एक्लिँदै गएका ओली प्रतिपक्षको शरणमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै घरभित्र घेराबन्दीमा पर्दै गएका छन् । अरुलाई नसुन्ने र नटेर्ने अटेरी स्वभावका ओली पछिल्लो जन्मदिन मनाएर फर्किएपछि एक होईन अनेक प्रश्नहरुले घेरिएका छन् । उनको स्वभाव अनुसारको व्यवहार तिव्रगतिमा प्रकट हुन थालेपछि ओली सहानुभूतिको राजनीति गर्न थालेका छन् ।

ओलीको उखानटुक्का राजनीतिको बजारमा बिक्न छाडेको छ । उनको राष्ट्रबाद पनि नीलो स्यालको कथा जस्तै भएको नेपाली जनताले ठम्याईसकेका छन् । आफ्नै संगठनभित्रका महत्वपूर्ण एजेन्डामा पार्टीलाई नटेर्नेगरी जिद्दी गर्न थालेपछि ओलीले सत्ताको रापमा हात सेक्न वरिपरी झुम्मिने बाहेक अरु नेता कार्यकर्ताको साथ गुमाउँदै गएको देखिएको छ । 

यसबाहेक नेकपाभित्र दाउपेचको राजनीतिक खेल खेल्न चतुर खेलाडि पुष्पकमल दाहालको उपयोगको राजनीतिले पनि ठूलै धक्का दिन थालेपछि ओलीसँग कुनै गतिलो राजनीतिक हतियार साथमा देखिँदैन । यिनै कारणहरुले हुनसक्छ प्रधानमन्त्री ओली पछिल्ला दिनमा सहानुभूतिको राजनीति गर्न थालेका छन् ।

नेकपा अध्यक्ष ओली आफ्नो नेतृत्वको प्रभावकारिता सिध्द गर्न असमर्थ हुँदै गएका छन् भन्दा फरक पर्दैन । उनले गायत्रीमन्त्र झैं निरन्तर जप्नेगरेको सुशासन र भ्रष्टाचार विरोधी नारा पछिल्ला दिनमा उनकै शिष्यले च्यातेर धुजाधुजा पारिदिएका छन् । राष्ट्रवादको बिकाउ उनको छवि पनि तेह्रथुममा हेलिकोप्टरबाट अवतरण गरेको बर्थ डे केकसँगै बिसर्जन भएको आममानिसले निष्कर्ष निकालेका छन् । बामदेव गौतमलाई राष्ट्रिय  सभामा छिराउनेगरी पार्टीको सचिवालयले गरेको निर्णय मान्दिन भनेपछि भने प्रधानमन्त्री ओलीको अरु परिचय खुल्न बाँकी नरहेको उनकै निकटस्थ रहिसकेका नेताहरु बताईरहेका छन् । एक किसिमले भन्ने हो भने अधिनायकवादी शैलीबाट अघि बढ्ने ओलीको चाहना गौतम प्रकरणबाट प्रस्ट भएको निष्कर्ष निकालिएको छ ।

पार्टीभित्र नै चर्को विरोध र घेराबन्दीमा परेपछि ओली प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरुको शरण पर्न थालेका छन् । उनले बिहीबार कांग्रेसका सक्रिय र प्रभावशाली नेता शेखर कोइरालासँग करिब दुइ घण्टा गोप्य वार्ता गरेका छन् । कोइराला प्रतिनिधिसभा सदस्य होइनन् । कोइरालासँग ओलीले आफ्नो राजनीतिक अवस्था र मनको बह समेत पोखेको बुझिएको छ । कोइरालाको भनाई अनुसार, प्रधामन्त्री ओली अप्ठेरोमा परेका छन् । यो अप्ठेरो भनेको उनी स्वयंकै कार्यशैली हो र परिणाम पनि उनकै व्यवहार र प्रवृत्तिले नै सिर्जना गरेको हो ।

 प्रधानमन्त्री ओलीले बिहीबार पार्टीको एक कार्यक्रममा आफु संसद छलेर भाग्न नखोजेको स्पष्टीकरण दिएका छन् । आफु संसदबाट नभागेको स्पष्टीकरण दिँदै उनले जुनसुकै प्रश्नको पनि जवाफ दिन तयार रहेको दम्भपूर्ण अभिव्यक्ति दिएका छन् ।

दुइतिहाईको ध्वाँस

एक्लिँदै गएका ओलीले अब दुइतिहाईको ध्वाँस पनि दिन थालेका छन् । यतिन्जेल संसदलाई सन्दर्भहीन बनाउन पनि पछि नपरेका उनले उस्तैपरे संसद बिघठन गरेर मध्यावधि निर्वाचनसम्म गर्न पनि आफू पछि नपर्ने खालको सन्देश दिएर पार्टीभित्र र बाहिरका विपक्षीलाई तर्साउने रणनीति अख्तियार गर्न थालेको देखिन्छ । नेता कार्यकर्तामाझ ओलीले यसो भने–‘म एक/दुई दिन संसद गइन । बोल्न खोज्दा हुलहुज्जत गरेर बोल्न नदिएको देख्नु भइहाल्यो । संसदमा दुई तिहाइ ल्याएको संसदको नेता हुँ म, अनि भाग्ने कुरा हुन्छ ?’ उनको भनाई छ– ‘म संसदबाट भागेको भन्ने भनेर किन भनेको ? म कुनै समय गएर के के रहेछ उहाँहरुको कुरा सुनेर सबै जवाफ दिन्छु । हाम्रा साथीहरु यस्ता कुरामा अल्झिनु हुन्न ।’


