएको थियो । मोटरको अंगप्रत्यंगमा अझै कतै कच्यायककुचुक परेका डोब देखिन सकिन्छ । कतै टुटेफुटेका फेला पार्न सकिन्छ । अतः त्यसलाई बर्खास्त गरेपछि मोटर मालिक स्वयंले चलाउने जिम्मा लिएको थियो .. ।

.. जिम्मा त लिएको थियो तर पुरा गरेको छैन ।

यसप्रकार यात्रुहरुको असुविधाबाट मोटरमालिकले यसबाट निकै कमाइसक्यो । सुनिन्छ ठाउँ–ठाउँका बैंकहरुमा त्यसले अपार सम्पत्ति थुपारेको छ । उसले कता कताबाट र कसरी कमायो भन्ने’bout धेरै मान्छेहरु अनभिज्ञ नै छन् ।

– घर कसरी पुग्ने लौ न , एउटी आइमाई हडबडाई ।

– बस कहिले गुड्ने हो क्यार ?

– ओहो झमक्क साँझ पर्न आँटेछ ।

– आज्जुको लागि कहिले हिँडिने हो, केही निश्चित छैन ।

– एक जुवा घाम छँदै घर भित्रिनुपर्छ नत्र…

कुनै भित्तामा लेखिएसरह मोटर कुम्भकर्ण झैं मस्त उँघिरहेछ । यात्रुहरुके चलमलाइले हल्लिएर बिम्झेला जस्तो पनि छैन । मोटरभित्र हपहपती गर्मी चढिरहेछ । अर्को मोटर पनि त छैन । यसको सट्टा अर्कोमा जाउँ भने पनि । त्यसैले कति बेरसम्म यसरी नै अडान लिइरहने हो ठेगान छैन । मोटर चालकको उद्धेश्य त पाएसम्म सब अटाउने हो क्यार । मोटर पनि त सब अटाउनाका लागि ठूलो हुनुपर्यो नि, कसो ?

क्रमशः उज्यालो ओरालो झर्दैछ । तर मोटर भने अझै अडेकोअडेकै छ । मान्छेहरुमा खिन्नता र निराशा ब्याप्त हुँदैछ । अत्याहट र आशंका घनीभूत हुँदै गइरहेछ ।

००

चालक बसिरहेछ आफ्नो ठाउँमा ढस्समस्स भएर । विंडस्क्रिनभन्दा परतिर हेर्दै कुनै धुन सुसेल्ने तरखरमा छ । उसको ओठका कुना कुनामा कस्तो कस्तो कुटिल पाराको हाँसो तरेलिन खोज्दैछ । अगाडि संसार फैलिएको छ । परको एउटा पार्कमा केही फूलहरु फुलेका पनि छन् । एउटा बेन्चमा बसेर कुनै प्रेमीले एउटी प्रेमिकाको केशमा फूल सिउरी दिन खोजिरहेछ । बाहिर फुटपाथमा एउटा मगन्ते हात फैलाएर बसिरहेको छ । पछाडि मोटर गुड्ला कि भन्ने प्रतीक्षामा कोचाकोच गरेर बसिरहेका मान्छेहरु उकुसमुकुस सहेर मुमुर्रिरहेका छन् । तर धेरै बेरदेखि चालकले पछाडि फर्केर हेर्ने कष्टसम्म गरेको छैन ।

’emको आशाको केन्द्रस्थल त्यो चाल भइरहेछ । मान्छेहरु बस्नासाथ मोटर त्यसै गुड्ने त अवश्य होइन । फेरि गुडाउने अधिकार चालकबाहेक अरुसँग छैन पनि । तर चालक यी सबबाट पृथक् भएर बसिरहेजस्तो छ । अस्पृश्य हुँदै निरापद स्थितिमा डुलिरहेजस्तो महसूस हुन्छ । उसको एउटा आफ्नै धुन छ । तरङ्ग छ, जुन धुनमा तरङ्गमा घाम डाँडामाथिबाट खस्न लागेको उपस्थिति छैन । एक जुवा घाम छँदै घरभित्र हुल्नुपर्ने कुनै बाध्यता छैन उसलाई । खलासी अझै एक सूरले कराउन अर्थात् चिच्याउनमा तल्लीन देखिन्छ । बसभित्र ऊ स्वयं छिर्ने ठाउँ शेष रहेन । तर ऊ अझै बसमा आउन कराइरहेछ । उसलाई त जहाँ झुण्डिए पनि के ? जति बढी यात्रु कोच्न सकियो उति उसलाई फाइदै छ ।

चालक धूवाँ फुकिरहेछ । तर मोटरको कुनै पातामा धुम्रपान निषेधका शब्दहरु कोरिएका छन् । तर अक्षरहरु खुइलिएर निषेध हो कि स्वीकार्य हो खुट्याउन गाहारो छ । कुरा यस्तो – नगर पञ्चायतले जहाँ फोहोर नगर्नू भनेर भित्तामा लेखेको हुन्छ त्यहीँ बढी फोहर हुनुजस्तो । स्टियरिङ्गमाथि चालकका दुई खुट्टा एक आपसमा गुट्मुटिएर रहेका छन् । चालकको सिट वरिपरि बार लगाइएकोले पनि यात्रुहरुको ठेलमठेलबाट मुक्त छ । यस्तोमा चालकको अनुहारबाट अभिजात्य वर्गको भाव टप्किरहेको प्रष्टसँग देख्न सकिन्छ ।

चालक अझै ढिलासुस्ती गरिरहेछ – शानसँग ।

एक जनाले उभिएरै अखबार पल्टायो । एउटा समाचार – काम नगर्ने प्रवृत्ति, ढिलासुस्ती हटाई सब एकजुट भएर देश विकास कार्यमा लाग्नु आजको आवश्यकता.. मा उसको आँखा गहिरिन पुग्यो । एउटा मन्त्रीले कुनै कार्यक्रममा दिएको भाषणको एक अंश थियो त्यो ।

कुरामा त खप्पिस छ .., उसले मनमनै प्रतिक्रिया जमायो ।

००