स्वास्थ्यकर्मीहरुको सुरक्षामा ध्यान देउ



चीनको एउटा सहरबाट सुरु भएको कोरोना भाइरसले संसार हल्लाउँदै जाँदा विश्व त्राहीमाम भएको छ । यसको एउटा विशेषता विरामीको उपचार गर्ने स्वास्थ्यकर्मीहरु नै खतरामा छन् । विश्वमा कराडौं मानिसहरु घरमा अरुको संसर्गबाट टाडै रहेका छन् । तर विरामीको उपचारमा खटिने चिकित्सकहरुलाई त्यो छुट छैन । अस्पताल र क्लिनिकमा काम गर्ने त्यस्ता स्वास्थ्यकर्मीहरु सबैभन्दा बढी जोखिममा छन् ।


नेपालमा पनि आइसोलेसन वार्ड स्थापनाका समाचार आएका छन् । ब्यक्तिगत रुपमा अरुबाट टाढा रहने सन्देश प्रवाह भएको छ । तर नेपालको स्वास्थ्य प्रणालीमा कोरोनाको उपचार प्रोटोकल र स्वास्थ्यकर्मीहरुसम्म त्यसको तालिम र विरामी व्यवस्थापनको ’boutमा कामै भएजस्तो लागेन वा भएर पनि प्रचार भएन । यसको परिमाण कुनै पनि अस्पतालमा कोरोना आशंकित विरामी आएभने स्वास्थ्यकर्मीहरु कै भागाभाग भएको समाचार आउन थालेको छ ।


उपचार प्रोटोकल त परै जाओस उनीहरु सुरक्षा कवज अर्थात् पर्सनल प्रोटेक्टिङ इक्युप्मेन्ट (पीपीइ) को अभाव मै यस्तो खतरनाक भाइरस आशंकित विरामीको स्वास्थ्य जाँच गरी आफ्नो पनि ज्यान जोखिममा राख्दैछन् । यसै क्रममा ख्यातिप्राप्त अन्तर्राष्टिय रिसर्च जर्नल ल्यानसेटले स्वास्थ्यकर्मीहरुको सुरक्षा विषयमा सम्पादकीय नै प्रकाशन गरेको छ ।


चीनको नेशनल हेल्थ कमिशनको आँकडा अनुसार चीनमा कोरोना संक्रमण सँगै करिब ३ हजार ३ सय स्वास्थ्यकर्मीहरु संक्रमित भइ २२ जनाले ज्यान गुमाएका थिए । यो मार्चको पहिलो हप्ता सम्मको तथ्यांक हो । त्यसैगरी इटालीमा गरिएको सर्वेक्षणमा करिब २० प्रतिशत स्वास्थ्यकर्मीहरु संक्रमित भएको पाइएको छ ।
ल्यानसेटले स्वास्थ्यकर्मीहरुको संक्रमणको प्रमुख कारकको रुपमा स्वास्थ्यकर्मीहरुका लागि आवश्यक सुरक्षा कवज अर्थात् पीपीई को अभावलाई औंल्याएको छ । अनुसन्धानकर्ताहरुले स्वास्थ्यकर्मीहरु प्रर्याप्त पीपीईको अभावमै उपचारमा लाग्ने गरेको पाएको जनाएका छन् । त्यस्तै धेरै ठाउँमा उपलब्ध पीपीई पनि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मापदण्ड अनुसारको छैन ।


महामारीको घडीमा संसारभर स्वास्थ्यकर्मीहरुको सेवाको उपयोगले महामारी नियन्त्रणमा निकै ठूलो भूमिका निर्वाह गर्छ । आइसोलेसन वार्ड र भेन्टिलेटरहरु जसरी स्वास्थ्यकर्मीहरु तुरुन्तै उत्पादन हुँदैनन् । त्यसैले स्वास्थ्यकर्मीहरुलाई प्रकोपग्रस्त क्षेत्रमा पठाउने सरकारले उनीहरु पनि स्वास्थ्यकर्मी भन्दा अगाडि व्यक्ति हुन् भन्ने कुरालाई आत्मसाथ गरेको अवस्थामा महामारीमा लड्ने योद्धाहरुको मनोबल उकास्न सकिन्छ । ल्यानसेटले पीपीइ सँगै उनीहरुको खानपान, आराम तथा मनोवैज्ञानिक परामर्शमा जोड दिएको छ ।