ओली र प्रचण्डको भयको व्यापार, रमिते देउवा

काठमाडौं । सत्तारुढ नेकपा एकताको पहिलो अध्याय पूरा भएपछि त्यस पार्टीका शीर्षस्थ नेताहरुमा एक किसिमको भय सवार भएको देखिन्छ । कारण त प्रष्ट पारिएको छैन तर नेकपाको संगठनमा पूर्व एमाले र पूर्व माओवादी केन्द्रवीचको भागबन्डा जमिनदेखि आकाशसम्म नै मिलेको प्रचार सुरु भएसँगै अज्ञात भयको पनि उच्च स्वरमा चर्चा गरिन थालिएको हो । यसले समाजमा तनाव र भ्रम एकसाथ बिस्तार गरेको छ । 

भयको चर्चा प्रधानमन्त्रीको पदमा आसिन नेकपा अध्यक्ष केपी शर्मा ओलीले नै सुरु गरेका हुन् । अर्का अध्यक्ष पुष्पकमल दाहालले त्यसमा इन्धन थप्ने काम गरिरहेका छन् । होहल्ला गरेर राजनीतिमा आफ्नो उपस्थिति दर्शाउन सिपालु दाहालले यसमा कथा र उपकथा थपेर धेरै किसिमका संवाद बोलिसकेका छन् । 

संयोग हो कि सुनियोजित, भारतीय विदेशमन्त्री एस जसशंकर भोलिपल्ट नेपाल आउन झोला कस्दै थिए होला, त्यसैदिन सर्वदलीय बैठक बोलाएर प्रधानमन्त्री ओलीले संविधान र गणतन्त्रको रक्षा गर्न आफ्नो सरकार र दलहरु सक्षम रहेको सन्देश प्रशार गराए । दुइतिहाई बहुमतको वामपन्थी सरकार बनेपछि पहिलोपल्ट आकस्मिक रुपमा यसरी सर्वदलीय बैठक डाकिएको थियो । संविधान सभाबाट संविधान घोषणा हुने तयारी चल्दै गर्दा नेपाल आएर रित्तो हात दिल्ली फर्किएका जयशंकर काठमाडौं ओर्लने अघिल्लो दिन भएको सर्वदलीय बैठकले राष्ट्रिय राजनीतिमा मात्र होईन छरछिमेक र मित्र राष्ट्रका काठमाडौंस्थित ज्ञात अज्ञात शक्ति केन्द्रहरुमा तरंग नै ल्याईदिएको थियो । जयशंकर आएर फर्किए । त्यसलगत्तै चिनियाँ विदेशमन्त्री वाङ यी पनि आएर फर्किए । तर सर्वदलीय बैठकले राजनीतिमा ल्याएको तरंग अझै थामिएको छैन । जनताका तमाम समस्या र राजनीतिक संलग्नता मानिएका घटनाप्रति बकोध्यानम् मुद्रामा बसिरहेका दललाई अचानक संविधान र गणतन्त्रको रक्षा गर्ने भूत सवार भएको देखेर सर्वसाधारण जनता समेत चकित परेका छन् । किन नेताहरु यसरी भयको फसल लगाउन एकमत भए भन्ने बिषय अहिलेसम्म रहस्यकै गर्भमा छ ।

उपचार गर्न सिंगापुर बसेका बेला प्रधानमन्त्री ओलीको अनुपस्थितिमा दाहालले आफ्नो दलको बैठक बसाए । अर्को बैठक गर्ने उनको इच्छा पूरा हुन पाएन वा दिईएन । कारण उनैलाई जानकारी होला । ओली उनकै दावी अनुसार स्वस्थ बनेर फर्किसकेका छन् । यसवीच पनि दाहालले राजधानी र प्रदेशहरुमा गएर संविधान र गणतन्त्र विरुध्द प्रतिक्रियावादीहरुले षड्यन्त्र गरिरहेको दावी गरिरहेका छन् । पछिल्लो पटक त उनले ती अज्ञात प्रतिक्रियावादी विरुध्द जाईलाग्न आफ्ना कार्यकर्तालाई आदेश नै दिएका छन् । 

