प्रचण्डको अर्को नाम तरंग

प्रचण्डको अर्को नाम तरंग हो भन्दा फरक पर्दैन । उनी सामान्य अवस्थामा बसिरहन सक्दैनन् या रुचाउँदैनन् । राजनीतिमा अर्कै शैली र माध्यम प्रयोग गर्दै यहाँसम्म आईपुगेका प्रचण्डले राजनीतिक तलाउको पानीलाई शान्त रहन दिएका छैनन् कहिल्यै पनि । कुनै न कुनै कुनामा बसेर प्रचण्डले राजनीतिको त्यो तलाउमा ढुंगा फ्याँकेका छन् र छेउमा बसेर कुम हल्लाउँदै जुँघामा ताउ लगाउँदै मुस्कुराएका छन् । देशको राजनीतिलाई नजिकबाट नियाल्ने जसले पनि प्रचण्डको यो शैलीले उत्पन्न गर्ने तरंग र परिणाम’bout बुझ्न सक्छ ।

 

दाउपेच राजनीतिको विशेष हतियार मानिन्छ,चाहे त्यो महाभारतकालीन राजनीति होस् या नेकपाकालीन । खेल्न चतुर खेलाडीको हातमा पर्यो भने दाउपेचले जस्तोसुकै मै हुँ भन्ने खेलाडीलाई पनि खुत्रुक्कै पारिदिन्छ । तर खेलाडी कच्चा परिदियो भने दाउपेचको घुँएत्रो घुँइक्याउँदा आफ्नै नाक पनि चुँडाउन सक्छ । यता आएर प्रचण्डमा चतुर खेलाडीको सीप देखिन थालेको छ । भलै प्रधानमन्त्री छँदा प्रधान सेनापति चलाउन हानेको घुँएत्रो प्रचण्डको नाकमै बजारिन पुगेको थियो । उनी सख्त घाईते भएर सिंहदरबारबाट रन्थनिँदै ओर्लिएर सिंहदरबार घेराउको धन्दामा जुटेका थिए ।

 

एकिकृत भएपछिको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुईजना अध्यक्ष मध्ये खड्गप्रसाद शर्मा ओली प्रधानमन्त्री छन् । प्रचण्डका नामले सुपरिचित पुष्पकमल दाहाल भने ओलीपछिका अध्यक्षका हैसियतमा छन् । एक्लाएक्लै पनि निकै ठूला देखिएका एमाले र माओवादी केन्द्र किन मिलेका थिए भन्ने बिषय आफैंमा अर्थपूर्ण मान्छन् राजनीतिका पण्डितहरु । सतहमा हेर्दा कम्युनिष्ट पार्टीको बहुमतको सरकार बनाउन र चलाउन भन्ने सामान्य अर्थ लागेपनि यी दुइ पार्टीको एकताको दीर्घकालिन अर्थ देख्छन् ती पण्डित । तर जे होस्,ओली र प्रचण्डले मिलेर पूर्ण कार्यकाल सरकार चलाउँछन् भन्ने कुरा अब चैं शंकाको घेरामा पर्दै गएको देखिन्छ ।

 

प्रचण्डको भेनेजुएला वक्तव्य र आलोपालो सरकार चलाउने सहमतिको विवाद चुलिँदा प्रधानमन्त्री ओली दुवैपटक देश बाहिर थिए भन्ने कुरा सर्वविदितै छ । पहिलो पटक स्वीजरल्याण्डमा थिए ओली भने दोस्रो पटक भारतीय प्रधानमन्त्रीको शपथ ग्रहणमा भागलिन नयाँदिल्लीमा । यी दुइ अवसरमा ताकेरै प्रधानमन्त्री ओलीको एकाग्रता भंग हुनेगरी प्रचण्डले किन तलाउमा ढुंगा बर्षाएका हुन् त ? के यो उनको स्वाभाविक सक्रियताको परिणाम मात्र थियो कि नियोजित चालबाजी ? कहिल्यै शान्त नबस्ने प्रचण्डको तरंग ल्याईरहने आनीबानी बुझेका विश्लेषकहरु यसलाई उनको सुनियोजित चालबाजी ठान्छन् ।

 

तरंग ल्याए पछि हटे

 

