कोरोना भाइरसले आक्रमण गर्ने नयाँ तरिका पत्ता लगाउँदै चिकित्सकहरू
डेबोरा कफलिनलाई खोकी लागेको थिएन। सास फेर्न पनि कुनै कठिनाइ भएको थिएन। नोभेल कोरोना भाइरसबाट संक्रमित भए पनि सय डिग्रीभन्दा धेरै ज्वरो आएन। वान्ता गर्न र पखाला लागेपछि उनी मे १ मा हार्टफोर्ड, कनेक्टिकटमा आकस्मिक कक्षमा भर्ना भइन्।
“पेटमा भाइरसको संक्रमण भएको होला भन्ने लाग्थ्यो,” छोरी क्याथरिना कोलमेन भन्छिन्,“उनी राम्रैसँग बोल्ने र हिँडडुल गर्थिन्। सञ्चै लाग्थ्यो।”
मोबाइलमा छोरीसँग गर्दैगर्दा ६७ वर्ष पुगेकी कफलिनको रगतमा अक्सिजनको मात्रा यति तल झर्यो कि अधिकाशं बिरामी मृत्युको मुखमा पुग्छन्। उनलाई सेन्ट फ्रान्सिस हस्पिटलमा भेन्टिलेटरमा राखिएको छ। अवस्था गम्भीर छ। अनौठो लक्षण देखिएको उनी अर्को बिरामी हुन् जसलाई बुझ्न, व्याख्या र उपचार गर्न चिकित्सकहरू दौडधुप गरिरहेका छन्।
“सुरूमा हामीले बुझ्नै सकेनौं,” भ्यालेन्टिन फस्टरले भने। उनी न्यूयोर्क सिटीस्थित माउन्ट सिनाइ हस्पिटलका फिजिसियन इन चिफ हुन्। न्यूयोर्क सिटी अमेरिकामा कोरोना भाइरस महामारीको केन्द्र बनेको छ। “हाम्रो आँखा अगाडि बिरामीको मृत्यु भइरहेको थियो। सबै अकस्मात भयो। कारण थाहा थिएन।”
आज कोरोना भाइरस श्वासप्रश्वाससम्बन्धी सामान्य भाइरस होइन भन्ने धेरैले बुझ्न थालेका छन्। कोरोना भाइरसले प्राय: फोक्सोमा आक्रमण गर्दछ तर मष्तिष्कदेखि खुट्टाका औंला पनि बाँकी राख्दैन। बिरामी सास फेर्न संघर्षरत हुँदै कोरोना भाइरसका कारण हुने जलन, रगत जम्नेजस्ता लक्षण नियन्त्रणमै धेरै चिकित्सकले ध्यान दिन्छन्।
चिकित्सकहरू ७८ हजारभन्दा धेरै अमेरिकीको ज्यान लिएको नयाँ रोग बुझ्न चाहन्छन्। तर मार्गनिर्देशनका लागि ठोस अनुसन्धान थोरै भएको छ। विश्व स्वास्थ्य संगठनको डाटाबेसमा कोभिड १९ ’bout १४,६०० भन्दा धेरै कार्यपत्र छन्।
सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन लगायत विश्वका शीर्ष सार्वजनिक स्वास्थ्य निकायहरू नयाँ प्रगतिसँगै फरक सल्लाह दिइरहेका छन्।
“रोगका यति धेरै स्वरूप किन छन् हामीलाई थाहा छैन,” कोलम्बिया विश्वविद्यालयको सेन्टर फर इन्फेक्सन एन्ड इम्युनिटीकी भाइरोलोजिस्ट एन्जेला रासमुस्सेनले भनिन्,“यो रोग नयाँ भएकाले हामीलाई धेरै कुरा थाहा छैन।”
नोभेल कोरोना भाइरसले फोक्सोमा आक्रमण गर्नेभन्दा धेरै प्रभाव पार्ने एसिया, युरोप र उत्तर अमेरिकामा चार महिनाभन्दा लामो “क्लिनिकल” अनुभवले देखाउँछ। “निमोनिया र श्वासप्रश्वाससम्बन्धी रोगभित्र नपर्ने रोग पनि आउँछ भनेर कसैले अपेक्षा गरेका थिएनन्,” माउन्ट सिनाइ हस्पिटलका कार्डियाक एनेस्थेसियोलोजिस्ट तथा अध्यक्ष डेभिड राइकले भने।
