मेरी सानी छिमेकी
उसले फनक्क टाउको घुमाएर आफ्ना ठूला ठूला आँखा म तर्फ सोझ्याइ र भनी– तिमी त साच्चै नै वुद्वु नै छौ के । मेरो ड्याड पनि केटा हो र ? मेरो ड्याड त ड्याड हो नी ।
‘तिमिले पालेको चरा हो ।’ उसले म नजिकै चामल खान व्यस्त भंगेरा तर्फ देखाउदै सोधी ।
विहान भंगेराहरूका लागि थोरै चामलका गेंडा आंगनमा राख्ने आफ्नो वानीलाई निरन्तरता दिन भरखरै परदेशमा पनि सुरु गरेको थिए । भंगेराहरू पनि पहिला त कोही नभएको वेला पारी मात्र चामल खान आउथे तर विस्तारै विश्वास पलाएपछि अगाडि नै आएर खान थालेका थिए ।
मैले होइन भनेपछि उसले फेरी सोधी– अनी तिमीसँग किन डराउदैनन् यी चरा ? म नजिकै जाँदा भाग्छन् त…!
मैले केही दिनदेखि चराको आहाराका लागि चामल राख्ने गरेको र सुरु सुरुमा डराए पनि अहिले सबै मेरो नजिक आउन थालेको उसलाई बताए ।
उसले आफ्नो फुल भन्दा पनि कोमल हातलाई अगाडी बढाउदै इशारामा चरालाई वोलाउन थाली ।
उ मेरी छिमेकी । लगभग २० दिन पहिले उसको परिवार आएको थियो मेरो सामुन्नेको अपार्टमेन्टमा । पहिलो पल्ट मलाई देख्नासाथ उसले इसारामा वोलाएकी थिइ । हुन त उसलाई देख्नासाथ गएर उसका ती कोमल हत्केलालाई समाउन मन नलागेको होइन । तर म सुरुसुरु आफ्नो अपार्टमेन्ट भित्र पसे ।
घुँडासम्म आउने गुलाफी स्कर्टमा उ निकै राम्री देखिएकी थिइ । त्यसमाथि घुमाउरो (कर्लिङ) कपाललाई धेरै भागमा बाटेर लट्टा वनाउदै त्यसलाई रंगिविरंगी ससाना मुगा जस्ता देखिने वस्तुमा उनीएको थियो । उसका मुंगा सहितका लट्टाका केही भाग वेला वेलामा निधारमा झर्न पुग्थे अनी उसले आफ्नो वायाँ हातले त्यसलाई पञ्छ्याउने गर्थी ।
उसको कालो वर्णमा त्यो गुलाफी स्कर्ट र लट्टाहरूमा उनीएका मुगा जस्ता ससाना वस्तुले उसलाई निकै सुहाएको थियो । उसका ठूला र वाटुला आँखा उ मौन रहदा पनि वोल्ने जस्तै थिए ।
समग्रमा उ निकै मायालु थिइ ।
‘मेरो नजिकै पनि यसरी नै चराहरू आए हुन्थ्यो नि । झन भुर्र उडेर जाँदा पो रिस उठ्छ भन्या ।’ वाल्यकालमा मेरो मनमा उठ्ने कुराहरूलाई उसले व्यक्त गर्दै थिइ ।
‘यहाँ आउ त !’ मेरो आग्रहको जवाफमा उसले ‘मेरो मम्ले अपरिचितसँग कुरा नगर्नु भनेको छ’ भन्दै भित्र दुगुरी । म मुस्कुराउदै मुट्ठीमा वाकी रहेका चामलका गेडा छर्न थाले ।
………………………………………………………………………………………….
