बामदेबलाई संसद्भित्र छिराउने रणनीतिमा प्रचण्ड सफल, छिचिमिरे कार्यदल तुहियो

काठमाडौं । अचानक छिचिमिरा जस्तो जमिनमुनिबाट निस्किएको ‘संविधान संशोधन कार्यदल’ ले सत्तारुढ दलभित्र तनाव बढाएको छ । कुनै पूर्व तयारीबिना मनगढन्ते शैलीमा बनाईएको कार्यदलका सदस्यले नै अनभिज्ञता प्रकट गर्दै आपत्ति नै जनाएपछि कार्यदल त पतन हुने निश्चित थियो र नेकपाको सचिवालय बैठकले यसलाई निस्क्रिय तुल्याएको । तर सत्तारुढ दलिभित्र तरंग ल्याउने कार्यदल गठन गर्न उत्प्रेरणा दिने नेता को हो भन्ने प्रश्नले सो दलमा शीर्ष नेताहरुकै रक्तचाप बढाएको छ । 

संविधान संशोधन जस्तो संवेदनशील र राष्ट्रिय महत्वको बिषयमा एक दल विशेषको मात्र इच्छामा कार्यदल गठन हुने कुरा कल्पना समेत गर्न नसकिने कथित कार्यदलकै सदस्यहरुले टिप्पणी गरिसकेका छन् भने संयोजक तोकिएका वरिष्ठ नेता माधवकुमार नेपाल पनि आश्चर्यमा परेको थाहा भएको छ । कार्यदलको बिशर्जनपछि तत्काललाई संविधान संशोधनको राग अलाप्ने राजनीति थान्को लागेको छ ।

संविधान संशोधन कार्यदल नेकपा नेता बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्दै उनलाई भावी प्रधानमन्त्री बन्न समेत बाटो खोल्ने उदेश्य बोकेर गठन गरिएको कुरा प्रकाशमा आईसकेको छ । गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने कोटाबाट राष्ट्रिय सभाको सदस्य बनाउने निर्णय भएसँगै यो बिषयले पनि एक चरण पार गरेको छ । तर यस बिषयमा बिगतमा भएको दाउपेच र गुटबन्दीको कथा भने गौतमको नाम सिफारिस भैसकेको अवस्थामा पनि स्मरणीय नै देखिन्छ ।

गौतमलाई संसदको कुनै न कुनै सभामा छिराउने कुरामा विशेष रुपमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको रुचि रहेको पनि चर्चा छ । दाहाल विभिन्न राजनीतिक प्रयोगबाट नेकपाभित्र आफ्नो प्रभाव बढाउँदै जाने अभियानमा देखिन्छन् । उनले बामदेव गौतमलाई यसअघि पनि उपनिर्वाचनबाट प्रतिनिधि सभामा छिराउन निकै कसरत नगरेका होईनन् । संसदीय अभ्यासलाई पनि जनयुध्दकै एउटा मोर्चाका रुपमा प्रयोग गर्दै अघि बढ्ने उनको फर्मूला लुकेको रणनीति पनि होईन । यही उदेश्य पूरा गर्न बामदेव कार्ड प्रयोग गर्न दाहालकै प्रेरणामा संविधान संशोधन कार्यदल बनेको पूर्व एमाले पक्षका कतिपय नेताको बुझाई छ ।

 अहिलेसम्मको राजनीतिक घटनाक्रमलाई फर्केर हेर्दा पूर्व एमालेभित्र बहुकेन्द्र बनाउने दाहालको रणनीति सफल हुँदै गएको छ । पूर्व एमाले नेता बामदेव गौतमलाई डोल्पाबाट उपचुनाव लडाएर संसद्मा ल्याउने रणनीति यसकै एउटा कडि रहेको बताईन्छ । कसैलाई राजीनामा गराएर भए पनि संसदमा पुगिछाड्ने वामदेवको रणनीति सरल पत्रिकाले आम चुनाव लगत्तै खुलासा गरेको थियो । वामदेवले राजीनामा गराउन उपयुक्त पात्र डोल्पाका सांसद धनबहादुर बुढालाई देखेका थिए तर सफल हुन सकेन । वामदेवका छोरा र धनबहादुर पुराना साथी र व्यापारीक साझेदार पनि हुन् ।

