देउवा अब कामचलाउ सभापति, विवादवीच महाधिवेशनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचित पदावधि दुइदिन पछि सकिने छ । त्यसपछि देउवा कांग्रेसका कामचलाउ सभापति हुनेछन् । विधिविधान र नैतिकताको हिमायति मानिने कांग्रेसले सभापतिको इच्छा पूरा गर्न एकवर्ष कामचलाउ अवधि बिताउनुपर्ने नियति भोग्नुपर्ने भएको छ । बहुमतको बलमा नैतिक अनुशासन विपरित देउवाले एकवर्ष कार्यकाल थपेर सन्तोषको सास फेरेका हुनसक्छन् । तर दुनियाँले भने उनको ‘प्रजातान्त्रिक छवि’ छर्लङ्ग देख्न पाएको छ । 

प्रधानमन्त्रीका रुपमा होस् कि सभापतिका रुपमा,देउवाका नाममा अनेक कीर्तिमान दर्ज भएका छन् । ती कीर्तिमानले पुरानो प्रजातान्त्रिक पार्टीको छवि उजिल्याउन केकति योगदान गर्यो त्यो त आगामी महाधिवेशनले मूल्याङ्ककन गर्ला नै । तर स्वयं देउवाको राजनीतिक करिअरमा भने औंलामा गणना गर्न  सकिने कुनै अंक थपेको पाईँदैन ।

इम्बोस्ड नम्बरको पीडा

जस्तो कि कमीसन एजेन्टहरुको दवाव र पत्नी आरजु राणाको विशेष रुचीमा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य राख्नुपर्ने भनी मन्त्रीपरिषद्ले रातारात गरेको निर्णयले निकै चर्को आलोचना बेहोर्नुपरेको कुराले देउवालाई निकै पिरोलेको थियो उनी सरकार प्रमुख रहेका बेला ।  देवनागरी लिपीकै विरुध्द विशेष स्वार्थवस ल्याईएको त्यो प्रस्ताव पत्नीमोहमा परेर मन्त्रीपरिषदबाट निर्णय गराएको कुराले देउवालाई पश्चाताप भैरहेको कांग्रेस उच्च सूत्रले बताएको छ । 

यसबाहेक नेपाल वायु सेवा निगम,बालुवाटार जग्गा प्रकरण देखि अन्य कतिपय बिषयमा नाम जोडिएकाले पनि देउवा पार्टीभित्र उत्तराधिकारी स्थापना गर्न सकेमा विश्राम लिने मनस्थितिमा पुगेको बताईन्छ । अर्कोतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेका कतिपय बिषयले पनि उनलाई तनावमा पारेको बुझिएको छ ।

उत्तराधिकारीको चिन्ता

एकवर्ष कार्यकाल नथपेको भए देउवाले नयाँ रणनीतिमा काम गर्न लागेका थिए भनिन्छ । उनले बनाएको त्यो रणनीति अनुसार, सभापतिमा आफू उम्मेदवार नबन्ने, रामचन्द्र पौडेललाई सभापतिमा चुनाव लडाउने, कथंकदाचित् पौडेलले चुनाव जिते आरजूलाई उपसभापति मनोनीत गराउने योजना थियो । सुन्दै अचम्म लाग्ने यस्तो कार्ययोजना एकवर्ष म्याद थपेकाले तुहिएको एक नेताले बताए । यो योजना पार्टीमा आफ्नो पकड बनाईराख्ने उदेश्यबाट डिजाईन गरिएको बुझ्न सकिन्छ ।

देउवाले छोड्लान्

देउवाको टिमभित्रका केही नेताहरु आगामी महाधिवेशनमा देउवा सभापतिको उम्मेदवार नबन्ने निष्कर्षमा पुग्न थालेका छन् । उनीहरुका अनुसार देउवाको स्वास्थ्य अवस्था खस्कँदै गएको छ र उनलाई बुढ्यौलीले निकै छोइसकेको छ । आउँदो एक वर्षभित्र देउवा अरु निस्क्रिय हुने आशंकाले देउवा निकटको एउटा टिमले आरजूलाई अगाडि बढाउन चाहिरहेको बताईन्छ । 

यता कृष्णप्रसाद सिटौलाले देउवाको साथ छाडिसकेका छन् । उनी नेता रामचन्द्र पौडेल र महामन्त्री शशांकको समूहसँग निकट बन्दै गएका छन् । पछिल्लो तनाव शान्त भएपछि रामचन्द्रसँग देउवा पनि नरम बन्दै गएको बुझिएको छ । देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्न लागेका छन् । देउवाप्रति रामचन्द्र नरम बन्दै जानु, देउवाले पनि रामचन्द्रलाई कदर गर्न थाल्नु अनि आरजूको राजनीतिक महत्वाकांक्षा झन् बढ्नु संयोग मात्र होइन भनिँदैछ कांग्रेसमा ।

विवादका वीच चलखेल

 सभापति देउवाले पार्टीको असन्तुष्ट पक्षलाई पन्छाएर आगामी महाधिवेशनमा आफ्नो पक्ष बलियो बनाउने गृहकार्य थालेको छ । यसका लागि केन्द्रीय कार्यालयले अन्तरिम संरचना समायोजनको काम नसक्दै क्रियाशील सदस्यता दिने प्रकृया थालेको छ । संगठन समायोजनको काम नसकी क्रियाशीय सदस्यता नबाँड्ने पूर्व सहमति तथा प्रकृया विपरित संस्थापन पक्षले क्रियाशील सदस्यता फाराम बाँड्न थालेको हो । 

