पत्रकारको डायरी : वुहानमा सम्पर्कविहीन आठ दिन


आठ दिनसम्म एएफपीको एउटा टोली विश्व स्वास्थ्य संकटको केन्द्र वुहानमा बसेर काम गर्‍यो। विश्वबाट सम्पर्कविहीन वुहानको जीवनमा कस्तो प्रभाव पर्‍यो टोलीले नजिकबाट अनुभव गरेको छ।

प्राणघातक कोरोनाभाइरस फैलिन नदिन एक करोड दश लाख जनसंख्या भएको वुहान शहर क्वारेन्टाइन गरियो। भाइरसले चीनमा एक हजारभन्दा धेरै व्यक्तिको ज्यान लिएको छ। उक्त भाइरस वुहानको पशु बजारबाट व्यक्तिमा प्रवेश गरेको विश्वास छ।

वुहान पुगेको एएफपी टोलीलाई नजरबन्द गरियो। त्यसपछिको सातामा टोलीले आश्चर्य, हार, निराशा र बहादुरीको थुप्रै उदाहरण देख्यो।

पहिलो दिन : नजरबन्द

जनवरी २३ मा चीनले वुहान जोड्ने सबै हवाइ, सडक र रेलमार्ग बन्द गरेको घोषणा गर्‍यो। भाइरसले १७ जनाको मृत्यु भइसकेको थियो र पाँच सयभन्दा धेरै संक्रमित भएको अधिकारीले जनाएका थिए। चिनियाँ नयाँ वर्षको मनाउन लाखौं व्यक्ति देशभरि यात्रा गरिरहेका थिए।

समाचारले सबैलाई स्तब्ध बनायो। बिहान दश बजे निर्देशन जारी नभएसम्म अधिकांशले वुहान छाड्ने प्रयास पनि गरेनन्। सार्वजनिक स्थलमा मास्क लगाउनुपर्छ भन्ने नयाँ नियम सडकमा केहिले पालन गरेझैं देखिन्थ्यो। रेलवे स्टेसन अबेर गरि बन्द हुने तयारीमा थियो। प्रहरीले भवनबाट बाँकी भएका यात्रु बाहिर निकालिरहेको थियो।

सामान्यतया व्यस्त हुने विमानस्थल सुनसान थियो। केहि घण्टाअघि ज्वरोको सङ्केत जाँच्न खटाइएका अधिकारी पनि फर्किसकेका थिए। केहि यात्रु अड्किएका थिए। विमानस्थलकी एक कर्मचारी आफ्नो शिफ्ट कतिबेला सकिन्छ भन्ने दुविधामा थिइन्। शहर पस्ने एक्सप्रेस वे खाली थियो। शहरका बाँकी सडक पनि सुनसान थियो।

वुहानको बाँकी विश्वसम्म सम्पर्क विच्छेद भयो। संक्रमण फैलिने डर थियो। स्थानीय आफ्नै घरमा कैद भए।

दोश्रो दिन : नयाँ वर्षको पूर्वसन्ध्या

चिनियाँ नयाँ वर्ष सुरू हुनु केहि घण्टा बाँकी थियो। पसलहरू बन्द थिए। शहरमा एक प्रकारको शुन्यता छ।

चिनियाँ सडकमा प्रायः देखिने प्रहरी र सुरक्षाकर्मी देखिएनन्। क्याकोउ डिस्ट्रिक्ट र त्यहाँको प्रख्यात जिङहान उजाड देखिन्थ्यो। व्यापारिक भवनभित्र रहेका सबै बुटिक पसल बन्द थिए।

शहरको दक्षिणमा बीस तले भवनको एउटा सानो अपार्टमेन्टमा ५३ वर्षिया वाङ यानहोङले विदेशी पत्रकारको टोलीद्याई चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा स्वागत गरिन्। पति पेन लिसिनले विभिन्न परिकार तयार गरे। टेबलमा स्थानीय रेड वाइनको एउटा बोतल राखिएको थियो।

तर वातावरण उत्सवमय छैन। वुहान क्वारेन्टाइन भएकोले उनीहरूको २५ वर्षिय छोरो एन्डी घर आउन पाएनन्। “ऊ हामीसँग नयाँ वर्ष मनाउन नआएको यो पहिलो पटक हो,” दुखी वाङले भनिन्।

तेश्रो दिन : नयाँ वर्षको दिन र औषधि पसल

गियान मन्दिर बन्द छ। नयाँ वर्षको दिन यहाँ लाखौं आगन्तुकको भीड लाग्ने गर्छ। “भाइरस फैलिन नदिन कसैलाई पनि भित्र पस्न दिइएको छैन,” युनिफर्म लगाएका एक व्यक्तिले भने। 

मास्क लगाउनुपर्ने बाध्यकारी नियम उनले पालन गरेका छैनन्। औषधि पसलमा डबल मास्क र फुल बडि प्रोटेक्टिभ सुट लगाएका कर्मचारीले ग्राहकको स्वागत गरिरहेका छन्। एक व्यक्तिलाई ज्वरोको औषधि दुई बाकस मात्रै दिइएको छ। रेडियोमा बजिरहेको नयाँ वर्षको सूचना पनि नरमाइलो लागिरहेको छ।
भाइरस रोकथामसम्बन्धी सन्देश, मास्क लगाउन आव्हान र र्‍याप संगीतमा बनाइएको एउटा गीतले वुहानका जनता भाइरस पराजित गर्न सक्षम छन् भन्ने जनाउँछ।

चौथो दिन : अस्तव्यस्त अस्पताल

एएफपीको टोली पुगेको अस्पतालमा जचाँउन आएकाहरूको लाम छ। यति लामो कि, केहिले आफैं कुर्सी लिएर आएका थिए।

