बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई

सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी सुमन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे ।

सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए ।

त्यसपछि युवती घर फर्किन् र तत्काल प्रहरी कार्यालयमा फोन गरिन् । अहिले सुमन इलाम कारागारमा कैद जीवन जिइरहेका छन् । तर, कहिलेकाहीँ फोन गरेर युवतीलाई ‘जेलबाट निस्किएको भोलिपल्टै मारिदिन्छु’ भन्ने गरेका छन् । “म त जेल परें परें । म निस्किए भने त पनि बाँच्दिनस् भनेर धम्क्याउँछ, सार्‍है पीर परेको छ,” युवतीले भनिन् – “कति समय जेल बस्छ पनि थाहा छैन । यदि निस्किहाल्यो भने त मार्छ होला ।”

युवती यहीँ विषयलाई लिएर पटक–पटक प्रहरी कार्यालयसमेत धाउने गरेकी छिन् । पीडकको जेल जीवन धेरै समय रहेकाले डराउनु नपर्ने सन्देश पाएपछि घर फर्किएर जान्छिन् । युवती भन्छिन् – “अहिले पनि धम्की आइरहन्छ । के गर्ने भन्ने नै अन्योलमा छौं ।” यहीँ विषयलाई लिएर युवती चिन्तित हुने गरेको युवतीकी आमाले समेत बताइन् । युवतीकी आमाले भनिन् – “त्यो दिन त्यस्तो घटना घट्यो तर, जेल परेपछि समाधान हुन्छ भन्ने सोचेकी थिएँ । आपत् हटेको छैन ।”

यस्तै, सन्दकपुर गाउँपालिकाकै सुलुबुङकी एक बालिकालाई ५० वर्षीय भीमप्रसाद पाठकले दुर्व्यवहार गरे । बेलुकाको समयमा बालिका विद्यालयबाट फर्किएपछि घर बाहिर पेटीमा बसिरहेका बेला ‘मलाई चिन्छेस् छोरी, म ठूलो बुवा हुँ’ भन्दै बालिकाको संवेदनशील अङ्गमा समाएको बालिकाकी आमाले बताइन् ।

“म घरभित्र थिएँ, उनी (भीमप्रसाद पाठक) घरमा आए र बाख्रा छ भने र बाख्रा पछि लैजाउँला भन्दै बाहिरिए,” १२ वर्षीया बालिकाकी आमाले भनिन् – “म त घरभित्र थिएँ । बाहिर छोरी आत्तिदै कराएको सुनें । बाहिर निस्केर हेर्दा त छोरीको गर्धन र छातीमा समाइराखेको देखें ।”

बालिकाकी आमाले तत्काल प्रहरीलाई फोन गरिन् । अहिले पाठक ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन् । तर, यता पीडित बालिकालाई भने घरबाट टाढा पुर्‍याइएको छ । पाठकको दुर्व्यवहारपछि समाजले हेर्ने दृष्टि नै फरक भएपछि बालिकालाई घरमा नराखिएको हो ।

“स्कूल जान समेत मान्दिनन्, सबैले हेरे जस्तो लाग्छ, कुरा गरेजस्तो लाग्छ भन्छे । त्यही भएर घरमा नराखेको,” बालिकाकी आमाले भनिन् – “पीडकका ’boutमा त केही थाहा छैन । रिहा भएको खबर आएको छ तर, हामीलाई बोलाएको छैन ।”

 

यी युवती र बालिका मात्र होइन । अहिले पनि समाजमा पीडित महिलालाई हेर्ने दृष्टिकोण फरक छ । घटना घटेपछि पनि पीडित बारम्बार तड्पिने गरेका छन् । पीडक र समाजकै डरले कतिपय महिला घर छाड्न बाध्य छन् भने कतिपय ‘डिप्रेसन’बाट ग्रस्त हुने गरेका छन् । घटना एकचोटि घटे पनि कतिपय घटनाले बालमनोविज्ञानमा सधैं असर गर्ने गरेको मानव अधिकार मञ्च नेपाल इलामका मनोसामाजिक विमर्शकर्ता रुद्र थेवेले बताउनुभयो ।

“कतिपय बालबालिकाले त यहीँ कारण भविष्यमा दिमागी सन्तुलन समेत गुमाउन सक्छन्,” थेवेले भन्नुभयो – “बालबालिकामा यस्तो समस्याले गर्दा सामान्य जीवन जीउन समेत समस्या हुन सक्छ । विद्यालयमा वा घरमै पनि यस्ता कुरा आए भने आफूलाई भने जस्तो अनुभव गर्न पुग्छन् र उनीहरू बढी सोचमग्न हुन थाल्छन् ।”

 