पार्टीको १४ औँ महाधिवेशनको तयारीका लागि भन्दै शुक्रबारदेखि केन्द्रीय कार्यालयले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम थालेको हो । पार्टीको विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण थालेको हो । यस्तै जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न थालेको नेताहरुले बताएका छन्  ।

सङ्गठनमा महत्वपूर्ण मानिने कांग्रेसका क्रियाशील सदस्य संख्या हाल स्वदेश र विदेश (कांग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख छन् । केन्द्रीय कार्यसमितिको गत माघ २९ गतेको बैठकले विद्यमान क्रियाशील सदस्य संख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो ।  यसैगरी कांग्रेसमा समायोजना भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टी लगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न दलबाट कांग्रेस पसेका करिब एक लाख नेता कार्यकर्तालाई पनि छानबिन गरी क्रियाशील सदस्यता प्रदान गरिने छ । यो सबै जोड्दा क्रियाशील सदस्यता आठ लाख हुनेछ । लोकतान्त्रिक फोरमले मात्र करिब २५ हजार नयाँ क्रियाशील सदस्यता मागेको छ । 

  समायोजन अन्तिम चरणमा 

कांग्रेस केन्द्रीय समितिको यस अघिको बैठकले मुलुकको नयाँ संघीय संरचनाअनुसार पार्टीको अन्तरिम संरचना समायोजनको कार्य यही फागुन १५ सम्म गरिसक्ने निर्णय गरेको थियो । अन्तिमसम्म करिब ३५ जिल्लाले पूर्ण र बाँकी जिल्लाले ९० प्रतिशत समायोजनको कार्य सकेका छन् । सबै ठाउँमा पूर्ण सक्न अझै केही समय लाग्छ । समायोजनको काम नसकी क्रियाशीय सदस्यता वितरण गर्न नपाइने भएकाले स्थानीयस्तरमा समायोजन सम्पन्न गर्न जिल्ला कार्यसमितिलाई दबाब बढ्ने बताइएको छ । 

अबको दुई÷चार दिनमा समायोजन सकिने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि पार्टी कार्यालयले बिहीबारदेखि फारम वितरण सुरु गरिसकेको छ । केही जिल्ला सभापतिले आवश्यक कागजात  लगिसकेको उनले बताए । राससका अनुसार, कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण फागुन १६ गते देखि सुरु गरी आगामी चैतसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । कांग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरण गर्न तथा पार्टीका विभिन्न तहका साङ्गठनिक संरचनाको अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने प्रयोजनका लागि मात्र विधानका केही दफा निलम्बन समेत गरेको   छ । 

क्रियाशीय सदस्यतासम्बन्धी केही प्रावधान निलम्बन

पार्टी विधानको दफा ४ मा कांग्रेसमा सदस्य र क्रियाशील सदस्य रहने व्यवस्था गरिएको छ । कांग्रेसको सदस्यता प्राप्त गरेको सदस्यले एक वर्ष पुगेपछि मात्र क्रियाशील सदस्यता प्राप्त हुने विधानको व्यवस्था छ । केन्द्रीय समिति बैठकले १४ औँ महाधिवेशनका लागि ‘साधारण सदस्यता लिएको एक वर्ष पुगेपछि’ मात्र क्रियाशील सदस्यता प्राप्त हुने प्रावधानलाई निलम्बन गरेको छ । कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरण गर्दा वडाको जनसंख्याको बनोटलाई मध्यनजर गरी समानुपातिक समावेशितालाई ध्यानमा राखी वितरण गर्ने जनाएको छ ।

नयाँ क्रियाशील सदस्यता र नविकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन, केन्द्रमा पठाउने,  छानबिन गरी केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यता नामावलीको अन्तिम सूची ०७७ साउनसम्म बुझाउनुपर्ने छ । सो सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाइन्छ ।

यस्तो छ १४ औँ महाधिवेशनको तयारी  

कांग्रेस केन्द्रीय कार्यसमितिको गत माघ १३ को बैठकले  गाउँ/नगर वडा अधिवेशन–०७७ कात्तिक १६ गते गर्ने निर्णय गरेको थियो । गाउँ/नगरपालिका अधिवेशन कात्तिक १८ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन कात्तिक २१, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २३ मा गर्ने निर्णय गरेको थियो । 

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन कात्तिक २५, प्रदेश अधिवेशन मङ्सिर २९  र केन्द्रीय महाधिवेशन ०७७ फागुन ७ देखि १० सम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ । 

कांग्रेसको १३औँ महाधिवेशन विसं ०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा भएको थियो । पार्टी विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने उल्लेख छ ।

सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था छ । विधानको सोही प्रावधान अनुसार कांग्रेसले पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि यही फागुन २० देखि लागू हुने गरी ०७७ फागुन १९ गतेसम्म एक वर्षका लागि थप्ने निर्णय गरिसकेको छ । –सरल पत्रिका….