राजनीतिमा प्रधानमन्त्रीको खड्ग प्रहार !

आफ्नै अनुजहरुले ‘गद्दार’ शब्दले अपमानित गर्दा पनि सहेर संस्थापक पुष्पलाल श्रेष्ठले आफूले २००६ साल वैशाख १० स्थापना गरेको पार्टी नेकपालाई मूलधारमा टिकाईराख्न सम्भव सबै योगदान र बलिदान दिएको कुरा यतिबेला स्मरणीय छ । विभिन्न आरोह अवरोह पार गर्दै २०७५ जेठ ३ गते पूर्व माओवादी र पूर्व एमाले मिलेर नेकपा बनेको थियो । यसरी संसदीय निर्वाचनमा बलियो बहुमत सहित आएर सरकार संचालन गरिरहेका दल नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सात दशक लामो इतिहासलाई नै लज्जित बनाउनेगरी अध्यादेश ल्याएका छन् । जसलाई विपक्षले मात्र होइन उनकै सहयोध्दा र सहकर्मीहरुले समेत चर्को निन्दा र आलोचना गरिरहेका छन् ।


काठमाडौं । देशको राजनीति, संविधान, मूल्यमान्यता र सिंगो जनसमूदायलाई संशयको बादलमुनि घचेटेर आलोचना र निन्दाको तारो बनिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको दुहाई दिएका छन् । आफ्ना सहकर्मी र स्वजनको मन दुःखाएर केही अनुचरको स्वस्ती वचनमा रोमांचित भैरहेका ओली नेपाली रगत र माटोसँग गोरु बेचेको साईनोसम्म नभएका लेनिनको कीर्तन गाउँदै कम्युनिष्ट पार्टी स्थापनाको बखान गरिरहेका छन् ।

आज बिहानै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले पार्टी स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा दिएका शुभकामना वक्तव्यमा ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ तुल्याइने छ’ भनी चर्चा गरेका छन् । जो आजका दिनमा उनकै कार्यकर्ता र नेपाली जनताप्रति नै ठूलो व्यंग जस्तो हुनपुगेको छ ।

ओलीले ‘यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पु¥याउन प्रेरणा दिने’ भनिरहँदा उनकै पार्टीका शीर्षस्थ नेताहरु भने कपटपूर्ण ढंगले रातारात ल्याईएको अध्यादेशको विरुध्दमा उत्रिएका छन् । वरिष्ठ नेता माधव नेपालले वक्तव्य नै जारी गरेर प्रधानमन्त्रीलाई चेतावनी दिईसकेका छन् भने अर्का नेता झलनाथ खनाल र भीम रावल पनि ओलीसँग क्रुध्द बनेका छन् । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले त पूर्व माओवादी पक्षधर मन्त्री र नेताहरुसँग पटक पटक छलफल नै गरिसकेका छन् अध्यादेशप्रति असमति जनाउँदै ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अध्यादेश तत्काल फिर्ता लिन ओलीलाई चेतावनी नै दिएको भने यस विरुध्द सशक्त विरोध गर्ने तयारीमा जुटिसकेको छ ।

  प्रधानमन्त्री ओलीले ‘बितेका वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र सङ्गठित गर्दै आएको तथा अनेकन् आरोहअवरोह र हण्डर–ठक्करको सामना गर्दै सङ्घर्षको नेतृत्व गरिरहेको’ भनेर इतिहासको स्मरण गरिरहँदा यसै साता उनले विधि पध्दति र राजनीतिक सहिष्णुतालाई समेत तिलांजलि दिएको कुरा भने चटक्कै बिर्सिन चाहेका छन् ।

आफ्नै अनुजहरुले ‘गद्दार’ शब्दले अपमानित गर्दा पनि सहेर संस्थापक पुष्पलाल श्रेष्ठले आफूले २००६ साल वैशाख १० स्थापना गरेको पार्टी नेकपालाई मूलधारमा टिकाईराख्न सम्भव सबै योगदान र बलिदान दिएको कुरा यतिबेला स्मरणीय छ । विभिन्न आरोह अवरोह पार गर्दै २०७५ जेठ ३ गते पूर्व माओवादी र पूर्व एमाले मिलेर नेकपा बनेको थियो । यसरी संसदीय निर्वाचनमा बलियो बहुमत सहित आएर सरकार संचालन गरिरहेका दल नेकपाको अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सात दशक लामो इतिहासलाई नै लज्जित बनाउनेगरी अध्यादेश ल्याएका छन् । जसलाई विपक्षले मात्र होइन उनकै सहयोध्दा र सहकर्मीहरुले समेत चर्को निन्दा र आलोचना गरिरहेका छन् ।

