पौडेलको अगुवाई असफल, शशांक जुर्मुराएकै हुन् ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी बचाउने हो भने शेरबहादुर देउवालाई सभापतिबाट हटाउनुपर्ने बताएका छन् । सभापति देउवाले कार्यसमितिमा बहुमतको बलमा एकलौटी निर्णय गरेपछि कोइरालाको अहिलेसम्मकै कडा टिप्पणी आएको हो । रामचन्द्र पौडेलको नेतृत्वमा गोलबन्द भएका कांग्रेसजनको दवाव र घुर्कीलाई वास्तै नगरी  देउवाले पार्टीको सम्भावित महाधिवेशनको मिति तोक्दै विभागहरुको विस्तार गरेपछि कोइरालाले सभापति देउवाको कडा आलोचना गरेका हुन् । उनले पार्टीलाई भताभुङ्ग पारेकाले देउवालाई आगामी महाधिवेशनबाट बिस्थापित गर्ने दावी पनि गरेका छन् ।

प्रजातान्त्रिक मूल्य र मान्यताको पक्षपाती भनिए पनि नेपाली कांग्रेसले निर्धारित समयमा महाधिवेशन र विभागहरुको गठन गरेन । संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा समेत निकै कमजोर साबित भएको कांग्रेसलाई एकजुट बनाउँदै प्रभावकारी तुल्याउन सभापति देउवा पूर्णत असफल देखिए । भर्खरै सकिएको कार्यसमिति बैठक सेरोफेरोमा त उनले असमत पक्षलाई विश्वासमा लिएर अघि बढ्ने कुरामा एकरति पनि सफलता हासिल गर्न नसकेको देखिएको छ । कतिपय पार्टी सभापतिले बिगतमा जे गरेका थिए देउवाले बहुमतका आधारमा त्यही प्रवृत्ति दोहोर्याउँदै आफू समयानुकूल परिवर्तन हुन नचाहेको पुष्टि गरिदिएका छन् ।

  नेतृत्वमा सभापति र कैयौं नेताहरुको सक्रियता देखिए पनि कांग्रेस यतिबेला माझिविनाको डुंगा जस्तै भएको छ । न त्यो किनारामा पुग्छ न त डुबी नै हाल्छ । कांग्रेस नामको डुंगाका माझी देउवा यतिबेला सबैभन्दा बढी थिलथिलो भएका नेता भएका छन् । यसकारण कि उनलाई परकाले त राजनीतिक आरोप लगाउँदै गोद्नुसम्म गोदीरहेकै थिए, अब त आफन्त समेत उनीमाथि चुनौतिको मुक्का बजाउन अघि सरेका छन् । जसले गर्दा संक्रमणबाट पार लागीनसकेको राजनीतिको सागरमा देउवाले खियाउँदै गरेको कांग्रेस नामको डुंगाले गति पाउन सकिरहेको छैन । माझीले नै डुंगा डुवाउने हो कि भनेर त्यसमा सवार कांग्रेसजन पिरोलिएका देखिन्छन् । संस्थापन र असहत पक्ष भनी स्पष्ट दुइ कित्तामा विभक्त भएपछि कांग्रेसको डुंगा रुपी संगठनका ’boutमा यस्तै चर्चा हुन थालेको छ ।

  देउवाले नै गन्तव्यविहिन डुंगालाई पार लाउन सक्लान कि नसक्लान ? अहिले कांग्रेसजनमा व्यापक मन्थन भैरहेको प्रश्न हो यो । ’cause संघर्षशील छवि लिएर राष्ट्रिय राजनीतिमा उदाएका देउवाले बिगतमा निरंकुशतालाई बल पुग्ने गल्ती गरिसकेका छन् । तैपनि कुनैबेला उनीमाथि ‘अक्षम’ भनेर आक्षेप लगाउँदा तत्कालीन राजा ज्ञानेन्द्रमाथि खनिन पनि तयार भएको युवा पुस्ता नै यतिबेला देउवाको नेतृत्व क्षमतामाथि प्रश्न उठाएर विकल्पको खोजी गरिरहेको देखिन्छ ।

स्थानीय निर्वाचन हुँदै प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेसले भोगेको पराजयको अपयश अरुको भागमा पनि पर्ला नै तर सबैभन्दा बढी त देउवाकै जिम्मामा पर्छ । उनी सभापति र निर्वाचन गराउने सरकारको प्रधानमन्त्री समेत भैरहँदा कांग्रेसको पक्षमा आएको शर्मनाक परिणामले तत्कालको संसदीय अंकगणितमा एउटा अर्थ राख्ला । तर जहाँनियाँ शासन विरुध्द युग परिवर्तनको नेतृत्व गर्दै सबै परिवर्तनकारी आन्दोलनको अगुवाई गरेको पार्टीमा जुझारु नेता कार्यकता र नयाँ पुस्तालाई कसरी जोडीराख्न सकिन्छ भन्ने चिन्ताले युवा नेतालाई झक्झकाएको सजिलैगरी बुझ्न सकिन्छ ।

इतिहास त आखिर कठोर नै हुन्छ । बिगतमा देउवाले सरकारमा बस्नका लागि गरेका तमाम हर्कतहरुलाई विस्मृतिमा राख्न चाहनेले पनि यसवीचमा उनकै संरक्षकत्वमा हुर्किँदै गएको परिवारवाद,फरियावाद,व्यापारी,डन,ठेकेदार र कमीशन एजेन्टको घेरावन्दी देखेर खाँट्टी कांग्रेसीहरुलाई उकुसमुकुस भएको देखिन्छ । जुन अस्वभाविक लाग्दैन ।

