कास्कीबाट चुनाव उठ्न किन डराए वामदेव?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले मंसिर–१४ गते हुने उपनिर्वाचनमा कास्कीबाट प्रतिनिधिसभाको उम्मेदवार नबन्ने घोषणा गरेका छन् । उनले उनले कास्की–२ मा आफु उपयुक्त उम्मेदवार नभएको संकेत गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै आफु कास्कीबाट उम्मेदवार नबन्ने पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएको बताएका छन् ।

‘शनिबार बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की–२ जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु । मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु ।’

निर्वाचन क्षेत्र बर्दिया–१ मा भन्दा अत्यन्त कम मतान्तर रहेको कास्की–२मा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो वामदेवले स्ट्याटस लेखेका छन् । 

‘यसअघि (२०७४ सालमा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो’ वामदेवले लेखेका छन् ।

उनले लेखे ‘तर मलाई विश्वास छ म भन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नु हुनेछ । कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय कमरेडहरु उम्मेदवारीका निम्ति पहिलो हकदर हुनुहुन्छ । यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु ।’

कास्की–२ बाट नेकपाका रवीन्द्र अधिकारी निर्वाचित भएका थिए । उनको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र अहिले खाली छ ।