सामान्य कारण

त्यतिबेला सत्य, सौभाग्य, इमान्दारी, आदर्श, नैतिकता, शान्तिसुरक्षा, संवेदनशीलता र सद्भाव आदि सबै उसको मृत्युका प्रत्यक्ष साक्षी थिए । तर उसमाथि असत्य, दुर्भाग्य, बेइमान, अनादर्श, अनैतिकता, असुरक्षा, उदासीनता, झूठ, संवेदनहीनता, प्रपञ्च आदिले लगातार आक्रमण गरिरहँदा ती मध्ये कोही पनि उसको सहायताका लागि अघि सरेको देखिएन । ती सब मूक भएर हेरिरहे र ऊ बजारमा नितान्त एक्लै लडिरह्यो ।

ध्रुव मधिकर्मी
नित्य दिनचर्या झैं आज पनि ऊ सबेरै घरबाट बाहिर निस्केको थियो – जीवन निर्वाहको खोजमा । ऊभन्दा अगावै बजार बिउँझिसकेको थियो । तर मान्छेहरु भने पूरै बिउँझन बाँकी नै थियो । एकप्रकारले अर्धनिद्रामा थिए मान्छेहरु । ऊ रमाइलो मान्दै बजारका सामग्रीहरु लोभिएर हैर्दै हिडिरहेको थियो । हिंड्दा हिँड्दै अचानक बीच बाटोमा ठेस लागेर लड्यो ऊ । शायद कसैले छिर्की हानेको थियो कि । उसले देख्न त कसैलाई देखेन । तर ऊ त्यतिकै लडेको भने थिएन । बीच बाटोमा अचानक ऊ डग्रङ्ग लड्यो । सम्हालिने मौकै पाएन ।
मौसम अलि खराब थियो । घाम टन्न लागेको थियो । हावा चलेको थिएन । बादल सुक्खा थियो । ऊ एकनासले आफ्नो बाटोमा हिंडिरहेको थियो । कतै पुग्न होइन, कतै नपुगेर अलमलिएर एउटा निश्चित घेरोमा भौंतारिरहेको थियो । उसको हातमा एउटा झोला छ तर रित्तो । त्यसैगरी ऊसँग खल्ती छ तर हलुङ्गो । घाम टन्न लागेको भए पनि उसको अनुहारमा कुनै प्रकारको घाम थिएन तर छायाँ भने घनघोर थियो । मनभरि खडेरी र उकुसमुकुस व्याप्त थियो ।
बाटोमा अरु पनि बटुवाहरु थिए आउँदैजाँदै गरेका । तर ऊ एक्लो थियो र यस्तै बेला उसमाथि भयानक आक्रमण भयो । उसित एउटा रित्तो झोला मात्र थियो । कुनै हातहतियार वा सहारा थिएन जसबाट प्रतिरोध गर्न सकियोस् । निकै बेरसम्म उसले दयनीय र निरीह शरीरबाट आक्रमण र प्रहारको सामना गरिरह्यो । निहत्था लडिरह्यो । थाम्न सकुञ्जेल चारैतिरको प्रहारलाई झेल्यो , सह्यो र नसकेपछि ऊ भुक्लुक्क ढल्यो – बीच बाटोमा ।
ऊ ढल्यो र अन्ततः मर्यो । यद्यपि ऊ मर्नुको कुनै बहुमूल्य कारण र रहस्य छैन । जस्तो कुनै सामान्य मान्छेको मृत्यु पनि सामान्य दिनचर्याभित्रकै कुरो हुन्छ । त्यहाँ कुनै ठूलाृे युद्ध भएको पनि थिएन, कुनै महायुद्ध रचिएकै पनि थिएन । तैपनि निसहाय र विना कारण ऊ म¥यो ।
यद्यपि ऊ कुनै एउटा राष्ट्र र समाजभित्रकै नागरिक थियो । तर राज्यले उसको नागरिक अधिकार र सार्वभौमसत्ताको कुनै ख्याल गरेन । असुरक्षा र उपेक्षाले उसलाई नितान्त एक्लो पार्यो।
ऊ एक्लो के भयो, उसमाथि चारैतिरबाट एक्कासि आक्रमण हुन थाल्यो । महँगीले सर्वप्रथम उसको पेटमा लात मार्यो । अनैतिकताले उसको कठालो च्याप्पै समात्यो । असत्यले गालामा जोडदार थप्पड हान्यो । घृणाले उसको घिच्रो तान्यो । लोभले हात मर्कायो । पीर, चिन्ता र यातनाले उसको मुटु लुछ्न थाले । अन्याय, कुकर्म र अनादर्शले उसलाई चारैतिरबाट घेरे । छल, प्रपञ्च र जालझेलले खुट्टा समातेर पछारे र ती सब मिलेर उसमाथि ताण्डव नृत्य गर्न थाले । उसले सबैसित गुहार माग्यो । सहायताका लागि हात फैलायो । आँखाले याचना ग¥यो । तर उसको सहयोगार्थ कहीँबाट कोही आएनन् ।
अन्ततः ऊ बीच बाटोमा ढल्यो र निराश भएर मर्यो । ऊ ठीक त्यसरी मर्यो जसरी महाभारतकालमा चारैतिरबाट घेरिएर अभिमन्युको मृत्यु भएको थियो ।
त्यतिबेला सत्य, सौभाग्य, इमान्दारी, आदर्श, नैतिकता, शान्तिसुरक्षा, संवेदनशीलता र सद्भाव आदि सबै उसको मृत्युका प्रत्यक्ष साक्षी थिए । तर उसमाथि असत्य, दुर्भाग्य, बेइमान, अनादर्श, अनैतिकता, असुरक्षा, उदासीनता, झूठ, संवेदनहीनता, प्रपञ्च आदिले लगातार आक्रमण गरिरहँदा ती मध्ये कोही पनि उसको सहायताका लागि अघि सरेको देखिएन । ती सब मूक भएर हेरिरहे र ऊ बजारमा नितान्त एक्लै लडिरह्यो ।
ऊ मर्यो त्यही कारणले । उसको लास अझै पनि बीच बाटोमा छ– सबैका आँखा सामु । मान्छेहरु त्यसलाई हेर्छन् र संवेदनहीन भएर बाटो लाग्छन् ।