रामचन्द्र पौडेलको सात बूँदे ‘पुनर्जागरण फर्मूला’ मा किन अटाएनन् युवा ?

काठमाडौं । नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु धमाधम सभापति शेरबहादुर देउवालाई तारो हान्न अघि सरेका छन् । अहिलेसम्म निश्चित भैनसकेको महाधिवेशनलाई लक्षित गरी ती नेताहरु आफूलाई सक्रिय देखाउने कसरतमा जुटेको देखिन्छ । यसमा देउवा विरोधी मोर्चाका नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अग्रपंक्तिमा छन् । 

यसैवीच सभापति देउवाले पार्टी विधिविधान विपरीत कदम चालेको भन्दै पौडेल कड्किएका छन् । उनले महाधिवेशन घोषणा भइसकेको बेला सभापति देउवाले विभाग, समितिहरूमा एकलौटी ढंगले मनोनयन र आफूखुसी पद बाँडेको आरोप लगाउँदै यसले पार्टीको हित नगर्ने व्याख्या गरेका छन् ।

नेपाली कांग्रेसले आगामी फागुनमा १४ औं महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ । तर कोरोना संक्रमणको महामारी मत्थर नभएसम्म महाधिवेशनको सम्भावना देखिँदैन । 

सभापति देउवाले आइतबार राति केहि विभागलाई पूर्णता दिँदै करिब पाँच सय कार्यकर्तालाई विभिन्न जिम्मेवारी दिँदै मनोनित गरेका थिए । ४७ विभागमध्ये देउवाले करिब ३० विभागमा एकलौटी मनानयन गरेको आरोप लागेको छ ।

सभापति देउवाको कार्यशैलीबाट क्रुध्द पौडेलले नेपाली कांग्रेसको पुनर्जागरणका लागि भन्दै आफ्ना सात बुँदे दृष्टिकोण सार्वजनिक गरेका छन् । पौडेलले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका सात बुँदे दृष्टिकोण यस्ता छन्–

१. ‘निमुखालाई न्याय र विपन्नलाई आय’ साकार पार्न कर्मशील कांग्रेसको निर्माण । सैद्धान्तिक विचलन नभएको स्वच्छ छवि । देशभक्ति र फराकिलो राष्ट्रवादी विचार । संसद, सडक र बस्ती–बस्तीमा भरोसाको केन्द्र कांग्रेस । न्याय, पारदर्शी मुल्याङ्कन र निष्पक्षता पार्टी एकताको आधार ।

लोकतान्त्रिक समाजवाद

२. उत्पादनमुखी अर्थनीति, गाउँमुखी विकास, जनमुखी शासन । युवा–केन्द्रित रोजगारी सिर्जना । श्रमको सम्मान गर्ने संस्कृति । एकीकृत सामाजिक सुरक्षा । सार्वजनिक दायित्व वहन गर्ने गतिशील निजी क्षेत्र । जिम्मेवारीबाट नपन्छिने, जतासुकै हस्तक्षेप नगर्ने कल्याणकारी राज्य । मानवीय न्याय, स्वतन्त्रता , मानवीय खुशी र शुखी समाजवादका अन्तिम लक्ष्य ।

समुन्नतिका आधार

३. प्रविधि प्रयोगी दक्ष नागरिक । स्वच्छ उर्जा । उच्च उत्पादकत्व सहितको रोजगारम’खी कृषि । बहुआयामिक वातावरण–मैत्री पर्यटन । प्रतिस्पर्धी बजारसंग गाँसिएको उद्योग–व्यवसाय । दुरी र लागत घटाउने पुर्वाधार ।

  बसोबास 

४. स्वच्छ पानी, हावा र खुला मैदानसहितका सुरक्षित बस्तीहरुको संजाल । स्थानीय रोजगारी र आम्दानी, सबैलाई गुणस्तरीय शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा, सुरक्षा र सम्मान । नेपाली गाउँको मौलिक चरित्र झल्काउने आधुनिक नगरीकरण ।

व्यवस्थाको प्रश्न

५. सत्तरी वर्षको संघर्षबाट प्राप्त बहुलवादमा आधारित संसदीय समावेशी प्रणालीको जगेर्ना । मौलिक हक र विधिको शासनको प्रत्याभुति । भ्रष्टाचार विरुद्ध कठोर संघीय स’शासन । बारम्बार नयाँ प्रयोगको निरुत्साहन, निरन्तर क्रमिक सुधारको मार्ग प्रशस्त गर्ने पद्धति ।

सामाजिक–धार्मिक सद्भाव

६. समाजका हरेक समुहबीच सहकार्य । सनातनदेखि चलिआएको धर्म, परम्परा र संस्कृतिको संरक्षण । सामाजिक पुँजीको जगमा सामुदायिक विकास ।

परराष्ट्र सम्बन्ध

७.  नेपालको अखण्डता र स्वाभिमानको रक्षा । बलियो अर्थ–कुटनीतिक अभ्यास । भाईचारामा आधारित असंलग्न नीति । बिभिन्न ध्रुवमा विभक्त विश्व व्यवस्थामा नेपाल र नेपालीको मौलिक पहिचानको प्रद्र्धधन ।

कांग्रेसलाई नयाँ उर्जा दिन अघि सारिएका पौडेलको फर्मूलाले युवा जनमतलाई भने कतै आकर्षण दिन सक्ने देखिँदैन । विगत निर्वाचनमा पहिलोपटक मतदान गरेका युवा र आगामी निर्वाचनमा पहिलो पटक मतदान गर्न योग्य हुने युवा मतदाता पौडेलको प्राथमिकतामा परेका छैनन् । पारम्परिक सोच र धारणामा अल्मलिएका बिचारलाई पौडेलले पार्टी पुनर्जागरणको सूत्र दावी गरेका छन् । सरलपत्रिका