अझ उनले भावनात्मक अभिव्यक्ति दिएर नेता कार्यकर्ताको समवेदना छुन खोज्दै भने– ‘रगत छादेर जेलमा बसेँ, चाहेको भए धन कमाउन सक्थेँ तर गरिनँ ! एउटा टेप प्रकरणमा अनाडी र अनधिकृत मान्छेले आरोप लगाउँदै हिँडेको छ । मेरो’boutमा प्रश्न उठेकाले राजीनामा दिन्छु भन्नुभयो सञ्चारमन्त्रीले र राजीनामा दिनुभयो । त्यसलाई स्वीकार गरियो । उहाँले न्याय खोज्छु भन्नु भएको छ कुनै प्रमाणित छैन । स्वीस दूतावासले पनि त्यो फेक हो भनिसक्यो । सत्यता छैन । आफ्नो नाममा बात लागेको भएर राजीनामा दिए । तर भ्रष्टाचार गरेको भनेर प्रमाणित गरेजस्तो केही छैन । आरोप छैन मुद्दा चलेको छैन । मेरो नाममा पनि उजुरी हालेको भनिएको छ । उजुरी काम नलाग्ने पत्रु हो, त्यो भ्रष्ट उजुरी हो । अनाडी मान्छेले केही भनेर गर्छ भने त्यो के हो ? कसका लागि हो ? मैले डिफेन्स गर्न खोजेको होइन । झुटा कुरा गरेर आन्दोलनलाई बदनाम गर्न पाइँदैन । झुटो बोल्नेलाई कारवाही गर्नुपर्छ । ’


आफ्ना शिष्य निवर्तमान मन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेपछि ओलीले फेरि पनि सहानुभूतिकै राजनीति गर्न भ्याए । प्रधानमन्त्रीले भने– ‘म पूर्णकालिन भएर राजनीतिमा काम गरेको ५२ वर्षभयो । धन कमाउन लागेको भए व्यापार र बिजनेसतिर लाग्थेँ, जेलका छिँडितिर लाग्थें ? एउटा कागजमा सही गरेको भए त्यसबेलै मन्त्री हुन्थें । बिरामी भएर रगत छादेर जेलमा हुँदा कागजमा सही नगरेको धन कमाउन हो ? देश बनाउन हिँडेको । म मरे पनि अरु आर्दश हुन्छन् ।’


तेह्रथुममा नेपालको नक्शा अंकित केक काटेरपछि चर्को आलोचना खेपेका ओलीमा गल्ती महसुश भएको देखिँदैन । उनी चर्को आवाजमा कठोर शब्दबाट खण्डन गरेपछि जस्तोसुकै आलोचना र विरोध पनि मत्थर हुन्छ अनि सबै चूपचाप हुन्छन् भन्ने मान्यताबाट अघि बढेको देखिन्छ । केक विवादमा ओलीले यही शैलीमा जवाफ दिने प्रयाश गर्दै आफूलाई थेत्तरो स्वरुपमा प्रस्तुत गरे ।


यस प्रसंगमा ओलीको भनाई यस्तो छ– ‘मेरो जन्मदिन पनि परेको थियो । म जन्मेको ठाउँ गएँ । टाढाटाढाका मान्छे आएका थिए । शुभकामना दिए, नाचगान गरे । स्थानीयले खाना खुवाए । विचरा भातको हिसाब कति पर्यो भनेर बसेका छन् । घरमा तिनले कति खाए होलान् । पानी विजुली पुगेको देख्दैनन् तर आलोचनाको समाचार लेख्छन् । आफ्नो गाउँमा प्रधानमन्त्री आउँदैछन् भनेपछि जनताले बाजागाजा बजाउँछन् । म पुग्दा बाटो, विजुली, बैंक शाखा लिएर गएँ । बाजा बजाए । उता उधुम गरे, पत्रकारहरु धुरुधुरु रोए ।’


आफ्नो आलोचना सहनै नसक्ने चरीत्रका ओलीले पटक पटक पत्रकारहरुकै खोट देखाउने गरेका छन् । सप्रमाण लेखिएका समाचार र टिप्पणीलाई पनि उनी बालशैलीमा अस्वीकार गर्छन् । अझ जिद्दी नै गरेर उपहास गर्छन् । प्रधानमन्त्री ओलीको पछिल्लो अवस्थाले उनलाई व्यस्त राजनीतिक धपेडीबाट विश्राम लिनु नै श्रेयष्यकर हुने संकेत गरेको उनकै निकटस्थ नेताहरु बताउँछन् । गौतम प्रकरणमा उनको जिद्दीले यही कुरा प्रष्ट पारेको एक नेताले बताए । – सरल पत्रिका….