एमसीसीको तराजुमा जोखिँदै ओली, प्रचण्ड र देउवा
काठमाडौं । अहिले देशभर खेतिपातीको चटारो छ । किसान हिलोसँग खेल्दै मुरी जुटाउने लक्षसाथ खेतीमा रमाएका छन् । मझेरीमा चुहिएको झरीको पर्वाह नगरी किसान आउने हिउँदमा धानको पहेंलो बाला झुलेको सपना आँखामा सजाएर खेतका गराहरुमा पसिनाको दाना रोपीरहेका छन् । खेतीको समयमा पाउनुपर्ने मलखाद दिएन भनेर किसान सरकार विरुध्द सडक प्रदर्शनमा उत्रिन भ्याउँदैनन् । आफ्नो अधिनमा जेजस्तो मलखाद उपलव्ध छ, त्यसमै चित्त बुझाएर उनीहरु खेतीको सिजनलाई भरपूर उपयोग गर्नमा तनमनले मग्न छन् ।
सरकारलाई किसानको यो सोझोपन राम्रोसँग जानकारी छ । त्यसैले हरेक वर्षायाममा सरकारले किसानलाई पर्याप्त मलखाद दिनु आफ्नो कर्तव्य मानेको छैन । सडक प्रदर्शन, धर्ना र आमरण अनशन मात्र विरोध हो भन्ने मान्यता बोकेको सरकारले सोझा किसानको मौन विरोध र आक्रोशको ज्वाला नजिकबाट दर्शन गर्न पाएकै छैन । त्यसैले कृषि प्रधान देशका किसानले हरेक वर्षायाममा बाली लगाउन आवश्यक मुख्य वस्तु मलखादको अभाव झेल्नु नियति झैं बनेको छ । व्यवस्था परिवर्तन र हिंसात्मक क्रान्तिले किसानको यो स्थायी समस्यालाई अहिलेसम्म सम्वोधन गर्न सकिरहेका छैनन् ।
राजनीतिक दलहरुको प्राथमिकतामा यतिबेला मुख्य रुपमा दुइवटा एजेन्डा छन् । कोरोना महामारी र एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेशन) । भारतसँगको सीमा विवादले एउटा चक्र पूरा गरिसकेको छ । यसको अर्को चक्रले राजनीतिमा कसरी फन्को मार्नेछ भन्ने कुरा न प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई थाहा छ, न त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नै पत्तो छ । मधेशी दलहरुले ‘महाकाली सन्धीका मतियारलाई टुँडिखेलमा झुण्ड्याउनु पर्ने’ चेतावनी दिएर खाईपाई आएको राजनीतिक बिरासतको रक्षा गरेका छन् । जनता सतहमा प्रदर्शन गरिएका यिनै तमासामा रमाएका छन् ।
अंगिकृत नागरिकताको बहस पनि जारी छ । नागरिकता वितरणका ’boutमा बहालवाला राजनीतिक दलहरुले बिगतमा निर्वाह गरेको भूमिकातिर एकपटक फर्केर हेर्ने हो भने अहिले चलिरहेको बहसको योगफल पत्ता लाउन कुनै कठिनाई हुने छैन । टेलिफोनका रिचार्ज कार्ड र परिवार नियोजनको अस्थायी साधन भन्दा सरल तरिकाले थोकमा वितरण गरिएको नागरिकता पाउने नेपाली नेपालका कुन कुन गाउँका निवासी थिए भनेर ती ती क्षेत्रका जनप्रतिनिधिलाई समेत जानकारी छैन होला । थोकमा नागरिकता वितरणको माग गर्ने ज्ञातअज्ञात शक्ति केन्द्रले सर्बोच्च अदालत र तत्कालिन राजसंस्थाको नामञ्जुरीपछि केकस्ता प्रतिक्रिया जनाए भन्ने कुरा राजनीतिको कखरा बुझ्ने सबैलाई थाहै हुनुपर्छ । तसर्थ अहिले नागरिकताका ’boutमा थरीथरीका अडान र तर्क गरिरहेका दल र तिनका नेताले केवल राजनीतिको वर्षे झरीमा टाउको लुकाउने प्रयत्नमात्र गरिरहेका छन् भन्दा अन्यथा हुने छैन । नागरिकताका ’boutमा सबैको भूमिका अर्थपूर्ण छ, यहाँ खाँचो छ अर्थको जरा खोतल्ने साहसको !
अर्को चर्चित र भारी बिषय हो एमसीसी । ५६ अर्ब चानचुन बजेटको यो अमेरिकन परियोजनाले नेपालमात्र होइन मित्र राष्ट्रहरुको समेत रक्तचाप बढाईदिएको देखिन्छ । मित्र राष्ट्रहरुको रक्तचापको असरले नेपालका कतिपय दल र व्यक्तिगत तहमा नेताहरुको पनि तापमान तलमाथि बनाईदिएको बुझ्न सकिन्छ । यसको प्रत्यक्ष असर सत्तारुढ दलमा देखिएको छ । यो दलको आन्तरिक प्रतिष्पर्धामा गणितीय हिसाबले नै फरक पार्न सक्नेगरी एमसीसीको असर परिरहेको छ । सचिवालय र स्थायी समिति बैठकको निर्णय क्षमता कति छ भनेर नेकपाकै नेताहरुलाई ठम्याउन मुस्किल पर्नेगरी एमसीसीले तरंग पैदा गरिदिएको देखिन्छ । नेकपाले यसलाई निर्णायक तहमा पुर्याउने दायित्व भएको उसको सरकार र संसदमा समेत सिंगो पार्टी संगठनलाई एक ठाउँमा उभ्याउन नसक्नेजस्तो देखिएको छ । र यही वीचमा अमेरिकी विदेशमन्त्रीको शिष्टाचार फोन आउनुले नेकपालाई एमसीसी थामीनसक्नुको ठूलो भारी भएको छ ।
यसमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस त सरकारभन्दा ज्यादा एमसीसीको पक्षमा उभिएकै छ । सभापति देउवालाई यसमा तुलनात्मक रुपमै बढी रुची भएको प्रष्ट देखिएको छ । तसर्थ एमसीसीको भविष्य के हुने भन्ने बिषय अब सत्तारुढ दल नेकपामा मात्र सीमित रहेको छ । प्रधानमन्त्री ओली यसको पक्षमा उभिए पनि उनका कार्यकारी अध्यक्ष प्रचण्ड अर्को कित्तामा उभिएको अवस्था छ । यी दुवैले आफ्ना समर्थकलाई आफूजसरी नै आआफ्ना कित्तामा उभिन लाउने नै छन् । यी दुइ नेता अन्तिम समयमा एउटै छातामुनी उभिएका खण्डमा मात्र एमसीसीको अनुमोदन सम्भव छ ।
क्रान्तिकारी नेताहरुको नेतृत्व क्षमताको परख हुने महत्वपूर्ण समय हो अहिले । घरेलु मामिलामा त अलमल, चर्का मन्तव्य र उखानटुक्काले काम चलिरहेकै थियो तर यसमा त त्यसरी चल्नेवाला छैन । यो समयमा नेताहरु ‘काबिल हुने कि कायर’ आउने समयले प्रष्ट पार्ने नै छ । यही अवसरमा एमसीसीको तराजुमा जोखिँदै छन् ओली, प्रचण्ड र देउवा !
राष्ट्रिय राजनीति यसरी दुइ ध्रुबमा विभक्त भएका बेला किसानको मलखादको पिरलो कसले सुनोस्, देखोस् कसले ? – सरल पत्रिका