मेडिसिटीमा आर्टिफिसियल इन्टेलिजेन्स

“आर्टिफिसियल इन्टेलिजेन्स रेडियोलोजी” नेपालमा सुरुवात भएको छ । नेपाल मेडिसिटी हस्पिटल नख्खुमा आर्टिफिसियल इन्टेलिजेन्स सहितको रेडियोलोजी प्रविधि तथा सेवा सुरु भएको हो ।

अस्पतालले संसारमै उत्कृष्ट मानिएको इजरायलको “जेब्रा मेडिकल भिजन”सँग सहकार्य गरेर सो प्रविधि नेपाल भित्राएको हो ।

सो प्रविधिले सेवाग्राहीसँग पुर्णतया सञ्चार गर्नेछ । अस्पताल प्रशासनका अनुसार सो प्रविधि परम्परागत प्रविधिभन्दा पनि सटिक हुने छ । यसमा तत्कालको तत्कालै विश्लेषण गर्न सक्ने क्षमता समेत रहेको छ ।

मेडिसिटी हस्पिटलका सल्लाहकार सुधाकर जयरामले संसारका उत्कृष्ट अस्पतालले सुरु गरेको प्रविधी नेपाली अस्पतालले पनि सुरु गरेकोमा गर्व गर्नुपर्ने बताएका छन् ।

अस्पतालका वरिष्ठ रेडियोलोजिष्ट डा. राम कुमार घिमिरेका अनुसार यस्ता प्रविधिले भविष्यमा ठूलो भुमिका खेल्न सक्छन् । यस्ता प्रविधिले छिटो र राम्रो निदान दिन सक्ने उनको भनाई थियो ।

आपतकालीन समयमा अथवा चिकित्सक नभएको समयमा बिरामीलाई केहि भईहाले, यो प्रविधिले विद्युतिय माध्यमबाट सम्बन्धित चिकित्सकलाई सोहि समयमा सूचना समेत प्रवाह गर्छ ।

यो प्रविधि एफडिए र सिईद्वारा प्रमाणित प्रविधि रहेको हुँदा यसको गुणस्तरीयतामा कुनै शंका नरहेको अस्पताल प्रशासनले जनाएको छ ।

के हो आर्टिफिसियल इन्टेलिजेन्स ?

कम्प्युटर र मेसिनद्वारा प्रस्तुत गरिने विद्वता नै आर्टिफिसियल इन्टेलिजेन्स हो । मानिसद्वारा प्रस्तुत गरिने विद्वतालाई मानिसले जस्तै कम्प्युटरले नक्कल गरि प्रस्तुत गर्छ भने, सोहि नक्कल गरिएको विद्वता नै आर्टिफिसियल इन्टेलिजेन्स हो । आर्टिफिसियल इन्टेलिजेन्सलाई “ए आई” पनि भनिन्छ ।

सन् १९४० को दशकमा कम्प्युटर प्रविधिको विकास भएसँगै आर्टिफिसियल इन्टेलिजेन्सको पनि विकास भएको मानिएको छ ।

हर्बर्ट सिमोन, जसलाई आर्टिफिसियल इन्टेलिजेन्सको संस्थापक समेत भनिन्छ, उनले अबको २० वर्षमा ए आईले कुनैपनी विद्वान मानिसले गर्न सक्ने काम गर्नसक्छ भनेका छन् ।