धेरै अर्थहरूमा माधवप्रसाद घिमिरे
-शेखर खरेल
एक व्यक्ति कैयौं जीवनहरूमा बाचेको दृष्टान्त कमै पाइन्छ। एक व्यक्ति वर्षसंगै कर्मले वाचेको उदाहरण त झनै कम पाइन्छ। शताब्दीतिर वढ्दो उमेरमा यौवनको झै गतिशीलता, आशावादिता र उन्नयन त अत्यन्त दुर्लभै रहन्छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे सार्थक अनि सारपूर्ण जीवन वाचेर केही दिन अघिमात्र हामीवाट विदा भए। कापिरहेका औलावाट अक्षर र ओठवाट मन्त्रसरी कविता अव लेखिने र सुनिने छैनन्। तर, उनले छाडिगएका अमर रचना नेपाली काव्याकाशमा अनन्तकालसम्म तारा झै चम्किरहने छन्।
कविवर घिमिरेका कविताका हामी लामो समयदेखि अम्मली रहदै आयौं। जसरी शहरमा बस्नेहरूमा ग्राम्य भोजनको हुटहुटी चल्छ। जसरी ढिकीमा कुटेको, जातोमा पिसेको, दाउरामा पकाएको परिकारको तलतल चल्छ। जसरी रासायनिक मल र विषादीरहित उत्पादनको औडाह चल्दछ। आधुनिकता र तथाकथित प्रयोगका नाममा दुरुह र गुजल्टिएका साहित्यदेखि वाक्कदिक्क भएकाहरूका निम्ति कविवर घिमिरेका सरल, सुललित र सुरुचिपूर्ण रचना अहिले चलनचल्लीमा भनिने ‘अर्ग्यानिक’ खुराक बनिदिए।
‘कुरा गर्छन् कसरी, भगेरा र भगेरी’, ‘टाला टुली बटुली, कति राम्री पुतली’, ‘मै मिरिमिच्चे म्याँ म्या’ जस्ता वाल कविता हुन् वा ‘गाउछ गीत नेपाली ज्योतीको पंख उचाली’, ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ जस्ता राष्ट्रिय गीत, ‘फूलको थुङ्गा बहेर गयो गङ्गाको पानीमा’, ‘आज र राती के देखे सपना मै मरी गएको’ जस्ता प्रणय र विरहका गीत, माधव घिमिरेका प्रत्येक रचना नेपाली जनमनका स्पन्दन हुन्। एउटै परिवार भित्रका सबै पुस्तामा उनी सरावरी फैलिएका छन्। कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाट्यसम्राट बालकृष्ण समदेखि आधुनिक पुस्ता वीचका सेतु हुन् घिमिरे।
२००४ सालमा पत्नी गौरीको असायमिक निधनपछि घिमिरेले गौरीप्रति समर्पित ‘गौरी’ शोककाव्य लेखे। नेपाली साहित्यमा भानुभक्तकृत ‘रामायण’, महाकवि देवकोटाको खण्डकाव्य ‘मुनामदन’, कवि शिरोमणि लेखनाथ रचित ‘तरुण तपसी’ कै लहरमा ‘गौरी’ सर्वाधिक पढिदै आएको एक अमर कृति हो। १९७६ साल आश्विन ७ गते पुस्तुन, बाहुनडाँडा, लम्जुङ्मा जन्मिएर १०१ वर्षको सतायु जीवन वाचेर गत भदौ २ गते महाप्रस्थान गरेका कविवर घिमिरेको उन्नयन यात्रा उनको भौतिक जीवन जति नै प्राञ्जल रह्यो। १९९४ सालमै नौवटा कविताको संग्रह ‘नवमञ्जरी’ प्रकाशन गरेर काव्यिक यात्रा थालेका घिमिरे २०७७ सालमा भौतिक रूपमा विदा लिनु पूर्व नै पाँच दशक अघि नै संकल्प गरेको आफ्नो सवैभन्दा महत्वाकांक्षी सपना साकार गर्न सफल रहे।
कवितामा काल चिन्तन
एउटा विशिष्ट सर्जकमा हुनु पर्ने जीवनदृष्टि र कालचिन्तन माधवप्रसाद घिमिरेका कवितामा पाइन्छन्। उनका विशाल काव्य भण्डारभित्रका केही हरफ मात्र नियाल्ने हो भने यो तथ्य प्रमाणित हुन्छ। किनकि, प्रेम र प्रणयका अब्बल हस्ताक्षर घिमिरेका कवितामा मानवतावादी स्वर पनि उत्तिकै सुनिन्छ।