कांग्रेसका संस्थापक नेता वीपी कोइरालाले उतीबेला नै सचेत गराएका थिए – ‘देशमा प्रजातन्त्र आएपछि मोटाघाटा,चिल्ला गाडी चढ्नेहरुको पार्टीभित्र हालीमुहाली हुनेछ,त्यसका विरुध्द आमकार्यकर्ताले फेरि एकचोटी संघर्ष गर्नुपर्ने हुन्छ ।’ 

तर कांग्रेस नेतृत्वले ठीक यसको विपरित निर्वाचनको मुखमा नवधनाड्य व्यापारीलाई पार्टी प्रवेश गराएर निर्वाचन रथ हाँक्नेसम्मको जिम्मेवारी सुम्पिएको पनि देखियो । सभापतिको गन्तव्यहीन नेतृत्व र नवनेताहरुको भद्दा सक्रियताकै कारण पनि हुनसक्छ जनताले कांग्रेस नेतृत्वलाई फेरि एकपटक ‘अक्षम’ साबित गरिदिएका थिए । अहिले केन्द्रीय कार्यसमितिमा आफ्नो गुटमात्र बसेर निर्णय गर्नुपर्दा सभापति देउवालाई कत्ति पनि बिगतको स्मरण भएको देखिँदैन ।

कांग्रेसको यो हालतको सम्पूर्ण दोष देउवामाथि मात्र थोपर्दा अन्याय पनि हुनसक्ला । पार्टीमा बरिष्ठको पगरी गुथेर आफ्नै निर्वाचन क्षेत्रमा हराएका रामचन्द्र पौडेल पनि अहिलेको तनावपूर्ण सम्बन्धको पृष्ठभूमि बनाउनमा जिम्मेवार छन् । उनी पनि यसबाट उम्किन सक्दैनन् । उनले पार्टीभित्र नेतृत्वको विकल्प दिन नसकेकैले पनि कांग्रेसले यो अवस्थाको सामना गरिरहेको हो भन्ने आवाज पनि उठिरहेको देखिन्छ । वास्तवमा यसलाई पनि अन्यथा भन्न सकिँदैन । कतिपयको त यस्तो पनि भनाई छ कि पौडेलले संकीर्णताको पर्खाल भत्काउन सकेनन् भने उनी सँधै त्यसैको बन्दी भएर बस्नेछन् । उनको प्रभावहीन नेतृत्वले कुनै ठोस परिणाम दिन सक्दैन भन्ने कुरा त यसपटकको घटनाले पनि प्रमाणित गरिसकेको छ ।

अब को त ? कांग्रेस संगठनभित्र अहिले एकअर्कालाई सोधिने गरेको प्रश्न हो यो । देउवाले सकेनन्,पौडेल माथि उठ्न सकेनन् । अब को त कांग्रेसको डुंगा चलाउने माझी ? सायद यो प्रश्न महामन्त्री शशांक कोइराला,पूर्व महामन्त्री प्रकाशमान सिंह,नेताहरु रामशरण महत,शेखर कोइराला र अहिले भूमिकाविहीन बनाईएका कांग्रेसका पाका नेता कूलबहादुर गुरुङ्गलाई सोधिएको हुनसक्छ । यस्तै अरु सम्भावना भएका नेताहरुमाथि पनि कार्यकर्ता पंक्तिको आशाको नजर परिरहेको होस् । खासगरी महामन्त्री कोइराला आगामी पार्टी सभापतिका रुपमा चर्चामा देखिन्छन् । राष्ट्रिय राजनीतिका जल्दाबल्दा मुद्दामा उनको अपेक्षित भूमिका नदेखिँदा कांग्रेसको भावी बागडोर कसको हातमा पर्ला भन्ने प्रश्न यथावत देखिन्छ । अहिले आएर कोइरालाले देउवालाई चुनौति दिएपनि उनी यो धारणामा अडिई रहने हुन् कि होइनन् भन्नेमा कांग्रेसजन नै भरोसा गर्न तयार देखिँदैनन् । 

यी बाहेक युवा पुस्ताका एकसेएक नेताहरु छन्,जसले आसन्न चुनौतिको सामना गर्ने अवसर पाएका छन् । तर उनीहरु पनि खुलेर मैदानमा उत्रिने साहस गरिरहेका देखिँदैनन् ।  कुनैबेला पार्टीमा जागरण ल्याउन नेताहरुमाथि दवाव दिने भनेर चल्मलाएका युवा नेताहरु चन्द्र भण्डारी, धनराज गुरुङ, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, गगन थापा, प्रदिप पौडेल र बद्रि पाण्डे पनि आजकल मौन झैं छन् । यीमध्ये विश्वप्रकाश शर्मा प्रवक्ताको जिम्मेवारी पाएदेखि यता संस्थापन पक्षको पक्षपोषण गर्नमा व्यस्त छन् ।

संसदमा कमजोर,राष्ट्रिय मुद्दाहरुप्रति उदासिन र युवा पुस्तालाई आश्वस्त पार्न असफल जस्तै देखिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र अहिले हुर्किएको गुटगत राजनीतिले सभापति देउवा,नेता पौडेल र उनीहरुका अनुयायी कसैलाई पनि लाभ हुने देखिँदैन । यस्तो अवस्थामा देउवा र पौडेलले लिएको दम्भको बाटो कांग्रेसका लागि हानिकारक नै हुनेछ । महामन्त्री कोइराला,पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत र डा. मिनेन्द्र रिजालजस्ता नेताले सकारात्मक हस्तक्षेप गरेनन् भने कांग्रेस फेरि पनि दुर्घटनामा पर्न सक्छ । जुन कुरा स्वयं कांग्रेस र देशको लोकतन्त्रकै लागि समेत दुर्भाग्यपूर्ण घटना हुनेछ । – सरल पत्रिका ……..