संविधानमाथि बजेको खतराको घण्टी

काठमाडौं । आज चौंथो संविधान दिवस । मधेस केन्द्रित दलहरुको असन्तुष्टि कायमै छ । जनजातिलगायत पहिचान पक्षधर पनि असन्तुष्टै छन् ।  सरकारले धुमधाम साथ मनाइरहँदा सत्ता साँझेदारी दल समाजवादी पार्टी भने मौन छ । केहि दिनअघि बसेको समाजवादी पार्टीको बैठकले संविधान दिवसको दिन दिपावली पनि नमनाउने र विरोध पनि नगर्ने निर्णय गरेको थियो । जसअनुसार समाजवादी पार्टी अहिले मौन । 

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् । तर उनैको पार्टीले संविधान दिवसका कार्यक्रमहरुमा सहभागी भएको छैन् । चौतर्फि आलोचना हुने डरले यादव असोज १ गतेनै अमेरिका भ्रमणमा निस्किएका छन् । सरकारले धुमधामका साथ संविधान दिवस मनाइरहँदा यादव विदेश भ्रमणमा निस्किएपछि त्यसको सन्देश के हो ?  संविधान घोषणा भएको चार वर्षमै नेपालको संविधानमाथि खतराको घण्टि बजिसक्यो ?

समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दोस्रो संविधानसभामा संवैधानिक राजनीतिक सम्वाद समितिको सभापतिका रुपमा नयाँ संविधान निर्माण प्रक्रियाको नेतृत्व गरेका थिए । तर अहिले उनैले संविधानप्रति असन्तुष्टि छन् । संविधान संशोधन नगरे विद्रोहको रुप लिने बताउँदै आएका छन् । भट्टराई भने ‘संविधान संशोधन गरेर सबैको स्वीकार्य बनाउन नसके जनताको असन्तुष्टिले विद्रोहको रूप लिन सक्छ ।’ उनले सामाजिक, आर्थिक र राजनीतिक शक्ति सन्तुलनले संविधान परिवर्तन हुँदै जाने बताए । संविधान ‘आधी गिलास खाली छ, आधी भरी’ जस्तै उनले भने ।

त्यसो संविधानप्रति चरम असन्तुष्टि रहेको अर्को दल राष्ट्रिय जनता पार्टी (राजपा) । संविधान संशोधनको मुद्धा उनले छाडेको छैन् । राजपाले आज कालो दिनको रुपमा मनाइरहेको छ । राजपाका नेता राजेन्द्र महतोले ६ वटा संविधान बेपत्ता भएको कुरा सबैले हेक्का चेतावनी दिदैं आएका छन् । संवधान संशोधन नगरे संविधाननै नचल्ने बताएका छन ्। सबै नागरिकले धूमधामसाथ संविधान दिवस मनाउने परिस्थिति नआएको उनको दाबी छ । उनको प्रश्न छ ‘आफ्नै हातले आफ्नै बिँड थपथपाउने ? बडा बहादुरी गरेर बडा राम्रो संविधान बनाएको छु भनेर डम्फु फुक्ने ?’

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रमाथि चौतर्फि आक्रमण हुन थालेको जनाउ दिँदै आएका छन् । पछिल्लो केहि महिना अघिदेखि प्रचण्डले प्राय हरेक कार्यक्रमहरुमा भन्दै आएका छन् ‘जनताको त्याग र बलिदानबा प्राप्त उपलब्धिलाई रक्षा गर्न नसके गणतन्त्रमाथि नै खतरा आउनेछ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको छ ।’ प्रचण्डले त्यति मात्रै भनेका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी शक्तिका गतिविधितर्फ संकेत गर्दै उनले भनेका थिए, ‘चिहानबाट फेरि भुतप्रेतलाई ल्याउँदैमा चिहानमा पुगिसकेको कुरा व्युतिँदैन । फर्किन्छ भन्ने कुरा त विज्ञानले मान्दैन । तर पनि तिनका प्रेत आत्माहरु बेला बेला आउने र जिवित मानवहरुलाई कुनै न कुनै रुपमा दुःख दिने गर्दा रहेछन् । कहिलेकाही सिंहको अगाडि स्यालहरु आएर हल्ला गरेकै भरमा सिंह र स्यालको तुलना हुन सक्दैन । सिंह सिंह नै रहन्छ, स्याल स्याल नै रहन्छ।’