त्यस दिन पनि विहान म चराका लागि आहारा छर्दै थिए । उ विस्तारै ढोका खोला आइ । केही वेर ढोका नजिकै उभिएपछि ससाना पाइला सार्दै म नजिकै आएर उभिइ । मैले यो सबै देखे पनि नदेखे जस्तै गरेको थिए । वास्तवमा यस अघिको वार्तालापपछि मैले उसलाई धेरै पटक सम्झेको थिए । र खासमा त्यस दिन म उसैको प्रतिक्षामा थिए ।
‘हेल्लो! उसको अभिवादनमा म मुस्कुराए मात्र ।
‘हामी त चामल खादैनौ । त्यसैले म चाही चरालाई पानी राखि दिन्छु है ।’ मैले हुन्छ भने पछि उ दगुर्दै भित्र गइ र स्यानो कचौरा जस्तो भाँडोमा पानी लिएर आइ ।
त्यसलाई त्यही ढोका अगाडि दाँया तर्फ राखेर फेरी उ म निर आइ ।
‘चरालाई प्यास पनि त लाग्ला नै हैन, हामीलाई जस्तै । अब तिमी कहाँ लञ्च गर्छन् अनी पानी पिउन मकहाँ आउछन् ।’
‘तिमी त अपरिचितसँग नवोल्ने भन्थ्यौ त । फेरी किन आएको ? उसको कुरा तिर ध्यान नदिए जस्तो गर्दै मैले सोधे ।
उसले मुस्कुराउदै भनि– अब त तिमीलाई मैले चिने नी । त्यसमाथि तिमी हाम्रो छिमेकी हौ नी ।
‘त्यसो भए मेरो साथी वन्ने त ?
मेरो कुरामा अली आश्चर्य जस्तो मान्दै भनी – हट् तिमीलाई मैले कसरी साथी वनाउने ? कस्तो वुद्धु कुरा गरेको के तिमीले त ?
त्यसपछि आफ्ना साना साना दुबै हत्केलाले मुख छोपेर हास्न थाली ।
‘किन के भो र ? म तिम्रो साथी हुन किन नहुने ?’
उसले सम्झाउने पारामा भन्न थाली–कस्तो नवुझेको के तिमिले । मसँग साथी बन्न त तिमी मेरो क्लासमा पढ्न आउनु प¥यो नी हैन ।’
‘ए त्यसो पो । तिमीलाई साथी वनाउन म अब केजीमा पढ्न जानु पर्ने ।’ मेरो कुरा सुनेपछि उसले सोधी –साच्चै तिमिले कति पढेका छौ ?
म केही वोलीन ।
‘ए वि सि डी सबै आउछ होला हगी तिमिलाई त । अरु के के आउ छ भन त ।’
मैले प्रसङ्ग मोड्नलाई उसको नाम सोधे । उ केही क्षण अलमलिए जस्तो गरी र भनी–क्याली ।
मैले भने–यसको अर्थ थाहा छ ?
उसले जवाफमा भनी –खै मम्ले ‘लेडी वारिअर’ भन्नुहुन्थ्यो ।
अनी यस्तो राम्रो नाम भन्न पनि किन त्यति समय लगाएको ?
मेरो जिज्ञासामा उ फेरी केही वेर अलमलिइ र भनी–मेरो अर्को नाम पनि छ के । स्कुलमा मेरो नाम क्याली हो, अनी मम्ले पनि क्यालीनै भन्नु हुन्छ । तर मेरो ड्याडले मलाई लिटिल एञ्जल भनेर वोलाउनु हुन्छ, त्यसैले ।
‘ए कस्तो राम्रो नाम है ड्याडले राखेको ।’ मैले भने–म पनि तिमिलाई लिटिल एञ्जल भनेर वोलाउ ?
‘प¥याछैन…।’ उसले ठाडै अस्विकार गर्दै भनी–त्यो त मेरो ड्याडले मलाई वोलाउने नाम हो ।
उसका वालसुलभ जिज्ञासा, चञ्चलता र कुराकानीबाट म मोहित भइ सकेको थिए । उसको सानिध्यका लागि म निकै आतुर हुन्थे । तर त्यो समय आउथ्यो हरेक शनिबार मात्र अरु दिन उ स्कुल जान्थी भने आइतबार विहान आफ्ना आमावुवासँग चर्च जान्थी । अनी म पनि कामबाट फर्कदा अवेर भइ सक्थ्यो ।
………………………………………………………………………………………….