यसले मुटमा आक्रमण गर्छ। त्यसको मांशपेसी कमजोर बनाउँछ र “क्लिनिकल” लयमा बाधा पुर्याउँछ। मृगौलामा यति गम्भीर समस्या आउँछ कि केही अस्पतालमा डायलासिस गर्ने उपकरणको अभाव भइरहेको छ। स्नायु प्रणालीमा पनि आक्रमण गर्छ। स्वाद र गन्ध थाहा पाउन गाह्रो हुन्छ। कहिलेकाँही मष्तिष्क पनि पुग्छ। रगत जमाउँछ र शरीरभरि रक्तवाहिनीमा जलन हुन्छ।
केही लक्षण देखिन पनि सक्छन्। कसैलाई कुनै लक्षण देखिदैन। त्यसको केही दिनमै बिना कुनै चेतावनी सास फेर्न गाह्रो हुँदै जान्छ। नोभेल कोरोना भाइरसले वृद्ध, पुरानो रोगले थलिएका र मोटोपन भएका व्यक्तिलाई आक्रमण गर्छ। महिलाभन्दा धेरै पुरूषलाई बढी हानी गर्छ। गर्भवती महिलाको स्वास्थ्यमा पनि जटिल समस्या ल्याउँछ।
कोभिड १९ का लक्षणहरू यस्ता देखिएका छन्:
• मष्तिष्क: रगत जमेपछि आघात, नशासम्बनी समस्या
• आँखा: रातो हुने, पाँक्ने
• नाक: गन्ध र स्वाद थाहा नपाउने
• रगत: अकस्मात रगत जम्ने, रक्तवाहिनीका सतहमा आक्रमण
• ग्यास्ट्रो इन्टेस्टाइनल प्रणाली: केही व्यक्तिलाई वान्ता र पखाला लाग्ने
• फोक्सो: एल्भियोली (हावाको थैली) बन्द हुने/ जलन हुने, सास फेर्न कठिनाइ, पल्मोनरी एम्बोलिजम
• मुटु: मुटुको मांसपेशी कमजोर बनाउने, एरिथमिया र हृदयाघात
• मृगौला: रगतबाट फोहोर सफा गर्ने संरचनामा क्षति, बिरामीलाई डायलासिस गर्नुपर्ने
• छाला: रक्तवाहिनीमा आक्रमण भएपछि खुट्टा वा हातका औंलामा बैजनी रंगको डाबर आउने
• रोग प्रतिरोधात्मक प्रणाली: व्यापक प्रभाव, अतिसक्रिय प्रतिकार्य हुनाले स्वस्थ तन्तुमा पनि आक्रमण
यसबाहेक, नोभेल कोरोना भाइरसले बालबालिकालाई खासै आक्रमण गर्दैन। तर गएको साता बालबालिकालाई दुर्लभ प्रकारको जलन भएको र मुटुमा समस्या हुने चिकित्सकहरूले चेतावनी दिए। भाइरसकै कारण यस्तो हुने उनीहरू बताउँछन्। शुक्रबार न्यूयोर्कका गर्भनर एन्ड्रयु एम. कुमोले राज्यमा ७३ जना बालबालिका गम्भीर बिरामी भएको र पहिलो पटक पाँच वर्षका बालकको मृत्यु भएको बताए। शनिबारसम्म थप दुई ओटा बालमृत्यु भयो।
यो समाचारले धेरै चिकित्सक चिन्तित छन्। वयस्कमा हुने रोगको पूर्ण आयाम बुझियो भन्ने लागेकै बेला यस्तो भयो। “यो रोगले बालबालिका नभएर वृद्धको मात्रै ज्यान जान्छ भन्ने सोंचिरहेका थियौं,” राइकले भने।
माउन्ट सिनाइमा पाँच जना बालबालिकाको उपचार भएको छ। सबैलाई पेटसम्बन्धी समस्या थियो। बिस्तारै जलन बढ्न थाल्यो। रक्तचाप कम भयो र उनीहरूको रक्तवाहिनीमा फैलिन थाल्यो। यही कारणले मुटुले काम गर्न नसक्दा पहिलो बालमृत्यु भयो।
