यी हुन् भेडाबारीका ‘बिल गेट्स’
सरल पत्रिका– यसपालि कतिको बीउ बेच्नुभयो ?
भट्ट– त्यस्तै ८५ लाखको बेचें होला ।
सरल पत्रिका– ए त्यसो भए त तपाइँ करोडपति नै हुनुभएछ नि ।
भट्ट– खर्च पनि त हुन्छ नि, तपाइँहरु यसै करोडपति भनिदिनुहुन्छ, मान्छेले जिस्क्याएर हैरान ।
सरल पत्रिका– खर्च चाहीँ कति भो होला त ?
भट्ट– आधा त खर्च नै हुन्छ नि ।
सरल पत्रिका– केकेमा कति खर्च हुन्छ भन्नुहोस् त ।
भट्ट– भाडा तिर्नुपर्छ, कामदारको खर्च यस्तैयस्तै । ५ जना कामदार छन् ।
उनले जति नै खर्च देखाउन खोजे पनि १५ लाख नाघेन । यो बुझ्दा वर्ष दिनमा उनले ५० लाख त खोचो कमाएछन् । नवलपुरको भेडाबारीमा घाँस खेति गर्दैआएका विष्णु भट्टसँग सरल समाचारदाताले गरेको कुराकानी हो यो । पूर्वपश्चिम राजमार्गमा पर्छ भेडाबारी । नारायणगढबाट १३ किमी पश्चिम पर्छ यो ठाउँ ।
यही राजमार्गसँगै जोडिएको ४ बिघा जमिनमा घाँस लगाएर करोडपति बन्ने सपना देख्दैछन्, विष्णु भट्ट । सपना मात्र होइन उनको योजनाले मूर्त रुप नै लिइसकेको छ । शाकाहारी जीवनशैलिमा रमाएका भट्ट आफूलाई अरुले करोडपति भनेको मन पराउँदैनन् । यदाकदा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा उनलाई करोड पतिको संज्ञा दिइयो, त्यो उनलाई खासै मन परेन । तर करोड कमाएकालाई करोडपति त भन्नैपर्यो । खर्च पनि त त्यतिकै छ नि तपाइँहरु कमाएको मात्र देख्नुहुन्छ भनेर तर्किन खोज्छन् उनी ।
प्लस टु सकेर मलेसिया हानिएका थिए उनी । कमाइप्रति सन्तुष्टि नभए पछि गाउँ फर्के । “अर्काको देशमा यति दुःख गर्नुभन्दा त आफ्नै गाउँमा एक बुटो रुख रोपे पनि देशकै लागि हुन्छ भन्ने सोचेर फर्केँ”, मलेसियाबाट फर्केको उनी सम्झिन्छन् । त्यो पनि मात्र एक वर्षअघि ।
गाउँ फर्केपछि बाख्रा पाल्ने जोश जाग्यो । घर छेउकै जमिन भाडामा लिएर बाख्रा पालन सुरु गरे । बाख्राका लागि घाँसको आवश्यकता त पर्ने नै भयो । घाँस खोज्दै हिँडेका विष्णुले भेटे सुपरनेपियरको बिउ । उखु जस्तै देखिने सुपरनेपियर खाँदा पनि गुलियो हुन्छ । पशुका लागि यो घाँस निकै राम्रो मानिन्छ ।
विदेशमा काम गर्दाको दुःख कहाँ बिर्सेका थिए र ? उनले महँगै हालेर सुपरनेपियरका डाँठ खरिद गरे । लगाए, ४ बिघामा । यसलाई उखुजस्तै गरी आँख्ला,आँख्ला काटेर रोपिन्छ । हरेक आँख्लाबाट मलजल अनुसार १० देखि ५०वटा लाँक्रा निस्कन्छन् । पहिलो पटक ४,५ महिनामा काट्न सकिन्छ भने डेढदुई महिनापछि फेरि घाँस तयार हुन्छ । वर्षमा एउटा झाङबाट २–३ सय केजी घाँस सजिलै निस्कन्छ । अहिले स्थानीय बजारहरुमा प्रतिकेजी १२ ,१५ रुपैयाँमा घाँस पनि बिक्री हुनथालेको छ । उच्च हिमाली क्षेत्रबाहेक सबैतिर लगाउन पनि सकिन्छ तर मलजलको प्रवन्ध भने चाहिन्छ । “मकै फल्ने जुनसुकै ठाउँमा सुपरनेपियर लगाउन सकिन्छ तर हिउँ पर्ने ठाउँमा भने हुँदैन”, भट्ट भन्छन् ।