ओलीले भने झैं ‘स्थापनाको सात दशकभित्रै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी शासनको सर्वोच्च स्थानमा नेपाली जनताको अधिकार स्थापित र संस्थागत गर्ने ऐतिहासिक दायित्वको नेतृत्व गर्ने तहमा पुग्यो’ तर सँगसँगै उनले जनमतलाई संस्थागत गर्ने भन्दा पनि निरंकुशतन्त्रको बिजारोपण गर्दै विधिविधानको साटो एकल हुकुमी शासन चलाउन उद्यत् भएको उनकै निर्णयहरुले नै वयान गरिरहेका छन् ।

‘कम्युनिष्ट पार्टीले लोकप्रिय मतमार्फत दुई तिहाईभन्दा बढी स्थानमा विजय हासिल गरी मुलुकको प्रमुख र निर्णायक शक्तिका हैसियतमा शासन संचालनको नेतृत्व गर्ने भूमिका पाउनु असाधारण उपलब्धि भएको’ दावी गरिरहँदा प्रधानमन्त्री ओलीले त्यो अभूतपूर्व शक्ति चैं के केमा खर्च गरिरहेको छु भनेर गम्भीर आत्मसमीक्षा गर्नु आवश्यक देखिन्छ । ताजा जनमत यही भनिरहेको छ कि ओलीले मतदाताको विश्वासमाथि शक्तिको शिखरमा बसेर हँसिया हतौडा प्रहार गरिरहेका छन् । के यही हो त नेकपा स्थापना दिवसको अवसरमा नेपाली जनतालाई प्रधानमन्त्रीको उपहार ?

विश्राम लिए उत्तम

मिर्गौला जतिसुकै तरुण भएपनि शरीरको उमेर त ६९ वर्ष नै हो खड्गप्रसाद शर्मा ओलीको जो अहिले नेपालको प्रधानमन्त्रीको आशनमा बिराजमान छन् । बुढिँदै गएको शरीरका अंगहरु यसैपनि दिनदिनै शिथिल हुँदै जान्छन्, यो प्राकृतिक विधान नै हो । जतिपटक अंग प्रत्यारोपण गरेपनि शरीरलाई नै त तन्नेरी बनाउन कसरी सकिएला र ! प्रधानमन्त्री ओलीले त दोस्रो पटक मिर्गौला फेरेका छन् । उनले स्वस्थ जीवन जिउन पाउनुपर्छ । तर आफ्नो स्वास्थ्यको सीमामै देशको भविष्य र पध्दतिलाई नै सीमित बनाउनेगरी जेपायो त्यही जतिबेला पायो त्यतिबेला निर्णय गर्ने अधिकार भने उनलाई छैन ।

जब शरीरका महत्वपूर्ण अंगहरु शिथिल हुँदै जान्छन्, मानसिक स्वास्थ्य चैं ताजा नै रहिरहन्छ भन्ने छैन । अत्यन्त शुक्ष्म नशा र तन्तुहरुले जेलिएको मानव मष्तिष्क पनि बिस्तारै थलिँदै गएको हुन्छ । शरीरधारी त्यो मानिसका अघिपछि कति सुरक्षाकर्मीले पहरा दिईरहेका छन् भन्ने कुरा चढ्दै गएको उमेरधारी शरीरलाई लेना न देना ! तसर्थ प्रधानमन्त्री ओलीले विश्राम लिएर उनकै दलका सक्षम नेतालाई शासनको बागडोर जिम्मा लाएर आफू अभिभावक भएर बस्नु नै वुध्दिमानी निर्णय हुनेछ । ओलीको खड्ग प्रहारले घाईते भएको नेपाली मन यही भनिरहेको छ । आफ्ना जनताको मनको स्पन्दन बुझ्न विलम्व नगरेकै वेश ! सरलपत्रिका