भोलिपल्ट डाक्टरलाई देखाउन उमेरले ३० को दशकका एक व्यक्ति रातभरि लाममा बस्ने तयारीमा थिए।

“म दुई दिनदेखि अस्पतालहरू चहार्दैछु,” उनले बताए,” म सुतेको छैन।”

मानिसहरू आफैं पत्रकारसँग कुराकानी गर्न आए। चीनमा यस्तो बिरलै देख्न पाइन्छ। उनीहरूले अस्पतालको अस्तव्यस्त अवस्थाको बेलिबिस्तार लगाए। “कुनै हरर चलचित्रझैं छ,” एक जनाले भने।

शहरको केन्द्रदेखि करिब २० किलोमिटर टाढा, अस्पतालका थकित सहकर्मीलाई सहयोग गर्न नर्सलाई प्रवेश दिइयो। बन्द गरिएका सडकमा प्रहरी खटाइएका थिए।

पाँचौं दिन : वुहान जाऔं

मध्यरातदेखि अनावश्यक ट्राफिक निषेध गरियो। ट्याक्सीहरू फिर्ता बोलाइए। शहरबाहिर केहि दिनअघि मात्रै आइपुगेका सयौं कामदार दुई नयाँ अस्पताल बनाइरहेका छन्। केहि दिनभित्रै एक हजार शय्याको अस्पताल बन्ने स्थलमा कामदार, हिलाम्मे मैदान, क्रेन र एक्सकाभेटर मात्रै देखिन्छन्।

“भाइरसलाई जित्न हामीले छिटोभन्दा छिटो काम गर्नुपर्छ,” एक पुरूषले भने। उनी दैनिक नौ घण्टा काम गर्छन् र निर्माण क्षेत्र नजिकै सुत्छन्। 

स्थानीयलाई घरभित्र बस्न निर्देशन दिइएको थियो। केहि भने संक्रमणको जोखिम उठाएर सहयोगका लागि बाहिर निस्किएका थिए। झाङ लिन र अन्य स्वयंसेवकले बिरामीलाई आफ्नो कारमा राखेर अस्पताल ल्याउँदै लैजादै गर्थे।

“हामी आफैं अघि बढ्नुपर्छ र सहयोग गर्नुपर्छ,” एउटा क्लिनिकबाट बिरामीलाई घर लैजान पर्खिरहेका उनले भने।

त्यही साँझ याङ्जे नदी किनारमा चिनियाँ भाषामा लेखिएको थियो– वुहान जाऔं।

छैठौं दिन : बस्ने कि जाने?

शहर बन्द भएको पाँच दिन भएको थियो। वुहानमा रहेका नागरिकलाई स्वेदश फिर्ता गराउन विभिन्न देशले योजना बनाउन थालेक थिए।

तर रेमीलाई मतलब थिएन। फ्रान्सेली नागरिक रेमी आठ वर्षदेखि वुहानमा बस्दै आएका थिए।

“अहिले ठिकै छ नि,” नीलो रंगको मास्क लगाएका ३३ वर्षिय रेमीले भने। तर उनी अपार्टमेन्ट बाहिर निस्किएका थिएनन्। डोमिनिकन रिपब्लिकका विद्यार्थी पनि बाहिर निस्किएका थिएनन्। उनीहरू दूतावासबाट केहि खबरको प्रतिक्षा गरिरहेका थिए। अर्का फ्रान्सेली नागरिक डा. फिलिप क्लाइनको अवस्थामा पनि त्यस्तै थियो।

“यो नायकत्व देखाउन खोजेको होइन,” उनले भने, “सोचविचार गरेरै यस्तो निर्णय गरेको हुँ, यो मेरो काम हो,” उनले भने।

सातौं दिन : भूताहा होटेल

बाध्यकारी मास्क, तापक्रम परीक्षण र बन्द रेस्टुरेन्ट । वुहानमा खुल्ला केहि होटेलमध्ये मार्को पोलोको अवस्था यस्तै थियो।

त्यहाँ प्रवेश गर्ने बित्तिकै केहि गडबड छ भन्ने थाहा लाग्थ्यो। रिसेप्सनमा कोही थिएनन्। सजिसजाउ भए पनि भारी शुन्यता थियो। त्रस्त कर्मचारी थोरै ग्राहकलाई उनीहरूको कोठामा खाना दिदैं थिए। ग्राहक भित्रबाहिर गर्दा एक जना सुरक्षाकर्मीले उनीहरूको शारीरिक तापक्रम जाँच गरिरहेक थिए।

“३७.३ फरेनहाइटभन्दा तल तापक्रम भए ठिकै छ। माथि भए आवश्यक उपाय गर्छौं,” थर्मोमिटर बोकेका स्याओ फानले भने।

आठौं दिन : सडकमा मृत्यु

उमेरले ६० को दशमा रहेका एक पुरूष बन्द फर्निचर पसलबाहिर अस्पताल नजिकै निर्जिव ढलेका थिए। उनले मास्क लगाइरहेकै थिए। शव नजिकै पुगेका अधिकारीले सुरक्षाकवच लगाएका थिए। उनीहरू सावधान र सतर्क देखिन्थे।

शवको परीक्षण सकेपछि फोरेन्सिक विशेषज्ञलाई तुरून्तै सहकर्मीले डिसइन्फेक्टेन्ट छर्किए।

“यो भयावह छ,” एकजनाले भने, “पछिल्ला दिनमा धेरै व्यक्तिले ज्यान गुमाएका छन्।” काठमाडौँ प्रेस /एएफपी