नेकपाको सत्ता संघर्षमा तीन मन्त्रीलाई यस्तो छ संकट

काठमाडौं । अहिले सत्तारुढ दल नेकपामा भाँडभैलो छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर र विपक्षीको रस्साकस्सीले नेकपाको राजनीतिलाई रन्काएको छ ।

यो विवादले सबै स्थायी समिति सदस्यलाई कित्ता छनोटको छुट दिएको छैन । यसले केहीलाई नैतिक संकट परेको छ । नेकपाको बेमौसमी रडाकोले तीन मन्त्री अहिले विवादको मझदारमा उभिन बाध्य भएका छन् ।

गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका रामबहादुर थापा बादल सबैभन्दा बढी संकटमा छन् । उनी पुष्पकमल दाहाल प्रचण्डका विश्वास पात्र हुन् । तर, प्रधानमन्त्री ओली पनि उनलाई आफ्नो खेमामा तान्न चाहन्छन् ।

बादलले ‘क्याम्प’ परिवर्तन गर्छन् भन्ने आश छ, ओलीलाई । मोहन वैद्यको साथमा लागेर पार्टी फुटाएको इतिहास भएकाले पनि बादलबाट क्याम्प परिवर्तनको अपेक्षा गर्नु गलत होइन । बादल भने ओली गुटमा भन्दा प्रचण्ड गुटमा नै बढी फाइदा देखिरहेका छन् । उनी ओलीलाई पनि चिढ्याउन चाहँदैनन् । यसअघि खुमलटार बैठकमा बादलले आफू सरकारमा हुँदा कसरी प्रधानमन्त्रीको राजीनामा माग्नु ? भन्दै आफ्नो बाध्यता देखाएका थिए । अहिले उनी भैंसेपाटी गठबन्धनको सबै बैठकमा उपस्थित हुँदैनन् । जारी विवादमा मौन बस्नु नै उनको रणनीति बनेको छ ।

यस्तै संकटको घेराबन्दीमा परेका अर्का नेता हुन्, घनश्याम भुसाल । माधव नेपाल निकट मानिने उनी पछिल्लो पटक मन्त्रिमण्डल फेरबदल हुँदा कृषि मन्त्री बने । मन्त्री बन्नु अघिसम्म ओलीका कट्टर आलोचक हुन्, घनश्याम । स्थायी कमिटी बैठकमा उनले ओलीको चर्को आलोचना गर्थे । विरोध सुन्न नसक्ने ओली कहिले बैठकबाट बाहिरिन्थे भने कहिले अरुसँग गफिन थाल्थे । तर, मन्त्री बनेयता उनको आवाज दबेको छ । ओलीको समर्थनमा नबोले पनि उनी विरोधमा एक शब्द बोल्ने गरेका छैनन् ।

नेकपामा अहिले माधव नेपालसहितको गठबन्धनले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।  उनी कुनै किनारमा उभिन सकेका छैनन् । घनश्याम कुनै पक्षको पनि वकालत गर्ने अवस्थामा छैनन् । राजीनामा मागको विरोध पनि गरेका छैनन् भने उनले ओलीको पक्षमा बोल्ने शब्द पनि पाएका छैनन् ।

बादल र भुसालकै नियती छ, पर्यटन मन्त्री योगेश भट्टराईको । यसअघि कहिले झलनाथ खनाल र कहिले माधव नेपाल निकट रहेका उनी ओली विरोधी छवि बनाएका नेता थिए । पहिलोपटक मन्त्रिमण्डल गठन गरिँदा मन्त्री बन्न नपाएका योगेशले ओलीलाई गुटको प्रभावमा परेको आरोप लगाएका थिए । मन्त्री बन्न लामो समय लाग्यो उनलाई । उनको फरक मतको कारण यस्तो भएको थियो । उनी शीर्ष नेता विरुद्ध फरक मत राख्न चुक्दैनथे । तर, मन्त्री बन्नु केही अघि आफू ओलीको आलोचनात्मक समर्थक रहेको बताउँदै विरोधी खेमाबाट हटेको संकेत गरे ।

उनी अहिले कुन कित्तामा उभिने भन्दै दोधारमा छन् । मन्त्री बनेयता नै उनी अनेक विवादमा परेपनि प्रधानमन्त्रीबाट कुनै अप्ठ्यारोको सामना गर्नु परेन । विस्तारै ओलीतिर ढल्केका उनी जारी विवादमा ओलीको अनौपचारिक बचाउ गर्न लागिपरेका छन् ।

अहिले बजेट ल्याउने बेला भएको र राजनीतिक समस्या पछि सार्न सकिने धारणा उनले राखिसके । तर, उनी माधव नेपालको धार परिवर्तन गरिहाल्ने अवस्थामा पनि छैनन् । 

ओलीको राजीनामा आएको खण्डमा मन्त्रिमण्डल समेत परिवर्तन हुने पक्का छ । यस्तोमा आफ्नो पद बाँकी रहने वा नरहने ढुक्क नभएका कारण समेत बादल, घनश्याम र योगेश समस्यामा परेको बुझिएको छ । 

अध्यक्षहरुको शक्ति संघर्षमा आफ्नो पक्ष बलियो बनाउन अनेक उपायको प्रयोग गरिरहेका प्रचण्डले प्रधानमन्त्री पदबाट ओली हटि नै हाले भने पनि त्यो पद पाउने सम्भावना नरहेको बताईन्छ । भरसक आफू नहट्ने तर बसिरहन नसकिने परिस्थिति बनेमा आफ्नै विश्वासपात्रको हातमा शासनको बागडोर सुम्पने रणनीतिमा छन् ओली । सत्ता कब्जाको फर्मूलाबाट अघि बढिरहेका प्रचण्ड र संसद्लाई पूरा कार्यकाल टिकाउन सबै उपाय प्रयोग गर्ने रणनीतिमा काम गरिरहेका ओलीमध्ये जो शक्तिमा रहे पनि बादल, भूसाल र भट््टराईलाई विपत्ति नै आउने देखिन्छ । उनीहरुको अस्पष्ट भूमिका नै भोलि राजनीतिक यात्रामा एम्बुस बन्ने नेकपाकै नेताहरु टिप्पणी गर्दछन् । – सरल पत्रिका ….