देउवाको क्रान्तिकारिता र ओली राष्ट्रवादको परीक्षा


पोखरा । उपनिर्वाचन हुने क्षेत्रमध्ये निकै चर्चामा रहेको कास्कीको–२ नम्बरले यतिबेला देशभरीको ध्यान खिचेको छ । यसक्षेत्रका प्रतिनिधि रवीन्द्र अधिकारीको हवाई दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुनलागेको छ । रवीन्द्र पत्नी विद्या यसक्षेत्रकी सत्तारुढ दलकी उम्मेदवार छिन् भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कास्कीका पाका नेता खेमराज पौडेललाई प्रतिष्पर्धामा उतारेको छ । कास्कीको यो उपनिर्वाचन स्थानीय मतदाताको मात्र चासोको बिषय रहेन,यसमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षले आ-आफ्नो शक्ति परीक्षणको जनमत संग्रह जसरी लिएको देखिएको छ । दुबैथरी बलबूताले भ्याएसम्म प्रचार प्रशारमा छन् ।

नेकपा पनि बिगतमा रवीन्द्रले पाएजति नै जनसमर्थन विद्यालाई उपलव्ध होला भनेर ढुक्क भएको देखिँदैन भने कांग्रेस पनि यो क्षेत्रमा झण्डा फहराउन सकिन्छ नै भनेर आश्वस्त भैहालेको अवस्था छैन । दुबैथरी आशंका र आशाको मनस्थितिमा देखिन्छन् ।

देउवाको क्रान्तिकारिता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई यतिबेला जतिसक्दो धेरै क्रान्तिकारी देखिनुपर्ने वाध्यता छ । आसन्न उपनिर्वाचनमा सत्तारुढ दलसँगको प्रतिष्पर्धामा आफ्नो पार्टीको पोजिसन जस्तो हुनेछ, आगामी पार्टी महाधिवेशनमा देउवाको अवस्था पनि त्यस्तै हुनेछ भन्ने टिकाटिप्पणीले देउवालाई क्रान्तिकारी बन्नुपर्ने वाध्यता आईपरेको हो भनेर बुझ्न    सकिन्छ । त्यही कारण देउवा सीमा विवादको बिषयमा अरुभन्दा अलिक बढी आलोचना गरिरहेका छन् सरकारको । उनले शनिबार यहाँ आयोजित चुनावी सभामा सीमा विवादको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवादी छविमाथि निकै धावा बोलेर आलोचना गरे ।

कास्कीको उपनिर्वाचनमा कांग्रेस नेता कार्यकर्तावीच इतिहासमै पहिलोपल्ट सहमतिको वातावरण बनेको देखिएको छ । नेता शुक्रराज शर्मा देखि महादेव गुरुङ र चर्चित नेता देबराज चालिसेसम्म निर्वाचन प्रचारमा सक्रिय देखिन्छन् । कास्की–२ का प्रतिनिधि रवीन्द्र अधिकारीको आकस्मिक निधनपछि रिक्त यस क्षेत्रमा अधिकारी पत्नी विद्या भट्टराई सत्तारुढ दल नेकपाको तर्फबाट प्रतिष्पर्धामा छिन् । विद्यासँग सहानुभूतिको मत पाउने बलियो आधार देखिन्छ । तर सत्तारुढ दलभित्र अवसरबाट बञ्चित एउटा ठूलो समूह विद्रोहको मनस्थितिमा देखिन्छ । तर यो सतह बाहिर आईसकेको छैन । स्थानीय कार्यकर्तामात्र होईन जिल्ला तहकै नेतामा यो मनस्थिति देखिन्छ । 

नेपाली कांग्रेसले यो भड्किएको भावना आफ्नो पक्षमा उपयोग गर्न सक्ने एकथरीको विश्लेषण रहेको छ ।

रिजालको रोल

कांग्रेसका तर्फबाट निर्वाचन संयोजन गर्न पोखरा झरेका नेता डा.मिनेन्द्र रिजालले पहिलो चरणमा स्थानीय कार्यकर्ता र नेतावीच सहमतिको वातावरण बनाउन सफलता हात पारेको देखिन्छ । यसअघि चारैदिशातर्फ फर्किएर आपसमै तानातान गर्ने प्रवृत्ति रहेको कास्की कांग्रेसबृत्तमा नेता रिजालले सहमतिको वातावरण बनाएर निर्वाचन क्षेत्रका गाउँ टोलमा सक्रिय गराएपछि कांग्रेसको पक्षमा जनमत सर्दै गरेको बताईन्छ । 

संकटमा विद्या

यता सत्तारुढ दलकी उम्मेदवार विद्या आफैंमा लोकप्रिय नेता भएपनि असन्तुष्टीको शिकार बन्ने खतरा बढ्दै गएको राजनीतिक विश्लेषकहरु औंल्याउँछन् । सहानुभूतिको हतियारले मात्र उनलाई बिगतमा पति रवीन्द्रले पाएजसरी मत आउने सम्भावना खस्किँदै गएको देखिन्छ । सत्तारुढ दलका नेता कार्यकर्तामा देखिएको निराशाले पनि हुनसक्छ विगतमा जसरी निर्वाचन प्रचारको तापक्रम बढाउन उनीहरु सफल भैरहेका छैनन् ।

 यता निर्वाचन प्रचारको तापक्रम बढाउन कांग्रेस सभापति देउवाले देशको सीमा मिचिएको बिषयलाई प्रधानमन्त्री ओलीमाथि प्रहार गर्ने बलियो हतियारका रुपमा उपयोग गर्ने प्रयाश गरिरहेका छन् । उनले प्रधानमन्त्री ओलीमाथि देशको सीमा मिच्न भारतलाई सहमति दिएको भनी गम्भीर आरोप पनि लगाए । ओलीकै सहमतिमा भारतले नेपालको भूभाग समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको देउवाको आरोप थियो । देउवाको दावी छ– ओलीको सहमतिबिना भारतले नक्शा छाप्नै सक्दैन ।  

 देउवाले भने, ‘ओलीसँगको भित्री सल्लाहमा भारतले नेपालको भूभाग समेटेर नयाँ नक्शा छापेको हो । भारतले यत्तिकै नक्शा छापेको होइन ।’  

नेपाली भूमि भारतलाई बुझाएर प्रधानमन्त्री ओलीले सबैभन्दा ठूलो राष्ट्रघात गरेको पनि देउवाले आरोप लगाए । ‘हाम्रो जमिन अहिले मिचिएको छ । नेपालको एक इन्च पनि जमिन मिचिन दिनुहुन्न,’ उनले भने, ‘यसको सबै दोष ओली सरकारले लिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले भन्दै आएको राष्ट्रवाद अहिले हराएको उनले बताए । ‘अघिल्लोपटक राष्ट्रवादका नाममा जनतालाई उल्लु बनाएर चुनाव जिते । त्यो राष्ट्रवाद आज कहाँ गयो ?’ देउवाको प्रश्न थियो । ओलीको राष्ट्रवाद अहिले कालापानिमा पुगेर समर्पणवादमा घुँडा टेकेको उनले बताए ।