त्यस विहान धेरै अवेरसम्म उ देखिइन । मेरो हात चराका लागि चामल छर्न व्यस्त भए पनि ध्यान भने उसको अपार्टमेन्टको मूल ढोकामा थियो ।
अब आउदिनकी जस्तो भइ रहेको बेलाम मूल ढोका खुल्यो, उही थिइ ।
‘थाहा छ हामीसँग दुई वटा विराला छन नी ! हिजो राती ड्याडले ल्याएको ।
एउटा खैरो रङ्गको छ त्यसको नाम मैले टोनी राखेकी छु, अनी अर्को कालो छ तर घाँटीमा लामो सेतो धर्सो छ त्यसलाई मैले नेन्सी भनेर वोलाउछु । अहिले भरखरै व्रेकफाष्ट खाएर आराम गर्दै छन् ।’ उसले एकै सासमा भनी–मैले तिमीलाई विरालाहरू देखाउछु है कुनै वेला । तर छुन पाउदैनौ नी ।
किन भन्ने मेरो जिज्ञासामा उसले फेरी वुढी आमैको तालमा भनी–कस्तो नवुझेको के तिमिले !
तिम्रा चराका लागि म ननिचेको भए जस्तै विरालाले तिमीलाई चिनेका छैनन् नी । अनी तिमिले छुन खोज्दा भागे भने ?
‘साच्चै केटा मान्छेहरू क्रेजी हुन्छन् के ।’ उसको कुरा सुनेर मैले सोधे–कसले भन्यो तिमिलाई ?
‘मेरा साथीहरूले, अनी मेरो मम्ले पनि रिसाएको वेलामा भन्नु हुन्छ ।’ उसले अगाडि भनी,‘अनी त्यो टम (उसँगै पढ्ने केटा) पनि त क्रेजी छ नी । कस्ता कस्ता कुरा गर्छ के ।’
‘त्यसो भए तिम्रो ड्याड पनि क्रेजी हो ?’ मेरो कुरा सुनेर उसले फनक्क टाउको घुमाएर आफ्ना ठूला ठूला आँखा म तर्फ सोझ्याइ र भनी– तिमी त साच्चै नै वुद्वु नै छौ के । मेरो ड्याड पनि केटा हो र ? मेरो ड्याड त ड्याड हो नी । अनी कसरी क्रेजी हुनु ?
वुढीआमैसँग मैले त्यसपछि तर्क गरिन । उ पनि केही वेरपछि घर भित्र लागि ।
………………………………………………………………………………………….
अचेल भने उ विरालो तिर नै बढी रमाउने गर्न थालेकी थिइ तर म निर आएर कुरा गर्न छाडेकी भने थिइन । म भने शनिबार विहान भयो की चराका लागि एक मुट्ठी चामल वोकेर उसको प्रतिक्षामा हुन्थे । उ आउथी भाँडोमा पानी राख्थी अनी केहीवेर मसँग कुरा गरेर फेरी विरालाहरूसँग खेल्न जान्थी ।
उसको कुराको विषय पनि चराभन्दा वढी विराला हुन थालेका थिए । विरालाले उसलाई कसरी पछ्याउछन् । कसरी उसको साथीहरू विराला देखेर जिल्ल परेका थिए, त्यस्तै त्यस्तै ।………………………………………………………………………………………….
त्यस विहान उ अल्ली अर्कै मुडमा थिइ । एउटा हातमा पानी राख्ने भाँडो वोकेर साझै म निर आइ र भनी–थाहा छ म त दिदी हुदै छु नी, मेरो मम्ले केही दिनपछि वैनी ल्याउदै हुनुहुन्छ । ‘म निकै एक्साइटेड छु के ।’
‘ए ल राम्रो भयो नी । तर तिम्रो ड्याडलाई दुई वटा छोरी किन चाहियो ? वरु एउटा मलाई दिए हुन्छ नी होइन । म त तिमिलाई नै मेरो छोरी वनाउछु है । मलाई आफ्नो ड्याड मान्छ्यौँ तिमिले ?