प्रचण्ड सफल

वामदेव निकट स्रोतले सरल पत्रिकालाई बताए अनुसार, आम चुनावमा पराजित भए लगत्तै दाहालले बामदेवलाई फोन गरेर सान्त्वना दिएका थिए । त्यही बेला दाहालले उपचुनाव लडेर भए पनि तपाईं संसदमा आउनुपर्छ भनेका थिए । तर, चुनावमा पराजित भएपछि अध्यक्ष केपी ओलीले चाहिँ वामदेवलाई फोन गरेनन् । पछि स्थायी समितिको वैठकमा मात्र ओली र वामदेवको भेट भएको थियो । 

चुनाव प्रचारका क्रममा वामदेवले वर्दियामा ‘म भावी प्रधानमन्त्री हूँ’ भन्दै भाषण गरेका थिए । यो कारण वामदेवलाई ओली गुटले चुनावमा असहयोग गरेर पराजित गराएको कतिपयको आशंका छ । तर, चुनावपछि तत्कालिन एमाले जिल्ला कमिटिले तयार पारेको प्रतिवेदनमा गुटगत आधारमा अन्तर्घात नभएको ठहर गरेको थियो ।

एमाले र माओवादी एकीकरणमा निर्णायक भूमिका निर्वाह गरेका वामदेव कसैलाई नटेर्ने र ओलीलाई समेत नटेर्ने नेताका रुपमा परिचित छन् । लामो समय ओली गुटसँग निकट रहे पनि चुनावमा टिकट वितरणको बेलादेखि ओली गुटसँग वामदेवको दूरी बढ्न सुरु भएको थियो । चुनावमा पराजित भएपछि ओली गुटसँग निकै दूरीमा रहेका वामदेव अहिले उपाध्यक्षको पद पाएपछि केही नरम देखिएका छन् तर प्रधानमन्त्री भएरै छाड्ने उनको महत्वाकांक्षामा दाहालले गरिरहेको मलजलले गौतमको छटपटी बढेको बताईन्छ । 
पूर्व एमालेभित्र धेरैवटा गुट बन्न प्रोत्साहन दिने दाहालको नीति रहेको बताइन्छ । यही अनुसार उनले वामदेवलाई प्रोत्साहन दिँदै आएको जानकार सूत्रहरु बताउँछन् । 

पूर्व एमालेमा केपी ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेवका गरी चारवटा गुट क्रियाशील छन् । तर, पूर्व माओवादीबाट भने दाहालको मात्र गुट रहेको बताईन्छ । पूर्व एमालेका गुटमध्ये ओली गुट सर्वाधिक शक्तिशाली छ, दोस्रो नम्बरमा माधव गुट र तेस्रो नम्वरमा वामदेवको गुट छ । झलनाथको गुट भने शिथिल हुँदै गएको अवस्थामा छ ।

यी चार गुट आपसमा भिडे भने त्यसको प्रष्ट लाभ दाहाललाई नै हुने पक्का छ । यही कारण वामदेवलाई राष्ट्रिय सभा सदस्य बन्न दाहालले जोडबल लगाएको बुझिन्छ । स्रोत भन्छ, यसकुरामा प्रधानमन्त्री ओली भने सकारात्मक थिएनन् । तर ओलीको यसमा जोडबलले काम गरेको देखिएन । आखिरमा गौतमलाई राष्ट्रिय सभामा छिराउने र नेकपामा आफ्नो पकड मजबूत पार्दै लैजाने रणनीतिमा पुष्पकमल दाहालले सफलता पाएको एक पूर्व एमाले नेताले सरल पत्रिकासँग बताए । – सरल पत्रिका….