दाहालले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आह्वान गरेका छन् । नेकपा मुख्यालय धुम्रबाराहीमा आयोजित शोकसभामा दाहालले भने– ‘समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा हामी छौँ, एकीकृत पार्टीले पनि त्यही भनेको छ, तर यो काम कम चुनौतीपूर्ण छैन । चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् ।’

दाहालले चेतावनीको शैलीमा भने– ‘व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ । तर सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ ।’

प्रधानमन्त्री ओलीले पनि उनको मौलिक घुमाउरो शैलीमा पूर्व राजातिर सोझ्याएर व्यंग वाण प्रहार गरिसकेका छन् । ओलीले ‘चिहानभित्रको हाडखोर खनेर निकाल्ने प्रयाश नगर्न’ भन्दै वैदिक सनातन हिन्दु धर्म र राजसंस्था पुनस्थापनाको पक्षमा चलिरहेको चर्चा विरुध्द आक्रामक ढंगले चेतावनी दिएका थिए । 

ओली र दाहालका समानान्तर अभिव्यक्ति र अभियान प्रत्यक्ष देख्ने र सुन्नेहरुमा दुइतिहाई बहुमतको प्रभावकारिता सिध्द गर्न नसकेको लघुताभाषको अभिव्यक्ति मान्नेहरुको पनि कमी छैन । जनहितकारी उल्लेख्य काम गर्न नसकेको र त्यसविरुध्द चुलिँदो जनताको असन्तुष्टिले तनावमा परेका सत्तारुढ दलका शीर्ष नेताहरु आन्तरिक सत्तासमीकरण र वाह्य दवावबाट चेपिँदै गएपछि त्यसबाट भयभित बनेर राजनीतिक उपलव्धि खोस्ने प्रयाश भैरहेको भनेर सर्वसाधारणको ध्यान अन्यत्र मोड्न दिलोज्यानले लागिपरेको बुझ्न सकिन्छ । यो उनीहरुको राजनीतिक कठिनाई र वाध्यताको हौवा भनेर बुझेका सर्वसाधारण नेपाली जनतामा भने निराशा बढ्दै गएको देखिन्छ । चाडपर्वको मुखमा आएर दैनिक उपभोग्य सामग्रीको अनियन्त्रित चुलिँदो मूल्यवृध्दि र सार्वजनिक यातायातमा विद्यमान अराजकताप्रति सरकारको उदासिनताले सर्वसाधारणमा बढाएको निराशा हटाउने प्रयाश कतैबाट पनि भएको देखिँदैन । यस्तोमा राजनीतिक हौवा चलाएर नेताहरुले आफ्नै उचाई घटाईरहेका छन् । 

सत्तारुढ दलले त आफ्नो सरकारको अकर्मण्यता ढाकछोप गर्न सम्भव भएजति प्रयाश गर्ने नै भयो । तर संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आफ्नो उपस्थिति सिध्द गर्न सकिरहेको देखिँदैन । जनताका चासो र प्राथमिकताका बिषयमा साथ दिएर सरकारलाई झक्झक्याउनु त कता हो कता कांग्रेस पनि अज्ञात प्रतिक्रियावादी शक्ति कै विरुध्द आरति उतार्नमा व्यस्त देखिन्छ । विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवाले यसवीच विभिन्न स्थानमा दिएका अभिव्यक्ति कहिँ कतै पनि जनसरोकारका बिषयसँग सम्बन्ध राख्दैनन् । उनले राजनीतिका चल्तीका बिषयमा सरकारको आलोचना गरिटोपले पनि भरोसा र विश्वास जगाउन कुनै उर्जावान शब्द उच्चारण गरेको पाईएन । उनी सत्तारुढ दलका नेताले थापेको भयको व्यापारमा रमिते जस्ता देखिएका छन् ।

एकातिर सत्तारुढ दलको हौवाको राजनीति अर्कातिर प्रभावहिन विपक्षी दलको मधुरो आवाज । यसले सर्वसाधारणमा निराशा थप्ने नै काम गरिरहेको छ । यस्तो अवस्थामा सत्तारुढ र विपक्षी दलका नेताले दावी गरेजस्तो राजनीतिक उपलव्धि खोस्ने प्रयाश अन्त कतैबाट भैरहेको भन्दा पनि उनीहरुकै अकर्मण्यता र अर्थहीन बकवास पो कारण बनिरहेको हो कि भन्ने चर्चा सुरु भएको देखिन्छ ।