नानीहरुलाई अत्यावश्यक छ हजुरबुबा/हजुरआमाको साथ

आजभोलि नेपाली समाजमा एकल परिवार फस्टाउदै गएको छ । विवाह लगत्तै घर परिवारसँग छुट्टिएर एक्लैै शहरमा बस्नेहरुको संख्या पछिल्लो समय बढ्दो मात्रामा छ । यो एकल परिवारको केही फाइदा भएपनि नोक्सानी समेत धेरै छन् । कुनैपनि नानीले विद्यालयमा सिक्ने ज्ञान घरमा सिक्ने ज्ञानको एक चौंथाई पनि हुँदैन । कतिपय कुरा त ऊ आफैं ठूलो भएपछि अनुभवको आधारमा सिक्ने गर्दछ । यसरी स्कूलमा सिक्ने भन्दा कैयौं गुणा ज्ञान परिवारमा पनि हजुरबुबा/आमा बिना अरुबाट प्राप्त गर्न गाह्रो छ । त्यसैले नानीहरुलाई आफ्ना हजुरबुबा/आमासँगै राख्दा निम्न फाइदा हुने गर्दछ ।

राम्रो रेखदेख :

नानीको लागि राम्रो रेखदेखको आवश्यकता पर्दछ । आफ्ना आमाबुबाहरुले आफ्नो व्यक्तिगत कामका कारण आफ्नो नानीको ख्याल गर्न भ्याउँदैनन् । त्यस्तो अवस्थामा हजुरबुबा/आमासँग राख्दा नानीहरुको राम्रो रेखदेख हुनुका साथै नयाँ कुरा पनि सिक्ने मौका मिल्छ ।

खेल्न र सिक्नका लागि:

बुढेशकाल लागेका हजुरबुबा/आमालाई पनि खेल्न र कुरा गर्नको लागि साहाराको आवश्यकता पर्दछ । यसको लागि हजुरबुबा/आमासँग कूराकानी गर्दा एकातर्फ उहाँहरुको दिन बिताउने साहारा हुन्छ भने नानीहरुलाई पनि खेल्ने साथी हुन्छ । त्यस्तै, नानीहरुले उमेरमा पाका मानिसहरुले अनुभव गरेका धेरै कुराहरु सिक्न पाउँछन् । यसबाट नानीहरुलाई सानै उमेरदेखि व्यवहारिक बनाउँदै लैजान मद्दत गर्दछ ।

सहयोगको भावना:

बुढेशकाल लागिसकेका हजुरबुबा/आमाहरुसँग खेल्ने क्रममा नानीहरुले उनीहरुको धेरै सहयोग गर्नु परिरहेको हुन्छ । साथमा उनीहरुको माया पनि पर्याप्त पाइरहेका हुन्छन् । जसका कारण झर्को नमानी अरुलाई सहयोग गर्ने भावनाको विकास हुन्छ ।

रोल मोडेल:

नानीहरुका लागि हजुरबुबा/आमा नै रोल मोडलको रुपमा रहेका हुन्छन् । उनीहरुलाई हजुरबुबा/आमाभन्दा ठूलो अरु कोही पनि हुदैन भन्ने भान हुन्छ । त्यसैले उनीहरुले गरेका धेरै कामहरुको नक्कल गरेका हुन्छन्। त्यसैले नानीहरुलाई सही दिशा दिनको लागि पनि यो उमेर नानीलाई हजुरबुबाहरुसँग राख्नुपर्छ ।

इन्टरनेट र आत्महत्या:

विश्वभरिको आँकड़ा हेर्ने हो भने किश्वोरावास्थाका युवाहरुमा तीब्र मात्रामा आत्महत्याको आँकडा बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ४० सेकेण्डमा कुनै न कुनै व्यक्तिले आत्महत्या गरिरहेका हुन्छन् । विश्व स्वास्थ्य संगठनले हरेक वर्षको १० सेप्टेम्बरको दिन ‘सुसाईड प्रिवेन्सन डे’ अर्थात् विश्व आत्महत्या रोकथाम दिबस मनाउने गरेको छ । यसैको अवसरमा यस्ता रिपोर्टहरु आउने गर्दछ । आम रुपमा युवाहरुमा आत्महत्याको कारण डिप्रेसन, मदिरा सेवन, दुर्व्यबहार, हिंसा, आदि रहेका छन् । त्यसमध्ये पनि सबैभन्दा मूल कारण इन्टरनेट रहेको विश्व स्वास्थ्य संगठनको ठहर छ ।

साइबर बुलिङ मुख्य कारण साइबरलाई विश्व स्वास्थ्य संगठनले किशोर किशोरीहरुमा आत्महत्याको मूल कारण मानेको छ । साइबर बुलिङ, इन्टरनेट, म्यासेज, एप्स, सामाजिक संजाल र विभिन्न किसिमका इन्टरनेट सम्बन्धी खेलहरुको कारण हुने गरेको छ । साइबर बुलिङको माध्यमबाट नै केही मानिसहरु फर्जी आईडी वा एप्लिकेशन बनाएर मानिसहरुलाई आफ्नो जालमा फसाउने गर्दछन् । त्यसपछि फोटो भिडियो आधारमा उनीहरुसँग नै ब्ल्याकमेलिङ गर्न सुरु गर्छन् । त्यसैले मनोचिकित्सकहरु इन्टरनेटको प्रयोगबाट नानीहरुलाई जति सकिन्छ टाढा राख्नु पर्ने बताउँछन् ।

