गणतन्त्र आए पनि खुलेनन् रत्नमन्दिर र हिमागृह
गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक वर्ष घोषणा गरेर १५ लाख स्वदेशी पर्यटक भित्र्याउने योजना अघि सारेको छ ।
उसले सन् २०२० लाई छिमेकी मुलुकका पर्यटक भित्र्याउने वर्षका रुपमा मनाउने भएको छ भने सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आन्तरिक र बाह्य गरेर वर्षमा करीब १० लाख पर्यटक मात्र प्रदेशमा भित्रिरहेको अवस्थामा पर्यटकीय पूर्वाधारको अभावबीच दुई वर्षपछि २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकारलाई चुनौती छ ।
सङ्घीय सरकारले पनि सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख बाह्य पर्यटक ल्याउने लक्ष्य राखेको छ । दुबै सरकारले पर्यटक आगमन अधिकतम वृद्धि गरेर पर्यटनबाटै समृद्धि हासिल गर्ने साझा उद्देश्य लिइरहँदा फेवाताल किनारमा अवस्थित पर्यटकका लागि आकर्षण बन्नसक्ने रत्नमन्दिर र हिमागृह भने अहिलेसम्म पनि बन्द छन् ।
गणतन्त्र घोषणापछि नारायणहिटी दरबारलगायत तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्य तथा उनीहरुको परिवारजनको नाममा रहेका सम्पत्ति नेपाल ट्रष्ट मातहतमा ल्याएर नारायणहिटी लगायतका दरबारहरु खुला गरिँदासमेत यहाँका यी दुई दरबार भने बन्द नै छन् । सरकारले घोषणा गरेका उल्लिखित लक्ष्यहरु हासिल गर्न पूर्वाधार विकास, नयाँ नयाँ गन्तव्यको खोजी र प्रवद्र्धन जरुरी हुन्छ । आमजनताको चासो र कूतुहलताको विषय बन्दैआएका शाही राजाका यी दुई दरबार भने गणतन्त्र स्थापना भएर ११ औँ वर्षगाँठ मनाइँदै गर्दासमेत प्रयोगमा आउन सकेका छैनन् ।
रत्नमन्दिर सर्वसाधारणका लागि खुला गरेर पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटन व्यवसायीले माग गर्दै आए पनि त्यसको सुनुवाइ भएको छैन । ती दरबारलाई शाही कालमा जस्तै गरी अहिले पनि २४ सै घण्टा नेपानी सेनाले पहरा दिएर राखेको छ । प्रदेश सरकारको मुख्यालय नजीकै रहेका यी भव्य दरबार खुला गरी पर्यटकको बसाइ लम्ब्याउनुपर्ने आवाज धेरै समयअघिदेखि उठ्दै आएको हो । सरकारले घोषणा गरेको आन्तरिक पर्यटक वर्ष र नेपाल भ्रमण वर्षलाई सफल बनाएर पर्यटकको आगमन वृद्धि गर्न र बसाइ लम्बाउन अब दरबार खोल्न विलम्ब गर्न नहुने पर्यटन व्यवसायीहरु बताउँछन् ।
देशमा तीन तहका सरकार गठन भएर सङ्घीयता कार्यान्वयन भएको अवस्थामा नेपाल ट्रष्ट मातहतमा आइसकेका ती दरबारलाई सङ्ग्रहालयको रुपमा विकास गरी पर्यटकका लागि प्र्रवेश खुला गरेर लाभ उठाइसक्नुपर्नेमा त्यसतर्फ सरकारको ध्यान नपुगेको गुनासो ती व्यवसायीको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल रत्नमन्दिर र हिमागृह खुला हुनुपर्दछ भनेर पर्यटन व्यवसायीले एक दशकअघिदेखि आवाज उठाउँदै आएको भए पनि सम्बोधन नभएको बताउनुभयो ।
उहाँले जतिसक्दो छिटो खुला गरेर ‘टुरिजम प्रडक्ट’को रुपमा विकास गर्न विभिन्न मञ्चमा आग्रह गर्दै आउनुभएको छ । यी दरबारको नेपालको राजसंस्थासँग जोडिएको इतिहास र संस्कृतिलाई हेर्न पर्यटक पनि लालायित छन् । उहाँले भन्नुभयो – “रत्नमन्दिर र हिमागृह हामीसँग भएका धरोहर हुन् । यिनलाई टुरिजम प्रडक्टको रुपमा विकास गरिनुपर्दछ र अबको बदलिँदो परिवेशसँगै भएका सम्भावनालाई नगदमा परिर्वतन गर्नसक्नु पर्दछ ।
यिनलाई निःशुल्क होइन, सशुल्क खोल्नुपर्दछ भन्ने माग हो ।” पोखराको मुटुमा अवस्थित राजसंस्थाको चिनारी र रहनसहनसँग गाँस्सिएका यी दुई स्थान सर्वसाधारणका लागि खुला भइदिए अहिलेको पर्यटकको बसाइ दर १ दशमलव ७ दिनमा आधा दिन बढाउन सकिने दावी पोखरेलको छ । पूर्व राजपरिवारले ‘विन्टर प्यालेस’ का रुपमा प्रयोग गर्दैआएको रत्न मन्दिरलाई शाहवंशीय राजतन्त्रको प्रतीकका रुपमा सङ्ग्रहालयमा रुपान्तरण गर्न उपयुक्त हुने पोखरेल ठान्नुहुन्छ । रत्नमन्दिर पूर्व राजपरिवारका सदस्यहरु पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो ।