अहिले विष्णुको जमिनमा करिव २० लाख लाँक्रा सुपरनेपियर छन् । एक लाँक्राबाट उनले १५वटा बिउ तयार पार्छन् । उनले यसको मूल्य एकजोडी आँख्लाको ५ रुपैयाँ तोकेका छन् । उनले त ४० रुपैयाँभन्दा बढी हालेका थिए, प्रतिजोडीको ।
त्यतिमात्र होइन उनी स्थानीय सरकारको शिफारिस लिएर आए सामाजिक संस्थाका लागि निःशुल्क बिउ दिन तयार छन् । त्यस्तै गौशालाका लागि पनि निःशुल्क बिउ दिने उनको योजना छ । “गाई भोकै मर्नुहुँदैन, गाईबाहेक अन्य पशु पनि भोकै नमरुन भन्ने सोचेर मैले यो योजना अघि बढाएको हुँ”, उनी भन्छन् । खानेकुराको अभावमा सुर्खेत जाने बाटोमा भिरबाट खसालेर गाई मारिएबाट उनको चित्त कुँडिएको छ ।
सुपरनेपियरको बिक्री निकै राम्रो छ । आजका दिन उनको जमिनमा रहेको घाँसको मूल्य सरसर्ती हिसाब गर्ने हो भने तीन छक्क परिन्छ । ल हेरौं त । २० लाख लाँक्राबाट भनौं १० जोडि नै आँख्ला भए पनि २ करोड जोडी बीउ भयो । ल भनौं, विष्णुकै मूल्य हालिएन रे, ५ को सट्टा १ रुपैयाँमै बिक्री गरे पनि त उनी २ करोडका मालिक त भए । ५ मा बेचे त उनी १० करोडका मालिक बन्ने नै भए । छोटो समयमा करोडपति बनिसकेका भट्टलाई स्थानीय युवाहरु भेडाबारीका विल गट्स भनी जिस्क्याउने पनि गर्छन् । मलेसियाबाट वाक्क भएर स्वदेश फर्केका यी तन्नेरीले जीवनमा यति ठूलो सफलता हासिल होला भन्ने सोचेका पनि थिएनन् होला शायद । अहिले उनलाई बाख्रा पालनप्रति उति चासो छैन ।
सानै उमेरमा र छोटै समयमा धनी बन्न सफल विष्णुले यसै वर्षबाट २० बिघामा सुपरनेपियर विस्तार गर्ने योजना बुनेका छन् । जग्गा पनि खोजिसके । अर्को वर्ष उनी २० देखि ३० करोडका मालिक भएभन्दा आश्चर्य मान्नुपर्दैन ।
अब उनी आफू मात्र नकमाई कृषिमा युवा जागरण ल्याउने योजनामा छन् । काम सुरु गरेको ५ वर्ष नै नपुग्दै निवृत्त जीवन बिताउने उनको तरखर छ । उनले कृषि क्रान्तिका लागि कृषि सेनाको अवधारणा ल्याएका छन् तर बन्दुक समाउने होइन, हलो समाउने, पशुपालन गर्ने सेना ।
आफू सरकारी सहयोगको आश गर्ने होइन सरकारलाई उल्टै सहयोग गर्ने महत्वाकांक्षी योजनामा छन्, वर्ष दिनमै समृद्धिको सिँढी चढेका विष्णु भट्ट । आफ्नो सञ्जालमा आवद्ध हुने जोकेहीलाई महिनाको लाख रुपैयाँ कमाउने बाटो दिने उनको योजना छ । “गफमात्र गर्ने होइन, कामै गर्न चाहने जोकोहीलाई पनि म महिनाको लाख रुपैयाँ कमाउने बनाउँन सक्छु, यो सत्य कुरा हो आउनुहोस् ”, उनी खुलेआम आह्वान गर्छन् । कृषि सेना नै बनाउने योजनामा रहेका यी सामान्य मानिसलाई देशका दशौंलाख युवालाई रोजगारी दिनसक्छु भन्ने हिम्मत छ । उनको योजनाले मूर्त रुप लियोस् र नेपाली युवाले पेट पाल्नका लागि परचक्रिको आश गर्नु नपरोस्, यही शुभकामना छ । सरल पत्रिका….