अश्लिल तस्वीर एवं भिडियो :

खास गरेर युवाहरु अहिले इन्टरनेटमा अश्लिल तस्वीर एवं भिडियोप्रति मोहित हुने गरेका छन् । यो तस्वीर र भिडियोले उनीहरुको बिस्तारै बिस्तारै जिन्दगी नै खाइरहेका हुन्छ । यही तस्वीर एवं भिडियो कुनै समयमा गलत रुपमा भाइरल भइदिन्छ । यसका कारण बेइज्जती र बदनामीका कारण, डरका कारण वा डिप्रेसनका कारण समेत किशोर किशोरीहरु आत्महत्याको बाटो अपनाउने गर्छन् ।

नानीहरुका साथमा समय बिताउनु जरुरी:-

किशोरअवस्थामा नानीहरुलाई अरु समयभन्दा धेरै माया र सम्मानको आवश्यकता पर्दछ । आजकलको ब्यस्त समयमा नानीहरुले घरबाट सम्मान र माया पाउँदैन । जसका कारण उनीहरु इन्टरनेटबाट नै यसको खोजी गर्न सुरु गर्छन् ।

आफ्नो खाली समय कुनै सिर्जनात्मक काम गर्नुको साँटो नानीहरु इन्टरनेटमा समय बिताउने गर्छन् । जसका कारण उनीहरु डिप्रेसनको सिकार समेत बन्ने गरेका छन् । डिप्रेसनको कारण अरु नभएर अभिभावक नै हुने गर्दछन् । त्यसैले नानीहरुको साथमा पर्याप्त समय बिताउने गर्नुपर्दछ । उमेरमा सानै नानीहरु वास्तविक दुनियाँ र कृत्रिम दुनियाँबीच अन्तर पत्ता लगाउन सक्ने अवस्थामा हुँदैनन् । किशोरअवस्थामा नानीहरु सामाजिक संजालमा तथा डेटिङ साइटमा देख्ने हर कोहीको कुरालाई वास्तविक मान्ने गर्छन् । इन्टरनेटबाट हुने प्रेममा धोका पाउने एवं सम्बन्धमा धोका खाएपछि पनि नानीहरु निराश हुन्छन् ।

नानीहरुको व्यवहारमा नजर राखौं:

आत्महत्याभन्दा अघि व्यक्तिको व्यवहारमा कैयौं प्रकारको परिवर्तन आउने गर्दछ । प्रायः डिप्रेसन वा तनावको बिरामीको कुरा सुनिदिँदा उनीहरुको समस्या निकै हदसम्म कम हुने गर्दछ । त्यसैले आफ्नो नानीको व्यवहारमा थोरै मात्रै परिवर्तन आएको छ भने तत्कालै उपचारको खोजी गर्नुपर्छ । उनीहरुसँग कुराकानी गर्ने एवं उनीहरुको समस्यालाई समाधान गर्ने कोसिस गर्नुपर्दछ।

ढुंगामा लेखिएका अक्षर

एकदिन १० र १२ वर्श उमेरका दाजुभाइ नदी किनारमा घुम्दै थिए । हिँड्दा-हिड्दै भुलबस भाइले दाजुको खुट्टामा कुल्चियो । दाजुलाई निकै दुख्यो । पीडाले रन्थनिएको दाजुले भाइलाई ‘राम्ररी हिँड्न जान्देनस्’ भनेर गालामा एक थप्पड लगायो । भाइ गाला सुमसुम्याउँदै अघि बढ्यो । ऊ केही बोलेन । केही पर पुगेपछि उसले बालुवामा लेख्यो- आज दाजुको खुट्टामा झुक्किएर कुल्चिँदा उहाँले एक थप्पड हिर्काउनुभयो । मलाई धेरै दुख्यो । भोलिपल्ट दाजुभाइ खोलामा पौडी खेल्न गए । पौडी खेल्दाखेल्दै अचानक भाइलाई खोलाले बगायो। दाजुले हत्तपत्त हात समातेर उसलाई बचायो । पानीबाट बाहिर निस्किएपछि उसले एकछिन आराम गर्यो र ढुंगामा लेख्यो- आज पौडी खेल्दा नदीले मलाई बगायो । दाजुले हत्तपत्त हात समातेर बचाउनु भयो । मेरा दाजु महान् हुनुहुन्छ ।

भाइको अघिल्लो दिनको र आजको लेखाइ देखेको दाजुले सोध्यो- भाइ, हिजो तिमीले बालुवामा लेख्यौ, आजचाहिं ढुंगामा लेखिरहेका छौ । यसको कारण मैले बुझ्न सकिनँ। यस्तो किन गरेउ तिमीले? भाइले नम्र स्वरमा भन्यो- दाजु, आमाले भनेको बिर्सिनुभयो हजुरले ? उहाँले नराम्रो कुरा जहिले पनि बालुवामा लेख्नुपर्छ र राम्रो कुराचाहिं ढुंगामा लेख्नूपर्छ। यसो गर्दा नराम्रा कुरा छिटै मेटिएर जान्छन् र राम्रा कुराचाहिँ लामो समयसम्म सुरक्षित हुन्छन् भन्नुभएको होइन ? भाइको कुरा सुनेर दाजुचाहिँ टवाल्ल परेर भाइलाई हेर्न थाल्यो।