‘कांग्रेस अब नवधनाढ्यको कब्जामा पर्यो, देउवाले इतिहास डुबाए’

काठमाडौं । नेपाली कांग्रेसका एकजना पुराना नेताले निराशाजनक प्रतिक्रिया दिँदै भने– ‘खै कहाँ बाँकी छ र नेपाली कांग्रेस ? यो कांग्रेस त नवधनाढ्य र ठेकेदारको कांग्रेस हो । शेरबहादुर देउवाले वीपीले स्थापना गरेको कांग्रेसको इतिहास डुबाईसके ।’

नेपाली कांग्रेसका संस्थापक वीपी कोइरालाका निकट सहयोगी रहीसकेका ती पाका नेताले आफ्नो नाम उल्लेख गर्न चाहेनन् । ‘म कति छुच्चो हुनु,’ उनले भने– ‘शेरबहादुरले आफ्नो पनि इतिहास सक्दै गए,पार्टीको समेत बाँकी नराख्ने भए ।’

नेपाली कांग्रेसको पछिल्लो आन्तरिक कलह देखेर विरक्त ती नेताले कांग्रेस यसैगरी अल्झिरहने होभने कम्युनिष्ट अधिनायकवादले शीर उठाउने र लोकतन्त्र नारामै सीमित हुने ठोकुवा समेत गरेका छन् । सत्तारुढ दल नै चरम अविश्वासको अवस्थाबाट गुज्रिरहेको विश्लेषण गर्दै ती अनुभवी नेताले ठूला दलहरुले आफूहरु आन्तरिक किचलोमा अल्झिरहेको कुरा महसुस गरेनन् भने देशमा नयाँ परिस्थिति आउने र त्यो निकै कठोर हुने चेतावनी पनि दिएका छन् । 

मिलेन कांग्रेसको किचलो

सभापति शेरबहादुर देउवाको अनुदार व्यवहारकै कारण हाल जारी आन्तरिक किचलो मिल्न नसकेको बुझिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउने भन्दा पनि बहुमतको धम्की दिईरहने प्रवृत्तिले सहमति हुन नसकेको बताईएको छ । छलफल र सहमति प्रयाश भन्दा पनि संवादहिनता र असमझदारी बढ्दै गएकाले कांग्रेस जटिल अवस्थामा पुगिसकेको एक पूर्व महामन्त्रीले बताए ।

१४ औं महाधिवेशनको कार्यतालिकलाई प्रमुख एजेन्डा बनाएर केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको वरिष्ठ नेता पौडेल पक्षले पछिल्लो समय विभाग गठन र भ्रातृ संस्थाको बिषयमा पनि प्याकेजमा सहमति गर्नुपर्ने अडान राखेपछि संस्थापन पक्ष केही हदसम्म सतर्क भएको देखिएको छ ।

सहमति गर्न भन्दै दुई सातादेखि पटकपटक छलफल भए पनि टुंगोमा पुग्न सकेको छैन । हिजो बिहीबार साँझको छलफलमा सहमति नजुटेको नेताहरुले बताएका छन् । दुवै पक्षले आआफ्ना कुरा राखे तर पुरानै विषय दोर्होयाउनुबाहेक केही प्रगति नभएको बुझिएको छ ।

मंसिर २६ गतेदेखि बसेको केन्द्रीय समिति बैठक पौडेल पक्षले बहिष्कार गरेपछि सभापति देउवाले सहमतिका लागि भन्दै चार पटक स्थगन गरिसकेका छन् । सुरुमा आफैं सहमति जुटाउन  देउवा सक्रिय भए पनि पौडेल पछि नहटेपछि उनले थप छलफलका लागि उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिएका थिए । पौडेलले पनि आफ्ना तर्फबाट नेता प्रकाशमान सिंहको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए । वार्ता टोलीबीच सहमति जुटाउन नेता सिंहको निवास चाक्सीबारीमा भइरहेका छलफल सहमतिमा पुग्न सकेका छैनन् ।

महाधिवेशन कार्यतालिका सार्वजनिक गर्न संस्थापन पक्ष तयार भए पनि पौडेल पक्षले विभाग र भ्रातृसंस्थाका बिषयमा पनि प्याकेजमै सहमति गर्नुपर्ने अडान लिँदै आएको छ ।

केन्द्रीय समिति बैठकमा सभापति देउवाले विभागको संख्या बढाएर ४१ पुर्याउने, तरुण दलको समयावधि ६ महिना थप्ने र नेपाल विद्यार्थी संघ गठन गर्नेलगायतका नौ प्रस्ताव पेस गरेका छन् । पौडेल पक्ष भने विभाग संख्या बढाउने प्रस्तावको विरोधमा छ । तरुण दलको समयावधि थप गर्न सकारात्मक रहे पनि महासचिवमाथि भएको कारबाहीका बिषयमा सहमति जुट्न सकेको देखिँदैन ।

नेविसंघ पदाधिकारीमा पनि विवाद कायमै छ । ‘विभाग र तरुण दलका विषयमा खासै विवाद छैन’, वार्ता समिति सदस्य हृदयराम थानीले भने, ‘नेविसंघमै बढी विवाद छ । विभिन्न विकल्पमा छलफल भए पनि टुंगोमा भने पुगिसकेका छैनौं ।’

  आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । सरल पत्रिका