पल्लो घरको धुरीबाट धुँवा आएको छैन
मैले खाइ के सार भो भाइले खाको छैन
कस्तो हुन्थ्यो एक-एक घर सबैलाई पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुखे
२०७२ सालको महाभूकम्पपछि उनले कोरेका रचना प्राकृतिक त्रासदीको एक काव्यिक महावर्णन हो।
एउटी बुढी हिँडिरै’छिन् अझै लौरि टेकी
थाप्लामाथि कुम्लो थामी, पीठमा नाति बोकी
तन्देरी हो! तिनलाई जुटाइदेओ बास
बालकको मनबाट हटाइदेओ त्रास
राणा, पञ्चायत हुँदै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र देखेका कविले समावेशी लोकतान्त्रिक समाज वारे पनि त्यसैगरी चोटिलो लेखे।
सुनपानीमा चोपले झैं आज गाउवेसी
लाग्यो लोकतन्त्र साच्चै समावेशी
‘ऋतम्भरा’ को सतक
क्रिजमा रहेको एक होनहार खेलाडीसंग तुलना गर्न सकिन्छ कविवर घिमिरेलाई। त्यस्तो एक खेलाडी जसका लागि एकाध वल बाकी छन् तर उ शताब्दीको लक्ष्य निकट छ। सानो असावधानीवाट मात्र पनि ऊ शताब्दीको लक्ष्यबाट चुक्न सक्छ।
शताव्दी उमेरको पडावतिर आइपुग्दै कतै आफ्नो त्यो महत्वाकांक्षी सपना अर्थात् ‘ऋतम्भरा’ महाकाव्य पूरा नहिने त होइन भन्ने संशय कविवरमा देखिन्यो। महाकाव्य पूरा गर्न सक्ने क्षमता र इच्छाशक्ति आफूभित्र रहँदा रहदै पनि कतै शारिरिक उचनीच त हुने होइन भन्ने छटपटी कविवरमा देखिन्थ्यो। अनि, त्यो छटपटीले उनका प्रशंसकहरूलाई पनि उद्विग्न बनाउथ्यो। नभन्दै सय वर्षको सँघारतिर पुग्दै गर्दा उनी नराम्ररी थलिए। स्वदेशको उपचारले संभव नभएपछि उनलाई भारतको गुडगाँवस्थित मेदान्त अस्पतालमा भर्ना गरियो। त्यहाँ महिनौंलामो उपचारपछि स्वास्थ्यलाभ गर्दै स्वदेश फर्किए। ‘अहो फेरि हिमाल देख्न पाउने भयो’ भन्दै कविका आँखामा जीवनप्रतिका आशा छचल्कियो। प्रशंसकहरू उनको स्वस्थ देह र उन्नयनको अभिलाषाले पुलकित बने।
विरामी पर्नु अघि मित्रद्वय फोटोपत्रकार चन्द्रशेखर कार्की र लेखक पत्रकार चन्द्रकिशोरसाथको कविवर निवास कपुरधाराको हिउँदको एक घमाइलो दिनको वसिवियालोमा उनले ‘ऋतम्भरा’ का दुई सर्ग मात्र वाँकी रहेको र त्यो आगामी शताब्दी वर्षको जन्म दिन (७ असोज २०७६) सम्म सक्ने लक्ष्य सुनाएका थिए। ‘ऋतम्भरा’ वारे चर्चा गर्दै महाकाव्यमा वेद, उपनिषदका रहस्यवादी प्रतीक कथाहरू समेटिएको जानकारी गराउदै कथा पुरानो भए पनि यसको सन्देश भविष्य तिरको रहेको बताए।
खुशीको खवरचाहिँ, एक अव्वल खेलाडीले अन्तीम क्षणसम्म मैदानमा उत्कैष्ट खेल प्रदर्शन गरे जस्तै कविवरले पनि आफ्नो जीवनको महानतम् लक्ष्य महाप्रस्थानपूर्व नै सम्पन्न गरे। नेपाली साहित्यलाई उम्दा रचना र कृतिले वैभवशाली बनाएका कविवरले हाम्रा निम्ति काव्यिक रत्न ‘ऋतम्भरा’ छाडेर गएका छन्। राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज तेह्रौं दिनको पुण्य तिथिमा हार्दिक श्रध्दाञ्जली!
तस्विरहरु : चन्द्रशेखर कार्की / सदृश्य