नयाँदिल्लीबाट फर्कँदा प्रधानमन्त्री ओली निकै हतप्रभ देखिन्थे । यसको अन्तर्य के थियो त्यो त उनै जानुन् । तर काठमाडौंमा भने प्रचण्डको सत्तामा आलोपालोको सहमति भएको ताजा तरंगबाट उनी तनावमा परेका थिए भनेर निष्कर्ष निकाल्नेको कमी छैन । अनुमान लगाउँनेले त उनी दिल्लीको आसनमा आएको नयाँ शक्तिसँगको वार्तालापपछि नै तनावमा परेको दावी गरेका छन् । तर धेरैले घरेलु राजनीतिमा सहकर्मी प्रचण्ड नै प्रधानमन्त्रीको रक्तचाप बढाउने मुख्य कारण मानेका छन् ।

 

अन्तर्राष्ट्रिय विमानस्थलमा परम्पराविपरित पत्रकार सम्मेलन नगरी सरासर बालुवाटार गएका प्रधानमन्त्रीले निकटवर्तीसँग प्रचण्डको हतारोको कारण जान्न चाहेको कुरा पनि चर्चामा छ । हुन त उनले नयाँदिल्लीमै ४/५ दिनपछि आफ्नो प्रधानमन्त्री पदमा रहने पालो सकिने भनी प्रचण्डलाई कडै कटाक्ष गरेका थिए । प्रधानमन्त्री ओली काठमाडौं आएको भोलिपल्ट नै प्रचण्ड भने एक कदम पछि सर्दै ओली नै पूर्णकार्यकाल प्रधानमन्त्री रहने भनी सार्वजनिक रुपमै बताएर परिस्थितिमा अर्को तरंग थपिदिएका छन् ।

 

तीनचार दिनभित्र यति तिव्र गतिमा किन राजनीतिमा तरंग ल्याउने अनि पछि हटिहाल्ने चालबाजी गरेका थिए प्रचण्डले । अहिले काठमाडौंको शक्ति केन्द्रका सन्ध्याकालीन बैठकहरुमा यस’bout निकै चर्चा भैरहेको बालुवाटार निकट सूत्रले सरल पत्रिकासँग बताएको छ ।

 

सुनसरीका कार्यकर्तालाई प्रशिक्षण दिन पुगेका प्रचण्डले ओलीले नै पाँच बर्ष प्रधानमन्त्री चलाउने बताएर तत्कालका लागि सन्तुष्टी लिएको देखिन्छ । बरु आफूले उत्पन्न गरेको तरंगलाई मिडियामाथि दोष थोपरेर उनी पानीमाथिको ओभानो बन्न खोजेका छन् । जस्तो कि उनले सुनसरीमा भने– ‘पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएकाले विवाद आएको हो ।’

 

उनले एकिकरणमा सहमति जे भए पनि सहमतिमै केपी ओलीले नै ‘पाँच वर्षसम्म सरकार चलाउन सक्ने’ बताएका छन् । ‘हामी निरन्तर संवादमा छौं । पाँच वर्ष नै केपीजीले सरकार चलाउन सक्नुहुन्छ’, दाहालले भने, ‘सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।’

 

आफ्नो जिब्रो चिप्लिएको होसै नगर्ने नेताहरु अफ्ठेरोमा परेपछि त्यसको दोष मिडियामाथि थोपर्ने गर्छन् । यो नेपाली राजनीतिको राष्ट्रिय रोग बनेको छ । प्रचण्ड पनि यसबाट अछुतो देखिएनन् ।

 

पार्टीभित्र तनाव

सत्तामा आलोपालोको प्रसंग आएपछि नेकपाकै अर्का प्रभावशाली भनिने नेता बामदेव गौतम पनि निकै सुरिएरपछि चर्चामा आए । उनले प्रचण्डकै बोलीमा लोली मिलाउँदै ओलीले आलोपालोको सहमति मान्नुपर्ने तर्क गरे ।

 

अर्का नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई सघाए झैं गरी उनैले पूर्ण कार्यकाल सरकारको नेतृत्व गर्नुपर्ने तर्क गरेपछि गौतम अर्का अध्यक्ष प्रचण्डको साथमा उभिएका थिए । पार्टी एकिकरणका कतिपय काम बाँकी रहेकै अवस्थामा शीर्ष नेताहरु नै सत्तामा को बस्ने को हट्ने भन्ने बहसमा उत्रिएपछि नेकपाभित्र तनावको अवस्था सिर्जना भएको बुझिन्छ ।

-सरल पत्रिकाबाट