राजा महेन्द्रले पोखरा आउँदा जाँदा बस्न मिल्ने गरी आफ्नी कान्छी श्रीमती रत्नको नामबाट यो दरबारको निर्माण गरेका थिए । विसं २०१३ मा निर्माण शुरु गरिएको यो आवास निर्माण गर्न दुई वर्ष लागेको बताइन्छ । त्यसबेला पोखरामा होटल नहुँदा दरबारले विदेशी पाहुनासमेत यहीँ राख्ने गथ्र्यो भने यही राजाले विदेशी पाहुनासँग भेट गर्ने तथा विभिन्न देशका राजदूतहरूबाट चढाइने ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम पनि यहीँ हुने गर्दथ्यो ।
राजा महेन्द्रका पालामा बनेको दरबार पछि राजा वीरेन्द्रको नाममा आएको थियो । गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र उनका परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर पनि ट्रष्टको स्वामित्व गइसकेको छ । तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र विसं २०५८ जेठ १९ को दरबार हत्याकाण्डको रात र २०६२–६३ को दोस्रो जनआन्दोलनका समयमा पनि करीब तीन महिना यहीँ आएर बसेका थिए । विसं २०६१ माघ १९ को शाही कदमपछि राजा वीरेन्द्र र दरबारका नाममा रहेका अधिकाँश सम्पत्ति राजा ज्ञानेन्द्रको स्वामित्वमा गए पनि रत्नमन्दिर भने वीरेन्द्रकै नाममा रहिआएका कारण नेपाल सरकारको स्वामित्वमा आउन सहज भएको हो । रत्नमन्दिरको मुख्य भवनमा ११ कोठा छन् ।
परिसरभित्र प्रशासनिक भवन, फेवातालसँगै तालघर, सैनिक बस्ने ३८ कोठे लामो भवन पनि छन् । रत्नमन्दिरसँगैको हिमागृह पनि नेपाल ट्रष्टको स्वामित्वमा आइसकेको छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रमका नाममा हिमागृह बनेको थियो । विसं २०३८ पुस ९ गते अधिराजकुमार हिमालयबाट पत्नी प्रिन्सेप शाहलाई उक्त घर उपहार दिइएको थियो ।
विसं २०४६ मा आएर प्रिन्सेपबाट राजा वीरेन्द्रका नाममा हक कायम गरिएको हिमागृह १० रोपनी चार आना क्षेत्रफल फैलिएको छ । गण्डकी प्रदेशसभा सदस्य राजीव पहारी आफूले रत्नमन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरिनुपर्ने माग सदनदेखि सरकारसम्म उठाउँदै आउँदा समेत सुनुवाइ नभएको बताउनुहुन्छ ।
राजपरिवारसँग जोडिएका यी दुई स्थान सँधै बन्द रहँदा राजतन्त्र समूल नष्ट भएको र गणतन्त्रको प्रादुर्भाव भएको अनुभूति जनतालाई हुन नसकेको टिप्पणी गर्दै उहाँले भन्नुभयो – “रत्नमन्दिर र हिमागृह बन्द गरेर कसलाई के फाइदा ? के स्वार्थले बन्द गर्नेे ? राजा बस्ने मुख्य दरबार नारायणहिटी त खुला गरियो भने यसलाई बन्द गर्नुपर्ने कारण के ? राजतन्त्र समाप्त भइसक्यो । गणतन्त्र कालमा यी दरबारको व्यावहारिक प्रयोग गर्नुपरेन ?” रत्नमन्दिरलाई पार्कको रुपमा व्यवस्थित गरी आन्तरिक र बाह्य पर्यटक रमाउने वातावरण नबन्दासम्म पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि नहुनेमा दृढ देखिनु हुने प्रदेशसभा सदस्य पहारीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सङ्घीय सरकारको लक्ष्य प्राप्तिका लागि पनि दरबार खुला गरिनुपर्ने बताउनुभयो ।
रत्नमन्दिर र हिमागृह खुला गर्ने विषयमा पटकपटक बहस नभएको भने होइन । यसलाई अतिथि गृह बनाउने, निजी क्षेत्रलाई भाडामा दिने, जैविक विविधतायुक्त पार्क बनाउने, पर्यटकीय सूचना केन्द्रमा रुपान्तरण गर्ने विषयमा बेलाबेलामा चर्चा चले पनि व्यापारिक प्रयोजनमा दिन नहुने अभिमत पर्यटन व्यवसायीबाट व्यक्त हुँदै आएको छ । यसलाई व्यवस्थित रुपमा संरक्षण गरी सम्पदा क्षेत्र घोषणा गरेर जैविक विविधतायुक्त पार्क वा सङ्ग्रहालय बनाउनुपर्ने उनीहरुको माग छ ।
नेपाल ट्रष्टको कार्यालयका सूचना अधिकारी अमृत महर्जनले रत्नमन्दिर र हिमागृहका ’boutमा छिट्टै निर्णय लिइने बताउनुभयो । ट्रष्टमा नयाँ सञ्चालक समिति नियुक्त भएर आएको बताउँदै उहाँले भन्नुभयो – “पोखराका ती दरबारहरु के गर्ने भन्ने ’boutमा हामी प्रक्रियामा नै छौँ । केही ढिलाइ भएको छ । भर्खर मात्र नयाँ सञ्चालक सदस्यहरु आउनुभएको छ । हामी केही न केही टुङ्गोमा छिट्टै पुग्छौँ ।”