‘ओह नो !’ मेरो मम् ड्याडले मलाई पाएको हो नी अनी म कसरी तिम्रो छोरी वनु ? मलाई छोरी वनाउन मन भएको भए मलाई तिमिले पाएको भए हुन्थ्यो नी ।’ मलाई निरुत्तर बनाउदै उ घर भित्र पसेकी थिइ ।
त्यसपछिको शनिबार मलाई काममा चाडै जानु पर्ने भएकोले एक मुट्ठी चामल आंगनमा छर्कीएर हिडेको थिए । तर उसँग कुरा गर्न नपाएकोमा भने ठूलो पछुतो लागेको थियो ।
त्यस दिन काममा पनि त्यति मन लागेन । अब पूरा एक साता कुर्नु थियो मेरो सानी छिमेकीको सानिध्य पाउनका लागि । उसँगको एकै छिनको कुराकानी मेरो हप्ता दिनको थकाइ र एक्लोपनलाई मेटाउने औषधि भएको थियो ।
म व्यग्रताकासाथ शनिबारको प्रतिक्षामा थिए । मलाई थाहा थियो । उसले मसँग अघिल्लो पटक नभेटेकोमा पक्कै पनि प्रश्न गर्नेछे । अनी आफ्नो वैनीका वारेमा पनि थप कुरा गर्ने छे । उसले यसो भन्ली र उसो भन्ली अनी म उसको जवाफमा यसो भनौला यसरी उसको वाल सुलभ तर्कलाई नकारौला, उसलाई रिसाउन हालुला । यस्तै गम्दै मैले पछिल्ला सात दिन विताएको थिए ………………………………………………………………………………………….
म नियत समयभन्दा धेरै नै अघि उठेर चराका लागि आहारा लिएर आएछु । चराहरू नै पत्तो थिएन । उ त अझ कहिले हो आउने । केही वेरको प्रतिक्षा पछि एक हुल भंगेराहरू आएर नियमित जसो चामलका गेडा टिप्न थाले । तर उ भने आइन ।
लगभग दुई घण्टा जति पर्खेपछि म निराश हुदै उसको घर तिर हेरे । मूल ढोका बन्द थियो अनी त्यहाँ मान्छे भएको कुनै आभास मैले पाइन । मलाई अली खल्लो लागेर आयो । आफ्नो घर मात्र नभई पूरा अपार्टमेन्ट परिसर एक किसिमको शून्यतामा विलाएको अनुभव भयो ।
भोली पल्ट वेलुका तिर म कामबाट अली चाडो फर्केर उसलाई भेट्ने आशामा आंगनमा वसेको थिए । हेरे उसको घरको ढोका खुलै थियो । मैले सन्तोषको सास फेरे । तर केही वेरमै मेरो त्यो सन्तोषको सास फेराई सुस्केरामा वदलिन पुग्यो । अपार्टमेन्टका मान्छेहरूले वाहिर आएर ढोका बन्द गरे । म दुगुर्दै गएर सोधे ।
‘उनीहरू त तीन दिन जति पहिले लै अर्को ठाँउ सरी सके ।’
म निकै निराशाकासाथ फर्के । आंगनमा भएको कुर्सीमा वसरे फेरी त्यता तिर हेरे । त्यो अपार्टमेन्ट त्यस्तै थियो । तर त्यसमा वस्ने परिवार गइ सकेको थियो । उसले चरालाई पानी पिउनका लागि राखेको कचौरा त्यही थियो । सम्भवतः त्यो उसले जानाजान छाडेकी थिइ । मैले त्यो कचौरा ल्याएर आफ्नै आँगनमा राखे । त्यसमा पानी राखी दिए ।
‘चराहरू तिमीकहाँ लञ्च गर्छन अनी पानी पिउन म कहाँ आउछन् ।’ उसको भनाइ मेरो मनमा अझ पनि गुञ्जिरहेको थियो ।