मनोविमर्शकर्ता थेवेका अनुसार पीडितलाई मात्र नभई पीडितको परिवारलाई समेत यस्ता घटनाले असर गर्ने गरेको छ । “इलाममै पनि यस्तै घटनाका कारण एक जनालाई डिप्रेसन भएको छ, बालिकालाई दुर्व्यवहार भएको खबर आयो, आफन्तबाट बढी दबाब आएपछि बालिकाका बाबु अहिले डिप्रेशनमा छन्,” थेवेले भन्नुभयो ।

थेवेका अनुसार जिल्लामा आत्महत्याका घटना बढ्नुका कारण पनि बलात्कार र दुर्व्यवहार हुन सक्छ । “कतिपयले त सुसाइड पनि गर्छन् तर, हामीकहाँ के कारणले सुसाइड गरेको हो भन्ने पत्ता लगाउने कोशिश गरिँदैन,” थेवेले भन्नुभयो । यस्ता घटना हुनै नदिन पीडकलाई कारबाहीको दायरा ल्याउनुपर्ने उहाँ ठान्नुहुन्छ ।

 

कतिपय पीडकले आफू सजाय भोगिरहेको समयमा पनि पटकपटक पीडितलाई धम्क्याइरहेका हुन्छन् । उनीहरूले पीडितलाई धम्क्याउनाका कारण भने आफ्नो कमजोरी समाजले जान्नु हो । भोलिका दिनमा पनि समाजमा जिउन सक्ने सम्भावना नहुने ब्झुेपनि पीडकले समस्यामा पार्ने गरेका छन् । यसका लागि भने सरोकारवाला निकाय र पीडित पक्ष दुवै सतर्क हुनुपर्ने कानूनविद्हरूको भनाइ छ ।

 

कैदीको नियत नबलिएसम्म विभिन्न अवसरमा कैद छूट नहुने तर, कैद भुक्तान गरिरहेका बेला अन्य अभियोग दर्ता गर्न नमिल्ने कानूनी प्रावधान छ । “पीडकले यसरी धम्क्याए पनि उसलाई अन्य अभियोगमा मुद्दा हाल्न भने मिल्दैन तर, उ बाहिर निस्केपछि भने उसको व्यवहार नसुध्रिए फेरि कानूनी प्रक्रिया अपनाउन सकिन्छ,” अधिवक्ता वीरबहादुर खड्काले भन्नुभयो – “त्यसमा पनि धम्क्याउने क्रममा पीडकको सम्पर्कमा पीडित आउँदैन । मोबाइल फोन परिवर्तन गर्नाले पनि समस्या कम हुन्छ ।”

 

उहाँका अनुसार बलात्कार तथा हिंसाका घटनामा बढी पीडकले पीडितलाई प्रताडित गर्ने गरेका छन् ।यता, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधवप्रसाद श्रेष्ठले भने पीडकको नियत नसुध्रिए कैद भुक्तान भए पनि ऊ प्रहरीको निगरानीमै रहने बताउनुभयो । “हामी पीडित र पीडक दुबैलाई बुझ्छौं, पीडकले अनावश्यक रूपमा पीडितलाई असर पार्ने गरेको छ भने त्यसलाई कारागारमै पनि त्यही किसिमको कारबाही हुन्छ,” उहाँले थप्नुभयो – “हामीले त्यस्ता पीडकलाई पनि धेरै कारबाहीमा ल्याइसक्यौं । त्यस किसिमको अनावश्यक यातना दिने पीडकलाई थुनामुक्त भएपछि पनि निगरानीमा राख्छौँ ।”

 

श्रेष्ठले आफूहरू पीडितलाई थप समस्यामा पार्ने गतिविधि रोक्न पीडकलाई सकेसम्म आफ्नो सम्पर्कमा रहिरहने वातावरण बनाउने गरेको बताउनुभयो ।

 

जिल्लामा यस वर्ष बाल यौन दुर्व्यवहार र जबर्जस्ती करणीका घटनामा पनि वृद्धि आएको छ । गत वर्ष १९ वटा जबर्जस्ती करणीका घटना घटेकामा यस वर्ष २८ घटेका छन् । बाल यौन दुर्व्यवहारको घटना गत वर्ष नघटेको देखिएकामा यस वर्ष पाँच वटा घटेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह १३, मानव बेचबिखन छ, हाड नाता करणी एउटा घटेको देखिएको छ । गत वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह सात र मानव बेचबिखनका दुइटा घटना घटेका थिए ।

 

सङ्ख्यात्मक रूपमा घटना बढेको देखिए पनि वास्तवमा घटना घटाइ समान रहेको जिप्रका प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कतिपय पुराना घटनाको पनि दर्ता गर्ने गरिएको छ ।
-रासस