“कोभिडभन्दा भिन्न लक्षण थियो,” उनले भने।
लाखौं वा सम्भवत: अरबौं कोरोना भाइरसमध्ये ६ ओटा मात्रै व्यक्तिमा संक्रमित हुने देखिएको थियो। चारोटाले रूघा हुन्छ। हरेक वर्ष जाडोमा फैलिन्छ। खासै ध्यान पनि दिदैनौं। अर्कोले सार्स भयो। सन् २००३ मा सार्स हुँदा ७७४ जनाले ज्यान गुमाए। सन् २०१२ मा अर्को कोरोना भाइरसले मर्स फैल्यायो। मर्स संक्रमितमध्ये ३४ प्रतिशतको ज्यान जान्छ। तर केहीलाई मात्रै संक्रमण हुन्छ।
सार्स कोभ¬ २ कोरोना भाइरस परिवारसको सातौं सदस्य हो। रूघाखोकीसँगै सार्स र मर्स संक्रमणको प्रभाव यसमा मिसिएको छ। रोगको लक्षण देखिनु अघिनै यो फैलिन्छ। त्यसैले नियन्त्रण गर्न कठिनाइ हुन्छ। व्यापक र सहि परीक्षण नभए अवस्था झनै गम्भीर हुन्छ। हाललाई सामाजिक दुरी रोकथामको एकमात्र प्रभावकारी उपाय हो।
विश्वभरि ४० लाखभन्दा धेरै नोभेल कोरोना भाइरस संक्रमित छन्। जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरले जनाए अनुसार दुई लाख ८० हजारभन्दा धेरैको मृत्यु भएको छ। अमेरिकामा मात्रै १३ लाख संक्रमित छन्। ७८ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।
सार्स र मर्स पनि यो भाइरसजस्तै फैलिएको भए फोक्सोबाहेक पनि आक्रमण हुने रासमुस्सेनले बताइन्। चाँडै नियन्त्रण गरिएकाले थोरै बिरामी र मृत्यु पनि थोरै भयो।
फैलिदों महामारीबची कुनै रोगको जीवाणुको परिभाषा दिने प्रयास सजिलो हुँदैन। रोगले कसरी शरीरका अंगमा क्षति पुर्याउँछ, औषधी, वंशाणुगत गुण, आहार, जीवनशैली र टाढा बस्ने विधीले कस्तो प्रभाव हुन्छ, बुझ्नलाई वर्षौं लाग्ने विशेषज्ञहरू बताउँछन्।
“यो यस्तो भाइरस हो जुन ६ महिना अघिसम्म मानिसमा पाइएको थिएन,” मिचिगन विश्वविद्यालयका सहायक प्राध्यापक जेफ्री बार्न्सले भने। उनी मुटु तथा श्वासप्रश्वासको औषधीको क्षेत्रमा काम गर्छन्। “यो भाइरसले शरीरलाई कसरी प्रभाव पार्छ एकदमै छिटो सिक्नुपर्ने भयो। केही साताको अवधीमै त्यसको उपचार पहिचान गर्नुपर्ने भयो। अन्य रोगका लागि दशकौं समय लागेको छ।”
महामारीको सुरूआतमा अधिकांशको ध्यान फोक्सोमा केन्द्रित थियो। सार्स कोभ¬ २ ले तल्लो र माथिल्लो दुवै श्वासप्रश्वास नली/मार्गमा संक्रमण गर्छ। बिस्तारै फोक्सोसम्म पुग्छ। हावाका थैलीमा मसिना कोष र तरल पदार्थ भर्छ जसले अक्सिजनको बहाव अवरूद्ध हुन्छ। तर रोगले बढी क्षति गर्नुमा एक अर्कासँग जोडिएका दुई कारण प्रमुख भएको धेरै वैज्ञानिकको विश्वास छ।
