रुद्राक्ष जोगाउनै मुस्किल
खाँदबारी, ६ भदौ: रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका छन्।
पछिल्लो समय भने रुद्राक्षको बोट नै नष्ट गर्ने विकृति बढेपछि कृषक चिन्तित हुने गरेका छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पु¥याउने घटना बढेपछि कृषकलाई बोट जोगाउनै मुस्किल परेको छ । बोटमा विषादी हाल्ने, जरा खन्ने, बोट काट्ने, बोक्रा ताछ्ने जस्ता घटना बढिरहेकाले कृषक त्रसित बनाएको छ । राम्रो गुणस्तरको फल दिने बोटमा क्षति पु¥याइदिने हो कि भन्ने चिन्ताले कतिपय किसान जाग्रामसमेत बस्दै आएका छन् ।
जिल्लाको पाँच खपन नगरपालिकामा रुद्राक्षको बोट ताछिएको घटनापछि सिलिचोङ गाउँपालिकाको याफुमाबोट काटिएको घटनाले कृषकमा त्रास फैलिएको छ । योसँगै सङ्खुवासभासँग सिमाना जोडिएको भोजपुरको साल्पा सिलिछो गाउँपालिकाको कुलुङमा रुद्राक्षको बोटमा बेनीले खोपेर विषादी हालिएको घटनाले झन डर फैलाएको छ ।
अघिल्लो वर्ष जिल्लासँग सिमाना जोडिएको भोजपुरको दिङ्लामा रुद्राक्ष कुरुवालाई आक्रमण गरी रुद्राक्ष लुटेर लगेको घटना किसानले बिर्सने कुरै भएन । वर्षेनी भइरहने रुद्राक्षको क्षतिले किसानलाई चिन्तित बनाएको छ ।
गुणस्तरीय उत्पादन दिने बगानमा कतिपयले सिसी क्यामरा जडान गरेका छन् भने कतिले स्थानीय युवालाई कुरुवाका रुपमा राखेका छन् । केही कृषकले भने थप सुरक्षाका लागि सिसी क्यामरा र कुरुवा दुवै राख्ने गरेका छन् ।
जिल्लाका केही किसानले सुरक्षाको चुनौतीका कारण फूलसमेत नफूली नै व्यापारीलाई ठेक्का दिइसकेका हुन्छन् । ठेक्का दिइसकेपछि कुनै चुनौतीबिना रकम पाइहाल्ने भएकाले ठेक्का दिने गरेको कृषकको भनाइ छ । ठेक्कामा दिँदा आफूहरुले वस्तु अनुसारको मूल्यन पाउने भए पनि नपाइएलाकी भन्ने डर भने नरहेको सिलिचोङ–५ याफुका विजय मेवाहाङले बताउनुभयो ।
रुद्राक्ष व्यवसायीले पनि निश्चित समयका लागि ठेक्का लिइसकेपछि ठूलो रकम खर्चेर कुरुवा राख्ने गरेका छन् । उनीहरुले बलिया र खाइलाग्दा युवालाई राम्रो पारिश्रमिक दिएर रुद्राक्षको कुरुवा राख्ने गरेका छन् । कोही गलत नियतले बगान वरिपरि प्रवेश गरे भौतिक कारवाही गर्नसमेत युवालाई व्यवसायीले कुरुवा राख्दै आएका छन् ।
रुद्राक्षलाई लक्षित गरेर कसैले आक्रमण गर्नसक्ने भएकाले पनि बलिया युवा व्यवसायीको रोजाइमा पर्दै आएका छन् । राम्रो रुद्राक्ष भए पनि कुरुवा नराख्नाले लाखौँको क्षति ब्यहोर्नु परेको रुद्राक्ष व्यवसायी अर्जुन न्यौपानेको अनुभव छ । यही वर्ष रु ६२ लाख खर्च गरेर ठेक्कामा लिएको रुद्राक्षको बोटैमा कसैले विषादी हालिदिएपछि समस्यामा परेको न्यौपानेको भनाइ छ ।
मानिसमा उत्पन्न हुने इष्र्याका कारण राम्रो रुद्राक्षमा क्षति पु¥याउने गरिएको जानकार बताउँछन् । आफ्नो बगानमा राम्रो नफल्ने तर छिमेकीको बगानमा राम्रो फले इष्र्याले क्षति पु¥याउने गरेको आशङ्का गर्ने गरिएको कृषक बताउँछन् ।
राम्रो फल्ने रुद्राक्षको बिरुवा नबाँडिने भएकाले पनि नोक्सान पु¥याउने गरिएको हुनसक्ने पनि रुद्राक्ष व्यवसायी सङ्घ सङ्खुवासभाका अध्यक्ष चक्रबहादुर विसुङ्केको भनाइ छ । उन्नत जातको बोटबाट कलमी बिरुवा वा बीजबिरुवा धेरैले मागे पनि कसैले दिदैनन्, यस्तो बिरुवा नपाउनेले पनि क्षति पु¥याएको हुनसक्ने सङ्घका अध्यक्ष विसुङ्केले बताउनुभयो । (रासस)