ओली र दाहाल नमिल्दा प्रतिनिधि सभा बैठक स्थगित


काठमाडौं । सत्तारुढ दलका अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल सभामुख पदका उम्मेद्वार’bout सहमतिमा पुग्न नसक्दा प्रतिनिधि सभाको पूर्व निर्धारित बैठक बस्न सकेन । आज अपरान्ह १ बजे बस्नेगरी बोलाईएको बैठक सभामुख चयनका लागि दलहरुको अनिर्णयले सूचना टाँस गरेर स्थगित हुनपुगेको हो । 

प्रतिनिधि सभाको अर्को बैठक पुस १६ बस्ने छ ।

यसअघिको तयारी अनुसार आजबाट सभामुख निर्वाचनकोे प्रक्रिया सुरु हुनुपर्ने थियो । यही अनुसार कार्य सूची तयार गरिएको थियो ।


सत्तारुढ दलभित्रको खिचातानी व्यवस्थापन हुन नसकेपछि सभामुखको निर्वाचनमा ढिलाई भएको छ । नेकपामा समाहित पूर्व एमाले र पूर्व माओवादीले सभामुखमा आफ्नो मान्छे उम्मेदवार हुनुपर्ने भनी दावी गरिरहेका छन् । पार्टी एक भएको भनिएपनि सभामुखको उम्मेदवार छान्ने कुराले उनीहरुको एकताको कुरा पनि टिकाटिप्पणीको बिषय भएको छ । 

नेकपाका अध्यक्षहरु ओली र दाहाल नै सभामुखका उम्मेदवार भनी चर्चामा आएका एक एकजना नेता काखी च्यापेर बसेका छन् । उनीहरु नमिल्दासम्म यो बिषयले निकास पाउने सम्भावना छैन ।  

यता अर्कोतिर उपसभामुख शिवमाया तुम्बाहाम्फेको राजीनामा घोषणाको मिति पनि सरेको छ । उनले सभामुखको टुंगो लागेपछि मात्र राजीनामा दिने भएकी छिन् । उनी स्वयं सभामुखको पद ताकेर बसेकी छिन् भने उनलाई राष्ट्रपति विद्या भण्डारीको समेत समर्थन रहेको चर्चा छ ।

सरल पत्रिका