पहिलो, भाइरसले रक्तवाहिनीमा क्षति पुर्याउँछ। त्यहाँ रगत जम्छ। केही त आँखाले देख्न पनि सकिदैंन। जमेका रगत मष्तिष्क र फोक्सोसम्म पुगेपछि बिरामीलाई आघात र पल्मोनरी एम्बोली समेत भएको छ। बेलायती मेडिकल जर्नल लान्सेटमा प्रकाशिक एक अध्ययन अनुसार भाइरसले रक्तवाहिनीको सतमा भएका एन्डोथेलियल कोषलाई सिधै लक्ष्य बनाउने भएकाले यस्तो भएको हुनसक्छ।
शरीरको आफ्नै रोग प्रतिरोधात्मक प्रणालीको अतिशयोक्तिपूर्ण प्रतिक्रिया हो। “साइटोकिन” ले शरीरको आफ्नै कोषिकालाई आक्रमण गर्न थाल्छ।
अनुसन्धान र थेरापी यी दुईमा केन्द्रित छन्। केही अस्पतालमा रगत पातलो बनाउने औषधीको व्यापक प्रयोग भइरहेको छ। जर्नल अफ दि अमेरिकन कलेज अफ कार्डियोलोजीमा प्रकाशित २७३३ जना बिरामीको अभिलेख समीक्षा अनुसार यसो गर्दा गम्भीर बिरामी भएकाले फाइदा पुग्छ।
“विज्ञानमा सधैं परिवर्तन हुँदैन। सिद्धान्त बन्छन् र लत्याइन्छन्। परिकल्पना पनि परिवर्तन हुन्छ। यसको अर्थ हामी के गर्देछौं त्यो थाहा नभएको भन्ने होइन। हामी सिक्दैछौं भन्ने हो,” बोस्टनस्थित इन्टरभेन्सनल कार्डियोलोजीका कार्यकारी निर्देशक दिपक भट्टले भने।
एन्डोथेलियल कोषिकामा हुने जलनले शरीरका यति धेरै अंगमा भाइरसले किन आक्रमण गर्छ भन्ने बुझ्न सहयोग पुग्ने मन्दीप मेहराले बताए। मेहरा हार्वर्ड मेडिकल स्कूलमा औषधीविज्ञानका प्राध्यापक हुन्। कोभिड १९ ले रक्तवाहिनीमा कसरी प्रभाव पार्छ भनेर लान्सेटमा प्रकाशित अध्ययनमा पनि उनी संलग्न छन्। कोभिड १९ पराजित गर्नलाई एन्टिभाइरल थेरापीभन्दा धेरै आवश्यक पर्ने उनी बताउँछन्।
“सुरूमा भाइरल संक्रमण हुन्छ र रोग प्रतिरोधात्मक प्रणाली र रक्तवाहिनीमा बढी समस्या दिन थाल्छ। यही कारणले बिरामीको मृत्यु हुन्छ,” मेहराले भने,“कोभिड १९ श्वासप्रश्वासको भाइरसको रूफमा सुरू हुन्छ र मुटु तथा श्वासप्रश्वासको भाइरस भएका ज्यान लिन्छ यो हाम्रो परिकल्पना हो।”
मृगौला विशेषज्ञको सोंच पनि यही अनुसार विकसित भएको छ। भेन्टिलेटर र सघन उपचारमा रहेका बिरामीलाई दिइने निश्चित औषधीले मृगौला रोग व्यापक र गम्भीर हुने उनीहरूको प्रारम्भिक अनुमान भएको नर्थवेस्टर्न विश्वविद्यालय फाइनबर्ग स्कूल अफ मेडिसिनका औषधीविज्ञानका प्राध्यापक ड्यानियल ब्यालले भने।
त्यसपछि सघन उपचार आवश्यक हुनुअघि नै बिरामीको फोहोर सफा गर्ने मृगौलाको कोषिकामा क्षति पुगेको उनीहरूले पत्तो पाए। उहानमा गरिएको अध्ययनमा मृगौलामा पनि भाइरस भेटियो। त्यसपछि भाइरसले नै हानि पुर्याइरहेको अनुमान हुन थाल्यो।
“सुरूमा केही अनौठो थिएन,” ब्यालले भने। तर नयाँ जानकारीले दैनिक जीवनमा देखेको मृगौलाको रोगभन्दा भिन्न रहेको सङ्केत दियो।
अन्य कोरोना भाइरसजस्तै सार्स कोभ २ केही कोषिकामा पाइने एसिइ २ भनिने रिसेप्टरसँग जोडिएर शरीरमा प्रवेश गर्छ। तर भाइरसको सतहमा देखिएका काँडा केही भिन्न छ। यसले भाइरस अझ बलियो गरि जोडिन्छ। परिणाम स्वरूप भाइरसको थोरै अंश मात्रै पनि संक्रमण फैलाउन पर्याप्त हुन्छ। यही कारणले यो भाइरस सार्सभन्दा किन बढी संक्रमण हुन्छ बुझ्न सहयोग पुग्नसक्ने रास्मुस्सेनले बताइन्।
व्यक्तिले निष्कासन गर्ने भाइरसको मात्रा र कति कडाइका साथ सामाजिक दुरीको नियम पालन गर्छन् त्यो पनि महत्त्वपूर्ण हुने उनले बताइन्।
कोषिकामा प्रवेश गरेपछि भाइरसले संख्या बढाउन थाल्छ। यसले सबै लथालिङ्ग हुन्छ। एसिइ-२ रिसेप्टरले रक्तचाप नियन्त्रण गर्न सहयोग पुर्याउँछ। फोक्सो, मृगौला र आन्द्रामा एसिइ-२ पर्याप्त हुन्छ। धेरैजसो बिरामीका यिनै अंगमा भाइरसले ठूलो प्रभाव पारेको हुन्छ। सायद त्यसैले रक्तचापका बिरामीलाई कोभिड १९ ले गम्भीर बिरामी बनाउँछ।
रिसेप्टर व्यक्ति अनुसार भिन्न हुन्छ। त्यसैले लक्षणको भिन्नता र कोही किन धेरै बिरामी हुन्छन् भन्ने वंशाणुगत गुणले व्याख्या गर्छ भन्ने अनुमान बढेको हो।
“ती कोषिका जताततै हुन्छ भन्दा पनि हुन्छ। त्यसैले भाइरसले शरीरभरि हानि पुर्याउँछ भन्न सकिन्छ,” कोलम्बिया विश्वविद्यालयका स्नायुविज्ञानका प्राध्यापक मिचेल एल्काइन्डले भने। उनी अमेरिकन हार्ट एसोसिएनका अध्यक्ष पनि हुन्।
श्वेत रक्तकोषिका संक्रमणसँग लड्दै गर्दा जलनले रगत जम्न थाल्छ। एल्काइन्डका अनुसार प्लेटलेटसँग अन्तर्क्रिया हुन्छ र रगत जम्ने सम्भावना बढ्ने गरि सक्रिय हुन्छन्। सेप्सिसजस्ता गम्भीर संक्रमणमा यस्तो प्रतिक्रिया देखिएको छ। तर कोभिड १९ को सवालमा उनी भन्छन्,“छोटो अवधीमा धेरै जनालाई यस्तो भएको देखिएको छ। त्यसैले यो भिन्न छ।”
“यो भाइरसले शरीरका भिन्न र धेरै अंगमा आक्रमण गर्नसक्छ। कुनै समस्या केहीलाई मात्रै हुन्छ, भिन्न व्यक्तिलाई भिन्न समस्या हुन्छ, कसैलाई कुनै समस्या हुँदैन यस्तो किन हुन्छ हामीले बुझ्न सकेका छैनौं,” एल्काइन्डले भने।
कनेक्टिकटको एउटा अस्पतालमा गम्भीर अवस्थामा रहेकी कफलिनको स्वास्थ्य आकस्मिक कक्ष पुगेपछि अझ गम्भीर भयो। ज्वरो १०५ डिग्री पुग्यो र फोक्सोमा निमोनिया सुरू भयो।
बुधबार ६ जनै छोरीसँग फेसटाइम गरिन्। डाक्टरले भेन्टिलेटरमा बस्न सुझाव दिएको बताइन्। “मलाई केही भइहाले, म फर्किएर नआए पनि गुनासो छैन,” उनले छोरीहरूलाई भनिन्।
यो संवादले छोरी कोलमेनको मुटु दुख्यो।
“मैले उहाँलाई भेन्टिलेटरमा राख्ने निर्णय गरें। सायद बाँच्नु पनि हुन्न होला,” उनले भनिन्,“यो फोन संवाद नै उहाँसँग मेरो अन्तिम हुनसक्छ।” लेन्नी बर्नस्टाइन/ एरियाना युनजुङ चा/ दि वाशिङ्टन पोस्ट काठमाडौँ प्रेस